तमुहरुकै पहिचानका बिरुद्द उभिएर तमुहरुलाई संगठित गर्ने ?

मेख तमु / बेल्जियम

mekh-gurung-belgiym-11123गत १३ मई २०१३ मा नेदरल्याण्डको आम्र्सटरडममा गुरुङ्ग समाज नेदरल्याण्डले युरोप भरिका तमुहरुलाई भेला गरी संगठित गर्ने योजना वनाएको खवर पाउँदा खुशि भएँ । उक्त भेलालाई अर्थपुर्ण वनाउन र युरोपका तमुहरुलाई पनि नेपाली सामन्तवादी केन्द्रिकृत राज्यसत्ताको विरुद्ध र संघीयताको पक्षमा संघर्ष गर्नका लागि संगठित गर्न महत्वपुर्ण हुन सक्ने आशा गर्‍यौं । त्यसैले वेल्जियममा तमु समाजको निर्माणमा लामो समय देखि लागिपरेका हामी ६ जना तमुहरुको समुह विहानै नेदरल्याण्ड तर्फ प्रस्थान गर्‍यौं ।

हुनत हामीले यो कार्यक्रमको उद्देश्य, एजेण्डा र रुपरेखा पहिलेनै जान्ने प्रयास गरेका थियौं । तर त्यो प्राप्त हुन सकेको थिएन । तैपनि नेपालमा अहिलेको यो राजनैतिक संक्रमणको अवस्थामा यो भेला पक्कै पनि तमु पहिचान सहितको संघियताको पक्षमा वकालत गर्न केन्द्रित हुनेछ भन्ने लागेर नै हामी त्यता लागेका थियौं ।

भेलामा पुगेर सामान्य अध्ययन गरेपछि मात्र भेला हामीले सोचे भन्दा फरक प्रकृतिमा आधारित रहेको मलाई महसुस भयो । त्यो भेलाको वैचारिक, सांगठनिक पक्ष र त्यो भेला आयोजनाको प्रमुख पहलकर्ताहरु देखेर मलाई केहि विषय वस्तुहरु यो लेख मार्फत उठान गर्न मन लाग्यो । यो भेलाको सकृय पहलकर्ताको रुपमा एन आर एन वेल्जियमकी वर्तमान अध्यक्ष र एन आर एन वेल्जियमकै निवर्तमान अध्यक्षद्धय रहनुभएको थाहा भयो । यो लेखमा व्यक्त मेरो विचारले वहाँहरु सँगको मेरो व्यक्तिगत सम्वन्ध सँग सरोकार राख्दैन । मात्र यो हाम्रो वैचारिक भिन्नतासँग सम्वन्धित रहने छ । वहाँहरु दुवै यो भेलाको लागि सकृय रुपमा लाग्नु भएको रहेछ । त्यो कुरा थाहा हुनासाथ मैले यो भेला पहिचान र संघियताको पक्षमा हुन नसक्ने अनुमान लगाइहालें ।

हामीले नेपालको राजनैतिक अवस्थाको वारेमा वहाँहरु सँग धेरै वहस गर्दै आइरहेका छौं । आजसम्मको इतिहासमा वहाँहरु दुवै जनाले पहिचान सहितको संघियताको विरुद्धमा खरो वकालत गर्दै आइरहनु भएको छ । एन आर एन वेल्जियमकी अध्यक्ष जानकी गुरुङ राजनैतिक हिसावले नेपाली कांग्रेससँग आवद्ध हुनुहुन्छ । नेपाली कांग्रेसले पहिचान सहितको संघियतालाई स्वीकार्दैन । त्यो पार्टीभित्र केहि जनजाती नेताहरु पहिचानको पक्षमा संघर्षरत छन । तर वहाँ ती संघर्षरत साथीहरुलाई पनि सहानुभुति राख्नेमा पर्नुहुन्न र पहिचान सहितको संघियतासँग विमति राख्नुहुन्छ । निवर्तमान अध्यक्ष युवराज गुरुङ्गको राजनैतिक संगठन स्पष्ट नभएता पनि वहाँ दुवै पहिचान सहितको संघियताको विषयमा एकमत हुनु हुन्छ । त्यसैले वहाँहरुको सकृयतामा हुने भेलाले पहिचानको मुद्धालाई एजेण्डा वनाउने कुरै भएन ।

हुन त मैले वेल्जियमका केही विषय वस्तुलाई त्यहाँपनि राख्न प्रयास गरेको थिएँ । अध्यक्ष मण्डलमा वसेर जानकी गुरुङ्गले “त्यो प्रसंगलाई यहाँ नल्याउनुस” भन्दै आक्रोष व्यक्त गर्नु भयो । त्यो प्रसंग थियो, तमु समाज वेल्जियमको नेतृत्वमा वेल्जियमको ईपरमा गोर्खाली (नेपाली) हरुले वीरगति प्राप्त गरेको स्थानमा नेपाली समुदायको तर्फवाट स्मारक बनाउने पहल । तमु समाज वेल्जियमले उक्त स्थानमा सन २००२ देखि पटक पटक श्रद्धान्जली कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । र स्मारक वनाउने चर्चा चलेपछि स्वाभाविक रुपमा स्मारक समिति निर्माण गर्ने कुरा भयो । यसलाई दुतावासले नै पहलकदमी लियो । समिति निर्माणको लागि वेल्जियमका प्राय संघसंस्थाहरु दुतावास पुगे ।

नेतृत्वको विषयमा तमु समाज वेल्जियमलाई नै दिँदा उसले त्यहाँ गर्दै आइरहेका गतिविधीको पहिचान पनि हुने र त्यहाँ वीरगति प्राप्त गर्ने बहुसंख्यक गोर्खाली (नेपाली) हरु मध्येपनि अधिकांश तमुहरु भएकाले तमुसमाज वेल्जियमले नै यसको नेतृत्व गर्नुपर्ने दावी तमु समाजले शुरुदेखिनै गरेको थियो । आदिवासी जनजाती महासंघ र त्यससँग आवद्ध संगठनहरु, नेपाली जनप्रगतिशील मोर्चा, वेल्जियमले समर्थन गर्‍योपनि, त्यस प्रस्तावलाई । तर यो जनलहरलाई नेपाली दुतावास वेल्जियमले कार्यान्वयन गर्न चाहेन । यो प्रस्ताव एन आर एन वेल्जियमको साधारण सभामा प्रस्तुत भयो । साधारण सभामा उपस्थित अत्यधिक वहुमतले यो एजेण्डालाई पारित गर्न दवाव दियो । त्यसपछि एन आर एन वेल्जिमयको कार्यसमिति वैठकले निणर्य गर्ने भन्दै साधारण सभा टुङ्गियो । तर वैठकले यसको पक्षमा निर्णय गरेन । र यो कार्यलाई राजनैतिक वहसको विषय वनाई पहिचान सहितको संघीयता पक्षधर र विपक्षी वीचको संघर्षको रुपमा पेश गर्दै अनन्त वहसको रुपमा मात्र सिमित गर्ने र आफ्नो पदको रक्षाको निम्ती गोटीको रुपमा प्रयोग गर्ने काम अध्यक्ष जानकी गुरुङ्गले नै गर्नुभयो । यसलाई सल्लाह सुझाव दिने मध्यमा एक युवराज गुरुङ्ग पनि हुनुहुन्छ । यो प्रवृत्तिको विरुद्ध र तमु समाजको पक्षमा हामी निरन्तर संघर्ष गरिरहेका छौं ।

कहिल्यै पनि वस्तुवादी ढङ्गले र सामुहिक प्रतिनिधित्वको हिसावले नसोच्ने तर व्यक्ति केन्द्रित हुने, आफुले मात्र नेत्रृत्व गर्नपर्ने र नेतृत्वको रुपमा चर्चित भैरहनुपर्ने निम्न पूँजिवादी चिन्तनवाट ग्रसित व्यक्तित्वहरु हुनुहुन्छ उहाँहरु । नेदरल्याण्डको भेलामा पुग्नासाथ र त्यो भेलामा वहाँहरुको सकृयता देख्नासाथ यो पंक्तिकारलाई वहाँहरुको अन्तरनिहीत स्वार्थको भेउ पाउन गाह्रो परेन । तुलनात्मक रुपमा राजनैतिक वहस कम भएको र पहिचानको मुद्धामा सशक्त आवाज उठ्न नसकेको ठाउँमा भेला आयोजना गरी वैचारिक आधारमा नभई  सकृयताको आधारमा नेतृत्व हत्याउने योजना सहित त्यो ठाउँमा भेला राखेको कुरा स्पष्ट हुन्छ । तमुहरुको संख्या चालिस हजारको वरिपरि रहेको र समाजले धेरै उतार चढाव पार गरिसकेको युके, त्यस्तै एक दशक देखि सकृय समाज वेल्जियम (जुन देश वहाँहरुको पनि कार्यक्षेत्र हो) मा त्यो भेला किन हुन सकेन ?  वेल्जियमको कार्यसमितिलाई भेला आयोजना गराउने प्रस्ताव किन आएन ? कुरा स्पष्ट छ, वेल्जियममा भेला राखेको भए त्यस भेलाले पहिचान सहितको संघीयताको पक्षमा मत जाहेर गर्ने निश्चित हुन्थ्यो । र त्यो अनुसारको नेतृत्व चयन हुने कुरा पनि स्वभाविक छ । वेल्जियमवाट त्यो स्वार्थ पुरा नहुने भएपछि नेदरल्याण्ड छनौटमा पर्नु स्वाभाविक हो । वेल्जियममा रहेका तमुहरुको पहिचानको संघर्षको विरुद्ध उभिने र उनीहरुको सम्मान गर्न नसक्नेले युरोपका तमुहरुलाई संगठित गर्छु भन्दै कुदेको देख्दा यो पंक्तिकारले वाध्य भएर यो प्रवृत्ति विरुद्ध भन्यो, आफ्नो घर जलाएर खरानी बनाउने र त्यो खरानी धसेर रमाउनेहरुसंग कसरी सहकार्य गर्ने ? त्यसैले उक्त भेलामा तमु समाज वेल्जियमले संस्थागत रुपमा सहभागीता जनाएन ।

(लेखक तमु समाज वेल्जियमका निवर्तमान महासचिव हुन्)

तपाइँको प्रतिक्रिया