निर्वाचन : दुई तिहाई कि रोइ कराइ ?

शशांक लामा / न्युयोर्क

sasang-lama-usa232निर्वाचनको कुरा उक्काउने बितिकै मलाई २०५२ सालमा नेपालमा भएको आम-निर्वाचनको झलझली याद आउँछ । त्यतिबेला म धनकुट्टाको हिले बजारमा थिएँ । त्यो सानो बजारमा देखिएको चुनावी प्रचार प्रसारको रौनक बढो उल्लेखनिय छ । किनभने तत्कालिन नेपाली राजनीतिक दलहरुको प्रतिबिम्ब त्यस बजारमा देखिएको कृया कलापले छर्लङ्ग्याउँथ्यो । बजारको सिरान रा.प्र.पाले कब्जा गरेको थियो । रेलिमाई रेलिमाई रेलिमाई, लाहुरे दाइको रेलिमाई रेलेमाइ भन्ने । त्यतिबेलाको प्रचलित गीतको प्यारोडी राप्रपा राप्रपा राप्रपा, लाहुरे दाइको राप्रपा राप्रपा जस्तो पुङ न पुच्छरको गीत गाएर राप्रपालेहरु चुनावी प्रचार प्रसार गर्दै थिए । बीच बजार काँग्रेसीहरुले ओगटेका थिए । ओले ओले ओले भन्ने हिन्दी गीत गाएर डिङगो बुट लगाएका काङ्रेसी ठिटाहरु नेपाली-हिन्दी मिश्रित नाच नाच्दै भोट् मागिरहेका थिए ।

बजारको पुछारमा एमालेको अति नै ब्यवस्थित चुनावी सांस्कृतिक मन्डली थियो : शीरमा सूर्य सिउरेका, हत्केला र गालामा सुर्य छाप अंकित भएका खोकु-छिन्ताङ्गका स-साना राईनी बालिकाहरु लोकभाकामा छमछमी नाचेका थिए । गीतको बोल थियो: सुन दाज्यु सुन दिदी सुन भाई, भोट दिन जाँदाखेरी सम्झिनुस् है सुर्यलाई । सबैले मन्त्रमुग्ध भएर एमाले कार्यकर्ताहरुको चुनावी प्रचार प्रसार शैली हेरेका थिए । कार्यकर्ताको प्रस्तुतिले गर्दा एमालेले जनताको मन जितेका थिए ।

चुनावी प्रचार प्रसारका सामाग्रीहरु भित्ता भित्तामा टाँस्ने काममा पनि एमाले नै छरिता देखिए । एकजनाले बाल्टिनमा माड बोकेको हुन्थ्यो । अर्कोले पाम्फलेट भुईँमा फिँजाउँथ्यो । घरमा रङ्ग लगाउँदा प्रयोग गरिने बेलना आकारको फनन घुम्ने ब्रुश बाल्टिनमा डुबाएर तेस्रोले पाम्फलेट माथि माड स्वार स्वार दल्थ्यो । चौथोले माड लगाइसकेको पम्फलेट भित्तामा च्याप्प टाँस्थ्यो । ती एमाले कार्यकर्ताले हिले बजार त एमालेमय बनाए बनाए । हिलेदेखी धनकुट्टा बिचका घर, रुख, भित्ता, पर्खाल, ठुलो ढुङ्गा केही बाँकी राखेका थिएनन ।  जताततै सूर्य नै सूर्य !! पाम्फलेटलाई बटारेर गोलो पारी पछाडिको गोजीमा राखी कांग्रेसी कार्यकर्ताहरु पनि हल्लिँदै आउँथे । कुनै होटेलमा छिरेर भात मागी सकी नसकी पाम्फलेटमा भात टाँस्थे । छोटकरिमा भन्दा झारा टराइ काम गर्थे । धनकुट्टामा सुर्य बहादुर थापाको प्रतापले जितिन्छ भनेर हो कि रा.प्र.पाले त्यो पनि गरेन । माओवादीको त त्यतिबेला छेकछन्दै थिएन । कार्यकर्ताले खटे बमोजिमको चुनावी नतिजा आएको त जग जाहेर छँदैछ ।

०५२ सालदेखी अहिलेसम्म अरुण, तमोर, सुनकोशी, कर्णाली नदिहरुमा धेरै पानी बगेर गए । झन काठमाडौको बागमतिमा त कति लेदो बग्यो बग्यो । राजतन्त्रको अवसान भयो । राजनितिक ब्रितमा एक लम्बरको काङ्रेस दोस्रो भयो । एमाले दोस्रो बाट तेस्रोमा झर्यो र दशबर्षे जनयुद्व लडेर आएको माओवादी संबिधान सभाको चुनावमा फष्ट भएको छ । गिरिजा कोइरालाको मृत्‍यु पश्चात कांग्रेस दिशाहिन, दिग्भ्रमित, नेत्रित्वबिहिन, अकर्मन्य र स्खलित भएको छ । “मेरो बाबुले घिउ भात खाएको थियो । नपत्याए मेरो हात सुँघेर हेर” भनेर ईतिहास भजाउने काम सिवाय केही गरेको छैन काँग्रेसले ।

सातसाल, बी पिको सपना, सत्याग्रह आदि जप्यो । बस्यो । साँच्चै भन्नु हो भने काँग्रेसी कार्यकर्ताले सामन्तवाद र समाजवाद बिचको अन्तर नै खुट्ट्याउन सकेको छैन । ०५२ सालको झिल्के, तन्नेरी, जुझारु, लायक, अग्रगामी, प्रगतिशिल एमाले १० बर्ष पनि बित्दा नबित्दा ख्याउटे, बुढो,शिथिल, नालायक, पश्चगामी र अगतिशिल भएको छ । यस पार्टीले लिने गरेका चमेरे नीतिले गर्दा राष्ट्रिय राजनीतिमै पटक पटक नकारात्मक स्थितिको स्रिजना भएको छ । पछिल्लो समयमा यस पार्टिको युवापंक्तिमा साँगठनिक अपराध गतिबिधिमा लागेका डनहरुको हाली मुहाली बढदैछ । समष्टिमा भन्दा यो पार्टी अहिले सिद्वान्तहिन भएर चलेको छ ।

दशबर्षे जनयुद्वबाट खारिएर आएका माओवादीबाट जनताले धेरै नै अपेक्षा राखेका थिए । विगतमा भएको संबिधान सभाको निर्वाचनको परिणामले ०५२ साले जनादेशलाई भतभुङ्ग पारी नेपाली जनताले माओवादी पार्टिलाई नेपालको एक लम्बर पार्टी बनाएर जनादेश दिई यस पार्टिलाई सत्तासिन पनि गराएको थियो । तर यस पार्टीले पनि जनताको चाहना र आकांक्षालाई पटक्कै सम्बोधन गर्न सकेन भनेर प्रशस्त गुनासा सुनिए । जतिसुकै अग्रगामी बिचार राखेपनि सामन्ती संस्कारमा हुर्केका यस पार्टिका नेताहरुमा पनि बिचलन देखियो । All the animal are equal, some are more equal than others भन्ने द एनिमल फार्म भन्ने उपन्यासमा जर्ज अरवेलको भनाइ एकदमै यहाँ फिट खान्छ ।  खैर आदर्शवादिता केही कुरामा पनि नखोजे हुने भैसक्यो । नेपाली राजनीतिबारे माथि जे जस्तो बर्णन गरेपनि नेकपा माओवादीका अध्यक्ष प्रचन्डको डाइनामिज्मबारे टेले-पत्रकार युग पाठक यसो भन्छन : “प्रचन्ड कृया गर्छन्, अरु नेताहरु प्रतिकृया दिन्छन ।”

दशबर्षे जनयुद्व पश्चात राजतन्त्रको अवसान । गणतन्त्रोन्मुख देश र माओवादीको अभ्युदयले नेपाललाई धेरै कोणबाट तरंगित गराएको छ ।  यस उपलब्धिले भौतिक परिवर्तन केही नदेखिए पनि मेची देखी महाकाली सम्मका शोषक सामन्तीहरुको मुटुमा ढ्याङ्ग्रो बजाएको छ ।

अहिलेको नेपालको अवस्था भनेको एउटा लामो संघर्ष, हजारौं मानिसको शहादत र निर्णायक आन्दोलनको उपज हो । राजतन्त्रको अवसान भएपनि २४० बर्षसम्म यस तन्त्रले बसाएका प्रशासनिक संयन्त्र, संस्कार र जालो रातारात बदलिन नसक्दो रहेछ भन्ने कुरा त धरातलिय यथार्थले प्रष्ट्याइसक्यो । राजतन्त्रका हिमायतीहरु र बिगतमा राजालाई ढाल बनाइ हाली मुहाली गर्न पल्केकाहरु प्रशासनिक र राजनीतिक ब्रितमा रहिरहनुले गणतन्त्रोन्मुख नेपालको बिकासमा र समष्टिमै भैरहेको परिवर्तन प्रकृयामा नकारात्मक असर पर्न गएको छ । अवसरवादी बुद्दिजिवीले सधैं पुरानै ठीक भनी पुरातनवादिहरुको वकालत गरी अत्यन्तै गैर जिम्मेदारी अभिब्यक्ती दिएर स्थितिलाई झन प्रतिकुल बनाएको छ । सौताको रिसले पोइको नाक काटनु भने झैँ माओवादीको शेखी झार्नलाई एमाङ्रेसहरु आँफैले गलहत्याएको राजावादिहरुप्रति नरम रुख अख्तियार गर्न समेत तत्पर रहेको आभास मिलेको छ । कस्तो असहिष्सुणु र अदुर्दशी राजनीति हो यो ?

अबको हाम्रो बाटो के त ? देश दलिय राजनीतिमा प्रवेश गरिसके पछि हामीले थुप्रैचोटी मतदानमा भाग लियौँ । राजा, कांग्रेस, एमाले, माओवादी, मधेशवादी आदि कोही पनि गतिला निस्केनन । तिनले हाम्रो आकांक्षारुप काम गरेनन । बिकल्प के त ? हामी यस्तो निरिह अवस्थामा छौँ कि हामीसंग बिकल्प धरी छैन । चोरको सट्टा डाँका छान्ने बिकल्प मात्र बाँकी छ । आगामी संबिधान सभाको निर्वाचनको संघारमा कुन धरातलमा टेकेर हो, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हामी दुई तिहाइ ल्याउँछौँ भनेर आँकडा नै प्रस्तुत गरे । एमालेले पनि निर्वाचन पश्चात हामी सबभन्दा ठुलो पार्टी हुन्छौँ भनेर डिङ हाँकिसक्यो । माओवादिले त सबैलाई धुलो चटाइ दिने घोषणा गरेका छन ।

छोटकरिमा भन्दा सबैले दुई तिहाइ ल्याउँछौँ भन्न खोजेको हो । निर्वाचनमा भाग लिने जो कोहिले पनि म हार्दैछु भन्न मिलेन क्यार जित्छु । दुई तिहाइ ल्याउँछु त भन्नै पर्‍यो नि । यी राजनीतिक नेताहरुका नौटंकी देखेर नेपाली जनता यति रुष्ट भएका छन कि चुनावताका नेताहरुले दुई तिहाइ चाहीँ कुन्नी जनताको स्वाँक्क सुँघाइ भेटेर यिनको रोइ कराइ चाहीँ अवश्य हुन्छ ।
चुनाव त हुन्छ, हुन्छ । हामी रिसाएर, ठुस्केर मत हाल्न नगए पनि कसै न कसैको मत पाएर माथि उल्लेख भएकाहरु फेरी निर्वाचित भएर आउँछ, आउँछ । अब हामीले ब्यक्तिलाई हेरेर होइन कि त्यस ब्यक्तिको दलले लिएको भिजनको ब्यवहारिकतालाइ हेरेर मत खसाल्नु पर्दछ ।

बिगतमा नेपाली जनताले पञ्चायति ब्यवस्थाका बिरुद्व आक्रोश भोट खसालेर नानीमैयाँ दाहाल प्रभ्रितिलाई सदनमा पठाएका थिए । यस्तो खेलाँची मतले दिर्घकालिन रुपमा समस्याको समाधान गर्दैन । ०४६ साल पछि हामीले थुप्रै असफल गठबन्धन सरकारहरु देख्यौँ । र भोग्यौँ । यी थुप्रै असफलतालाई हृदयंगम गर्दै अब हामीले कि त एउटै पार्टिलाई सरकार गठन गर्न पुग्ने मत खसालेर जिताउनु पर्‍यो वा साझा सवालमा गठबन्धन गरेका केही पार्टिलाई अत्यधिक मत खसाएर दिगो सरकारको लागि जनादेश दिनुपर्‍यो । भएका बग्रेल्ती पार्टिहरुलाई चुस्स चुस्स भोट दिने परिपाटिलाइ सदाको लागि बन्द गर्नुपर्‍यो । १ सिटे र ४ सिटे पार्टीले बेला बेलामा रडाको मच्चाएको सबैले देखेकै कुरो हो । सालाको ससुरा समाजवादी पार्टिमा छ भनेर मत खसाल्ने क्रम जारी राख्यौँ भने हामीले अन्त्यहिन समस्या भोग्छौँ ।

नेपालको राजनीति मोटामोटी दुई खेमामा बिभाजित भैसकेको छ : १ माओवादी-मधेशवादी-जनजातिवादी । २ कांग्रेस-एमाले-राजावादी । आगामी संबिधानको निर्वाचनमा नेपाली जनताले पार्टी बिशेषलाई भोट नदिइ अत्यन्तै नौलो चिन्तन अपनाइ आफुले रुचाएको खेमालाई अत्यधिक मत खसाली आफ्नो राजनीतिक सुझबुझ प्रदर्शन गर्न सक्नु पर्दछ । बिगतमा जस्तो भोट नछरेर भविश्यमा दुई पार्टिको अवधारणा तर्फ उन्मुख भयौँ भने राजनीतिक पार्टिमा जिम्मेदारिको भावना बढन गै देश सुब्यवस्था र सुशासनतर्फ लम्किन्छ । अन्यथा हामीले लापर्वाहीपूर्ण खसालेको मत बुमर्याङ भै हाम्रै टाउकोमा बज्रिन्छ । दिन दुगुना रात चौगुना आर्थिक बिकास भैरहेको चीन र भारत बीच रहेको हाम्रो नेपालको भविष्य म त उज्वल देख्छु ।

तपाइँको प्रतिक्रिया