चुनाव भाँड्ने को ?
असारमा चुनाव हुन्न भन्ने कुरो घाम जत्तिकै छर्लङ्ग थियो । घोषणा नगरिएको मात्रै थियो । हाम्रा नेता तिनै हुन्, फेरिका छैनन् । नीति उहि छ । पारा त्यहि नै हो । मानसिकता बदलिएको छैन । स्वार्थ उनै छन् । अनि संविधान सभा किन भंग भो । भैरहेकोले किन बनाउन सकेन संविधान र नयाँ निर्वाचन गर्नु पर्यो ? अबको संविधान सभाले बनाउँछ भन्ने के निश्चित छ त ? यि प्रश्नको जवाफ नखोजि संविधान सभाको निर्वाचन तोके ।
खिलाराज रेग्मी मन्त्री परिषद अध्यक्ष हुनासाथै आफ्ना मान्छे भर्तिकोलागि तानातान गरे, निर्वाचनकालागि होइन । अहिले चुनाव बहँड्न खोजिँदै छ भन्दै छन् । माओवादी अध्यक्ष प्रचण्ड एमाले र कांग्रेसले नचाहेको, निर्वाचन धकेल्न खोजेको भन्ने आरोप लगाउँछन् । एमाले र कांग्रेस चाहिँ माओवादीले निर्वाचन नचाहेको आरोप लगाउँछन् । संघिय समाजवादी पार्टी, नेकपा-माओवादी सहितका ३३ दल चाहिँ आन्दोलनमा छन् । आन्दोलनकारिको मत छ, यो सरकार अबैध हो । चार दलको सिन्डिकेट मानिन्न । आखिर निर्वाचान भाँड्ने को हो त ?
नेकपा-माओवादीका अध्यक्ष मोहन बैध्यले त हामी कुनैपनि हालतमा यो निर्वाचन हुनै दिन्नौं भनिसके । त्यसैले यो दलले भाँड्न खोजेको त प्रष्टै भैहाल्यो । लुकाउँदै लुकाएनन् । तर यो दल एक्लैले सक्छ कि सक्दैन त भाँड्न ? बैध्य माओवादीले मात्रै नचाहेर निर्वाचन सरेको त होइन । निर्वाचन घोषणा गर्ने ठूला भनिएका चार दलनै यसको जिम्मेवार देख्छु म त । किनभने तिनले घोषणानै अबैधानिक बिधी अपनाएका थिए ।
संविधान सभा भंग भएको । बैधानिक अंग राष्ट्रपती बाहेक अर्को नभएको । यस्तो बेला कम्तिमा मुलुकका प्रमुख दललाई समेटेर छलफल गर्नुपर्थ्यो । सहमती जुटाउनुपर्थ्यो । तर नेकपा-माओवादी, संघिय समाजवादी पार्टी र मधेशी जन अधिकार फोरम जस्ता पार्टीलाई पुरै बाहिर राखे । छलफलमापनि बोलाएनन् । अनि कसले मान्छ ? किन मान्ने तिनले चार दल भन्नेको निर्णय ? हो, मुख्य चुनाव भँडुवा नितिनै यहि भयो ।
त्यसपछिपनि आफ्ना मान्छे मन्त्री परिषदमा भर्ति गराउन तिनैले ज्यान फाल्न थाले । राजनितिक संयन्त्र भन्ने बनाए । त्यसमापनि ति चार दलकै मनपरी चल्यो । बिस्तारै बिस्तारै पुरै राजनितिक प्रक्रियाबाटै तिनलाई बाहिर राख्न खोजे । अनि किन मान्थे तिनले ? त्यो त एउटा समस्या भयो नै । भित्र भित्रै चुनाव भाँड्न आफैं लागिपरे । प्रचण्ड आफैंले मोहन बैध्यलाई आन्दोलन चर्काइदिन गोप्य मन्त्रणा गर्ने । चुनावी प्रक्रिया ढिलो होस् भनेर अनेक बहाना झिक्ने । बाँकि राजनितिक तयारि नगर्ने । उता एमाले र कांग्रेसलाई दोष लगाउने । आफुले चाहिँ भित्र भित्रै आन्दोलन गरिदिन उक्साउने । यो निर्वाचन भाँड्ने मुख्य खेलाडि जस्ता देखिए प्रचण्ड आफैं। अझ असारमा निर्वाचन नभए मंसिरमापनि हुन्न भन्ने प्रचण्डको दाबीले त निर्वाचन कसले भाँड्न खोज्दै छ बन्ने प्रष्टै भएको छ । मंसिरमा यदि हुन्न भने पनि उनले किन हुन्न कारण खोल्न सकेका छैनन् ।
अर्को तथ्य के हो भने असारमा चुनाव भए हारिन्छ भन्ने छ सबै दललाई । माओवादी फुटेको । त्यसैले बहुमत आउने कुरो त भएन । सरकारमा गएपछि कुकर्म धेरै गरेकाले पहिलेझैं लहर त अवश्यै नआउला । माओवादीका पक्षमा । ‘सरकारमा गएर लुट्नु भन्दा के लछारबाटो लायौ जनताकालागि र भोट दिने ?’ भनेर सोध्छन् सोध्छन् जनताले । कांग्रेसले १४ वर्ष सरकार चलायो । मुलुकमा अतिथि, बेरोजगारी, दण्डहिनता, भ्रस्टाचार बढाउने काम मात्रै गरेको हो । एमालेको हालतपनि उस्तै हो । अनि के भनेर मत माग्ने ? जनतासित मत माग्न जाने सबै दलको आधार भनेकै एकले अर्कोलाई आरोप लगाउने र ‘संविधान बन्न नदिएको फलानो दलले हो, हामीले बहुमत ल्याए बनाउँछौं’ भन्ने हो । यो पनि यस पटककालागि मत मागुन्जेल बोल्ने झुठ हो ।
आफ्नो हुति छैन । कार्याकर्तामा जोस र जाँघर छैन । बिगतमा जनतालाई चुस्ने र सताउने बाहेक केहि गरेकै छैन । अनि निर्वाचनमा गुण्डासुण्डा तयार पार्ने समय चाहियो । पैसाको जोहो गर्नुपर्यो । त्यो काला बजारिया र बिदेशीले दिने हो । त्यसकालागिपनि तयारि चाहियो । अर्को मुख्य कुरो त बिदेशीले जे भन्छन् त्यहि सुन्ने न हो । एमाले, कांग्रेस र माओवादी सबैको हालत जनतातिर कान थाप्ने होइन । बिदेशीले के भन्छन् भन्ने आकाशबाणी सुन्ने हुन् । ‘लौ अहिले गर्यो भने हार्छौ’ भन्दिए त्यहि अनुसार भाँड्नतिर लाग्छन् । अहिले गरे जाति हुन्छ भन्दिए चुनाव चुनाव भनेर उफ्रिने हुन् । तर अहिलेको बिदेशीको खेल भनेको नेपाललाई सकेसम्म अस्थितर बनाइराख्ने हो । त्यसैमा तिनलाई खुदो हुन्छ । त्यसैले आरोप जसले जसलाई लगाएपनि निर्वाचन हुने हो कि होइन चाबी देशभित्र छैन । बिदेशीसित छ । बिदेशीले चुनावको चाबी खोले हुन्छ । नखोले हुन्न । हाम्रा नेता र प्रमुख भनिनेहरुको खाँट्टी हालत यहि हो । दोष त जनतालाई देखाउन जसले जसलाई लगाएपनि भयो ।




