भोट माग्नेका घुँडा फुकाल्न कुन कुन दलको मोर्चाबन्दि ?
चार वर्षसम्म भत्ता खाएर संविधान नबनाई संविधान सभालाई बिघटन गरेका दलले अब संविधान बनाउने ? बनाउने भए त्यहि बेला बनाउने थिए । बनाएनन् । कमसेकम किन बनेन त संविधान ? कारण के थियो ? दोष कसको थियो ? त्योपनि केलाएनन् । जनता स्पष्ठ हुनै पाएनन् । अनि तिनै दल, तिनै नेता उहि मानसिकता बोकेर निर्वाचनमा जाने । र तिनले संविधान बनाउने ? पत्यार लागि हालेको थिएन नै ।
तर मुख्य पार्टीका चर्तिकला र केहि ठूला पार्टीको मोर्चाबन्दिले असारमा त चुनाव कुनै हालतमापनि हुन नसक्ने अवस्था देखिँदै आएको छ । किनभने चुनावामा सहभागि हुनुपर्ने ठूला दललेनै बरु भोट माग्नेका घुँडा फुकाल्ने भन्दै मोर्चाबन्दि कसेका छन् । नकसुन पनि किन । बाहिर बाहिर चुनाव गर्नुपर्यो भन्दै उचालिने र कुर्लने एकिक्रित नेकपा माओवादी अध्य्यक्ष प्रचण्डनै भित्र भित्र असारमा चुनाव नगराउने योजना बुन्दै हिँडेका रहेछन् ।
प्रचण्डले जसरि हुन्छ असारमा चुनाब बिथोल्ने वातावरण बनाउन नेकपा माओवादीका अध्यक्ष मोहन बैध्यसित गोप्य बैठक बसेरै आग्रह गरेको तथ्य त यस अघिनै सार्वजनिक भएकै हो । यसैबाटपनि असारमा चुनाव गराउन एकिक्रित नेकपा माओवादी चाहन्न भन्ने त बुझियो नै । छुट्टिएर अलग पार्टी बनेको नेकपा-माओवादीले आफुले बहिस्कार गर्ने र चुनाव हुनपनि नदिने भनेर त पहिलेनै सार्वजनिक गरिसकेको हो । बरु भोट माग्न आए प्रचण्ड अनि बाबुरामकै खुट्टा भाँचेर पठाउने धम्की दिएका हुन् । नेपका-माओवादी निर्वाचन आयोगमा दर्ता नभएपनि सानो पार्टी हैन । यिनले गाउँ गाउँमा धेरै प्रतिरोध गर्न सक्छन् । त्यसमा झन अरु पार्टीपनि थपिए भने ? संघियता र पहिचानको नारा लिएर आएको नयाँ पार्टी संघिय समाजवादी पार्टीलेपनि असारमा कुनैपनि हालतमा चुनाव हुन नदिने योजना बनाएको आजको जनआस्था साप्ताहिकले सार्वजनिक गरेको छ ।
संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्ना पुराना सहकर्मीसित भनेका रहेछन् ‘असारमा त हामी कुनै हालतमा चुनाव हुनै दिन्नौं नी । चुनाव भन्दै गाउँ छिर्नेका हातखुट्टा भाँच्छौँ ।’ नेकपा-माओवादीका सचिव देव गुरुङले पनि अशोक राईले झैं चुनाव बहिस्कार गर्ने बताएका रहेछन् । उनीहरुले उपेन्द्र यादव र साना दलहरु मिलेर चुनावविरोधी गठबन्धन बनाउँने कोसिस गरिरहेका रहेछन् । त्यसकालागि सकेजति पार्टीसित तिनले छलफल चलाइरहेका रहेछन् । योपनि आज बुधवारको जनआस्थाले सार्वजनिक गरेको छ । किन चुनाव बहिस्कार गर्ने त ? देव गुरुङको तर्क रहेछ ‘चुनाव गर्न यो सरकार बनाएकै होइन । मधेसीलाई एकताबद्ध बनाएर पहिलो स्थान दिलाउने, प्रचण्डसँग साझेदारी गराएर एक मधेस प्रदेश घोषणा गराउने परिपञ्च मिलाइँदैछ ।’
अशोक राईका चुनाव बिरोधी कुरा सुन्ने हो भने त झन भोट माग्न गाउँ छिर्नेको सातो जाने खालको छ । निर्वाचन असफल बनाउन उनले भनेका रहेछन् ‘पचास–साठी जना उम्मेदवारलाई छियाछिया पार्छौं । उस्तै परे चार–पाँच सय जना जेल जान्छौँ ।’ त्यसो त मतदाता नामावली संकलनमा गाउँ गाउँ जाने कर्मचारीलाई लखेट्न थालिसकेका छन् गाऊँबाट । गाउँमा मतदाता नामावली संकलन गर्दै जानेलाई फिर्ता पठाउन थालिसकेको छ ड्यास माओवादीले । नमाने कारवाहीको धम्की दिन थालेको छ । मकवानपुरको कालिकाटार, काँकडाजस्ता विकट गाउँ पुगेका कर्मचारीलाई वैद्य समूहले फिर्ता पठाएको जनआस्थामा उल्लेख छ । अरू दल निर्वाचनमा जबरजस्ती गए बैद्यपक्षका कार्यकर्ताले कारवाहीनै गर्ने धम्कि दिएका छन् ।
उता यो निर्वाचन बहिष्कार गर्न मात्रिका यादव, नेकपा (माओवादी) उपेन्द्र यादवको मधेशी जन अधिकार फोरम लगायतका दलसितपनि मोर्चा बन्दि गर्दै छन् । एकातिर आफैंले चाहेको भनेको निर्वाचन असारमा हुन नदिन हारगुहार माग्दै हिँड्ने एकिक्रित नेकपा माओवादी । अर्कोतिर हात खुट्टा भाँच्न देशका ठूला मध्येकै दलहरुको यो मोर्चा बन्दि । के असारमा हुने भनिएको निर्वाचन होला त ? यि दलहरुले गतिलो मोर्चाबन्दि गरेरै लागे भने त धेरै नै ठाउँमा पो भाँच्छन् त भोट माग्दै गाउँ छिर्नेका हातखुट्टा ।




