पाखण्डी संस्कृतिविरुद्ध

आनन्दराम पौडेल

journalist-ananda-ram-paudel-32345सरकार परिवर्तनको भोलिपल्टै प्रहरीको अपराध अनुसन्धान व्युरोले ५ जना डनको फाइल सम्पति शुद्धिकरण विभागमा वुझायो। अपराधबाट आर्जित सम्पतिको छानबिन गर्ने क्रममा व्युरोले यी ५ जना डनहरुको अनुसन्धान ६ महिनाअघि नै टुङ्ग्याईसकेको थियो। अघिल्लै सरकार बिद्यमान रहेकोभए व्युरोले बर्षौंसम्म फाइल पठाउने थिएन। ती डनहरुको फाइल अघि बढ्नासाथ तुरुन्तातुरुन्तै राष्ट्रिय सतर्कता केन्द्रले सञ्जय साह ‘टक्ला’को फाइलपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो। त्यससँगै अस्वाभाविक वित्तीय कारोबारमा संलग्न रहेको देखिएकोले राष्ट्रबैंकले हृदयेश त्रिपाठी, विजयकुमार गच्छेदार, सुजाता कोइराला, राजकिशोर यादव, हिसिला यमी, अग्नि सापकोटा, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत तीन दर्जन नेताको सम्पति छानबिन शुरु ग-यो। यी नेताहरुको आर्थिक लेनदेन अत्यन्तै अस्वाभाविक पाइएपछि नेपाल सम्पति शुद्धिकरण विभागको सहयोग लिई राष्ट्रबैंकको वित्तीय जानकारी इकाइले यी नेताहरुको सम्पति छानबिन शुरु गरेको हो ।

नेताहरुले सरकार छाड्नासाथ अपराधीहरुको कार्यवाही प्रकृया अघि बढ्नुको कारण प्रष्ट छ । प्रशासन संयन्त्र यी नेताहरुप्रति अविश्वास गर्छ । अविश्वासको कारण के होभने यिनीहरु मनपरी गर्छन् । समाजमा बस्ने मान्छेलाइ लाजशरमले मर्यादामा बाँध्नेरहेछ । यिनीहरुले लाजघीन पचाएका छन्, त्यसैले यिनीहरु जेपनि गर्छन् । नेपालका नेताहरु यति अहङ्कारी छन् कि उनीहरु आलोचना सुन्दैनन् । कहिल्यै आत्मसमीक्षा गर्दैनन् । कमजोरी स्वीकार्दैनन् । गल्ति सँच्याउँदैनन् । जनताको भावनालाइ कदर गर्नुसट्टा जनतालाइ हेप्छन् । किरा फट्याङ्ग्रा जतिपनि गन्दैनन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग पीडितलाइ न्याय दिने हिसाबले बनाउ भनेर जनताले भन्यो, यिनीहरुले पीडकलाइ उम्काउनेगरी बनाए । इण्टर्नेशनल कमिशन अफ जुरिष्ट, राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र राजनीतिक मामिला हेर्ने राष्ट्रसङ्घका उपमहासचिवले विरोध गर्नासाथ तुरुन्तै पुनरावलोकन गर्न तैयार भए । त्यही कुरो जनताले घोक्रो सुक्नेगरी मरी-मरी चिच्याएर भन्दापनि सुन्दैनन्, तर त्यही कुरो विदेशीले औंल्याउँदा मात्रै पनि घोप्टो परेर सच्याउँछन् । यिनीहरु विदेशीलाइ ‘प्रभु’ र स्वदेशीलाइ ‘किराफट्याङ्ग्रा’ ठान्छन् भनेर यस्ले प्रष्ट पार्छ । स्वदेशीका कुरा सुन्थेभने लोकमानसिंह कार्कीलाइ अख्तियारको प्रमुख आयुक्त नबनाउ भनेर अधिकांश जनताले एकस्वरले चिच्याएको आवाजलाइ पक्कै कदर गर्थे । आत्मसमीक्षा गर्थेभने सर्वप्रथम सम्विधानसभा असफल हुनाको कारण पत्ता लगाउँथे । 

सबैलाइ थाहा छ, सम्विधानसभालाइ २४० जना निर्वाचित प्रतिनिधिले भताभुङ्ग पारेका थिएनन्। शीर्षस्थ नेताले मनोनित गरेका ३६१जना खल्तिका मान्छेले गोलखाडीमा पुर्‍याईदिएका थिए। ३६१ जनामध्ये अधिकांश अत्यन्तै सङ्कीर्ण थिए । राष्ट्रिय एकता र सद्भाव यिनीहरुको दिमागमा थिएन । यिनीहरु आफ्नो जात,थर, गोत्रबाट माथि उठेनन् । आफ्नो जातको बखान तथा अर्को जातको बदख्वाईं गर्दागर्दै र एकल जातीय वर्चस्वको राज्य भनेर हुरुक्क हुँदै ४ बर्ष सखाप पारे । जातीय अहङ्कार र अर्को जातप्रति चरम इर्ष्याको जलनले सम्विधानसभालाइ भष्म ग-यो । जात-जातमा विभाजित गरेर भिडाउने खेलको लागि जातीय अहङ्कार र इर्ष्या यिनै नेताले भरेका थिए । जातीय राजनीतिको बिषयमा सचेत गराउँदै रोजा लक्जम्बर्गले लेनिनलाइ भनेकी थिईन्, “वर्गीय समाजमा हरेक जातिभित्र विपरीत स्वार्थ र शक्ति भएका वर्गहरु रहनेछन् । कुनै जातीले जातीय अधिकार पायो नै भनेपनि त्यसभित्रको बुर्जुवा वर्गले प्रतिक्रान्तिकारी वर्गीय स्वार्थका लागि त्यो अधिकारलाइ दुरुपयोग गर्नेछन् । जातीय आकांक्षा र अहङ्कारलाइ उचाल्ने बोल्सेभिक नीतिले गर्दा अन्तत समाजवादी आन्दोलन नै प्रथभष्ट हुनेछ।” शताव्दीअघि रोजाले गरेको भविष्यवाणि सत्यसावित भयो, तर कुत्सित र सङ्कीर्ण स्वार्थमा चुर्लुम्म डुबेका हाम्रा नेताले इतिहासको यो अनुभवबाट पाठ सिक्न चाहेनन् । वुद्धिमानले अरुको अनुभवबाट सिक्छ, औसतले आफ्नो अनुभवबाट सिक्छ तर अधमले आफ्नै अनुभवबाटपनि सिक्दैन । हाम्रा नेताले त आफ्नै अनुभवबाटपनि सिक्न चाहेनन्। त्यसैले औसतमा समेत् परेनन्। इतिहासको अनुभवबाट पाठ सिक्ने होभने फ्रान्समाबाहेक दोहो-याएर बनाएको सम्विधानसभाले कहींपनि सम्विधान निर्माण गरेको छैन। 

हाम्रो सामुन्ने स्क्रिनमा निर्वाचन मात्र देखिएको छ, तत्पश्चात् बन्ने सम्बिधानसभाको स्वरुप देखाइएको छैन । ४९१ जना भएको सम्बिधानसभामा जननिर्वाचितभन्दा बढी २५१ जना आफ्ना खल्तिका मान्छे भर्नेगरी तारतम्य मिलाइसकिएको छ । यो प्रपञ्च वुझेपछि यति भन्न सकिन्छ, नेकपा-माओवादीले भाँडेनभने छठपछि निर्वाचन त होला, तर सम्बिधानचाहीं बन्दैन । कथंकदाचित् बनिहाल्योभने पनि कार्यान्वयन हुँदैन । यो सबै अरु कारणले हैन, राजनीतिमा साम्प्रदायिक बिष घोलिदिएकाले हुनेछ । ४-५ बर्षदेखि रिक्त रहेका सम्बैधानिक निकायहरुलाइ अहिले निर्वाचनको पूर्वसन्ध्यामा आएर हतार-हतार भर्नुको कारण के होला ? संसद भएको बेलामा संसदीय सुनुवाई गराउनुपर्थ्यो, जस्ले गर्दा लोकमानसिंह कार्की जस्ता खुङ्खारहरुलाइ नियुक्त गर्न सकिंदैनथ्यो भन्ने वदनीयत प्रष्टै वुझिन्छ । संसद छउञ्जेल नगरेर सम्बिधानसभा बिघटन भएपछि रातारात नयाँ कानुन बनाउन र पुरानो कानुन संशोधन गर्नका लागि २ महिनाभित्र ४० वटा अध्यादेशको ओइरो लगाइएको थियो । सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेशको मस्यौदामात्रै हेर्दा यिनीहरुको भित्री मनसाय प्रष्ट हुन्थ्यो । 

अहिले देश नेताहरुको सनकबाट उत्पादन भएको मनपरीतन्त्रमा चलिरहेछ । यो मनपरीतन्त्र भनेको भद्रगोल र अराजकताको यस्तो भूँमरी हो, जुन बेस्सरी चलायमान त भैरहन्छ तर कुनै बाटो, दिशा र गन्तव्यतिर अघि बढिरहेको हुँदैन । न्युट्रल गियरमा राखेर बेस्सरी एक्सिलेटर दाबिरहेको अवस्था हो, जस्ले आवाजचाहीं चर्को निकाल्छ तर गति पटक्कै दिंदैन । राष्ट्रलाइ अन्धकार सुरुङभित्र हुलिदिएको स्थिति हो । यस्तो स्थिति अपराधी र भ्रष्टाचारीको लागि उर्वर हुन्छ।  त्यसैले अहिले नेपालमा अपराधी र भ्रष्टाचारीको हालिमुहाली चलिरहेछ । यो अनिश्चयको भूमरीभन्दा त बरु ली क्वान यू को मोडेल नै उत्तम हुन्छ, जस्ले राष्ट्रलाइ सिष्टमको फलो गर्न लगायो र सिङ्गापुरलाइ उँचाईमा पु-यायो । सिष्टमको फलो गर्न लगाएको मात्र कारणले नितेशकुमारले बिहारलाइ ट्र्याकमा ल्याए । तर, नेपालमा भने राष्ट्र झन्-झन् भद्रगोलको दलदलमा भासिंदै गएर उत्रने सम्भावना नदेखिएपछि आजीत भएका जनताले बाध्य भएर बेनेभोलेण्ट डिक्टेटरशीप रोज्नसक्ने डर पैदा भएको छ । यो भनेको झ्याल, ढोका र खटप्वालहरु सबै बन्द गरेर बिरालोलाइ कुट्नथाल्दा कुनै निकास नदेखेको बिरालोले अन्तिममा झ्याम्मै झम्टने अवस्था हो । अपृय निर्णय लिन बाध्य पारिएको स्थिति हो । मनपरीको पराकाष्ठा कहाँसम्म पुगेको छभने अध्यादेशबाट सम्विधानै संशोधन गरिदिन्छन् । विश्वको लोकतान्त्रिक इतिहासमा कहीं कहिल्यै अध्यादेशबाट सम्विधान संशोधन भएको छ ? यत्रा नेपालीहरु के सबै कामनलाग्ने नै भैसकेका हुन्, जस्लेगर्दा खिलराजजीले आफ्नो पदलाइ लियनमा राखेर काजमा आई प्रधानमन्त्रीको पद सम्हालिदिनुपरेको हो ? 

मनपरीतन्त्रमा न मूल्य हुन्छ, न त मर्यादा । सिद्धान्त, दर्शन, आदर्श र सभ्यता सबैलाइ कुल्चेर यो सीमारहीत पतनको अनन्तमा जान्छ । मनपरीतन्त्रको श्रोत र आधार सनक हुन्छ । कसैको सनकमा चल्नेहुनाले हरपल अनिश्चयको भूमरीमा रुमल्लिईरहन्छ । यही सनककै कारणले गर्दा सिद्धान्त र आदर्शको लागि भनि गरिएको आन्दोलन र क्रान्तिको उपलव्धीलाइ सत्तास्वार्थमा ह्वात्तै होमिदिएका छन् ।

नेपालको राजनीतिक नेताका आधार र जग आमजन नभएर क्रिमीलेयर देखिन्छ । उनीहरुको बसउठ र हिमचिम उपल्लो वर्ग र पश्चिमा प्रभुसँग मात्र भैरहेको हुन्छ । सामन्तवादको विरोध गर्दै आफू झन् महासामन्ती बन्ने यिनीहरुको द्वैधचरित्र उदाङ्गिएको छ । यिनीहरु ढोंगी, पाखण्डी र आडम्बरी रहेछन् भन्ने छर्लङ्ग भएको छ । यिनीहरुको द्वैधचरित्रले गर्दा भूईंफुट्टा वर्गको विकास भएको छ र टपर्टुईंया संस्कृति स्थापित भएको छ । मूल्य-मान्यताको स्थान धुर्त्याईंले, तर्कको स्थान उन्मादले र विवेकको स्थान सनकले लिएको छ । यो ढोंगी, पाखण्डी, आडम्बरी र धुर्त्याईंपूर्ण संस्कृति र संस्कारको विकास हुनुमा नेताहरु मात्र जिम्मेवार छैनन्, हामी जनताजनार्दन पनि त्यत्तिकै जिम्मेवार छौं । जनता नजाग्ने हो र यी द्वैध चरित्रका नेताकै भरमा राष्ट्रलाइ छाडिदिने होभने यिनीहरुले पाखण्डी राष्ट्रमा रुपान्तरण गर्नेछन् । पाखण्डी संस्कृतिको जतिसुकै विकास गरौं त्यस्ले मानवसभ्यतामा स्थान पाउने छैन। 

 

तपाइँको प्रतिक्रिया