नेपालका बाहुन क्षेत्री कसरि भए शरणार्थी ?

बासुदेव लोहनी / अमेरिका

basu-dev-lohani-usa-12121बहुजातिय बहुसान्स्क्रितिक बहुभाषिक देश नेपालमा तागाधारीहरुले (जङ बहादुरले जनै लगाउने पहाडेहरुलाई जनाउन मुलुकी ऐन मार्फत चलाएको शब्द) राज्यसतामा कब्जा जमाएकै छन् । बर्तमान राज्यसता बिभेदकारी छ ।

एक भाषा नीती खारेज हुनु पर्छ । शक्तीको बिकेन्द्रिकरण हुनु पर्छ । सबै मौलिक संस्क्रितिको पहिचान, सम्मान, उत्थान र बिश्व बजारमा प्रचार गर्ने जिम्मा राज्यले लिनुपर्छ । तर, आफ्नो अधिकार/पहिचान खोजीको नाममा, न्यायको खोजीको नाममा अरुलाई अनावस्यक होच्याउने र भ्रम फैलाउने काम गर्नु कत्तीको न्याय संगत हुन्छ ? के संघियता पछी हामी मिलेर बस्नु पर्दैन ? के छेत्री बाहुनलाई शरणार्थी भन्दैमा संघियता आउँछ ?

संघियताको बिषयमा खुल्ला बहस चल्दै गर्दा, एकजना मित्रले लेख्नु भयो “वासुदेव लोहनी जी ! बाहुन र छेत्री नेपालका मुलबासि जनजातिहरु भन्दा पछी १३- १४ शताब्दितिर भारतमा हिन्दू – मुस्लिमको युद्दमा डरले नेपालतिर भागेर आएको भन्ने ईतिहासका किताबहरु बजारमा प्रशस्त छन् । यो कुरा भन्न र लेख्न तपाईंलाई किन अप्ठेरो ?”

धेरै समय भयो यस्ता प्रचारहरु सुन्दै आएको । जवाफ लेख्न करै लाग्यो । प्रश्न सोधियो । उत्तर दिन कर लाग्छ । मेरो उत्तर तपाईंले बिकाउन खोज्नु भएको इतिहाससँग मेल खाएन भने मलाइ असमानताबादी भएको या जनजाति बिरोधी या बाहुनबादी भन्ने आरोप नलागोस् ।

पहिलो कुरो त तपाईंले छेत्री बाहुन मात्र भन्नु भयो । अनि दमाइ कामी सार्कीहरू चाहिँ कताबाट आए त ? की उनिहरु चाहिँ तपाइँ जस्तै मुलबाशी ? या उनिहरु चाहिँ यहि भूमीबाट जुम्रा उम्रिएको जस्तै उम्रिए ? की क्षेत्रि बाहुनले मात्र राज्य-सत्ता ओगटेको कारणले छेत्रिबाहुनलाई मात्रै एक्ल्याउन खोज्नु भएको हो ? की तपाईंको बुझाइमै कमी हो । यो कुरो आफै बीचार गर्नुहोस् ।

तागाधारी भन्नामा खस, ठकुरी, सन्यासि, दसनामी लगाएतका नाक चुच्चा भएका पहाडी जातिहरू सम्मिलित छन् । अब ठकुरीहरू त नेपालमा किरातकालको अन्त्य देखि नै थिए । त्यसैले तिनीहरूको के कुरो भयो र । निर्बिबादित रूपमा उनिहरु यहि भूमिका हुने नै भए । अहिले कुरो उठेको भनेको खसहरूको हो । तपाईंले भनेको छेत्री बाहुनहरू त्यै खस जाति भित्रका दुई माथिल्ला भनिएका जातहरू हुन् । त्यसैले छेत्री बाहुनको भन्दापनि खस जातिको कुरो गरौ । त्यसो गरे कसो होला ?

खसहरूको हजारौं बर्षको स्पस्ट इतिहास छ । महाभारतमा खसहरू किरातीहरू जस्तै पाण्डवको बिपक्षमा युद्ध लडेका थिए । महाभारतको युद्ध आज भन्दा ५००० बर्ष अगाडीको हाराहारिमा भएको थियो ।

पछिल्लो समयमा पनि बिक्रमको १२औँ शताब्दि, अर्थात नेपाल मण्डलमा मल्लहरुको उदय भन्दा अगाडी नै बर्तमान नेपालभित्रै खसहरुको साम्राज्यनै खडा भै सकेकोथियो । खसहरुका नायक भनिने नागराजले तिब्बतको खारी क्षेत्रबाट आफ्नो राज्यबिस्तार सुरु गर्दै सिन्जा, दुल्लु, सुरखेत, डोटीलाई आफ्नो राज्यमा पारेका थिए । यो कुरो उल्लेख भएको दुल्लुको किर्तीस्तम्भनै संसार अगाडी साक्षी छ । कोहि शासक या बाहुनले लेखेको इतिहासको पाना पल्टाउनु पर्छ भन्ने छैन । न त राजनैतिक प्रयोजनको खातिर लेखिएका ‘क्रान्तिकारि’ इतिहासकारहरुका घोषणापत्र नै पल्टाउनु जरुरी छ ।

यसकारण, खसहरू कसैद्वारा धपाइएर शरणार्थीको रूपमा छिरेका थिएनन् । यिनीहरू लडाकु थिए  । हिमालय क्षेत्रमा लड्ने र राज्य बिस्तार गर्ने यिनीहरूको पुरानो इतिहास छ ।  द्रब्य शाहले मगरहरूको लिगलिग कोटको राज्य लिनुभन्दा अगावै खसहरुबाट नेपाल मण्डलमा आक्रमण भैरहने गर्दथ्यो । यसकारण द्रब्य शाहले झेली गरेर लिगलिग हत्याएपश्चात मात्र नेपालमा खस राज्यको सुरुवात भयो भन्नु पनि गलत हो । इशाको १३ औँ सताब्दिको अन्त्यतिर खस मण्डलका राज जितारी मल्लले नेपालमण्डलमा आक्रमण गरेका थिए । तर सफल भएनन् । त्यसपछि पनि नेपालमण्डलमा पटक पटक खसहरुबाट आक्रमण भईनै रहे । यो कुरो काठ्माण्डौंको नेवा: इतिहासबाट पनि पुस्टी भएको कुरो हो । बाहुनले लेखेको ईतिहास भनेर नकार्न मिल्ने ठाउँ छैन । त्यहि खस साम्राज्य कमजोर भै टुक्रिएपछि बाइसे र चौबिसे राज्यहरूको सुरुवात भयो ।

बिक्रमको ८ औँ शताब्दिको अन्त्य तीर तिब्बती सम्राट लांदार्माको हत्या पछि तिब्बत साम्राज्य टुक्रियो । त्यहि मौकामा केही खसहरू कुमाउँबाट तिब्बत छिरेका थिए र आफ्नो राज्य बसाउन थालेका थिए । यो कुरो तिब्बती बंशावली अभिलेखहरुबाट पनि पुस्टी हुन्छ ।

सम्राट समुन्द्र गुप्तको इलहबाद स्थित शिलालेखमा नेपालको पुर्बी सिमाना कामरु कामक्ष्या (असामको राजधानी), दक्षिण सिमाना पाटलि पुत्र (पटना)- कतुर (इलहबाद नजिक ), पश्चिम सिमाना: उद्धम्पुर (उत्तर पश्चिम पन्जाब) भनेर व्याख्या गरिएको छ । यो ईशाको ३५० बर्ष पुरानो शीला लेखमा उल्लेख छ । अर्थात कुमाउँ / गडवाल त त्यति बेलानै नेपालको भाग थियो । खसहरू त्यतिबेला नै नेपाली भैसकेका थिए जति बेला इस्लाम धर्म नै जन्मेको थिएन भने खसहरू कसरी भारतमा हिन्दू मुसलमानको युद्द पश्चात नेपाल छिरेका भए ? कसरी छेत्री बाहुन बिदेशि, या भारतीय या शरणार्थी भए ?

हो बर्तमान मेची-महाकालिमा बीचको नेपालभित्रका केही खसहरूको बंशावली खोतल्दा उनिहरु १३/१४ शताब्दितिर दक्षिण एशियाको अन्य क्षेत्रबाट छिरेका भेटिन सक्छन् । बिषेश गरी काश्मिरमा मुसलमानी राज्य बने पछी त्यहाँ हिन्दुहरुलाई ‘की इस्लाम अपनाउ की म्रित्यु अपनाउ’ भने पछी कोहि शरणार्थिकै रूपमा महाकाली-मेचीको क्षेत्र भित्र छिरे होलान् । कोहि सामान्य बसाइ सराइबाट छिरे होलान् । कोहि बोलाइए पनि होलान् । तर त्यसको मतलब त्यो भन्दा पहिला मेची-महाकालिमा उल्लेख्य रूपमा खस थिएनन भन्ने हैन । यहाँ मैले दक्षिण एशिया भन्नुको कारण भरखर भरखर बनेका राजनैतिक घेराबन्दीको आधारमा इतिहासलाई खुम्च्याउने प्रयास नहोस् भनेर हो । दक्षिण एशियामा अहिले केवल ९ वटा देशहरू छन् । हामिले कुरा गरि रहेको १३/१४ शताब्दितिर सयौं देशहरू थिए ।

तपाईंको आफ्नो जातिय अधिकारको कुरो माग्नुस् । कसैले रोक्दैन । न्यायको मागलाई समर्थन नै गरिन्छ । गरिएको पनि छ । तर आफ्नो पहिचान जोगाउने भन्दै नियोजित रूपमा भ्रम फैलाउने र छेत्री बाहुनलाई एक्ल्याउने प्रयास नगर्नुहोला । संघियतापछिपनि तपाइ हामी र हाम्रा सन्तानहरू यहि भूमीमा अबको १००० बर्ष सम्म पनि आफ्नो मौलिकता कायम गर्दै संगै बस्नु छ । अघि बढ्नु छ ।

तपाइँको प्रतिक्रिया