आइतवार जनजातिका नेताहरु बेल्जियममा गर्जिने
नेपालको काठमाडौं जस्तै केन्द्र हो, बेल्जियम । नेपालीकालागि । युरोपेली परिषदको कार्यालय भएको यो ठाउँमा युरोपेलीहरुको राजनिति मात्रै हुन्न । नेपालीहरुको राजनितिपनि हुन्छ चर्कै यहाँ । नेपालमा नभेटिएका, नदेखिएका, दर्ता नभएका राजनितिक दलका भात्री संगठनपनि भेटिन्छन् कहिलेकाहिँ त यहाँ । सबै जस्तो प्रमुख दलका भगिनी संगठन छन् यहाँ । अझ कुनै कुनैका त बागी र प्रतिबादीपनि छन् अनेक संगठनका नाममा ।
त्यसैले बेल्जियम भनेपछि धेरैका कान ठाडा हुन्छन् । बेल्जियमले धेरै नेपालीको ध्यान तान्छ । किनकि यहाँ नरा, जुलुस, घेराउ, बहसपनि चर्कै हुने गर्छ । यो पटकपनि बेल्जियममा निक्कै गरमागरम बहस हुँदै छ । र यो पटकको बहस र चर्चा जनजातिहरुले गर्न लागेको संयुक्त कार्यक्रमले गर्दा हो । अझ त्यसमापनि जनजाति महासंघका नेता आङकाजी शेर्पा र संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईको उपस्थितिले गर्दापनि चर्चामा आएको हो ।
आङकाजी शेर्पा यसै चर्चित छन् । ‘जनजातिका बिरुद्द लागे तिम्रा जिब्रा थुतेर भुस्याहा कुकुरलाई दिन्छौं’ भनेपछि उनको चर्चा, समर्थन र आलोचना चुलिएको थियो । पत्रकारहरु तह लगाउँछौं भनेर पत्रकारहरुकै अगाडि चर्किएपछि त झन आङकाजीलाई नचिन्ने कोहि भएन । हठ्ठी स्वभावका यि जता जान्छन् मानिस चनाखा हुन्छन् ‘अब आङकाजीले के भन्ने हुन् !’
त्यसै गरि बुटवलमा भएको एमालेको गत महाधिबेशनमा सबैभन्दा बढि मत ल्याएर उपाध्यक्ष पदमा जितेका अशोक राईले एक्कासि एमाले छोडे । उनले अन्य जनजाति नेतालाई साथमा लिएर संघिय समाजवादी पार्टी खोले । एमालेमा सोझा, मेहनति, संगठक र जनजातिमा पकड जमाएका, प्रभाव छोडेका यि नेता के भन्लान् ? किन आए ? के गर्न आए ? यो सोझो अशोक राईका के छन् एजेण्डा ? नेपाल जनजाति महासंघले अबको नेपालको खाका, योजना र निति कस्तो बनाएको छ ? कस्तो नेपालको कल्पना गरेका छन् यिनले ? यि जनजातिका नेता मात्रै हुन चाहन्छन्, खोज्दै छन् कि समग्र नेपालको नेत्रित्व गर्न तम्सिएका छन् ? के छ त्यसकालागि यिसित एजेण्डा ? प्रश्न धेरै छन् यिनलाई सोध्नुपर्ने । मानिसहरुसित धेरै कौतुहलता छन् यि सित । संघिय समाजवादी पार्टीका अध्यक्ष भएका, नाम पहिलेदेखि धेरै सुनिदै आएकाले पनि अशोक राईका कुरा सुन्ने कौहुलता धेरैमा हुन सक्छ ।
त्यसैले नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले आउने आइतवार, २४ तारिखका दिन ब्यापक छलफल राखेको छ । अशोक राईको प्रमुख आतिथ्यमा उनीहरुले राखेको कार्यक्रममा नेपालको संक्रमण कालिन राजनीतिक अवस्था र संविधान बिहिन मुलुकका विविध पक्षबारे छलफल गर्न लागेका हुन् । त्यसबाहेक अन्य राजनितिक र महत्वपूर्ण बिषयहरुमा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम हुँदै छ । अन्तर्क्रिया सकिएपछि त्यहाँका जनजातिहरुले आआफ्ना झाँकिहरु प्रस्तुत गर्ने छन् । उनिहरुले आआफ्ना जातिका झाँकिसहित सांस्क्रितिक कार्यक्रमपनि गर्न लागेका हुन् । नेपालबाट आएका कलाकारद्वय ज्योति मगर र दुर्गा गुरुङले हलमा उपस्थितलाई सदा झैं यो साँझपनि जुरुक्क फुरुक्क पार्दै मनोरन्जन दिनेछन ।
कार्यक्रम हुने स्थान : ONS Huis
Goudsbloemstraat 28, 3000 Leuven,
Belgium
मिति : आईतवार, २४ फर्वरी २०१३
समय : १२ 00 बजे




