प्रचण्ड र बाबुरामलाई बेपत्ता परिवारको चिठ्ठी

गोपाल कुमार पोखरेल

whereabout-of-conflict-hit-people-23223

नेपालमा भएको २०५२ साल फाल्गण १ गते देखि २०६३ साल माघ ५ गते शान्ति सम्झौता सम्म आइपुग्दा जनयुद्धको उचाई माथिसम्म पुगेको थियो । त्यस समयमा आम नेपालीले अब शान्ति समृद्ध नेपाल हुन्छ भन्ने आशा लिएका थिए । तर विडम्बना आज त्यसको ठीक उल्टो रहन पुग्यो । सशस्त्र जनयुद्धको क्रममा कति व्यक्तिहरु सहिद भए । हालसम्म वेपत्ता सुचीमा रहेका १४ सय ५ जनाको न खोज छ न खबर छ । ती बेपत्ता पारिएका परिवारहरु सँधै आँशु झारी आफ्ना वेपत्ता परिवारको पखाईमा बसिरहेका छन् ।

शान्ति सम्झातै ामा हस्ताक्षर गर्ने व्यक्तिहरु सबै जना सरकारमा पुगीसकेको अवस्थामा ६ महिना भित्र सत्य निरुपण आयोग तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग बनाउने कुरा उल्लेख भएतापनि हालसम्म त्यस कुरापट्टी कुनैपनि पार्टीहरुले विशेष ध्यान नदिएको जस्तो आभास हुन थालेको छ । वेपत्ता परिवारले आफ्ना सन्तान खोज्नको लागि विभिन्न आन्दोलन नगरेका होइनन् तर त्यसलाई माओवादी पार्टीका तत्कालिन गृहमन्त्री कृष्णबहादुर महराले प्रसाशन लगाएर वेपत्ता परिवारका व्यक्तिलाई लखेट्ने काम भयो ।

जुन शक्ति युद्धबाट आएको र आफ्नो कार्यकर्ता बेपत्ता हुँदासम्म केही नगरी परिवारका सदस्यको हात खुट्टा भाँच्ने काम भयो । यो नै माओवादी पार्टीको ओरालो लाग्ने लक्षणको रुपमा अगाडि आयो । शान्ति सम्झौता पछाडि बनेको पच्रण्ड नेतत्वको सरकारको समयमा प्रचण्डले चीनमा हुने ओलम्पिक खेलमा जानु भन्दा १ दिन अगाडि हामी वेपत्ता परिवारका सदस्यहरु प्रचण्ड निवासमा जाँदा प्रचण्डले आफ्ना तत्कालीन सचिव पोष्टबहादुर बोगटीलाई छेउमा राखी हामी वेपत्ताका करिब ५०, ६० जनालाई ३० मिनेट भाषण गर्नुभयो जसमा म चीनबाट फिर्ता हुन साथ बेपत्ताका मागलाई सम्बोधन गरी आयोग निर्माण गर्छु भन्ने प्रतिवद्धता व्यक्ति गर्नुभएको थियो । तर, आज ६ वर्ष हुन लाग्यो । त्यसबारे केही चासो नदेखाएर हाल उहाँकै पार्टीको व्यक्ति प्रधानमन्त्रीले सबैलाई आम माझी दिने गरी सत्य निरुपण तथा मेलमिलप र बेपत्ता छानविन आयोगको एउटै मस्यौदा बनाएर राष्ट्रपति समक्ष पेश गुर्न भयो । यो एउटा गैह्र जिम्मेवारीपूर्ण कार्य हो र १४ सय ५ जना बेपत्ता परिवारको शिरमा लात हानेकोले हामी यसको भर्त्सना गर्दछौं ।

हाल आएर दैलेखका पत्रकार डेकेन्द्र थापे घटनामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र कुमार लामालाई वेलायत सरकारले समाएको घटनामा सरकारवाट आएको अभिव्यक्तिले हामी बेपत्ता परिवार र सहिद परिवारमा एउटा घृणा जागेर आएको छ । जुन समयमा (युद्धकालमा) राज्य पक्षबाट बढी हत्या, बेपत्ता, अंगभग, बलात्कारका घटना भएका थिए । त्यस्ता घटनालाई एमाओवादी बाटनै संरक्षण गरेकोले एमाओवादीबाट अब हामीले के न्याय पाउँछौ, जस्तो लाग्न थालेको छ । द्वन्द्वका क्रममा झापा जिल्लामा धेरै व्यक्ति वेपत्ता भए त्यसमा २०५९ पुस १३ गते भारतको सिलगुडीमा ९ जनालाई भारतीय सेनाले समाई ६ जनालाई पुस १३ गते राति नेपाल सरकारलाई जिम्मा लगाएको र तत्कालिन बटुक दल गण चारआलीमा राखेको कुरा विभिन्न पत्रपत्रिका र प्रत्यक्ष देख्ने मानिससम्म भएको अवस्थामा तत्कालिन गणपति ध्रुबबहादुर शाहले २०६० साल भाद्रदेखि व्यारेकबाट वेपत्ता पारेको र हालसम्म पनि न सास छ न लासको अवस्था । अब पीडित परिवारले तत्कालिन गणपति ध्रुबबहादुर कुमार शाहलाई अन्तराष्ट्रिय अदालतमा लाने किन नलाने ? त्यस समयमा वेपत्तामा सुरेशकुमार पोखरेल, चुर्तमान राजवंशी, सम्झना अधिकारी, तारा रिजाल, धना सुवेदी र मिश्री धिमाल रहेका छन् ।

बाबुराम जी तपाईको पार्टीको प्रधानमन्त्री तपाई हुनुहुन्छ । तपाईका कार्यकर्ता वेपत्ता छन्, अब ध्रुबबहादुर शाहलाई कारवाही गर्ने कि नगर्ने ? तपाईको एउटा रटान सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले छिनोफानो गर्ने, यो सब तपाईको नाटकको रुपमा हामीले बुझेका छौं । तपाई कुमार लामालाई छोडाउन राज्यकोषबाट धरौटी पढाउनु हुन्छ आज भने भोलि ध्रुबबहादुर बहादुर शाहलाई छोडाउन तपाई लाग्नु हुन्छ र आज भाषण गर्दै हिड्नुहुन्छ विपक्षले बिधेयक पास गर्न दिएनन् वा डलर खेती गर्ने केहीले पास गर्न नदिएको भनेर । आगामी आउने चुनावमा जानका लागि तपाई गोहीको आँशु झार्दै हुनुहुन्छ । बाबुराम तथा प्रचण्ड ज्यू तपाईहरुको गोहीको आँशु जनताले बुझेका छन् । अब तपाई डलर खेती भनेर हामी द्वन्द्व पीडितलाई अपमान गर्दै हुनुहुन्छ । सर्पले सर्पको खुट्टा देख्छ अरे त्यसैले तपाई स्वयम् डलर नजिक हुनुहन्छ की के हो ? हामीलाई त्यस्तो भान भएको छ ।

आज यो कुरा लेख्दा तपाई मलाई समेत डलरबाट उक्साहट भएको भनेर भन्न सक्नुहुन्छ । तर, आजसम्म मलाई कुनै संघसंस्थाबाट एक रुपैयाँ सहयोग गरेको पाउनु भयो भने म तपाईको जन्म भरी पाउ मोलेर बस्ने छु । त्यसकारण तपाई जस्तो व्यक्तिले आज आएर द्वन्द्वपीडित, बेपत्ता सहिदलाई अपमान गर्दै हुनुहुन्छ ।

कमरेडहरु जनयुद्धको क्रममा तपाईका नेता तथा कार्यकर्तालाई हामीले सुरक्षित रुपमा राख्ने काम गर्‍यौं । तर, आज आएर नेता तथा कार्यकर्ताले वेपत्ता परिवारका सदस्यलाइ हेर्ने द्रिष्टिकोणमा परिवतर्न आएको छ । हिजो समान्य चप्पल र फाटेको कपडा लगाएर तीन दिनसम्म नखाएर आउनु हुन्थ्यो । तर, आज कार्यकर्ता पल्सर र नेताहरु महँगा विलासित गाडीमा सवार गर्नुहुन्छ । तपाईहरु हिँडेको हामीलाई रिस होइन तर हामीलाई शोषक, सामन्तीको संज्ञा दिएर गाली गर्दै हिँड्दै हुनुहुन्छ । दिन सक्नु हुन्न भने गाली पनि नगर्नुस भन्ने आग्रह गर्दछु । कमरेडहरु तपाईहरु मेरा घर जानु भएको छ तपाईलाई हामीले कसरी राख्यौं त्यो कुरा क. अग्नि सापकोटा, क. सिपी गजुरेल र क. पम्फा दिदी तपाईहरु कतिदिन बस्नु भयो र हामी परिवारले तपाईहरुलाई के दुःख दिएको थियौ र आज तपाईहरुका कार्यकर्ता अनेक अपजस लगाउनुहुन्छ ? कमरेड बाबुराम, प्रचण्डज्यू तपाईले हामी वेपत्ता परिवारका सदस्यहरुलाई हाम्रा वेपत्ता पारिएका व्यक्ति कहाँ छन् कुन अवस्थामा छन् । मरेका भए जानकारी दिनुस् हामी हाम्रो धर्मानुसार काज किरिया गर्न सक्ने थियौं । तपाईहरु हामीलाई गुम्राहमा नराख्नुस् र हामीलाई चुनावमा जित्ने भाँडो नबनाउनु होस भन्ने आग्रह गर्दछौं ।

प्रधानमन्त्री ज्यू हामी द्वन्द्व समयमा वेपत्ता पारिएका सम्पूर्ण राज्य पक्षबाट होस वा तत्कालिन विद्रोही पक्षबाट सबैको मर्म तथा वेदना एउटै भएको कारण सबै जनालाई एक ठाउँमा ल्याउनको लागि वेपत्ता परिवार समाज नेपाल स्थापना गरेर वेपत्ता परिवारको हक  अधिकारका लागि हामी लडिरहेका छौं । साथै पूर्वाञ्चल वेपत्ता परिवार समाज नेपालले अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा सुरुङ्गा–१, झापाको प्रजापति सामुदायिक वनको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, पूर्वाञ्चल मानवअधिकार आयोग इन्सेक, एडभोकेसी फोरम, ओरेक नेपाल, मानव अधिकार सञ्जाल, जनपथ प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायत विभिन्न सामुदायिक वन प्रतिनिधि मिलेर वेपत्ता परिवारका व्यक्तिको नाममा वृक्षारोपण कार्य सञ्चालन गर्ने काम भएको थियो । सोही समयमा सम्पूर्ण व्यक्तिहरुले सो प्रजापति सामुदायिक वनको लगभग ८ विगाहा जग्गामा ‘वेपत्ता तथा द्वन्द्वपीडित पार्क’ निर्माण गर्ने घोषणा भए अनुसार सो क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने र सुखानीमा सहिदहरुको सालिक रहेको र सोही बाटोमा पर्ने यस क्षेत्रलाई पार्क निर्माण गर्ने योजना रहेको छ ।

पूर्वाञ्चल वेपत्ता समाज नेपालले तत्काल गर्ने कार्यहरु

● वेपत्ता परिवारका सदस्य आमा, बुबा, श्रीमती, दाजु, भाईको सल्लाहमा वेपत्ता परिवार तथा द्वन्द्वपीडित परिवार संयुक्त रुपमा बेपत्ता तथा सहिदको नाममा पार्क बनाउने क्षेत्रमा श्रीमद्भागवद् पुराण आयोजना गर्ने र सोको लागि द्वन्द्वपीडित परिवारका सदस्य प. दिनबन्धु पोखरेललाई आमन्त्रण गर्ने र सोबाट उठेको रकम पार्क निर्माणमा लगाउने ।

●  वेपत्ता परिवारको आर्थिक अवस्था दयनीय भएको र आफ्नो बस्ने घरसम्म नभएका सिराहका ७ सप्तरी ७, सुनसरी ४ , मोरङ ४ र झापाका ५ परिवारलाई बसोबास गर्नको लागि घर निर्माण, आयअर्जन, शिक्षा जस्ता कार्यक्रम सञ्चालन गर्न विभिन्न संघ–संस्था, नेपाल सरकारसँग अनुरोध गर्ने ।

● वेपत्ता परिवार तथा द्वन्द्वपीडित परिवारको सहकारी स्थापना गरी सहकारी मार्फत आय आर्जनका कार्यक्रम संचालन गर्ने ।

● वेपत्ता परिवारबाट रक्तदान कार्यक्रम संचालन गर्ने

● वेपत्ता परिवारका सदस्यलाई परिचय पत्रको व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने ।

आदरणीय आमा, बुबा, दाजुभाई, व्यापारी, उध्योगी, समाजसेवी, विभिन्न संघसंस्था, नेपाल सरकार, विदेशमा रहनु हुने सम्पूर्ण महानुभाव, विभिन्न राजनीति पार्टी, पत्रकार, पूर्वाञ्चल वेपत्ता परिवार समाज नेपाल तपाईहरुको सहयोगको आशा राख्दछ । तपाईहरुको सहयोगले हामीहरुलाई परिपूर्णको लागि काम गर्न मद्दत पुग्छ भन्ने आशा राखेका छौं। यी माथिका कार्य सञ्चालन गर्न पुराण आयोजना गर्न पहिला रकम चाहिने हुँदा तपाईहरु सबै जनासँग पूर्वाञ्चल वेपत्ता परिवार समाज नेपाल सहयोगका लागि अनुरोध गर्दछ । 

(लेखकः पूर्वाञ्चल वेपत्ता परिवार समाज नेपालका सचिव हुन् )

 

 

तपाइँको प्रतिक्रिया