नेपाली राजनीतिमा भारतसितका अपरिवर्तित झुकावहरु

mohanraj-baral-moon-121234मोहनराज बराल “मुन” / बेलायत

सन्धी तथा सम्झौताहरु गर्दा दुबै पक्षको व्यक्तिहरु आमने सामने भएर गरिन्छ । त्यो बेलामा पाउने र गुमाउने हुन्छ नै । र यसमा दुबै पक्ष खुशी पनि हुनु पर्छ । यदी एक पक्ष खुशी अर्को पक्ष दु:खी हुन्छ भने त्यो सम्झौता हुन सक्दैन । हाम्रो देशको ईतिहासमा हामीलाई तत्कालिन इष्ट ईन्डिया कम्पनीले सन १८१५ डिसेम्बर २ तारिखको दिनमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए । सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो । नेपाललाई यसरी बसमा पारेर विभिन्न किसिमका आक्रमण गर्ने हल्लाहरु फिजाएर डर, त्रास,धम्की देखाएर नेपाल यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे । तर नेपाल बाध्य बन्यो- यसका शर्तहरू मान्न ।

पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे । यसलाई नै हामी सुगौली सन्धी भन्छौ । त्यस्तै ३१ जुलाई १९५० मा पनि यस्तै किसिमको असमान सन्धी भयो । यस किसिमका सन्धीहरुबाट हामी हेपियौ । हाम्रा नदी नालाहरुमा कब्जा जमाउने काम भयो । हाम्रा महाराजा बराबर भारतीय राजदुत हुने प्रथाको सुरुवात पनि यहि बाटै भयो ।

भारतको विस्तारवादी नीति र नेपालका शासक वर्गहरूको हमेशा त्यसका सामु आत्म समर्पणवादी नीतिको सुरुवात र हाम्रा नेता वर्गहरु गोटी बन्ने सुरुवात पनि यही दिन यही साल बाट सुरु भयो । यसरी सुगौली सन्धी मार्फत ब्रिटिश भारत स्वाधिन नेपाललाई आफ्नो अर्ध उपनिवेश बनाउन सफल भयो । अर्ध उपनिवेश बनेपछि क्रमिक रूपले नेपालको राजनीतिमा ब्रिटिशहरूको प्रभावमा वृद्धि हुँदै गयो । तात्कालिन बेलामा जंगबहादुर राणाको उदय र राणा शासनको स्थापनामा ब्रिटिशहरूको महत्वपूर्ण हात रह्यो । ब्रिटिशहरूको बढ्दो प्रभावका अगाडि नेपालका शासक वर्गहरूले आफ्नो सत्ता बचाउन ब्रिटिशहरूको दलाली गरे  । एउटा स्वतन्त्र मुलुक नेपालमा बेलायतकी महारानीको जन्म दिन धुमधामका साथ मनाउने परम्पराको शुरूवात गर्नु ब्रिटिशहरूको दलाली को नमुना थियो ।

नेपालमा आफ्नो प्रभाव र प्रभुत्व बढाएर नेपालको राष्ट्रियता कमजोर पारेर त्यसलाई भारतमा मिलाउन विभिन्न हत्कन्डा प्रयोग गर्दै आएको भारतले राष्टिय पार्टीहरूलाई टुक्राएर तराइ केन्द्रीत क्षेत्रीय पार्टीहरूको निर्माण, तराईमा सशस्त्र गतिविधिको संचालन र प्रोत्साहनमा भारतको खुलेआम संलग्नता रहँदै आएको कुरा कसैबाट छिपेको छैन । भारत नेपालको राष्ट्रियता र सार्वभौम अखन्डतालाई खत्तम गर्न नेपालमाथि विभिन्न प्रकारका सन्धी सम्झौता थुपार्दै आएको छ । गण्डक सम्झौता, महाकाली, कोशी अनेकौ सम्झौता सन्धि लगायत हाल आएर विप्पा सम्झौता आदि नेपालको राष्ट्रियता विरूद्ध भारतीय विस्तारवादको एउटा रणनीति अन्तर्गत नेपालको हित बिपरित गरिएका सम्झौता हरु हुन् । यो नेहरू लगायत रणनीति हो । भारतले यही रणनीति अन्तर्गत  लगातार काम गरिरहेको छ । नत्र तात्कालिन गृहमन्त्री सरदार बल्लभ भाइ पटेलले काश्मिर तथा हैदरावाद जस्तै सैन्य कारवाही गरेर नेपाललाई भारतीय संघमा बलजफ्ती सामेल गर्नु पर्दछ भन्ने मान्यता राखेका थिए । यसो गर्दा बाहिरी जगतपनि हुँदा खतरा पो हुन्छ कि भनेर नेपालका नेताहरुलाई खेलाउने नीति लिए ।

हाम्रा पार्टीहरू र ती पार्टीहरू भित्रपनि कुन नेतालाई प्रयोग गरेर आफ्नो राष्ट्रिय स्वार्थ पूरा हुन्छ त्यसलाई प्रयोग गर्दै भारत आएको छ । राणा कांग्रेसको संयुक्त सरकार ढल्दा त्यो बेला बि.पी.को सट्टा मातृकालाई प्रधानमन्त्री बनाउन भारतले दरबार र कांग्रेसलाई निर्देशन दियो । किनभने त्यसबेला मन्त्रीमन्डलको हेरफेर सम्बन्धी प्रत्येक योजना तात्कालिन राजदूत सि.पि.एन. सिंहको सिफारिसमा दिल्लीमा बन्थ्यो । यसरि मातृका प्रधानमन्त्री बनेपछि नेपालको राष्ट्रभाषा हिन्दी हुनुपर्नेमा जोड दिन थाले भने मन्त्री मन्डलको बैठकमा भारतीय राजदूत उपस्थितिको व्यवस्था सुरुवात गरेर र नेपाल सरकारले भारतीय प्रधानमन्त्रीसामु देशको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कुरालाई स्वीकारेर भारत भक्ति देखाए ।

हाम्रो बिगत देखिको हालसम्मको इतिहास हेर्दा नेपालका मुख्य पार्टी र यिनमा नेताहरु सबै भारत मुखी नै छन् । हिजोको इतिहासहरुमा भारतलाई रिझाउन बी.पि.ले भन्ने गर्थ्ये “नेपालमा भारतको म भन्दा ठूलो मित्र अरू कोही छैन । नेपाली कांग्रेस जस्तो मित्र संस्था कोही छैन ।”

नेपालमा पंचायत, बहुदल, गणतन्त्र जे जस्तो व्यवस्था आए पनि हाम्रो नेता गण, राजा महाराजको प्रवृतिमा कुनै परिवर्तन भएन । हाम्रा ओलीहरु टाउको नदुखे नि दिल्लीमा उपचार गर्न जान्छन । बेला बेलामा जुनसुकै नेता पनि ‘नेपालमा हुँदा बाघ भारत भ्रमण हुँदा स्याल’ झैं हुने प्रथा छ । रामचन्द्रहरु पशुपतिको पुजारी भारतीयनै हुनपर्छ । यो परम्परा हो भन्दै आन्दोलन गर्छन । पुजारीको समर्थनमा । बहुदल आएपछि दिल्ली त काँग्रेस र एमालेका पानी पधेरो नै थियो । तर जब माओबादी बिद्रोह शुरु भो भारत बिरोधि नारा निकै सुनियो । राष्ट्रियताको रक्षाका लागि भारतीय विस्तारवादसंग संघर्ष गर्दै आएको छ भन्ने देखाए । सुरुङ्ग खन्छौ भारतसँग लडनको लागिपनि भने । तर अहिले आएर निरन्तरताको क्रमभंग गर्छौ भन्ने प्रचण्डको नयाँ निरन्तरता भनेको त हाम्रो गुमेको भुमि फिर्ता पाउन जनमत संग्रह मा जाने ??? यो त भारत प्रतिको उच्तम दलाली हो ।

हाम्रो सिमा मिचिएको र हामीले हाम्रो भुमि गुमाएको धुर्ब सत्य हो । अब यस सम्बन्धि जनमत सङ्ग्रहमा जानु भनेको “सुर्य पुर्व बाट उदाउछ कि नाई ?” भनेर प्रश्न सोध्ने जस्तै हो  । यो लोकलाई हसाउने, जनतालाई उल्लु बनाउने र प्रभुको सामु प्रणाम गर्ने काम हो । हाम्रा यी रंग फेर्ने छेपाराहरु देख्दा तलको पक्तिहरु को याद आउँछ ।
“हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी ‘लिलिपुट’ का मानव हौं ।
हामी लघूमानव हौं ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने,
हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटि हौं
एउटा मानोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं ।”

हिजोको यो कविता आज उति नै सान्दर्भिक छ । लाग्छ यही स्थितिलाई मनन गरेर भुपी शेरचनले आफ्नो नामको पछाडि झुन्डाउने गरेका सर्वहारा हटाइदिए । अहिले हेर्दा सर्वहाराका नाममा ठेकेदारी गर्ने ठेकेदारहरुले वास्तविक सर्वहाराहरुलाई गिज्याइरहेको अनुभुती हुन्छ । 

सत्ता पक्ष जो सत्ताको आयु लम्व्याउन चाहन्छ, स्वयम भारतको चाकडीबाट लम्बिन चाहन्छ । प्रतिपक्ष जसले हालका दिनमा राकेश सुदलाई नराम्रोसँग मिस गरेका छन । कुर्सिको लागि देशलाई बन्धक बनाएर आन्दोलन गरिरहेका छन । हाम्रा दैनिक अखबारका सम्पादकहरु जसले विगतमा प्रचन्डले कपालमा जेल लगाउँदा पत्रीकाका पानाहरु भर्दथे । तर आज आफ्नै गुमेको भुमी पाउन हामी बिच गरिने जनमत सङ्ग्रह जस्तो गम्भिर र आपत्तिजनक कुरामा खै किन सबै जना चुपचाप ? खै किन सुनेर पनि नसुने झै गर्छन् ? यसरी चुप चाप रहँदा जर्मन कवी वेखल्त ब्रेख्तका चर्चित कविता पन्क्तिहरुको याद आउँछ,”मान्छे मरेपछि
केहि बोल्दैन

केहि सोच्दैन

मान्छेले, नबोल्दा

नसोच्दा, मान्छे मर्छ !”

तपाइँको प्रतिक्रिया