अराजक बनेको छ हाम्रो पार्टी

पुष्पकमल दाहाल “प्रचण्ड”

prachanda_20110422114320-212पार्टी विभाजन र सातौं विस्तारित बैठक वरिपरि हाम्रो पार्टीमा अराजकता, अस्वस्थता, अन्योलता, गुटबन्दी व्यापक बढिरहेको थियो । विस्तारित बैठकले यसलाई सच्याउन बल गर्‍यो । तर, आज पनि यो सच्चिएको छैन । महाधिवेशन तयारीसँग स्थानीय स्तरबाट एक हदसम्म संगठनको आधार बन्न सुरु भएको छ, तर अझै सुदृढ भएको छैन । विचारधारात्मक र राजनीतिक कार्यदिशाको बुझाइमा एकरूपता नआउनु, परिवर्तित परिस्थिति एवम् विकसित हुँदै

गरेको कार्यदिशाको अनुकूल पार्टी संरचनाहरूमा विकास नहुनु, पार्टी अन्तर्संघर्षलाई व्यवस्थित र वैज्ञानिक ढंगले सञ्चालन गर्न नसक्नु, पार्टीको संगठनात्मक पद्धति लागू हुन नसक्नु, आन्दोलनमा नेतृत्वको महत्व, आवश्कता र स्थापित गर्नेबारेमा एकरूप बुझाइ नहुनु, पार्टी कमिटीहरू प्रणालीअनुसार नचली व्यक्तिको इच्छामा चल्नु, सर्वहारा कार्यशैलीको ह्रास तथा अनुशासनहीनता बढ्दै जानु, लाखौं पूर्णकालिन कार्यकर्ताको व्यवस्थापन र संरक्षण गर्ने काममा उदासीनता देखिनु, हजारौं जनमुक्ति सेनालाई पार्टीभित्र समयमै उचित समायोजन गर्न नसक्नु आदि यति बेला हाम्रो पार्टीमा देखापरेका ज्वलन्त समस्याहरू हुन् ।  

हाम्रो पार्टीमा विगत केही वर्ष यता पार्टीकोभित्री संघर्ष अस्वस्थ र अराजक बन्दै गएको छ । विचार समूह गुटमा परिणत भएका छन् । पार्टी हैन, गुट र व्यक्ति हावी हुन पुगेको छ । पार्टीमा विचार र राजनीतिक संघर्ष नभई व्यक्तिगत स्वार्थ प्रतिविम्बन हुन थालेको छ । यो क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको सर्वाधिक बाधक र हानिकारक यस कारण पनि छ कि वर्गदुश्मनले यही विन्दुवाट पार्टी अन्तरध्वंस गर्न रणनीति अपनाउँछ ।

हामी कम्युनिस्टहरू कुनै अमुक व्यक्तिलाई होइन, बरु समाज वा जनसमुदायको राजनीतिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको नेतृत्व गर्छौं । यही सर्वहारा सामूहिकताको आदर्श पनि हो । वर्ग संघर्षको मूल कडी पनि यही हो । वर्ग संघर्षको यही मूल कडीलाई केन्द्रविन्दुमा राखी हरेक नेता वा व्यक्तिमा आउने नयाँ सोच, चिन्तनहरूलाई कमिटीमा स्वस्थ बहस गर्न सकिन्छ र पार्टीको सामूहिक बुझाइमा परिणत गर्न सकिन्छ । एकता संघर्ष र रूपान्तरणको माक्र्सवादी नियमको मर्म पनि यही हो ।

आज हाम्रो पार्टीमा देखिने अराजकता, अस्वस्थता र गुटबन्दीको मुख्य स्रोत हामी आफूभित्रै चिन्तन र ब्यवहारमा बिस्तारै पहलाउँदै गरेको व्यक्तिवादी अराजकतावाद हो । यसर्थ यतिबेला सबै प्रकारका व्यक्तिवादसँग निर्मम संघर्ष गरेर मात्रै अन्तरसंघर्षलाई स्वस्थ बनाउन सकिन्छ र नयाँ पार्टी निर्माण गर्न सकिन्छ । हाम्रोजस्तो निम्न पूँजीवादी वर्ग समाज, दलाल तथा नोकरशाही सत्ताको प्रभाव रहने स्थितिमा एउटा विशेèताकै रूपमा व्यक्तिवाद देखिन्छ । आफ्नो पद प्रतिष्ठाका लागि मात्र चिन्ता गर्नु, पार्टीभित्र घुर्की, धम्की र बार्गेनिङ गर्नु, आफ्नो र आफ्नो परिवारको सुरक्षा र सुविधाको ग्यारेन्टी खोज्नु, आफूभन्दा तल नोकरशाही बन्नु तथा  आफूभन्दा माथि दलाली गर्नु अरूको दुःख कष्ट एवं आवश्यकतामा उदासीन बन्नु, आलोचना सहन नसक्नु आदि व्यक्तिवादी अराजकतावादका उदाहरणहरू हुन् ।

दुश्मनको चौतर्फी घेराबन्दीमा रहेको सर्वहारावर्गको पार्टीले आफैंभित्र रहेको व्यक्तिवादका विरुद्ध कठोर र निर्मम आत्मसंघर्ष र विचारधारात्मक संघर्ष नगरीकन क्रान्तिका बाँकि कार्यभार पूरा गर्न सम्भव छैन । आज हाम्रो पार्टीमा संगठनात्मक कुनै पद्धति छैन, व्यक्तिहरू कमिटी मातहत छैनन्, पार्टी तल्ला कमिटीहरू र माथिल्ला कमिटीबीच सम्बन्ध छैन । न त सर्वसम्मत छ न बहुमत अल्पमत नै छ । गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाइरहेको छ । यो कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त र विधिको ठाडो उल्लंघन  हो । पार्टीको निर्माण गर्न गुटको अन्त्य हुनैपर्छ । नेतृत्व निर्माणको प्रश्न अति संवेदनशील पनि हो । नेतृत्व व्यक्ति पनि हो तर नेतृत्व त्योभन्दा माथि पार्टी, समाज, राष्ट्रको सामूहिक अभिव्यक्ति हो । व्यक्तिगत इच्छा, चाहना र स्वार्थभन्दा माथि उठेर मात्र नेतृत्व निर्माण हुन्छ । नेतृत्वको आलोचना, उसलाई रूपान्तरण गर्न हुनुपर्छ, तर अन्तरध्वंस गर्न होइन ।

हाम्रो समाजमा र पार्टीमा नेतृत्वबारेको बुझाई अत्यन्त अराजनीतिक सोचमात्र प्रभावी बनेको छ । एकलध्रुवीय विश्वको कल्पना गरिरहेको शक्ति केन्द्रले अर्को स्थापित भइरहेको स्थापित नेतृत्वको केन्द्रलाई या त आफ्नो दास वा दलाल बनाउन पहल गर्छ या त त्यसलाई विध्वंस गर्ने रण्ँनीति अपनाउ“ छ । हाम्रो समाज र पार्टीभित्र पनि नेतृत्वको न्यूनीकरण गर्ने, अवमूल्यन गर्ने, बदनाम गर्ने, खुट्टा तान्ने संस्कृति छ । यो प्रतिक्रियावादी रणनीतिको सहयोगी मात्र सावित हुनपुगेको छ ।  नेतृत्वको अवमूल्यन गर्नेले स्वयं आफ्नो, आन्दोलन, पार्टी, समाजको अवमूल्यन भइरहेको हुन्छ भन्ने बुझ्न बिर्सन हुँदैन । सर्वहारा सोच र चिन्तन, मूल्य मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्ने समाजको बहुसंख्यक जनसमुदायमा सामूहिक स्वार्थको अभिव्यक्तिका रूपमा नेतृत्वले पनि आफूलाई खरो उतार्नुपर्दछ ।

हाम्रा कमिटीहरू अस्तव्यस्त छन् । भएका कमिटीहरू केवल औपचारिकतामा सीमित छन् । कमिटीका निणर्यहरू बेवारिसे बन्न गएका छन् । केही व्यक्तिहरू मात्र चलेका छन् त्यो पनि आफ्नै स्वार्थले । कमिटीहरू निस्प्रभावी बन्नुले आम कार्यकर्ता परिचालन र जनपरिचालन शून्यजस्तो हुन पुगेको छ । शान्ति प्रक्रियाले हाम्रो पार्टीलाई राजनीतिक रूपमा निकै उचाइमा उठायो, तर त्यसको तुलनामा पार्टीको संगठन व्यवस्थित हुन सकेन र पार्टीभित्र गैरसर्वहारा कार्यशैली र अनुशासनहीनता झा“गिन पुगेको छ । सर्वहारा मूल्य मान्यता निकै स्खलित हुन पुगेको छ ।

मालेमाको मार्गदर्शनको सचेत पहलमा भन्दा पार्टी दिनानुदिन विद्यमान आर्थिक, सामाजिक सत्ताको विसंगतिपूर्ण प्रभावको स्वतः स्फुर्ततामा फस्दै गएको छ । साम्यवादी चेतना र जनवादी कार्यशैली (व्यवहार) यतिबेलाको हाम्रो आवश्यकता हो । तर हाम्रो पार्टी यसबाट विचलितजस्तै भएको छ । विद्यमान समाजका विसंगतिहरूमा हामी क्रान्तिकारी कम्युनिस्टहरू सलल बग्ने होइन, बरु यसलाई बदल्ने अभियानको नेतृत्व गर्न चाहन्छौं । दलाल तथा नोकरशाही सत्ताले पैदा गरिरहेको विद्यमान आर्थिक, सामाजिक विसंगतिपूर्ण व्यवहारहरू नै हाम्रो पार्टीभित्र प्रभावी हुँदै गरेका विकृतिहरू हुन् । आर्थिक प्रलोभन र अपारदर्शिता तथा सांस्कृतिक र सामाजिक विकृतिका रूपमा देखिने हाम्रो कार्यशैलीको ह्रास र अनुशासनहीनताका उदाहरण हुन् ।

आज हाम्रो पार्टीमा कार्यकर्ताको व्यवस्थापन र संरक्षणको प्रश्न गम्भीर समस्या बनेको छ । हिजो जनयुद्धकालका हजारौं पूर्णकालिन कार्यकर्ता तथा क्रान्तिकारी ध्रुवीकरणसँगै आएका सयौं पेसेवर क्रान्तिकारीहरूको संख्या बढ्दो छ । पार्टीको तर्फबाट कुनै अमुक नेताबाट कार्यकर्ताको व्यवस्थापन र संरक्षण गर्ने कुरा सैद्धान्तिक रूपले गलत मात्र हैन सर्वहारा वर्गको नेतृत्वका लागि यो असम्भव विषय हो । जनयुद्धको क्रममा स्थापित एक युगै हल्लाउने क्रान्तिको ऊर्जा र शक्ति जनमुक्ति सेना आज पूर्वजनमुक्ति सेनामा परिणत भएको छ ।

क्रान्तिकारी कार्यदिशाको विकासँगै पूर्वजनमुक्ति सेनाको भूमिकालाई फरक तर नयाँ स्वरूपमा परिभाषित गर्न जरुरी छ । जनसमुदायको क्रान्तिकारी चेतनालाई निरन्तरता दिँदै राज्यसत्तामा उनीहरूको हस्तक्षेप र विद्रोहलाई सम्भव बनाउन पूर्वजनमुक्ति सेनाको भूमिका महत्वपूर्ण हुन्छ । सेना समायोजनको प्रक्रियापछि स्वैच्छिक अवकाशमा आएका पूर्वजनमुक्ति सेनाका कमान्डर तथा सदस्यहरूको पार्टीमा अझै पनि समुचित समायोजन हुन सकेको छैन । हजारौं जनमुक्ति सेनाका कमान्डर तथा सदस्यहरू आज पनि कमिटीविहीन र जिम्मेवारीविहीन अवस्थामा छन् । यो अवस्था लामो समय राख्नुहुँदैन । स्थानीय स्तरमा फरक स्वरूपमा पार्टीको नेतृत्वमा स्थानीय सत्ताको निर्माण गरी त्यसमा पूर्वजनमुक्ति सेना, योंग कम्युनिस्ट लिग र स्थानीय जनवर्गीय मोर्चा, अन्य मोर्चाहरूको सहभागितामा स्थानीय सत्तामार्फत जनसमुदायको राजनीतिक चेतना उठाउने, उनीहरूको विकास निर्माणमार्फत जीवनस्तर उठाउने काममा परिचालिन गर्नुपर्दछ ।

(हेटौंडा महाधिवेशनका लागि प्रचण्डद्वारा तयार पारिएको दस्तावेजको एक अंश)

 

तपाइँको प्रतिक्रिया