आन्दोलन केकालागि ? राजनितिक निकास कि कुर्सी मोह ?
माओवादीकै नालायकी, लूट र अदूरदर्शिता, बिदेशि चाकरि र भ्रस्टाचार, नितिहिनता, राष्ट्रघाती कामले गर्दा प्रतिपक्षीहरुको आन्दोलन तात्दै गएको देखिँदै छ । एमाले र नेपाली कांग्रेसले योजना बनाएको आन्दोलनमा पेशागत संघ संगठन थपिँदै छन् । झिनामसिना अन्य दलहरुपनि मिसिँदै छन् । तर आन्दोलनको आकर्षण भन्दापनि सरकारी अत्याचारले गर्दा त्यस्तो भएको देखिन्छ । अहिलेको आन्दोलन र बिरोधका कार्यक्रममा जनताको सहभागिता कम देखिन्छ । पार्टीका कार्यकर्ताहरु कै बाहुल्य छ ।
थुप्रै पार्टी मिलेर संयुक्त आन्दोलन हाँक्दापनि तिनको आन्दोलनमा सहभागिहरुको अवस्था देखेर त्यो बुझ्न गाह्रो छैन । किन बाबुराम भट्टराई अलोकप्रिय हुँदा हुँदै पनि जनताको सहभागिता छैन ? बाबुराम भट्टराई नेत्रित्वको सरकार पाखा लगाउन जनताले चाहेपनि आन्दोलनमा किन सरिक भएका छैनन् ?
प्रमुख कुरो के भने जनता र अहिलेका अन्दोलनकारी दलहरुको स्वार्थ र उद्देश्यनै अलग छ । जनता देशले राजनितिक रुपमा दिर्घकालिन समाधान पाओस् भन्ने चाहिरहेका छन् । तर यि आन्दोलनकारी दलहरु तत्कालै, जति समयलाई पाइन्छ सरकारमा जान हतारिएका छन् । आफूले लडेर ल्याएको गणतन्त्र संस्थागत होस् भन्ने चाहन्छन् जनता । तिनलाई संविधान सभा भंग भएकोमा चासो र चिन्ता छ । देशमा फेरी रगतको खोलो बग्लाकि भन्ने त्रास छ । जनयुद्दले स्थापित गरेका मागहरु संस्थागत होउन, ति पुरा होउन भन्ने चाहन्छन् धेरै जनता । नाम मात्रैको गणतन्त्र तिनको चासो होइन । जनतालाई महँगीको भारीले थिचाउने, अत्याचार गर्ने, अभाव स्रिजना गराउने । भ्रस्टाचार हाकाहाकी गर्ने । नेता करोडौंको गाडी चढ्ने र जनता सुरक्षित किसिमले सडकमा हिँड्नपनि नपाउने । यस्तो लोकतन्त्र जनताले चाहेका होइनन् । चार तारा होस् वा हँसिया हथौडा, सूर्य होस् कि हलो । जनताको चासो को सत्ता र कुर्सीमा पुग्छ भन्ने होइन । परिवर्तनले स्थापित गरेका मान्यता र मागलाई स्थापित गर्नु हो । जनताको चासो यहि हो । जनताले खोजेकोपनि यहि हो ।
माओवादी र मधेशी दलहरुको नेत्रित्वलाई बिघटन गरेर एमाले र नेपाली कांग्रेसको सरकार बन्दैमा जनताले पाउने के ? के एजेन्डा छन् यि दलसित जुन अहिलेको सरकारसित छैन ? के दिन सक्छन् यिनले देश र जनतालाई जुन अहिलेको सरकारले दिन सकेको छैन ? के सरकार बदलिँदैमा देशले राजनितिक निकास पाउँछ ?
संघियताका विषयमा नेपाली कांग्रेस अझै स्पष्ठ छैन । पहिचान सहितको हो कि पहिचान रहित संघियता हो । मिश्रित हो वा एकल हो । वा दुबै होइन । भन्ने उ अझै रुमल्लिईरहेको छ । संविधान सभाको निर्वाचन कसरि गराउन सक्छ ? कहिले गराउन सक्छ ? उसको कुनै किटान छैन । सरकार चलाउन पायो भने गणतन्त्रलाई संस्थागत गर्ने के उपाय छ ? कस्तो निति लिन्छ नेपाली कांग्रेसले ? एमालेको निति के हो ? यिनले अझै स्पष्ठ पार्न सकेका छैनन् । अनि जनता किन के का लागि ओर्लने आन्दोलनमा ? माओवादी र मधेशी नेत्रित्वलाई फालेर नेपाली कांग्रेस र एमालेलाई कुर्सीमा पुर्याउन मात्रै किन आउने जनता सडकमा ? के को खाँचो जनतालाई यस्तो आन्दोलनमा ?
के फरक पर्छ बाबुराम भट्टराई निस्किएर प्रधानमन्त्री सुशिल कोइराला बन्दैमा जनतालाई ? जनता किन सडकमा ओर्लिने बाबुराम फालेर अर्को कुनै नालायकलाई प्रधानमन्त्री बनाउन ? के दिन सक्छन् सुशिल कोइरालाले ? कि दिन सक्ने अचुक वाँण छ यदि रामचन्द्र पौडेल प्रधानमन्त्री बनेमा जुन बाबुरामले दिन सकेनन् ? विजय कुमार गच्छदारलाइ हटाएर एमालेको कसैलाई ग्रिहमन्त्री बनाए जनताले पाउने के हो ? कस्तो सुरक्षा ? कस्तो खालको सुरक्षानिति बनाउँछ त एमालेले जहाँ जनताले निर्धक्कका साथ सुरक्षित महसुस गर्न पाउँछन् ?
आन्दोलनमा नेत्रित्वकर्ता को छन् भनेर यस्सो नियाल्ने हो भने देश र जनताकालागि केहि गर्लान् भन्ने आशा झन मर्छ । हिजो जनता मार्न उक्साउने । टाउकाका मोल तोक्ने । भ्रस्टाचार गरेर कुस्त कमाएका । गुण्डा र अपहरणकारीहरुलाई ससम्मान भित्र्याउनेहरु छन् । पटक पटक सरकारमा पुगेकाहरु फेरी कुर्सीको मोहले सडकमा उत्रिएका छन् । भलै आन्दोलनमा सबै त्यस्तै छन् भन्न खोजिएको अवश्यै होइन । तर नेत्रित्व कसको हातमा छ ? यसैले निर्देशित गर्ने हो ।
यहि फोटोमा अग्र पंक्तिमा देखिनेहरुको अनुहारलाई नियाल्दापनि बुझिन्छ । यि पटक पटक सत्तामा गए । सरकारमा गए । मन्त्री बने । सिंहदरबारमा बसे । तर यिनले देशलाई के दिए ? के यिनमा अलिकतिपनि दूरदर्शिता, देश र जनताप्रति गतिलो समर्पण र राष्ट्रभति अनि गतिलो योजना हुन्थ्यो भने देश को हालत यसरि बिग्रँदो हो ? राजनितिलाई लुटी खाने पेशा झैं बनाउनेहरु सडकमा ओर्लिएर सरकार बदल्ने नारा घन्काएपछि जनतालाई त्यसमा किन चासो ? तिनको आन्दोलनमा न संविधान बनाउने नारा छ । न संघियताको प्रस्ट धारणा छ । न पहिचान सहितको यस्तो संरचना बनाउने भन्ने अक्किल र निति छ । न यिनमा अरु पार्टीहरुलाई विश्वास र भरोसामा लिएर देशलाई यसरि गति दिन सक्छौं भन्ने स्पष्ठ मार्ग छ । केहि छैन । उहि सरकारमा बसेर मस्ति गर्न नपाएको । कार्यकर्ता भर्ति गर्न नपाएको । घुम्न र कमाउन नपाएको लोभ छ । यो मुलुकलाई पालै पालो लुटाउनकालागि जनता किन सडकमा उत्रिने ?
देशले बिगतमा मन्त्री, प्रधानमन्त्री भएबापत अहिलेपनि ठूलो रकम भत्ता स्वरुप तिरिरहेको छ । तिनलाई सरकारले सुरक्षाकर्मी दिन्छ । अनेक सरकारी सुबिधामा रमाएका छन् । तर तिनबाट जनताले न त हिजो केहि पाए न तिनले अब केहि दिन सक्ने विश्वासनै जनतालाई छ । जनताको सुबिधा लिएर ति फेरी कुर्सी उक्लिने आन्दोलन हाँक्न जनता उचाल्दै छन् । जनताले पटक पटक चाखेका, भोगेका, पालेका बैला यि भैसीहरुका पछाडी जनता किन लाग्ने ? यि बैला भैंसीहरुमा नत सन्तान जन्माउने बिज छ । न त पाडाहरुलाई आकर्षण गर्न सक्ने चमक । ममको प्लेटमा उक्लिने बेलापनि यि बैलाहरुले दुहुनो भैंसीले झै गोठ ओगटेर बसेका छन् । अनि यिनलाई देखेपछि कसरि आन्दोलनले गति लेला ? जबसम्म सबैजसो दलका यि लम्प्ट बुढी भैंसीहरुलाई लघारेर जोशिला युवाहरु अगाडि आउन पाउँदैनन् तबसम्म मुलुकमा हुने भनेको छ छ महिनामा सरकार परिवर्तन मात्रै हो । अरु केहि हुन्न ।
(फोटो अनलाईन खबर डटकमबाट लिईएको हो)




