दैलेखी माथि अन्याय

90705-पत्रकार डेकेन्द्र थापाको परिवारले हत्यारामाथि कारवाहीको आशा राखे । डेकेन्द्रका परिवारले कहिल्यै र कहिँ क्रिष्ण सेन लगायतका पत्रकारका हत्यारा नखोज । कारवाही नगर भनेनन् । सुनिएन त्यसो भनेको । कुन पत्रकार कसको, कुन पार्टीको, कुन नेताको लगौंटिया, कुन दल नजिकको पत्रकार संगठनको कार्यकर्ता । यो राजनिति दैलेखीले न बुझे, न चासो थियो तिनलाई । तिनले आफ्नो परिवारको सदस्यका हत्यारालाई कारवाही खोजे । पाए र मिले क्षतीपूर्तीको आशा राखे होलान् । बास ! यिनले खोजेको त्यत्ति हो । यिनले न कांग्रेसको चार तारालाई उचाल्न खोजेका हुन् । न चाहेका हुन् एमालेलाई बलियो बनाउन । न बिद्वान प्रचानमन्त्रीलाई बलियो बनाएर उनी मार्फत भारतीय लगौंटीनै पखाल्न चाहेका हुन् । दैलेखी जनताले आफ्ना आँगनमा हुर्किएको जल्दोबल्दो ठिटोलाई ज्युँदै गाड्नेमाथि कारवाही गरेको हेर्न खोजेका हुन् । हैनन् तिनले चाहेको, दशौं वर्ष सत्तामा बसेर देश लुटिसकेको कांग्रेसलाइ सत्ताको भर्‍याङ बनाउन । कम्युनिष्टको खोल ओढेर पतित हुँदै गएको एमालेलाईपनि बालुवाटर छिराउने शक्ति दिन खोजेका हैनन् । तर तिनले जे नखोजेका त्यहि भयो । दैलेखी जनातमाथि अपराध र धोका ।

मानवअधिकारको रक्षा । अत्याचारीलाई कारवाही । आफ्नै आँगन टेकी हिँड्ने भर्भराउँदो केटोका हत्यारालाई कारवाही । तिनले जान्ने यत्ति हो । शान्ति वार्तामा के छ ति जान्दैनन् । १२ बुँदे संझौतामा के छ त्यसले दैलेखीलाई उति सरोकार राख्दैन । संविधान सभा किन भंग भो ? यो पनि उति नजान्दा हुन् । किनभने यि सबै नारा र बुँदा देश लुट्ने हतियार बनेको दैलेखीले भोगेको यथार्थ हो । त्यसैले कम्तिमा दैलेखीहरु राज्यले अपराध नगरोस् । थप अत्याचार नगरोस् । झन यातना नदेओस् भन्ने चाहँदा हुन् । तर डेकेन्द्रका हत्यारालाई कारवाहीको माग राख्नु फेरी दैलेखीकालागि धोका साबित भएको छ । माओवादी, कांग्रेस, एमाले र पुङ न पुच्छरका केहि दलहरुको मिश्रित गठबन्धनले तिमाथि अपराध गरेका छन् । थप त्रस्त पारेका छन् । झन मन दुखाएका छन् । तिनलाई जबर्जस्ति पार्टीका झण्डामुनि धकेल्न खोजेका छन् ।

खोजेको अपराध गर्नेमाथि कारवाही थियो । गैह्र न्यायिक हत्याको छानबिन गर्नु । प्रचलित कानुन बिरुद्द गए चलिआएका नियम र कानुन अनुसार कारवाही गर्नु । हो यसैमा चुके पत्रकार । पत्रकारका संघ संस्था । केहि मानव अधिकारकर्मी । डेकेन्द्रको मात्रै घटनालाई बढि उचाल्दा त्यसमा छिरे कांग्रेस, एमाले, राप्रपा जस्ता दल । जो बालुवाटर छिर्न नापएर हैरान थिए । न आन्दोलनले काम गरेको । न राष्ट्रपतीलाई उचालेर सफल भएका । न भारतको चाकरी गरेर पत्याइएका । निहुँ चाहिएको थियो, माओवादीलाई ‘देखाइदिने’ । सरकारलाइ कमजोर पार्ने । माओवादीलाई थप बदनाम पार्ने । सरकार बिरुद्दको आन्दोलन चर्काउने । स्थानियलाई उचाल्ने । अझ सकेसम्म उत्तेजित पारेर केहि मारपिट मच्चाउने र त्यसैको बलमा आफ्नो राजनितिक स्वार्थ पुरा गर्ने ।

त्यसैमा घुसे । चार तारा लिएर घुसे । एमालेको झण्डा सूर्य लिएर पसे । आआफ्ना दलका नारा र स्वार्थ लिएर घुसे । कुर्सीको मोह लिएर घुसे । कुर्सीमा बसेपछि बिटाका बिटा सोहोर्ने लोभ लिएर घुसे । बिदेश भ्रमणका सपना लिएर घुसे । पजेरो र प्राडोको सयरमा अग्रिम रमाउँदै घुसे । अझै महल थप्ने र्‍याल निकालेर घुसे । महत्वाकांक्षा जे जे थिए, दाउ जे जे थिए ति सबै लिएर घुसे । सत्ता नछोड्ने दम्भ लिएर घुसे । बिरोधीलाई तह लगाउने हैकम बोकेर घुसे । तर मात्रै सत्ता प्राप्तीका लागि कोखिलामा भर्‍याङ लिएर घुसे ।

माओवादीको जिल्ला अधिबेशन दैलेखीलाई उचाल्ने हतियार भो । सडक थुने । रुख काटेर लडाए । नाराबाजी गरे । दैलेख बन्द राखे । माओवादीका कार्यालय फोर्न कार्यकर्ता पठाए । उता सरकार पक्ष । बाबुराम झन के कम ? जनयुद्दका बेला त देखाइदिएको । अहिले त छँदै छन् लडाकू वाई सि यल । सरकारी स्रोत, सुरक्षाकर्मी । उनलेपनि यहि मेसोमा तह लगाउन खोजे एमाले र कांग्रेसलाई । दैलेख रणसंग्राम जस्तो बन्यो । हप्ताभरिमै दैलेख राजनितिक दलको खेल मैदान बन्यो । पार्टीहरुका सत्तामा पुग्ने भर्‍याङ । चार जना जम्मा पार्न नसक्ने पार्टीका नेताले भाषण गर्ने थलो । उनीहरुले दैलेखी जनतामाथि अपराध गरे । गर्नुसम्म दुरुपयोग गरे ।

सबैभन्दा अपराध त दैलेखीलाई एकापसमा भिडाए । दैलेखी दैलेखीबिच यो र त्यो पार्टी भन्दै उचाले । बिभाजित गराएर । कुटाकुटमा उतारे । आगो झोस्न सन्काए । घर भत्काउन उचाले । एक आपसमा शत्रुताको बिउ रोपिदिए । राजनितिक दलका आयातित नेता र कार्यकर्ता त स्वार्थ सक्किएपछि हिँड्छन् । तर दैलेखी जनता त सधैं त्यहिँ बस्नु पर्छ । हरेक दिन जम्काभेट हुन्छ । त्यहिँको खोलो र कुलो, चौतारो र धारोमा सँगै रमाउनु पर्छ । तर देख्दै ‘यो मेरो शत्रु हो’ भन्ने भएपछि दैलेखीहरुको बिचमा सधैं मन फटाएर, एकले अर्कोलाई देख्दा अर्कोतिर टाउको फर्काएर, मुर्मुरिएर बस्नु पर्ने छ । तिनले राजनितिक फाटो त बनाइदिए, बनेकै हुँदा हुन् । तर मनपनि फटाइदिएर अपराध गरे । नत दैलेखीले गरेको आशानै पुरा भयो ।

तपाइँको प्रतिक्रिया