नेपालनै नरहे के हिमाल के तराई ? को मधेसी को पहाडी ?
–रुपेन्द्र कर्माचार्य (आलेख)/ज्ञानेन्द्र कर्माचार्य (तस्बिर)
–रत्ननगर, टाँडी, चितवन
(एक मधेश एक प्रदेशबिरुद्द थारु समूदायले चितवनको रत्ननगर नगरपालिका, टाँडी बजारमा गरेको प्रदर्शनीको एक झलक)
अहिले नेपाल विविध आन्दोलन, बन्द, हत्या, हिंसाले तनावग्रस्त बनेको छ । त्यसै त लोड सेडिङको मारले आर्थिक गतिविधि ठप्प भैरहेको अवस्थामा चर्किएका यस्ता आन्दोलनले मुलुकलाई थप अधोगतीतिर उन्मुख गराइरहेको छ । आम जनजिवन अस्तब्यस्त बनेको छ । पछिल्लो घटनाक्रममा सरकारले थारुहरुलाई मधेसीको श्रेणीमा राखेको विरोधमा मुलुकका विभिन्न भागमा थारु समुदायहरुले आन्दोलन जारि राखेका छन । शान्तिपूर्ण भनिएको आन्दोलन विस्तारै हिंस्रक हुँदै गएको छ । थारुहरुको धेरै बसोवास भएको चितवनपनि अछुतो रहेन र यहाँ आन्दोलनको आगो सल्किरहेको छ ।
नेपाल सांस्कृतिक विविधताको धनि देश हो । हिमाल, पहाड र तराईको भौगोलिक धरातलमा बसोवास गरेका विविध जनजातिहरुले सदियौंदेखि आफ्ना मौलिक परम्परा, धर्म, भाषा, सस्कृतिहरुलाई जगेर्ना गर्दै आइरहेका छन् । एउटै जातिभित्र पनि अरु हाँगाविगाँहरु छन् । यि थुप्रै विविधताका वावजुतपनि हामी सम्पूर्ण नेपालीविचको जातिय र धार्मिक सहिष्णुता, सद्भाव, प्रेम र भात्रित्व अनुकरणिय छ । त्यसैले नेपाललाई चार वर्ण छत्तिस जातको साझा फूलवारी भनेर चिनिएको हो ।
तेस्रो जनआन्दोलनपश्चात हक, अधिकार र स्वतन्त्रताको नाममा जातियता र क्षेत्रियताको राजनिति शुरु भयो । पार्टिगत स्वार्थकोलागि देशभरि नै विभिन्न जातिय मोर्चाहरु खोलिए । जातिय हक, अधिकार, स्वतन्त्रता र मुक्तिको लागि आआफ्ना मागहरु प्रस्तुत भए । र आन्दोलन छेडियो । हरेक व्यक्ति स्वतन्त्र हुन्छ । उसको मौलिक अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो । तर, आफ्नो हककोलागि लड्दा अरुको हककोपनि विचार होइन र ? हामीले आफ्नो जातिगत वा क्षेत्रगत रुपमा मात्र सोच्ने हो भने राज्यको बारेमा कसले सोच्ने ? नेपालको बारेमा र नेपालीको बारेमा कसले विचार पुर्याउने ?
हिमाल, पहाड र तराई समष्ट स्वरुपनै नेपाल हो । विविध जनजातिको सिंगो रुपनै हामी नेपाली हौं । हामी सबैले सबैको बारेमा विचार पुर्याउनु पर्ने होइन र ? नेपालनै नरहे के हिमाल के तराई ? नेपाली नै नरहे को मधेसी को पहाडी ? फूलवारीमा भमराहरुले यो मेरो क्षेत्र यी मेरा फूलहरु अनि चराहरुले आफ्नै क्षेत्रकोलागि लुछाचुँडी गर्ने हो भने फूलवारीको स्वरुप कस्तो होला ?
जातिय, क्षेत्रिय र धार्मिक लडाई कती भयावह र जटिल हुन्छ भन्ने कुरा त विश्वको इतिहासलेनै देखाइसकेको छ । टाढा किन जानु हाम्रै छिमेकी मुलुक भारतमा चर्किएका हिन्दु र मुश्लिमहरुको धार्मिक द्वन्द अनि श्रीलन्कामा भैरहेको तलिमहरुको जातिय र क्षेत्रिय युद्वले पनि पाठ सिकाउँछ ।
नेपालमा जातिय राजनितिको विजारोपण हुनु दूर्भाग्यपूर्ण हो । यसले केही वर्ग वा पार्टीलाई हित गर्ला । तर राष्ट्रिय भावनालाई कमजोरपार्ने मात्र होइन, सामाजिक विखण्डन ल्याउने खतरापनि रहन्छ । थारु समुदायको आन्दोलन त्यसैको एउटा अंश हो । यो त चिगाँरी मात्र हो, आगोको लप्का कति उचाईसम्म जान्छ कल्पनागर्न गाह्रो छ । यसलाई मुलुकमा घट्न सक्ने ठूलो दूर्घटनाको संकेतको रुपमा लिनुपर्छ । सबै राजनितिक दलहरुलगायत आम नेपालीहरु सचेत रहनु उत्तिकै आवश्यक छ ।
सदियौं देखि रहिआएको हाम्रो सहअस्वित्व, सामाजिक सद्भाव र सामाञ्जस्यतालाई अक्षुण राख्न जागरुक हुनु हामी सबैको कर्तव्य हो । शान्ति, सद्भाव र स्थिरताले नै देशलाई पूनः विकासको बाटोतिर डोर्याउन सक्छ भन्ने कुरामा कसैको दुइ मत नहोला ।





