सत्ताकै कुर्सीमा गोली खान किन तयार भए भट्टराई ?
“बरु बालुवाटार भित्रै गोली खान तयार छु, सरकार छोड्दिन” भनेर कुर्सीमोह देखाएका थिए प्रधानमन्त्री डा बाबुराम भट्टराईले । पार्टीको पहरेदार, सिपाही हुँ भन्थे पहिला पहिला । तर त्यो कुर्सीमा नपुगुन्जेल रहेछ । कुर्सी पाएपछि प्रधानमन्त्री छोड्नुभन्दा गोली खान तयार देखिए । हुँदा हुँदा त उनले पार्टीकै निर्देशनपनि नमान्ने धमास दिईरहेका छन् ।
उनको पार्टी एकिक्रित नेकपा माओवादीले डाकेको बैठकमै अनुपस्थित भएर पार्टीभन्दा कुर्सी प्यारो र ठूलो भन्ने देखाउन खोजे । अचम्म के भने के उनलाई अब पार्टीनै नभएपनि चल्ने भएकोले हो पार्टीलाई चुनौति दिएका ? नत्र किन उनले पार्टीको निर्णयलाई चुनौति दिन खोजिरहेका छन् ?
सबै पार्टीमा छिरेर प्रभुत्व जमाउन सफल भारतीय सत्ताले ‘भट्टराई भए सर्वसम्मत प्रधानमन्त्री सहमत हुने’ भन्दै त्यसै सहमती गराएको थिएन । दूरदर्शी हुन्थे भने दलहरुले त्यतिबेलै भट्टराई मार्फत बिच्छ्याएको भारतीय जालोमा फस्दैनथे । तर अहिले जति सुकै गफ र अरुलाई आरोप लगाएपनि अधिकांश दलका नेता भारतीय दलाल बनिसकेका छन् । तिनै दलालहरुले त्यो बेला शिर झुकाई झुकाई सहमती दिए । भारतको दलाल बनिनसकेका, बन्न तयार नभएका र भारतले नपत्याएका केहि नेताको केहि सिप लागेन । ति भारतीय दलालहरुसितै लर्खरिन बाध्य भए ।
पार्टीमा भट्टराईको हैशियत हेर्ने हो भने उनलाई प्रधानमन्त्री पद चिठ्ठा परेको हो । किनभने पार्टीमा उनको प्रभाव र पार्टी हैशियत तेस्रो स्थानमा पनि थिएन । एकता प्रक्रियाबाट आएका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बरियतामा थिए प्रचण्ड र मोहन बैध्यपछि । तर प्रधानमन्त्री पाए भट्टराईले । यो चिठ्ठा भारतीय भक्त हुनुकै परिणाम थियो भन्ने उतिबेलै जानकारि नभएको होइन । तर त्यसको सक्कली मुकुण्डो भने बल्ल खुल्दै गएको हो । त्यहि भारतीय आडकै भरमा त उनले पार्टी र कार्यकर्ताको विश्वासलाई एकपछि अर्को धोती लगाउँदै छन् । किनभने उनको लागि पार्टी सरकारमा पुग्ने र भारतको विश्वाशपात्र बन्ने खुड्किलो मात्रै रहेछ । सरकारमा जानासाथ पार्टी, आम कार्यकर्ता र बिपक्षीहरु सबैलाई ढाँटेर भारतीय पक्षमा बिप्पा संझौता गरेर फर्किए । चोर, डाँका, फटाहाहरुलाई आम माफीको निर्णय आफैं सरकारमा बसौंला, तिनै ज्यानमारा र लुटेरा अनि गुण्डागर्दी गर्नेहरुका पाखुरा प्रयोग गरेरनिर्वाचन गरौं भन्ने दाउ थियो । त्यसैले उनको आम माफीमा नेता भन्दा मुड्कीवालहरु धेरै परे । धमाधम नागरिकता बाँड्न र मधेशीका नाममा भारतीयलाई सेनामा हुल्नपनि उनले अरु नेतासित सहमती गरे । भारतलाई खुशि पार्न परराष्ट्र मनत्रालयलाईनै पङ्गु बनाएर उनी एकल निर्णय गराउँदै छन् हाम्रो विमानस्थलको सुरक्षामा भारतीयको पहुँच बढाउन । यो दोष भट्टराईको मात्रै नभएर उनको हैसियत भन्दा ठूलो मौकाको भारी सुम्पिदिने समग्र माओवादी पार्टीको गलत निर्णय हो ।
उनले सिंह दरबारमा ज्यान फाल्न खोज्नुका कारण अरुपनि छन् । किनभने उनले भारतको भक्ति गरेर भ्याइसकेका छैनन् । केहि खोलानाला दिन बाँकि छ । नेपालका विमानस्थललाई भारतीय सुरक्षामा पार्न बाँकि नै छ । त्यसको लागि एमालेका नेता भनिने अर्का भारतीय दलाल भिम रावलले अघि सारेको अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै अध्यागमन कार्यालयको सुदृढीकरण र विस्तारको जिम्मा भारतलाई दिने निकै लामो समय अघिदेखिको विवादित योजना फेरि अगाडि बढाएर फत्ते गराउनु छ । नाथे छ करोडको लोभमा फसाएर हाम्रा विमानस्थलहरुको गोप्यता सबै भारतलाई दिनै बाँकि छ । यि लगायतका केहि योजना भारतीय अनुकूल हुने गरि निर्णय नगराएसम्म प्रधानमन्त्री हुँदा सर्वसम्मत गराएको भारतीय हित भट्टराईले तिर्न सक्दैनन् । त्यसैले भारतले उनलाई भनेको छ “हेर बबुरा, हामीले तँलाई प्रधानमन्त्री त्यसै बनाएको होइन । जुन उद्देश्यले बनायौं त्यो पुरा नहुन्जेल नछोड, बरु सिंहदरबारमै मर्न तयार बन, बाँकि हामी ब्यहोरौंला ।”
उनले सत्ता छोड्न तयार नहुनुको कारण अर्को के भने पार्टीमा हैशियत बलियो छैन । प्रधानमन्त्री भएपनि सिनो झैं डङडङी गन्हाउने क्रम बढ्दो छ । कार्यकर्ता पाल्नै पर्यो । अनि सरकार छाड्नासाथ के गर्ने ? पार्टीमा निर्णय आफु अनुसारको हुन्न । किनभने बहुमत प्रचण्ड पक्षको छ । नारायणकाजी अन्तत मिल्ने भनेकै प्रचण्ड पक्षतिर हो । नारायणकाजीले छड्के भाषामा भनिपनि सकेका छन् “बाबुरामको पालोमा भारतीय हस्तक्षेप र चाकरि पार्टीहरुमा झन भित्रै घुस्यो” भनेर । त्यसको अर्थ उनले कूटनितिक भाषामा भट्टराईलाई भारतीयका एक दलालका रुपमा प्रस्तुत गरिसके । निर्वाचन भयो भने यस्तो अवस्थामा भट्टराई एक्ला हुन्छन् । न पार्टीमा बहुमत, न सत्ता र शक्ति । यस्तो अवस्थामा निर्वाचन हुँदा भट्टराईको हैशियत के होला ? योपनि हो सरकार छोड्नु भन्दा पार्टीलाईपनि लत्याएर सिंहदरवारमै गोली खान तयार हुनुको कारण । नत्र पार्टीको बैठकमा उपस्थित नहुने, पार्टीको निर्णय मान्दिन भनेर सत्ताको कुर्सीमै गोली खान कोहि हुन्छ तयार ? नत्र आफ्नै पार्टी एकीकृत नेकपा माओवादीले हिजो दिउँसो राखेको ब्यूरो प्रमुखसहितको पदाधिकारी बैठक प्रधानमन्त्री डा बाबुराम भट्टराईले बहिस्कार गर्थे ? पद त्याग्नु पर्छ राष्ट्रिय सहमतीको सरकार निर्माणकालागि भन्ने निर्णय गर्छन् भनेर हैन ? देश र जनताको लागि हो भने त आफ्नो पार्टी प्रति विश्वास हुनु पर्दैन ? मेरो पार्टीले जे गर्छ देश र जनताको लागि गर्छ, हामी गौण हौं भन्नु पर्थेन ?




