समग्र पार्टीलाई विश्वासमा लिएर काम गर्न सरकार असफल
● युवराज चौलागाई (माओवादी केन्द्रिय नेता)
अहिलेको सरकार न पूर्ण कम्युनिष्ट चरित्रको सरकार हो । न पूर्ण पूंजीवादी वा बुर्जुवा सरकार हो । दुई वटै चरित्रको पूर्णता यो सरकारमा छैन । त्यसो भन्दा माओवादी पार्टीनै के कुनैपनि चरित्र नभएको पार्टी हो त ? भन्ने प्रश्न आउला । माओवादी पार्टी आफैंमा दुनिया बदल्ने सपनाहरुले लैस भएको पार्टी हो । त्यो खालका मानिस, त्यो खाले सक्रियता र द्रिष्टिकोण भएका मानिसहरुको पार्टी हो । यसमा सहमती बिमती के होला फरक कुरा हो । यसलाइ हामीले सिद्द गर्नुपर्छ ।
तर अहिलेको सरकारमा त्यो चरित्र प्रतिबिम्बित हुँदैन । किनभने यसमा मधेशी मोर्चका पार्टीहरु छन् । उनीहरुसित मिलेर सरकार जसरि बनेको छ त्यसले गर्दा हामीले चाहेरपनि कतिपय काम गर्न सक्दैनौं । मुख्य कुरा त्यो हो । तर त्यो मात्रैपनि पर्याप्त तर्क होइन भन्छु म । माओवादी पार्टी अहिले जस्तो प्रकारको सरकारमा गएको छ त्यो भनेको सत्ताको संयन्त्रलाई पुरै प्रभावित पार्ने ढंगले हैसियत राख्दैन । नेपालको कर्मचारीतन्त्र, कानुन सबै यथावत राखेर हामी अगाडि बढेका छौं । यथावत भनेर जस्ताको तस्तै त नहोला । केहि न केहि नियम बेनियमको परिवर्तनमा हुने कुरो एउटा हो । तर त्यसको आधारभूत स्पिरिटमा परिवर्तन ल्याउन सकेका छैनौं अहिले ।
त्यो भनेको एउटा पार्टीले सानो समयमा गर्न सक्ने कुरो होइन । त्यो एउटा लामो समयमा संवैधानिक रुपमानै अगाडि बढेर गर्न सकिने कुरा हो । त्यसको अभाव छ अहिले । अहिलेको सरकार भनेको त तत्काल टार्ने सरकार मात्रै हो । संक्रमणकाललाई सकेसम्म छोटो र ब्यवस्थित गर्ने मात्रै हुन्छ । यसले दिर्घकालिन रुपमा गर्न सक्दैन । त्यसकारण मूल्यब्रिद्दी पनि कहिँ कतै कुनैपनि देश र ब्यवस्थामा नसुहाउने खालको देखिनुको कारण त्यो हो ।
तेस्रो कुरा के हो भने हाम्रो जस्तो मुलुकको विकासको कुरा गर्दा अलि फरक द्रिष्टिकोण राख्न सक्नुपर्छ । नेपाल तेस्रो विश्वको मुलुक । त्यसमापनि भूपरिवेष्टित । अझ भारतवेष्ठित भनेपनि हुन्छ । यस्तो देशमा हामीले विकासको थप आधारभूत धारणालेनै हामीले सम्ब्रिद्द गर्नुपर्छ । भारत, चिन वा युरोपको धारणा र प्रयास हाम्रो लागि पर्याप्त हुँदैन । हाम्रो दुख के छ भने त्यो अवधारणाको विकास वा शुरुवातनै हाम्रो देशमा हुन सकेको छैन । त्यो किन हुन सकेको छैन भने राजनितिक स्थिरता छैन । म आम रुपमा सार्वजनिक र एक युवापनि हुनुको नाताले के सहमत छु भने नेपलको राजनितिक नेताहरुको ईमान्दारिताको बारेमा प्रश्न गर्न सकिन्छ । प्रश्न गर्नुपनि पर्छ । नेताहरुले आफ्नो ईमान्दारिताको प्रमाण जनतासित पटक उभिएर पेश गर्नुपनि पर्छ । त्यो प्रश्न गर्नैपर्छ नेताहरुलाई जनताले । नत्र नेता बिग्रिन्छ । जनताले मन लागि छोडिदिँदा मनलागि नगर्ला भन्नपनि सकिँदैन ।
हुन त त्यो राजनितिक प्रक्रियामा हामीनै लागेका छौं । जनताले त्यो गर्नै पर्छ भन्ने मलाई लाग्छ । हाम्रो विकासको मोडालिटी (ढाँचा) को बारेमा शुरुवात नगर्ने, छलफल नगर्ने, वा अगाडि बढेर जानको लागि राजनितिक स्थिरतातिर ध्यान नदिने हो भने हाम्रो यो प्रक्रिया दोहोरिन्छ । सूचांकहरु हेर्ने हो भने हामी अरु धेरै कुरामा पछाडी छौं । हजारौं मानिस अहिलेपनि देश छोडेर दैनिकरुपमा बिदेश जान्छन् । पासपोर्ट लिनेहरुको लाईन हुन्छ । जहाँ गयो त्यहि देशमा नेपालीहरुको संख्या देखिन्छ ठूलो । म अस्ति अरब देश देशमा पसेर आएँ । त्यहाँ नेपालीहरुको कार्यक्रम गर्ने हो भने आम सभानै हुन्छ टुँडीखेल जस्त्रो । यहि अवस्था हो भने राजनितिक नेताहरु संगठन गर्नलाई देशमा हैन बाहिर बाहिर बसे हुन्छ । त्यस्तो परिस्थिति बन्नु साँच्चिकै चिन्ताको विषय छ ।
सरकारले राम्रोसित काम गर्न सकेको छैन भन्ने हाम्रो धारणा हो । यो हाम्रो पार्टीकै आधिकारिक धारणा हो । सरकारले यो भन्दा धेरै राम्रो काम गर्नुपर्थ्यो । त्यसो त यो सरकार नै कसरि बन्यो हेर्नुपर्छ । अलि भिन्न तरिकाले बन्यो । मान्छेहरु ‘प्रचण्डले अरु कसैलाई बन्नै दिँदैन प्रधानमन्त्री’ भन्थे । त्यसरि धेरैले लेखे । बाहिर आउँथ्यो बाहिर । प्रचण्ड त यस्तो मान्छे हो कि उसले त कसैलाई अगाडि आउनै दिँदैन भन्ने थियो । तर भयो के त ? प्रचण्ड आफैं लागेरै यो सरकार बनेको हो, बाबुरामजी प्रधानमन्त्री हुनु भएको हो । लाग्न त सबै पक्ष लागे, फेरीपनि उहाँ कस्सीएरै लाग्नु भयो । त्यसपछि यो सरकार बनेको हो । सरकार बनिसकेपछिको सन्दर्भमा म हाकाहाकीनै के भन्छु भने सरकारको नेत्रित्व गर्ने कमरेडले पार्टी सबैलाईनै विश्वासमा लिएर सरकारको नेत्रित्व गर्न सक्नु भएन । एउटा त्यो समस्या देखियो ।
अर्को के भने त्यतिबेला धोबिघाट वातावरण थियो । एउटा पक्ष चाहिँ त्यसबाट आउनु भो । पार्टीभित्र तिन वटा गूटको संघर्ष जस्तो थियो । आआफ्ना गूटतिर हेर्न थालिसकेपछि सम्पूर्ण पार्टी केन्द्रित भएर सरकारको सम्पूर्ण कामलाई समर्थन गरेर अगाडि जाने स्थिति बनेन । त्यसले गर्दा पार्टीभित्रैबाटपनि जुन खालको विश्वास लिएर अगाडि जान सक्नुपर्थ्यो त्यो परिस्थिति राजनितिक र मनोबैज्ञानीक हिसाबले उहाँलाई बनेन । यो एउटा सत्यता हो हाम्रो पार्टीको अहिलेको सरकारको बारेमा ।
अर्को चाहिँ मिलिजुली सरकार हो । कानुनी कुरा छन् । अन्य पक्षपनि छन् । त्यसले गर्दापनि यो परिस्थिति बनेको छ । अनि सरकारको ध्यान शान्ति र संविधानमा बढि केन्द्रित हुने भन्ने भयो । जनताले माओवादीबाट तत्काल राहतको काम र केहि आमूल परिवर्तन अपेक्षा गरेको थियो । त्यो खालको परिस्थिति बनेन । अदालत र पुरानो कर्मचारीतन्त्रपनि माओवादीका कतिपय सकारात्मक कामहरु प्रति सकारात्मक बन्न सकेन । त्यसले गर्दा यो स्थिति आयो । कतिपय निर्णय जुन जनतालाई पाच्य नहुने, आफुलाईपनि मन नपर्ने खाले निर्णयहरुपनि गर्न बाध्य हुनुपर्यो ।
जस्तो कि केहि सेना र प्रहरीका अफिसरहरुका केहि मुद्दा, घटना छन् द्वन्दकालका । तिनका बारेमा जनता र पार्टी पंक्तिभित्र पनि एक खालको बित्रिष्णा छ । त्यो खालका पात्रहरुलाइ बोकेर हिँड्नुपर्ने एक खालको बाध्यतामा छ फेरी सरकारलाईपनि । त्यो भनेको के भने सत्य तथा मेलमिलाप आयोग जुन बन्नुपर्ने थियो त्यो चहिँ बेलैमा बन्न सकेन । त्यो बनेर त्यसले गरेको सिफारिसको आधारमा कसलाई सजायँदिने, कसलाइ उन्मुक्ति दिने, कसरि ब्यवहार गर्ने भन्ने त्यहाँ निर्णय भएपछि मात्रै अदालतले त्यसको बारेमा अन्तिम निर्णय दिने राजनितिक निर्णय भएपछि भन्ने हो । तर त्यसको लागि सत्य तथा मेलमिलाप आयोग बन्नै सकेन । त्यो नबेपछि त्यसको बारेमा केहिपनि निर्णय गर्न पाइएन । त्यसो त के भने प्रधानमन्त्री जो हुनुहुन्छ अहिले उहाँलाईनै मुद्दा छ नी ! खै त उहाँले आफ्नै मुद्दा फिर्ता लिन सक्नु भएको छैन । पूर्व प्रधानमन्त्री, हाम्रा अध्यक्ष कमरेडलाइनै मुद्दाहरु छन् । खै त ति मुद्दा फिर्ता भएका छैनन् । ग्रिह मन्त्री हुनु भो क्रिष्ण बहादुर महरा । ग्रिह मन्त्रालयमै भएका उहाँमाथिका मुद्दा फिर्ता हुन सकेनन् ।
किनभने यस्ता खालका केहि जटिलताहरु छन् संवैधानिक र कानुनी । त्यसैले त्यसलाई समाधान गर्न सकेनौं । ठिक त्यसैगरि कतिपय आरोपीहरु छन् । आइजिपीका बारेमा जनकपुरको घटना छ । नेपाली सेनाका कर्णेल राजु बस्नेतमाथिको आरोप छ । त्यो त धेरै संवेदनशिल घटना हो । साथीहरुलेनै आन्दोलन गरेका छन् बाहिर सडकमा निस्केर । स्थिति के छ भने कानुनि रुपले भन्दा सरकारले गरेको काम ठिकै छ भन्नुपर्ने । राजनितिक र आवश्यकताको द्रिष्टिकोणले हेर्दा चाहिँ जनता र कार्यकर्ताले भनेको ठिक हो भन्नुपर्ने । मेरो बिचारमा यो स्थिति लामो समयसम्म जाँदैन । कि कानुन छोडेर सर्व साधारणको रजनितिमा आउनु पर्छ । कि सर्वशाधारणको राजनितिलाई कानुनमा लगेर प्रतिबिम्बन गर्न सक्नुपर्छ सरकारले । त्यो जटिलतामा चाहिँ सरकार रहेको स्थिति हो । त्यसले गर्दापनि कतिपय कुरा सहि ढंगले हुन नसकेको हो भन्ने लाग्छ । त्यसैको प्रभाव अहिलेको सरकार सञ्चालनको सन्दर्भमा परेको हो ।
मलाई चाहिँ के लाग्छ भने नेपालको राजनितिमा लामो द्रिष्टिकोण, योजना भएको र देशलाई हाँक्न सक्ने दिर्घकालिन सरकार हो हामीलाई चाहिएको । अहिलेको सरकारको स्थिति हेर्नुस् त, रातदिन सडकबाट राजिनामाको कुरा गरिराखेका छन् । बिपक्षीहरुले सरकारसँग संवादै गर्न पनि चाहेका छैनन् । सरकार बनेको मुश्किलले एक वर्ष भएको छ । वर्ष दिन हुनु अघिदेखिनै त्यस्तो खालको परिस्थिति तयार गरिन्छ । नेपालको राजनितिमा २००७ सालपछि एउटापनि त्यस्तो प्रधानमन्त्री छैन जसले पूणकालसम्म काम गर्न पाएको होस् । पञ्चायती ब्यवस्थामापनि त्यहि हो । यस्तो खालको अस्थिरता छ हाम्रो देशमा । यस्तो स्थितिमा कुनैपनि सरकाले कसरि काम गर्न सक्छ ? कम्तिमापनि पाँच सात वर्ष काम गर्न पाओस् । एक डेढ वर्ष त बुझ्नै लाग्छ उसलाई । त्यहाँको पद्दती र तरिका बुझ्न लाग्छ । आफ्नो अनुकुलतामा बदल्नको लागि समय लाग्छ । त्यसपछि राजनितिक पार्टीहरुलाई संगै लिएर हिँड्न, बिश्वासमा लिन देढ दुई वर्ष काम गर्नुपर्ने हुन्छ । अनि पो एक अखालको राजनितिक वातावरण बन्छ त देशमा ।
हाम्रोमा त त्यस्तो स्थितिनै कहिल्यै तयार हुन दिइँदैन । एउटा बन्यो अनि त्यसलाई गिराउन खेलहरु शुरु भैहाल्छ । को सहि हो र को गलत भन्ने कुरा छुट्ट्याउनै नसक्ने । तिल र तोरी मिसाएपछि कुन तोरी हो र कुन तिल हो छुट्ट्याउन नसके जस्तो । सबैसंग एकै तरिकाले ब्यवहार गर्ने हाम्रो परम्परा बसेको छ । त्यसैले अब जनताले पनि तिल र तोरी छुट्ट्याएर जान सक्नु पर्छ । त्यो भयो भने नेपालको विकास, सरकार सबै कुरो अगाडि बढ्छन् ।
नेपालको संदर्भमा एउटा कुरा के भने विकासको, राजनितिको कुरा गरिन्छ । राजनितिबाट प्रिथक विकासपनि हुँदोरहेनछ । पञ्चायत कालले त विकासे राजनितिकोनै कुरा गरेको थियो । त्यसैले अहिलेको दुनियाँका विशेषताहरुबाट अलग रहेर केवल विकासको मात्रै कुरा गरौं,, विकास मात्रै स्थानिय सरकारको काम हो भनौं भन्दापनि हुँदोरहेनछ । त्यो त पञ्चायाकलमा असफल भएरै प्रमाणित भैसकेको छ हाम्रो देशमा । अरु देशमापनि त्यो खालका प्रश्नहरु उठेकाले त्यो देखिन्छ । त्यसैले अहिलेको लोकतन्त्रका कतिपय विशेषताहरु छन् तिनिहरुलाई सँगै लिएर मात्रै विकासपनि गर्न सकिन्छ भन्ने देखिन्छ । त्यो गर्न हामीलाई जनाधिकरपनि चाहिएको छ । द्रिष्टिकोण भएको सरकारपनि चाहिएको छ जसले गर्दा लामो समय सम्म स्थापित भएर काम गर्न सकोस् । त्यो खालको परिस्थिति हामीले जति छिटो निर्माण गर्न सक्छौं उतिनै छिटो हाम्रो देशको विकास र मुक्ति संभव छ ।
(गत अक्टोबर १४ मा एकिक्रित नेकपा माओवादीको भात्री संगठन जनप्रगतिशिल मञ्च बेल्जियमको अधिबेशनमा भाग लिन आएका माओवादीका केन्द्रिय नेता, उक्त पार्टीको बिदेश बिभाग ब्युरोका सदस्य चौलागाई सित उनी पेरिस आएक बेला मैले लिएको अर्वार्तामा आधारित छ यो लेख )।
यसैसित संवन्धित अघिल्ला लेखपनि हेर्नुस्




