हाम्रो स्वाभिमानको सम्मान गर्न भारतसितको बिकल्प
∙ मदन बज्राचार्य
नेपालमा भएको राष्ट्रिय श्रोतहरु नेपालले आफ्नै लगानी बाट परिचालन गर्नु अलि मुस्किल काम हो । तर नेपालको प्राकृतिक सौन्दर्य र नेपालीको कला र संस्कार पनि त एक प्रकारको राष्ट्रिय स्रोत नै हो । यहि प्राकृतिक श्रोतबाट आकर्षित भएर लाखौं लाख पर्यटकहरु नेपालमा आउँछन । तिनीहरु बाटै आर्जन गरेको बिदेशी मुद्रानै नेपालको बिदेशी मुद्रा कमाउने प्रमुख श्रोत बनेको छ ।
प्रकृतिको सौन्दर्यता र हाम्रो संस्कृति हेर्न आउने पर्यटकबाट उल्लेखनीय आम्दानि गर्न सकिंदैन । उनीहरु बारम्बार आउँदा पनि आउँदैनन् । तर ब्यवशायिक पर्यटकहरु बारम्बार आउँछ । उनीहरु बाट उल्लेखनीय आम्दानि गर्न सक्छौं । जसरि दुवई, हंगकंग, सिंगापुरले गर्दैछ । ब्यवशायिक पर्यटकहरुले ब्यवशायिक सामानहरु पनि किन्छन । तर सांस्कृतिक पर्यटकले किन्दैनन । किने पनि उही उपहार दिने नगन्य सामानहरु मात्रै किन्छन । त्यसबाट उल्लेखनीय बिदेशी मुद्रा हामिले कमाउन सक्दैनौं ।
हाम्रो जस्तो गरिब मुलुका नागरिकहरु पनि बारम्बार ब्यवशायिक पर्यटन गर्न दुवई हंगकंग सिंगापुर जान्छौं । हजारौ हजार डलर खर्च गर्छौं । हामि र हामि जस्तै अन्य गरिब मुलुकको नागरिकहरुले पनि ती मुलुकहरुमा होटलमा बस्न खान घुम्न जति खर्च गर्छन । त्यो भन्दा सयौं गुणा बढीको सामानहरु किन्छन । ती सबमा हामीले त्यहाँको सरकारलाई उल्लेखनीय बिक्रिकर तिरेको हुन्छ ।
ब्यवशायिक पर्यटकहरु बाट उठाएको बिक्रिकरबाट ती मुलुकहरु सम्पन्न भैसकेको छ भने हामि जहाँको त्यहिँ छौं । किन हामीले पनि दुवई हंगकंग सिंगापुरले जस्तै हाम्रो नेपाललाई ड्युटीफ्री मुलुक बनाएर ब्यवशायिक पर्यटनको माध्यम बाट बिदेशी मुद्रा नकमाउने ?
दुवई, हंगकंग, सिंगापुर भन्दा हाम्रो मुलुक हरेक कुरामा धेरै राम्रो छ । हामी कहाँ लाखौं लाख पर्यटकहरु आउने गरेकै छन् । तर उनीहरुले खान बस्न घुम्न खर्च गरेको रकम बाट उठेको कर नगन्य नै हुन्छ । तर नेपाललाई ड्युटीफ्री मुलुक बने उनीहरु घुम्न खान बस्न जति खर्च गर्छन त्यसको सयौं गुणा सामानहरु किन्नमा खर्च गर्छन । उनीहरुले सामान किन्न जति खर्च गर्छन त्यसबाट उठ्ने बिक्रिकर बढी आकर्षक हुन्छ भने त्यो रकम बाट हाम्रो देश बिकास गर्न सक्छौं ।
अहिले नेपालको सरकारको आम्दानीको श्रोत पर्यटन पछी भन्सार महसुल बनेको छ । तर हाम्रो सरकारले यो सोच्दैन कि हाम्रो भन्सार बाट उठेको रकम हाम्रै देशको नागरिकले हाम्रै देशको रुपियाँबाट तिर्छ । डलर युरो पाउन्डमा तिर्दैनन । त्यो भन्सारबाट उठेको रकम नागरिकको गोजीमा भएको रकम सरकारमा दाखिला मात्रै भयो । रुपैया एउटा गोजीबाट अर्को गोजीमा मात्रै पुग्यो । त्यसलाई राष्ट्रिय आम्दानि कसरि मान्न सकिन्छ ?
राष्ट्रिय आम्दानि भनेको त बिदेशीको गोजीमा भएको डलर युरो पाउँदा हाम्रो र सरकारको गोजीमा पुगेको रकमलाई भनिन्छ । सरकारले यस्तै रकम कमाउन नेपाल जस्तो आफ्नै लगानीमा ठुला ठुला उद्द्योग खोल्न नसक्ने मुलुकले अरु मुलुकले बनाएको सामान ब्यवशायिक पर्यटकलाई बेच्न सक्ने नीति अपनाउनु पर्छ ।
नेपाल आर्थिक रुपले सम्पन्न हुन हामीले अरु मुलुक सित गरेका केहि असमान सन्धिहरु संसोधन गर्ने आँट गर्न पनि सक्नु पर्छ । सन् १९२७ मा चन्द्र शमशेरले भारतलाई शारदा ब्यारेज बनाउन नेपालको भुमि बर्षको ५० हजार भत्ता पाउने शर्तमा दिएको थियो । सन् १९२७ मा ५० हजार भनेको अहिलेको सुनको भाउसित तुलना गर्ने हो भने हजार ५ करोड हुन् आउला । चन्द्र शम्सेरले त नेपालको भुमि भारतलाई प्रयोग गर्न भत्ता उठाएको थियो भने कोशी गण्डकीको बाँध बनाउन भारतलाई नेपालको नदी र भुमि प्रयोग गर्न दिएकोमा किन भाडा नउठाउने ?
उहिले गरेको सन्धिमा त्रुटी भएको थियो भने त्यस्तो त्रुटी सच्याउन पनि सकिने कुरा महेन्द्रले कोशी सन्धि सच्याएर प्रमाणित गरेकै छ । अहिलेका नेताहरुले किन सक्दैनन् ?
दुई देसको नाता “देउ र लेउ” को सिद्दान्तमा हुन्छ । नेताको नाताको आधारमा हुँदैन । हाम्रो देसको सिता भारतको बुहारी हुँदैमा नेपालको सबै श्रोतहरु भारतलाई दाईजोमा दिन सकिँदैन । भारतको कुनै पनि अर्को रामको खुट्टा हामीले ढोग्नपनि सक्दैनौं । हाम्रो देशको श्रोत भारतले परिचालन गर्न खोज्छ भने भारतले हामीलाई त्यसको मोल तिरेको छैन भने अब तिराउनु पर्छ ।
भारतलाई हाम्रो कोशी, गण्डकी, महाकालीको पानी लिएको छ भने बदलामा भारतबाट हामीले के पायौं त्यसको हिसाव पनि हामीले गर्न सक्नुपर्छ । भारतलाई नेपालको पानी चाहिन्छ भने कलकत्ताको बन्दरगाह उपयोग गर्ने अधिकार हामीलाई पनि चाहिन्छ । उ कलकत्ताको बन्दरगाह उपयोग गर्न नेपाललाई बाधा गर्छ भने भारतलाई नेपालको भूमिमै नेपालको नदि थुन्ने अधिकार नदिने प्रण हामीले पनि गर्नुपर्छ ।
अमेरिका तथा नाटो सित आबद्ध मुलुकहरु सित भारतको संवन्ध नराम्रो भएको बेला भारत तत्कालिन सोभियत युनियन सित सुरक्षा सन्धि गरेको थियो । भारत र चीन दुवै हाम्रो छिमेकी मुलुकहरु हुन् । एउटा छिमेकी दुष्ट भएको खण्डमा नेपालले पनि भारतकै सिको गर्न बाध्य हुन्छ । हाम्रो देशको स्वाभिमानको सम्मान कायम राख्न हामीले यो बिकल्प पनि खुला भएको देखाउन सक्नु पर्छ ।




