थप्पड हान्नेलाई माफी दिएनौ, जनताका सयौं छोराछोरी मार्नेलाई कसरि माफी दिने ?

(अपडेट : आज बिभिन्न ठाउँबाट उनका समर्थक र सहानुभूतीहरुको सहयोगमा जम्मा भएको रकम धरौटी राखेर कुँवर छुटेका छन् जेलबाट ।)

आर्थिक समस्याले गाँजेर छट्पटिएको, सूदुर बस्तीको एउटा सन्के केटो आज जेल गयो । प्रचण्डहरुले दिएका आश्वाशन पुरा नगर्दा आबेगमा आएर सम्झाउँन भन्दै थप्पड हानेका पदम कुँवर जेल चलान भए । जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा उनलाई एकिक्रित नेकपा माओवादीकै सरकारले जेल लग्यो । उनलाई २८ हजार तिर्न लगाइयो । सकेनन् । अनि सिडियोले आदेश दिए ‘यसलाई जेल हाल ।’  उनलाई केन्द्रीय कारागार चलान गरियो ।

तर यसबाट एकिक्रित नेकपा माओवादीको सरकार कति अत्याचारी रहेछ भन्नेपनि देखायो । बाबुराम र प्रचण्डको मन कति छोटो, कति सानो रहेछ भन्नेपनि देखाउँछ । थप्पड पचाउन नसक्ने नेतालाई जनताले कसरि माफी देलान् सयौं जनताका छोराछोरीको हत्या गरेबापत ?

चितवनको माडीमा एउटै बसमथि बम हन्दा प्रचण्डका कार्यकर्ताले सयौं नेपालीको ज्यान लिए । सयौं जनताका छोराछोरीलाई उचालेर, स्कूलबाटै लतारेर, खोसेर, धम्काएर ल्याए । जहाँ जहाँ आवश्यक पर्छ काम लगाए । तिनका गुलिया अश्वाशन पाएर धेरै नेपालीका अवोध सन्तानको ज्यान गएको छ । तिनको उक्साईले धेरैको घर बिरक्तिएको छ । धेरै महिलाका सिंदुर पुछिएको छ । टुहुरा हुने उत्ति छन् । काख खोसिनेहरु हजारौं छन् । अब जनताका छोराछोरीले आफ्ना बाउ आमाको हत्याका कारक प्रचण्डलाई कसरि छोड्ने ? सयौं बाबु र आमाले आफ्ना छोराछोरी चुँडाएर लैजाने कारक बनेका बाबुराम र प्रचण्डलाई कसरि माफी दिने ? कुन मनले तिनलाई स्वतन्त्ररुपमा हिँडेको देख्न सक्छ ?

आफु र सयौं परिवारको बेहाल गराइदिएको झोंकमा आएर थप्पड हानेका कुँवरलाई जेल हाल्ने हो भने जनताका छोरा छोरी मार्ने माओवादीका नेतालाई जनताले किन छोड्ने ? के तिनलाई जेल हाल्नु पर्दैन जनताका छोरा छोरीले थप्पड हान्दा जेल जानु पर्छ भने ? जनताको छोरो र नेताका लागि अलग कानुन र नजिर स्थापन गर्न पाइन्छ ? त्यसैपनि प्रचण्डलाई हानेको थप्पड भन्दा कयौं गुणा बढि यातना कुँवरले पाईसकेका छन् । प्रहरी प्रशासनको यातना भोगे । उनका कार्यकर्ताले शरिर कुच्चिने गरि पिटे । भलै त्योपनि आबेगमै हो । उनको यातनाको जिम्मेवार चाहिँ को हुने नी ? आफ्ना कार्यकर्ता र नेताको चाहिँ चोर बाटो अपनाएर मुद्दा फिर्ता लिने ? कुँवरको सामान्य कमजोरीमा चाहिँ मुद्दा हाल्ने ? प्रचण्ड र बाबुरामको न्याय र सामनताको मुकुण्डो यो भन्दा बढि अझै कति उघारिने ?

हजारौं जनताको हत्यामा संलग्न भएर आएका नेतालाई जनताले माफी दिनुपर्ने । तर तिनले चाहिँ माफी दिन नसक्ने ? कति सानो मन रहेछ प्रचण्डको ? थप्पड हानेको कसुरमा एउटा सामान्य कार्यकर्तालाई माफी दिन नसक्ने प्रचण्डले यो मुलुकको नेत्रित्व गर्ने ? कसरि नेत्रित्व गर्न सक्छ यस्तो झिँगाको जत्रोपनि मन नहुने नेताले  ? आम नेपाली जनतालाई कसरि खुशि बनाउन सक्छ ? जनताका छोरा छोरीलाई कमारो र रैतीको ब्यवहार गर्ने नेतालाई कसरि जनताले राजनेता मान्ने ?

तपाइँको प्रतिक्रिया