पीएल जी कांग्रेसका कर्तुत चाहिँ बिर्सने ?

-राजभानु

 

पशुपतीको बिबाद कुनै धर्म माथिको बिबाद होइन र लेखक महोदय चस्मा फुकालेर हेर पहिले तिमी । हामी नेपालीलेपनि हिन्दू धर्म नै मान्ने हो र यदी सयौं बर्ष भारतीय पूजारीले पूजा गरेको देख्दा देख्दैपनि पूजा बिधी सिक्न सकिएन भने हामी जस्ता हिन्दूहरु माथि लानत छ ! त्यो काण्डबाट तिमीहरु जस्ता मुकुण्डो धारी, रामचन्द्र, कोइराला र मूलत: कांग्रेसको चूरो नियत उजागर भएको छ । हतारमा निर्णय भयो, त्यो पक्कै हो । तर यसबाट राष्ट्रबादी हुँ भन्ने धेरैको नियत प्रस्ट भयो ।  हरेक दिन २०,००० जम्मा हुने ठाउँबाट वार्षिक आम्दानी २,००,००० देखाइँदा बिचमा पर्न आको खाल्डो उजागर भयो र त्यसले बिरोधीहरुको आयस्रोतको पनि खुलासा भयो ।

 

सेनाको बारेमा भर्खर ५ दलले निकालेको निष्कर्ष तिमीले जान्यौ होला लेखक महोदय । तसर्थ आफ्नो सोचाइ अब तिमी पनि सुधार । सरकार प्रती उत्तरदाई एउटा संस्था हो नेपाली सेना । र कसको आदेश मान्ने कसको नमान्ने भन्ने बिश्लेषण गर्ने हक तिमीहरु जस्ता अवसरवादी नेताहरुको समर्थनले मिलेको हो । बिश्वको विद्रोहीहरुको ईतिहास पढेका, जानेका हौला तिमीले पनि । अमेरिकाले रुस बिरुद्ध अफ्गानिस्तानमा अरबौ डलर खर्च गरेर बिन लादेन जन्मायो । भारतले तामीलहरुलाई सहयोग गर्‍यो हतियार, तालिम भिडाएर १९८० को दशक मा १२०० सैनिक गुमयो र राजिव गान्धी गुमायो । ईरानमा शाहहरुलाई अमेरिकाले तेलको लागि समर्थन गरेर खुमेनी जन्मायो । र हाल अह्मेदिनेजादले खुमेनिको बींडो थामी रहेका छन । अहिले नराम्रोको समर्थन गरेर ठुला भैरहेका छौ तिमीहरु । तर पछी आफ्नै खुट्टामा बन्चरो पर्दा चाल पाउनेछौ ।

 

अनमिनको भनाइ पनि तिमीले पढेका हौला ।  तिमी मान , नमान । स्विकार गर नगर । अहिले देशमा दुइटा सेना छन ।  सेना समायोजनको बिकल्प छैन । माओवादीहरुलाई जती गाली गरेपनि तिनिहरु तिमीहरुकै नालायकीपनाले जन्मिएका हुन् । तिम्रा पार्टीका शेरबहादुरले सायद एउटा बार्ता बिफल भएपछि ” माओबादी समस्या होइन, यो १० घण्टा भित्र समाप्त गर्ने छौं” भनेका पनि थिए क्यारे तिमीलाई स्मरण छ ? माओवादीका तीन मागहरु क्रमश गोलमेच सम्मेलन, संबिधानसभा र गणतन्त्र अहिले आएर पुरा भइछाड्यो भने त्यत्रो बर्षको आतंक र हत्यामा कांग्रेस, कम्युनिष्ट पनि उत्तरदायी छन जस्तो तिमीलाई लाग्दैन ?

 

कानून, भ्रष्टाचर आदिको कुरा कांग्रेसले गर्न सुहाउँदैन । १५ बर्ष कानूनको खिल्ली उडाएर, भ्रष्टाचार संरक्षण गरेर र मौलाउन दिएर, तस्करीमा डुबेर अर्थतन्त्र धराशाई बनाएर, अरुण आदी जस्ता योजना कमिसन नमिलेर बगाएर, बिद्युतको माग बिचार नगरेर अहिलेको स्थिती आएको भन्ने बुझ्ने बौधिक स्तर जनसमुदायमा बिकास भईसकेको छ । तसर्थ पूरानो राग अलापेर जनता झुक्क्याउने दिन गए भन्ने कुरा संबिधान सभा चुनावको झापडले तिमी जस्ता नेताले बुझेका छैनौ भने नर्सरी देखी पढ्न सुर गर ।

 

पुराना यथास्थितिवादी, भ्राष्टाचारि र तस्करहरुले १५ बर्ष लगाएर ध्वस्त पारेको अर्थतन्त्र चाहिँ हालको सरकारले दश महिनामा सुधार्नु पर्ने ? वाह लेखक महोदय ! तिम्रो सोचाइ देखेर टीठ लागेर आयो तिमी प्रती ! भ्रिकुटी कागज कारखाना, उदयपुर सिमेन्ट, बाँसबारी छाला कारखानालगायत थुप्रै उद्दोग कसको पालामा खत्तम भएका हुन महोदय ? तिमीहरुले प्रश्रय दिएर राखेको तस्कर, कमिसनखोर, भ्रष्टाचारी संघसंस्था र आचारण बढार्न समय लाग्छ महोदय, धैर्य गर्न सिक

 

१० बर्षा बर्बर स्थिती, मृत्‍युसँग लुकामारी र हिंसाको दुनियाँबाट आएका छन । कमी कमजोरीहरु छन उनिहरुमा । सबैलाई थाहा छ त्यो कुरा । दूर्व्यवसनीहरुलाई त सुधारको समय चाहिन्छ भने माओवादीहरुलाई केही समय दिईनु पर्दैन ? माओवादीहरुको हिंसा, दमन, वाइसियल कृयाकलाप पछील्ला दिनहरुमा धेरैनै कम भईसकेको छ । तर त्यस बिषयमा कसैले आवाज उठाईरहेको छैन । पूराना नेताहरु जस्तै वाहियत कुरा बोल्ने, आक्रोशका अभिब्यक्ती दिने, धम्काउने आचारणहरु सुधार्नु पर्ने छ माओवादीहरुले ।  तिमीहरुका दिन गए अब र अब पनि त्यही सत्तामा जाने, पद्लोलुप्ता देखाउने जस्ता घ्रिणित कार्य गरेर बस्ने हो भने तिमीहरुको अस्तित्व सदाका लागि मेटिन्छ । तसर्थ आफ्नो छबी सुधार्न सकारात्मक सुझाब, रचनात्मक बिरोध र सहकार्य गरेर संबिधान लेख्ने कार्य पूरा गर्नु नै सबैको हीतमा हुने छ !

(पी एल सिंलाई जवाफ स्वरुप आएको यो प्रतिक्रिया बहसका लागि लेखकारुपमा छापिएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया