प्रचण्ड बेल्जियम नओर्लिँदै चन्दा आतंक

किशोर भट्ट / बेल्जियम

प्रचण्डले युरोप टेक्न नपाउँदै चन्दा आतंक चाएको छ बेल्जियममा । यो चन्द्रा आतंक फैलिएर अहिले युरोपका धेरै मुलुकमा पुगेको छ । नेकपा माओवादीको जनवर्गिय संगठन नेपाली जन प्रगतिशिल मञ्चको अधिबेशनकालागि भनेर मञ्चले आफ्ना संगठन भएका सबै देशमा चन्दा आतंक मच्चाएको हो । निहुँ यहि पारेका छन्, हाम्रा कामरेडहरु संगठन बिस्तार र अधिबेशनमा आउन लागेका छन् । युरोप भरिनै संगठन बिस्तारकालागि आउँछन् । त्यसकालागि चन्दा चाहियो । यो मच्चिन लागेको करिब दुई साता अघिदेखि हो ।

जनयुद्द गर्दा त लौ जनताको हक अधिकारका लागि भन्दै चन्दा लिए । सहजै नदिनेलाई थर्काए । थर्काउँदापनि नमाने लाटलुट पनि पारे होलान् । बिदेशमा आएपछिपनि नेपालीले सुख नपाउने ? बेल्जियमको नेपाली समूदाय यतिखेर चन्दा आतंकले त्रस्त छ । कोहि चन्दा माग्छन् भनेर लुकेका छन् । कोहि चन्दाका लागि फोन आउँछ भनेर फोनको स्विच अफ गरेका छन् ।

चन्दा माग्ने शैलीपनि उहि गोरखाली पाराकै छ । केहो कामरेड हाम्रो अध्यक्ष आउँदापनि अलि अलि सहयोग गर्नु पर्दैन ? हामीलाई चाहिँ सहयोग नै नगर्ने के हो ? हामी के चाहिँदैनौं र ? यस्तै घुमाउरो धम्कीको शैली अपनाएका छन् । जनप्रगतिशिल मञ्चका कार्यकर्ता यतिखेर अधिबेशनमा भात खुवाउनु पर्छ, नेता घुमाउनु पर्छ भन्दै घर घरै पुग्ने गरेका छन् । चन्दा उठाउन आर्थिक समिति भन्दै उनीहरुको १०१ जनाको समिति बनेको छ । तिनको काम नेपालीका पसल पसल जाने र यतिले हुन्न भन्दै जबर्जस्ति गर्ने हो । ब्यापारीहरुले ‘सर मेरो त अहिले कमाइनै छैन’ भन्दा भन्दैपनि तिनले यति त दिनै पर्छ भन्दै जबर्जस्ति रसिद भिडाउने गरेको ब्यापक गुनासो छ । “किन जबर्जस्ति दिनु हुन्छ त ?” भनेर सोध्यो भने “हामी चाहिन्नौं कहिल्यै ? हामीलाई चाहिँ नदिने ? भनेर थर्काउँछन् । के थाहा सर फेरि कारबाही गर्ने हुन् कि एकदिन” केहिले यस्तो जवाफ दिन्छन् ।

बेल्जियमका पसल र नेपाली रेस्टुरेन्टहरु तिनले कुनै बिराएका छैन । चन्दा उठाउन उनीहरुले साना साना टोलीनै बनाएका छन् । गाडी हुनेहरुलाई ‘तपाइको गाडी यति दिनलाई चाहिन्छ, यो दिन यो साँझ चाहिन्छ, फलाना फलाना मान्छे लिन जाने तपाइको गाडीमा हो, यो यो सामान यसरि तपाइको गाडीबाट ओसर्ने हो’ भन्दै उर्दी लगाइरहेका छन् । कतिपय त यस्ता कार्यकर्ता खटाएका छन् कि तिनले हाकै भात खुवाउनु पर्‍यो नी सर । त्यत्रो नेता आएको बेला खानपिनको ब्यवस्था गर्नै पर्‍यो, यस्सो युरोपपनि घुमाइदिनै पर्‍यो क्यारे भन्दै चन्दा मागिरहेका छन् । त्यति मात्रै होइन, बेल्जियमका कतिपय नेपालीहरुलाई उनीहरुले अधिबेशनको अघिल्लो दिन र अधिबेशन हुने दिन यहि अक्टोबर १४ तारिखका दिन कामबाट बिदा लिन भनिरहेका छन् । बेल्जियमका कार्यकर्ताहरु धेरैले त्यस दिन प्रचण्ड टोलीलाई देखाउन बिदा लिएर बसेका छन् ।

देश अनिर्णयको बन्दी, कामरेडी डफ्फा युरोप भ्रमणमा

मुलत एकिक्रित नेकपा माओवादीको कारण यतिखेर मुलुक अनिर्णयको बन्दी बनेको छ । देशमा संविधान छैन । आफैंले संविधान सभाको सुगा रटाई गरेर ल्याएको संविधान सभा भंग गराए डा बाबुराम भटराईले । त्योपनि सुटुक्क । तिनैको पार्टी अध्यक्ष प्रचण्ड यतिखेर युरोपमा सयर गर्दै छन्, घुमघाम, रमाइलो । लाग्छ, मुलुकमा कुनै कठिनाईनै छैन । मुलुक हाइसञ्चोमा बसेको छ । नागरिक सुखि छन् । दशक लामो युद्द गर्न जनताका छोरा छोरीलाई उचालेर अन्तत : उनले सुखका दिन ल्याए र अहिले सन्तोषको सास फेर्न बिदेश भ्रमण निस्केका छन् । बिदेश भ्रमणमा उनी एक्ला छैनन् । ल्याएका छन् पार्टीका अन्य केन्द्रिय सदस्यसमेत । प्रश्न उठ्छ, बिदेशमा खोलिएको भात्री संगठनको अधिबेशनमा के देशको मूल पार्टीको अध्यक्षसहित केहि कार्यकर्ताको टोली आउनु पर्छ ?

देशमा यतिखेर मुख्य पर्वको बेला छ । जनता चिनी र पिठो सम्म सहज तरिकाले नपाएर स्थानिय रुपमै पिल्सिएका छन् । राष्ट्रिय रुपमा मुलुक बन्दि छ । आजकै भोली कहाँ के हुने हो भर छैन । प्रधानमन्त्री कुनै बिकल्प नभए झैं दिनदुखिका टाउकामा कटबाँसका लाठि ठोकेर तह लगाउन उद्दत छन् । राष्ट्रिय सरकारको हल्ला चलेको धेरै भयो । देशले निकास पाएको छैन । जनजातिका समस्या भुंग्रो झैं परेर बसेको छ र त्यो भुंग्रोको मुल समस्या यिनै प्रचण्ड थिए । यस्तो बेला उनी पार्टीको जन वर्गिय संगठन जनप्रगतिशिल मञ्चको अधिबेशनमा आएका छन् । यो कतिसम्म सुहाउने कुरो हो ? के बिदेशको एउटा जन वर्गिय संगठनको अधिबेशनलाई संवोधन गर्न पार्टी अध्यक्षनै आउनु पर्छ ?

किन दुख्यो प्रचण्डको टाउको ?

प्रचण्ड हिजो आउनासाथ टाउको दुख्यो, ज्वरो आयो भन्दै नेपाली दुतावास ब्रसेल्समा आराम गरे । जनताका हजारौं छोरा छोरीको हत्याको कारण उनै थिए । देश र जनताको मुक्ति गर्ने भन्दै होमिएका तिनको अहिले बिल्लिबाठ भएको छ । मुक्ति प्रचण्ड, बाबुराम र केहि उनका निकटको त भयो । तर देश झनै रसातलमा भासियो । जनजातिहरुलाई पहिले पुरै जाति पिच्छे राज्य दिने भने । पछि आएर ‘लौ जातिय राज्य दिन नहुने रहेछ’ भनेर लोप्पा चखाए । यो सबै गतिबिधीले जनजाति लगायत धेरै जनता चिढिएका छन् । केहि देशबाट प्रचण्डसित यो विषयमा रस्साकस्सी गर्न भन्दै जनजातिका नेता, कार्यकर्तापनि बेल्जियम पुग्दै छन् । नेपाली जनजाति महा संघ बेल्जियमलेपनि प्रचण्डको बास्तविक धारणा र पार्टी नीति के हो जनजातिका माग संवन्धमा भनेर सिधा र प्रस्ट जवाफ माग्न छलफल गर्ने योजना बनाएको छ । किनभने प्रचण्ड जनजातिका मागमा स्पष्ठ छैनन् भन्ने उनीहरुको बुझाइ छ । यसलेपनि प्रचण्डको टाउको खाएको छ ।

त्यसैगरि, प्रचण्डले युरोपेली परिषदमा नेपालको पछिल्लो घटनाक्रम बारे सम्बोधन गर्ने भनेका छन् । युरोपेली सरकारका प्रतिनिधीहरुले नेपालमा संविधान सभा भंग भएको, उनले पार्टीलाई एक ढिक्का राखेर शान्तिमार्गमा ल्याउन विश्वास दिलाउन नसकेको, जनसेना थुप्रै बाहिर हिँडेको, बाबुराम सरकारको बिकल्प दिन नसकेको लगायतका विषयमा प्रश्न उठाउन खोजेका छन् । मानव अधिकार उल्लंघको विषयपनि उनीहरुले अवश्यै उठाउने छन् । उनको टाउको दुखाईको अर्को विषय हो, अहिलेको जटिल परिस्थितिको मुख्य कारक प्रचण्डलाइ देखाउँदै केहि बुद्दिजिवी, लेखक, पत्रकार, मानव अधिकारकर्मीहरुले युरोपेली परिषदमा बिरोध पत्र पठाउँदै छन् । यसलेपनि प्रचण्डको टाउको खाने छ । चौतर्फी बिरोध र समस्यै समस्या परेकाले प्रचण्डको टाउको खाएको छ ।

कसले तिर्ने जम्बो टोलीको भ्रमण खर्च ?

प्रचण्डले आफ्नो भ्रमण भब्य बनाउन पार्टीका बिदेश बिभाग प्रमुख राम कार्कीलाई केहि दिन अगावै युरोप पठाएका थिए । कार्की आएपछि फेरी चार जना थपिए । बिदेश बिभाग हेर्ने भएकोले राम कार्कीले युरोपमा रहेका आफ्ना जन वर्गिय संगठनको बिस्तारमा ध्यान दिने छन् । जन प्रगतिशिल मञ्चका कार्यकर्तालाई बेल्जियममा एक सरो प्रशिक्षण दिए । अब युरोपका केहि मुलुकमा गएर दिने योजना छ । तर प्रश्न उठ्छ, यो सबै जम्बो टोलीको खर्च कसले ब्यहोर्छ ? बेल्जियमको जन प्रगतिशिल मञ्चले ब्यहोर्छ भनिने हो भने अधिबेशनमै भात खुवाउनु पर्‍यो भन्दै चन्दा आतंक मच्चिएको छ । केहिले यो पैसा सरकारका नाममा हालिन्छ, प्रधानमन्त्रीले ब्यहोरिदिन्छन् सरकारका तर्फबाट भनेका छन् । यो खोज्ने जिम्मा नेपालका मेडियाहरुको ।

के भन्लान् बिदेशीले ?

देशको सरकार चलाउने पार्टीको अध्यक्ष । प्रधानमन्त्री भैसकेका ब्यक्ति । आफु राष्ट्रपती बन्न मुलुकलाई दुई चार महिना बरु बन्दिनै राख्न सक्ने पात्र । देशकै राजनितिको मुख्य केन्द्रपनि भन्छन् । के यस्तो ब्यक्ति आएर पार्टीको जन वर्गिय संगठनमा राजनितिक भाषण दिन मिल्थ्यो ? बेल्जियम जस्तो देशमा आएर त्यो स्तरको ब्यक्तिले संवोधन गर्ने हो ? आफ्नो मुलुकमा आएर यसरि राजनितिक भाषण दिँदा बेल्जियन सरकारले के सोच्ला ? कुन द्रिष्टिकोणले हेर्ला ? आफ्नै मुलुकमा जनता उनैका कारणले गर्दा तड्पिएका छन् बिदेशमा आएर राजनितिक आश्वाशन दिनु कति उचित होला पार्टी अध्यक्षलेनै ?

तपाइँको प्रतिक्रिया