हिटलरको शासन र बेल्जियममा कामरेडी पारा

अग्निज्वाला

वैचारिक रुपमा नै शहीद भएकालाई कसरी सम्वोधन गरिन्छ ? जानकारी अलिक भएन । हिजोमात्र हामीले थुप्रै थुप्रै शहीदहरुको नाममा फेरी पछाडि नफर्की दुई मिनेट मौन धारणा गरेका थियौं । ती ताता गोली, राता नाल र प्रहरी प्रशासनको लाठी बुट नखाइकन । जगतलाई थाहै नदिई सुटुक्क सहिद भएका थिए । जनताले दिएको म्यान्डेट पूरा नगरि दरबारका सौखिनहरुको डौडधुपमा लागे पछी के के भुल्न पछी पर्दैनन, महानहरुलाई नै सोधौं । विगतका दिनमा एक आपसमा सत्तोसराप गर्दै गरेका कैयौं राजनीतिक विचारका सहिदहरु बौरिएर पुन: एक ठाउँमा मयलपोस साटेको सबैले देखेकै कुरा हो । आजै जस्तो कुममा कुम जोड्दै रंगिन सपना साट्नेहरु भोलिका दिनमा एक अर्काको दैलो देख्न नरुचाउने गरेको पनि जग जाहेरै छ । यो इतर विचारको कुरा पर्‍यो । आखिर मुद्दा एकै नभएपछि बाटो फरक त हुने नै भयो । सामान्य मानिन्छ यसलाई । अब भूमिका धेरै नबाँधी प्रसंग तिर प्रवेश गरौ ।

अस्ति भर्खर जस्तै लाग्दछ, बेल्जियमको आन्ट्वेर्पेन शहरमा हस्याङफस्याङ गर्दै यहाँका राता प्रवासी कमरेडहरु गुरुरु एकै कोठामा भूमिगत हुन्थे । यी सबैको मिलेमतो देखेर यहाँको नेपाली समुदायमा एक खाले ‘शब्द बोलौ या मौनता साँधौ’ को वातावरण सिर्जना हुन्थ्यो । विदेशी हस्तक्षेपकारी भूमिकाको सुइको पाउनसाथ यहाँको संसद भवन सम्म पुगेर वार्ता गर्न कस्सिन्थे । देशको अवस्थाबाट आजित हुने एकथरिका, मौकामा पासा थाप्ने अर्को र बाध्यताबस देश छोड्नै पर्नेहरुको भिडै थियो । भिड मध्ये अधिकांशले राता कमरेड भएकै कारण नेपालको सरकारले उठिबासको फर्मान जारी गर्‍यो भनेका थिए । भिडभाडमा परेपछि कोही न कसैले वास्तविक सत्य तथ्य के हो र किन जमघट भयो भन्ने कुरा खोतलिदियो होला । यहाँको सरकारले एक टोलीको ‘डेलिगेशन’ नै पठाइदिएछ । उताका सरकारलाई लाजै भैगो अन्तरराष्ट्रिय समुदाय माझ । साँच्चिकै कमरेड भुट्ने खेती गर्ने सरकारको नेत्रित्व गरेका शेर बहादुर देउबा हतियार किन्न के बेल्जियम छिरेका थिए । अन्तररास्ट्रिय मिडिया र यहाँको सरकार सामू “नेपालीलाई केही समस्या छैन । गैर कानुनी भेट्नासाथ नेपाल रमाना गराइदिनुहोला” भन्दिएछन । अनि शुरु भो’ फसादै फसाद !

त्यो बेला यहाँ नेपालमा चलेको जनयुद्धलाई नैतीक समर्थन गर्न नेपाली जनप्रगतिशील मन्च, बेल्जियम अधिकारिक रुपमा दर्ता भैसकेको थियो । ज्यान जोगाउनु पर्छ है भन्ने सोचेछन कि कुन्नी ? कागजी सहिदहरु एकाएक बौरिदै मन्चको सदस्य झ्याम्म झ्याम्म । सदस्य हुन आउनेलाई मन्चले न्यानो स्वागत गर्दै उनका दु:ख कष्टमा यहाँका अधिकारकर्मीहरुलाई पत्र लेखिदिने, भनसुन गरिदिने मातहत सम्मको सहयोग गरेको थियो । यद्धपी मन्चले यहाँको सरकारलाई कुनै पनि नेपालीलाई अलपत्र र दुर्व्यबहार गर्न पाईदैन भन्दै आन्दोलन नै गरेको पनि थियो । यी कुरा अहिले ईतिहासको गर्भमा पुगिसकेको छ । ज्यान जोगाउ अभियानका कागजी सहिदहरु आजकाल दाम र मामले एकदमै लाल लाल भएका छन । बेल्जियमका सडकमा चिल्ला जुत्ता टक् टक् गरेको आवाज सुन्नु भो भने सम्झिनुस् ती हिजोका कमरेड हुन् । तिनका रवाफ, जवाफ र दबाब चमत्कारी तवरले हरलक्कै हर्लिक्स लागेको छ ।

उसो त रवाफवाले कमरेडहरुको भिडमा संगठनलाई सही ढंगले चलाऊनु पर्छ । सर्वहारापनलाई हलुंगो हुन दिनु हुँदैन । विदेशमा पसिना बेचेर दुई छाक खान पुग्दैमा हामी महान हुन सक्दैनौ । सिङो देश उँभोगति नहुन्जेल हाम्रो कसैले पनि इज्जत गर्दैन । श्रम गर्नेलाई हेयको भावले होइन सम्मानको नजरले हेरिनु पर्दछ । लिङ्गीय भेदभाव, जातीय उत्पिडन, सामाजिक असमानता र वर्गीय समानताको वकालत गर्न पछी हट्नु हुँदैन भन्नेहरुको जमात पनि शसक्तरुपमा अगाडि बढीरहेकै छन ।

समयले कोल्टो फेर्दै जाँदा वाम आन्दोलनको नशाबाट मार्क्सवादलाई लंगडो बनाउँदै लगियो । हिजो जंगलमा खर्सुंगका पात खाँदै लडेका क्षतविक्षत लडाकूहरु विरक्तिदै ५,७ लाख रुपैयाको चेकमा चित्त बुझाउनु पर्‍यो । एक अर्थमा भनौ भने बाबुरामले कुर्सी र प्रचन्डले महलसंग रगतको मूल्य बराबरीमा हिसाब मिलान गराईदिए । १० बर्ष जीवनमरणको लडाईं, १५ हजारको रगतको भेल र सयौ बेपत्ता छोराछोरीको रित्ता काख हुने आमाहरुको आँशु फगतका सत्तालिप्सा संग साटिए । देश बदल्ने सपना बोकेर आफ्ना व्यक्तिगत स्वार्थ त्याग गरेका हजारौं हजारको रगत र आँशु नेत्रित्व तहले महल र कुर्सीसंग हिसाब मिलान गराइदिएपछि पार्टी भित्रै विद्रोह भयो । बीसौं बर्षको सहकार्यमा धोका र घाट भए पछी अन्तत: एकथरीकाले पार्टी बाटै पारपाचुके गरे  । विदेश स्थित भाईचारा संगठन पनि चिरा चिरा परे । हार्दिकता पानी बराबारको स्थितीमा पुगे । संचारका सबै माध्यम मार्फत एकले अर्को माथि जाइलाग्न पछि परेनन ।

बेल्जियमको सन्दर्भमा त्यस्तै भयो । एकै संगठनले दुई फरक मितिमा अधिवेशन घोषणा गरे जम्मा हप्ताको फरक पारेर । एकले अक्टोबर ७ मा महाधिवेशन गरिसके केन्द्रीय उपाध्यक्षको अतिथीमा भने अर्को १४ अक्टोबरमा हुँदैछ । पार्टी अध्यक्षको उपस्थितीमा । तर गजबको द्रिस्य के देखियो भने औपचारिक रुपमै हार्दिकताका साथ आमन्त्रण गरेको खुला कार्यक्रममा चिल्ला राता गालावाले कमरेडहरुको कुनै उपस्थिती नै रहेन । ज्यान जोगाउ अभियानका कागजी कमरेडको झन उपस्थिती हुने कुरै भएन । अन्य इतर संघ संगठनका ब्यक्तिहरुलाई समेत ७ अक्टोबरमा हुने कार्यक्रममा नजानु भन्ने उर्दी जारी गरेछन । उर्दी पाउने संघ संस्थाले उल्टै उनैलाई बर्दी भिराइदिँदै मन्च बाटै ‘भाई फुटे गवारले लुट्न शुरु गर्छ । देशले निकाश पाउँदैन । तपाईंहरु एक हुनुस्’ शुभेक्षा ब्यक्त गरे ।

राजनितीमा स्थायी सत्रु हुँदैन भन्छन । वैचारिक मतभिन्नता हुनु स्वभाविकै पनि हो । तर कुनै पनि संघ संगठनले औपचारिक रुपमा आमन्त्रण गर्दा घ्रिणाकै रुपमा अस्वीकार गरिन्छ भने राजनीति गर्नुको अर्थ नै के ? भोली त्यही अवस्था अस्वीकार गर्दै ठालु पल्टने संघ संगठन वा संस्थालाई पनि पर्न सक्छ । त्यो बेला अर्को पक्षले तगारोकै रुपमा अवरोध गर्न खोजे विचारको आदानप्रदान कसरी गर्ने ? अरुको मतलाई  सम्मान गर्न सकिँदैन भने आफ्नो विचार कसरी अर्कोलाई स्वीकार गर भन्ने ? कि विचार र सिद्धान्तको राजनीति नगरि हिटलरको शासन लड्नु पर्‍यो । होइन भने लिङ्ग नछुट्टिने राजनीति गर्नु पर्‍यो ।

जनयुद्ध कालभरी नारायणकाजी श्रेष्ठले सहिदका रगतलाई अपमान गर्दै महिलाका मासिक धर्म संग तुलना गरेकै हुन् । अहिलेको राजनीतिमा उनै नारायणकाजी महलवाले परदेशी राता कमरेडहरुका नेता छन् भने यहाँका सहकर्मीहरु त आजको भोली नै पनि चाहिन सक्छन । यो अर्काको देश पो पर्‍यो कमरेड । किन अछुत झैं व्यबहार ? भोलिका दिनमा के थाहा फेरी एउटै यात्रामा पो उभिन पर्छ कि ? हार्दिकतालाई सम्मान गरे अपमानित त पक्कै भईदैन होला । सुटुक्क शहीद हुनुभएका कमरेडहरुलाई सोद्धा फरक नपर्ला कि ?

तपाइँको प्रतिक्रिया