पत्रकारको अधिबेशनमा पार्टीको निर्देशन
नेपाल पत्रकार महा संघ युरोप शाखाको पहिलो अधिबेशनको द्रिष्य पत्रकारहरुको जस्तो थिएन । नेपाली कांग्रेसको भात्री संगठन जनसंपर्क समितिका अध्यक्ष पूर्ण हमालले एक थान पत्रकारहरुलाई आफ्नो गाडीमा खाँदेर ल्याएका थिए । राज्यको चौथो अंग नामका ति जिव एउटा राजनितिक पार्टीको अध्यक्षको खोरमा खुरुखुरु पसेर १६ घण्टा जतिको यात्रापछि पेरिस आए । त्यस्तै जिव परे बेल्जियमका । तिनलाईपनि नेपाली कांग्रेस र एमालेका केहि जिवले घेरेर, गाडी भित्र बेरेर ल्याएका थिए । बेल्जियमबाट त नेपाली कांग्रेसका बादी, प्रतिवादी, बहुमत, अल्पमत भनिने गुट उपगुट थिए । किन यस्तो गरेहोलान् भन्ने जिज्ञासा थियो । आखिर रहेछ, नेपाली कांग्रेसको केन्द्रिय कार्यालयले जारि गरेको उर्दी ।
केन्द्रिय कार्यालयका तर्फबाट बिदेशका नेपाली कांग्रेसका भगिनी संगठन जनसंपर्क समितिका सबै शाखाका नाममा पठाइएको रहेछ । त्यसमा स्पष्ठ लेखिएको छ “नेपाली कांग्रेस समर्थक पत्रकारहरुलाई बिजयी गराउन युरोपस्थित सबै जनसंपर्क समितिबाट सक्दो पहलकालागि अनुरोध गरिन्छ ।” नेपाली कांग्रेस प्राजतन्त्रको सबैभन्दा अगुवा संस्था भनेर दाबी गर्छ । तर उसको यो पारा के प्रजातान्त्रिक संस्कार अनुसार भयो त ?
देशभित्रै नेपाली कांग्रेस बन्धक जस्तो भएको छ । आफ्नै मुलुकमा बग्रेल्ति छन् समस्या तत्कालै समाधान गर्नुपर्ने । पार्टीभित्र फुटको भावना भुसको आगो झैं सल्किँदो छ । यस्तो बेला आफ्नै समस्याका जराले बाँधिएको नेपाली कांग्रेसलाई युरोपमा भएका दर्जन जति पत्रकारको लागि यत्रो चिन्ता किन ? पत्रकारको अधिबेशनबारे नेपाली कांग्रेस केन्द्रिय कार्यालयलाई नै यत्रो चिन्ता र हुटहुटी किन ? के यस्तो दबाबले प्रजातन्त्र फस्टाउँछ ? अनि यस्तै सर्कुलरलाई शोरधार गर्दै पद हात पार्ने पत्रकारको हालत के हो ? एउटा अधिबेशन आफ्नै बुद्दि, बिबेक, क्षमता, सुझबुझ र आफ्ना लागि गर्न नसक्ने पत्रकारले देश र जनताकालागि के बोल्लान ?
सहमती भन्दा निर्वाचन निर्वाचन भन्दै पदकालागि उचालिएका साथीहरुको उर्जाको स्रोत त यस्तो पो रहेछ । कठै तिनले पद त पाए, तर त्यसरि लिएको पदको सम्मान र गरिमा चाहिँ के होला ? त्यसो त, यस्तै पत्र नेकपा एमाले र माओवादीले पनि आआफ्ना भगिनी संगठनलाई काटेको छ भन्ने चर्चा छ । तर पाउन भने सकिएको छैन ।





