न राष्ट्रियता मागिखाने भाँडो, न त देशनै तिम्रा बाउको बिर्ता डा साप
हिजो कान्तिपुर दैनिकमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले लेख लेखे “राष्ट्रियता कसैको मागी खाने भाँडो हुन सक्दैन” भन्दै । धेरैले वाही वाही गरेका छन् । समग्रमा त्यो लेख वाही वाही गर्ने भन्दापनि प्रधानमन्त्रीको कुर्सी हेरेर प्रशंसा गरिएको प्रतित हुन्छ । यद्दपी लेखमा केहि जायज र मननिय कुरा उठाएका छन् नै । जिवनमा दोस्रो नभएका बिद्वान । देशकै प्रधानमन्त्री । त्यत्रो चर्चित पार्टीका उपाध्यक्ष । उनको लेखलाई अलोचना गर्न र केलाउन सायद ह्याउ पुग्दैन हाम्रो । तर एक जना पाठकका हिसाबले भन्नु पर्दा म उनको लेखमा धेरै कुरा काइते रंगको लेपन लगाएको पाउँछु । अलिअलि ईमान्दारिताकासाथ चुकेको स्विकारोक्ति ।
पहिलो त के बह्ने उनी देशकै प्रधानमन्त्री । देशको सबै कार्यकारी अधिकार उनैको भएपछि चाहे जति मेडियालाई उनले आफ्ना भनाई, निति, दाबी र जे जे भन्नुपर्ने हो लैजान कुनै मुस्किल थिएन । आफैंले लेख लेखिलेखि उत्रिनुपर्ने पर्ने किन ? राज्यको कार्यकारी अधिकार हातमा हुँदा हुँदै र राज्य र आफ्नो पार्टीले चलाएका दर्जनौं मेडिया छँदा छँदै पनि आफैं लेख लेखेर मैदानमा उत्रिनु उनको कब्जा शैली हो । अर्को, यसले कार्यकारी सरकारका मेडिया प्रभावहिन बनेको संकेत गर्छ । उनको सरकारले बोलेका कुरा उनैको सरकारका मेडियामा आएपनि पत्याउने रैनछन् जनताले भन्ने उनैको सायद स्विकारोक्ति हो । आखिर सरकारी स्वामित्वको गोरखापत्र दैनिक हुँदा हुँदै किन चाहियो त कान्तिपुर ? गोरखापत्रमा प्रकाशित कुरालाई जनताले बकवासका रुपमा लिने भएर हो ? नत्र यस्तो संकटकालिन अवस्थामा मुलुक रहेका बेला र आफ्ना जे जे छन् भनाई जनता माझ लैजान आफ्नै नियन्त्रणमा दर्जनौं मेडिया हुँदा हुँदै अन्य मेडियाकालागि लेख लेख्न कुनै देशको प्रधानमन्त्री बस्दैन ।
राष्ट्रियताको प्रसंगमा उनले जति खोकेपनि उनैको पार्टीका स्थायी समिति सदस्य क्रिष्ण बहादुर महरा स्वयंले राष्ट्रियताको मामिलामा प्रधानमन्त्री चुकेको ठोकुवा गरिसकेकै छन् । बिप्पाका विषयमा उनले जति सुकै बचाउ गरुन् । तर त्यो किन भारतीय स्वार्थमा बढि थियो भन्ने एउटै उदाहरण पुग्दो छ, उनले यदि देशको आर्थिक विकासमा टेवा पुग्ने त्यत्रो काम गर्दै थिए भने आफ्नै पार्टीमा किन गोप्य राखे ? किन प्रतिपक्षी दलहरुलाई जनकारि सम्म दिएनन् ? उनी देशमा कल कारखानाको, उध्योग धन्दाको विकास होस् भन्ने चहन्छन् भने किन बिदेशी कम्पनी र लगनीकर्तालाई बन्द र हडतालको बेला हुने क्षती दिन राजि हुनु अघि आफ्नै देशका उध्योग र कलकारखामा हुने क्षतीपूर्ती दिन राजि भएनन् ? पार्टी र राष्ट्रिय दलहरुलाई ढाँट्नु पर्ने के थियो त देशको त्यत्रो हित अनुकूल यदि त्यो थियो भने ?
भारत र चिन नयाँ महाशक्ति बन्ने हुनाले राष्ट्रियताको नयाँ परिभाषा खोज्नुपर्छ । बदलिएको भूमण्डलीकरण अनुसार परिभाषित गर्न पर्छ हाम्रो राष्ट्रियतालाई भनेर प्रधानमन्त्रीले खुब चतुरो भाषा प्रयोग गरेका छन् । बास्तवमा उनले बिगतदेखि एमाले र नेपाली कांग्रेसले प्रयोग गर्ने भाषा प्रयोग गरेका छन् । अर्थात् नेपाली कांग्रेस र एमालेलाई राष्ट्रघाती भन्दै आएपनि हाल आएर आफुलाई त्यहि कित्तामा पुर्याएका छन् । किनभने बाबुरामले भने जस्तो चिन र भारत नयाँ महाशक्ति बन्ने होडमा लागेको उनको पार्टीले जनयुद्द गर्ने घोषणा नगर्दै देखि हो । उसो भए त्यो बेला किन भारतलाई प्रमुख शत्रु घोषणा गरियो त ? यो किन थियो भने भारतलाई गाली गरेर नांगो र अन्ध राष्ट्राबदको भर्याङ चढ्दै सत्तामा जानु उनकोपनि ध्येय रहेछ । बदलिँदो भुमण्डलीकरणको प्रभाव र संकेत अहिले भट्टराई सत्तामा टँस्सिएपछि मात्रै देखापरेको पनि होइन । चिन र भारतसित सन्तुलित संवन्ध राख्नुपर्ने उनको कुरो जायज हो । तर अहिले उनी सत्तामा आएपछि मात्रै विकसित राजनितिक परिस्थितिको परिणाम भने होइन यो ।
लेखमा एक ठाउँ त उनले ‘हामीलाई पशुपतिनाथले पनि रक्षा गर्न सक्ने छैनन् !’ पो भनेका छन् त बा ! यो मार्क्सवादी चिन्तनमा लागेको खिया हो उनको । प्रचण्डको भैसीँ पूजासित निकटात राख्छ । मार्कवादीहरु धर्मलाई अफिमको नशासित तुलना गर्छन् । जनयुद्द कालमा भट्टराईकै नेत्रित्वले मन्दिर भत्काउन र पूजारी पिट्न निर्देशन दियो । अहिले कर्म, सिप, मेहनत, प्रविधीको विकास र मेहनतमा होइन उनी आफैं पशुपतीनाथको भक्तमा परिµणत हुन खोजेछन् । अर्का छोटे राजा जसले अन्त्यमा ‘पशुपतीनाथले हामी सबैको रक्षा गरुन्’ भनेर हरेक चिजलाई भाग्यसित लगेर जोडिदिन्छ ।
“जनयुद्धको पछिल्लो कालखण्डदेखि हामीले भारतसम्बन्धी नीतिमा ल्याएको परिवर्तनबारे निकै भ्रमहरूको खेती गर्ने प्रयास भइरहेको छ” भनेर उनले हाकै भनेपछि यसमा मर मसला घस्नै परेन । ब्याख्यानै चाहिएन । अब भारतको पाउ नपरी हुन्न, अब बिस्तारै कुर्सीमा जानु पर्छ, जनयुद बिसाउनु पर्छ, संसदिय राजनितिको नदीमा पौडी मार्नु पर्छ भन्ने हेक्का भएपछि भारतलाई हेर्ने द्रिष्टिकोण, गाली गर्ने शब्द बदलिएको रहेछ । यसलाई चाहिँ उनको इमान्दारिता भन्नु पर्छ । पछिलो पटक भारतसितको संवन्ध सामान्यिकरण गर्ने नीति लिएकै हो भनेरपनि हाकै भनेका छन् लेखमा । यसको अर्थ भारतसित चिढिएर, रिसाएर, धम्काएर, सन्धी संझौता पूनर्मूल्यांकन गर्नु पर्छ भन्दै भारतलाई बिच्काएर सरकार नामको घोडामा सवार हुन सकिन्न भन्ने बुझेपछि बदलिएको रहेछ । गाली गर्नु जति गरेर जनताको समर्थन सरकारमा जाने हसियतसम्म बनायौं भन्ने भएपछि रोकेका रहेछन् भारतलाई भन्ने बुझियो ।
तर उनी कुर्सीमा छु भनेर जतिसुकै फुइँ लगाएपनि उनको छलछाम, जनता प्रतिको धोका र राष्ट्रियता प्रतिको इमान्दारिता कस्तो छ झल्किएको छ । सत्तामा पुगुन्जेल जस्तो गालीपनि गर्ने र सत्तामा पुग्नासाथ झुकिहाल्ने उनको राष्ट्रबाद निति यसमा पोखिएको छ । तर उनी सरकार प्रमुख हुन् भन्दैमा ढाँट र छलछाम, प्रतिपक्षीलाई लुकाउने र आफ्नै पार्टीलाई ढाँट्ने अधिकार उनलाई छैन । उनले भने जस्तै राष्ट्रबाद कसैको मागी खाने भाँडो त हैन नै, यो देश उनको बाउबराजेको बिर्तापनि होइन मनपरी गर्ने ।




