राजसंस्था सुध्रिएर आए गद्दीमा बस्न पाउने कि नपाउने ?

शिव पन्त

जन आन्दोलन २ ले तत्कालिन राजा ज्ञानेन्द्रलाई राजकीय कुर्सीबाट हटाएर नेपाललाई गणतान्त्रिक मुलुक बनायो । तर २४० बर्ष देखि एकछत्र राज गरेको त्यो संस्था त्यसै माओबादी वा प्रचन्डले चाहँदैमा हटेको होइन । त्यतिबेला राजतन्त्रप्रति जनताको असन्तुष्टि प्रशस्त थिए जो यहाँ बयान गरिरहनु आवश्यक छैन । माघ १९ को कदम चालेपछि ज्ञानेन्द्रलाई प्रतिगामी भनेर प्रमुख आरोप लाग्यो । प्रमुख राजनीतिक दलहरुलाई पाखा लगाएर आफ्ना भारदार र पुर्व पञ्चहरुको सहयोगमा मन्त्रि परिषद गठन गरेर देशको शाशन सत्ता आफ्नो हातमा लिएपछि दलहरुले उनि निरङ्कुश भएको अर्को आरोप लगाए । सत्य तथ्य अझै गर्व मै लुकिरहेको भएपनि राजा विरेन्द्रको वंशनाश हुनुमा समेत ज्ञानेन्द्रलाई शंका गर्नुले जनतामाझ अलोकप्रिय हुन पुगे ।

 अलोकप्रिय हुनुको अर्को कारण थियो, पारश साहको गतिबिधि । यी कारणहरुले गर्दा प्रमुख राजनीतिक दलहरु र माओबादी मिलेर ज्ञानेन्द्रलाई साझा आरोप वा गालि गर्ने मौका पाए । त्यसले उनीहरुलाई राजसंस्था बिरुद्द एक हुन मद्दत पुग्यो । जनताले स्पष्ट संग बुझेका र देखे भोगेका ज्ञानेन्द्रको गल्ति थियो, माघ १९ को प्रतिगामी कदम र निरंकुशता । उनि अध्यादेश मार्फत देश चलाउन थाले । संबिधान सभा जनताको २००७ साल देखिको माग हो । त्यो दिने कुरा उनले कहिल्यै गरेनन । नगर निर्वाचन गराए प्रमुख दललाई पन्छाएर । त्यो निर्वाचन पूर्ण बहिष्कार भयो । 

यदि उपरोक्त कारणहरु राजा फाल्न प्रशस्त थिए भने अहिले बाबुराम भट्टराईले चालेका कदम र उनको अवस्था ज्ञानेन्द्र भन्दा केहि कम छैन । ज्ञानेन्द्रले त संबिधान सभा दिएकै थिएनन । तर भट्टराईले हजारौं जनताको रगतले ल्याएको संबिधान सभा जानाजानी भंग गराए । त्यो संबिधान सभा भंग गर्नु अघि उनि एकपटक पनि जनताले चुनेका प्रतिनिधि ६०१ सभासद सामु उपस्थित नभैकन षड्यन्त्रपूर्ण तरिकाले बिघटन गराए । उतिबेला अध्यादेशले देश चलायो भनेर ज्ञानेन्द्रलाई गालि गरियो । आज बाबुराम त्यहि बाटोमा हिडिरहेका छन् । अब बाबुराम प्रतिगामी हुने कि नहुने ? सबै दलहरुलाइ पन्छाएर साशन सत्ता आफ्नो हातमा लिँदा ज्ञानेन्द्र निरङ्कुश भए भने आज बाबुराम भट्टराई निरङ्कुश हुने कि नहुने ? 

दुखको कुरो त ज्ञानेन्द्रले राष्ट्रघाती सन्धी सम्झौताहरु गरेनन । तर बिप्पाबाट यात्रा थालेका बाबुरामले त आफ्नो सत्ता टिकाउने शर्तमा देशनै भारतको जिम्मा लगाउन थालिसके । अन्तर्राष्ट्रिय बिमान स्थलको जिम्मा नै भारतलाई दिने जस्तो काम भित्रभित्रै उनी गर्दै छन् । आज उनी चौतर्फी बिबादमा तानिएका छन् । उनका हरेक कदम गोप्य हुन् थालेका छन् । अनि डरलाग्दो पाराले राष्ट्रघाती हुन थालेका छन् । कुनै प्रमुख प्रतिपक्षी दल सरकारमा नभएको मौकामा उनि उनि भारतले आफुलाई लगाएको ऋण तिर्ने कसरतमा छन । आफ्ना पार्टी भित्रका भ्रष्टाचारको कुरा निकाल्दा उतिबेला बाबुराम सहमति बिग्रन्छ भनेर पन्छिने गर्दथे । तर अब खोइ त जवाफ ? हुँदै नभएका लडाकुको नाममा गएको अरवौं रकम खोइ ? सारा जनताले त्यसको जवाफ मागिरहेका छन् । आर्थिक पारदर्शिता नभएको भन्दै पार्टी नै बिभाजन हुँदा सम्म प्रचण्ड र बाबुराम लाजै नमानी कुनै जवाफ नदिई बसिरहेका छन् । 

आज ज्ञानेन्द्र देश दौडाहामा हिंडिरहेका छन् । उनि जहाँ जहाँ जान्छन त्यहाँ ठुलो भीड लागेको छ । “राजा आउ देश बचाउ” भन्ने नारा लागिरहेको छ । कमल थापाले राजतन्त्र पुनर्स्थापना भन्दै आमसभा गरे । मानिसहरुको भीड नै देखियो । यसलाई के भन्ने ? ज्ञानेन्द्रको लोकप्रियता वा माओबादी प्रति जनताको वितृष्णा ?

संबिधान सभाको निर्वाचन पछी बागमतीमा थुप्रै पानि बगिसक्यो । आज माओबादीले आफ्नो पक्षमै जनता छन् । ज्ञानेन्द्रको वरपर लाग्ने भीड प्रायोजित हो भन्ने आधार के छ ? जातिमा जातिमा माओबादीले फैलाएको द्वेष र भारतलाइ देशनै सुम्पने जस्तो स्थिति देखेपछी जनताले राष्ट्र बचाउन सक्ने यौटै उपाय र शक्ति राजसंस्था नै मान्न थालेका त होइनन ? कांग्रेस एमाले जस्ता दलहरु माओबादीको षड्यन्त्र चिर्न असफल भैरहेको अवस्थामा निराश जनताले निकाशको लागि विकल्प नखोजी चुप नै बसिरहन पनि त सक्दैनन् । जनता राजनैतिक दलहरु जसरी समयको गति ठप्प पारेर बस्न सक्दैनन् । जनता चलायमान हुन्छन । गतिवान हुन्छन । समयको गतिसंग नचल्ने र आफ्नो माग बेवास्ता गर्नेलाइ छाडेर जनता धेरै अगाडी बढिसकेको माओबादी र अरु दललाई थाहा नभएको पो हो कि ? 

माघ १९ को कदम चाल्नु अघिसम्म प्रमुख राजनीतिक दलको राजासँग कुनै शत्रुता थिएन । न माओबादीसँग मित्रता नै थियो । तर परिश्थितिले अन्य दललाई माओबादीसँग मिलेर 

राजसंस्था बिरुद्द लाग्न बाध्य गरायो । आज राष्ट्रिय अस्मिता नै खतरामा पारेर माओबादी निरङ्कुशता लाद्न उद्दत भयो भने फेरी राजसंस्थासँग मिलेर अन्य दल माओबादी बिरुद्द लाग्दैनन् भन्ने के छ ? विश्वमा राजसंस्था फर्केर आएका उदाहरणपनि छन् । कुनै पनि संस्था वा व्यक्ति नै आफैमा निरङ्कुश वा जनता बिरोधी हुन्न । त्यसले जस्तो बाटोमा आफुलाई डोर्याउँछ त्यस्तै नियति उसले भोग्ने हो । हिजो हतियार उठाएको, हजारौंको ज्यान लिएको, चितवनको बाँदरमुढे जस्तो घटना घटाएको माओबादी सुध्रिएर आज देशको सत्ता चलाउने हुन सक्छ भने राजसंस्थापनि सुध्रिएर, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक भएर आयो भने उसले पुन गद्दीमा बस्न किन नपाउने ? मूल कुरो त जनताले राजालाइ नागार्जुनबाट नारायणहिटी ल्याए भने त्यसलाई रोक्ने कुनै हैसियत माओबादी वा प्रचण्ड बाबुरामको हुने छैन । त्यसैले कुन बाटो हिँडदा ज्ञानेन्द्रको पतन भएको थियो र आज आफु कुन बाटोमा छु भनेर एकपटक सोच्न म माओबादी र बाबुरामलाई आग्रह गर्न चाहन्छु ।

तपाइँको प्रतिक्रिया