भारतिय चाहनाको नेत्रित्व ल्याउन चलखेल !
तपाईहरुलाई अचम्म लाग्ला । कतिपयलाई यो पूर्णरुपमा एमाले बिरोधी । कुनै पार्टीका कमजोरी उल्लेख गर्नासाथ त्यहि पार्टी बिरोधी र अर्को पार्टीलाई समर्थन गरेको ठान्ने आम नेपाली सोचाईप्रति म आलोचना खप्न तयार छु । तर जे मान्नुस वास्तबिकता भनेको वास्तबिकतानै हो । अहिले एमाले नेत्रित्व भारतिय समर्थन र प्रभावको ल्याउने प्रयास भइरहेको छ । त्यसकालागि भारतिय नेताहरुले लबिङ गरेका छन ।
आधार के त ? अस्ति मात्रै भारतिय बैदेशिक मन्त्रालयका सचिव शिवशंकर मेननले नेपालको दुई दिने भ्रमण गरे । त्यस बेला प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापती लगायतका महत्वपूर्ण नेतालाई भेटेको खबर आयो । तर एमालेका नेता केपी ओली जो दरबार, कांग्रेस र भारत निकट मानिन्छन उनलाई भेटेको खबर भने आएन । स्रोतहरुले नेता माधवकुमार नेपाललाईपनि भेटेको बताएका छन तर मैले भने यो भरपर्दो रुपमा चाल पाउन सकिन ।
मेननले प्रधानमन्त्री लगायतका प्रतिपक्षी दलसित भेटेपनि महत्वपूर्ण छलफल भने एमालेको महाधिवेशनमा भारतिय समर्थन र निकट नेत्रित्व ल्याउनकालागि गरेका थिए । पार्टीमा जनाधार नभएका तर माओवादीप्रति चोटिलो जफाव दिन खप्पिस, नेपाली कांग्रेससित निकट ओली परे । तर उता पार्टीमा जनाधार राम्रो भएका तर माओवादीप्रति आलोचनात्मक रुपमा निकट मानिने माधवकुमार नेपाल परे । यता झलनाथ खनाल भने गत निर्वाचनमा निर्वाचित पनि भए । यि तिनको छुट्टा छुट्टै मूल्यांकन गर्दा निर्वाचन हुने अवस्थामा खनाल पक्षले बिजय गर्ने आँकलन भारतिय पक्षले गर्यो । खनाल यसैपनि नेपाली कांग्रेसप्रति अनुदार र माओवादीतिर नरम मानिन्छन । खनाल पक्षले बिजयी गर्नु भनेको माओवादी र नेपालमा अझ भन्ने हो भने वाम दलको वर्चस्व र प्रभाव बढ्नु ।
माओवादी सरकारमा आएपछि नेपालमा चिनियाँ प्रभाव बढेको अनुभव भारतिय पक्षले गर्दै आएको हो । पछिल्लो समयमा चिनियाँ प्रभाव र सक्रियता यति बढ्यो कि मधेशी जनअधिकार फोरमको अधिवेशनमा समेत चिनियाँ कम्युनिष्ट पार्टीले पर्यबेक्षक पठायो ।
चिनियाँ लगानी बढाउने, नेपालको सिमासम्म रेल मार्गले जोड्ने, नेपालमा १० लाख चिनियाँ पर्यटक ल्याउने, विविध क्षेत्रमा संयुक्त लगानी बढाउने, भिसा निशुल्क गराउने नेपाल र चिनबिच लगायतका बिभिन्न बहस चले । प्रधानमन्त्री प्रचण्डले पद सम्हालेपछि आम प्रचलनलाई तोडेर चिनको भ्रमण पहिले गरे । यि सबै गतिबिधीमा भारतियहरुको चासो र चिन्ता बढेको थियो ।
भारत अन्तत: नेपालमा बामपन्थि दलहरुलाई बलियो र एकिक्रित हुन नदिने, त्यसमापनि अझ माओवादीलाई सहज तरिकाले सरकार चलाउन नदिने मनस्थितिमा पुगेको हो । त्यसैकालागि माओवादी निकट र तुलनात्मक रुपमा पार्टीमा बढि प्रभावशाली झलनाथ खनाललाई कमजोर बनाएर नेपाली कांग्रेसतिर निकट गराउन ओली र नेपालको गठबन्धनलाई भारतले जोड दिएको हो । यि दुई पक्षलाई मिलाउन सके खनाल पक्षलाई हराउन सकिने भारतियहरुले राम्ररी बुझेका छन । त्यसैले यस अघि कहिल्यै गठबन्दन नगरेका र माधवकुमार नेपाल पार्टी महासचिव हुँदा सधैं आलोचना गर्ने गरेका ओली एक्कासी माधव नेपाल निकट पुगेका हुन । त्यसको प्रभाव कहाँपनि देखियो भने भारतिय बिदेश सचिव शिवशंकर मेनन हिँड्नासाथ नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंकेसीले अब एमाले नेत्रित्व नेपालीं कांग्रेसको प्रजातान्त्रिक मोर्चामा सामेल हुने ठोकुवा गरे ।
गत हप्तासम्म नेपाली कांग्रेसलाई सरकारमा जाने कुनै चाहना नभएको बताउँदै थिए नेपाली कांग्रेसका नेताहरु । तर मेनन काठमाडौं आएर कांग्रेसका नेताहरुलाई भेटघाट गरेपछि भने अस्ति मंगलबार नेपाली कांग्रेसका कार्यवाहक सभापती शुसिल कोइरालाले ‘भगवानको त बिकल्प खोजिन्छ भने माओवादी सरकारको बिकल्प त झन किन नखोजिनु‘ भन्ने जवाफ पत्रकारहरुलाई दिएर एमालेको नेत्रित्व परिवर्तनपछि सरकार पनि परिवर्तन हुने छनक दिएका थिए ।
त्यसो त, माओवादी नेत्रित्वको अहिलेको गठबन्धन सरकार बनेपछि एमालेपनि चिनियाँ क्याम्पतिर पहिलेभन्दा निकट भएको अनुभव भारतिय पक्षले गरेको थियो । एमालेका तर्फबाट चिनका लागि नेपालको राजदूत टंक कार्की भए लगत्तै उनले चिन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको निकटता बढाएको महसुस गरिँदै आएको थियो । अहिले एमालेको महाधिवेशन भैरहेका बेलापनि चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधी नेपाल आएका छन । योपनि भारतिय पक्षलाई पच्ने कुरो होइन । यि लगायत अन्य बिभिन्न घटना र प्रब्रित्तिले गर्दा पछिल्लो समयमा नेपालको राजनितिमा भारतिय प्रभाव घट्दो र चिनियाँ प्रभाव बढ्दै गएको अनुभव भारतिय पक्षले गर्दैआएको थियो ।
त्यसैले, भारत ओली र माधव पक्षलाई मिलाएर लैजाने, महाधिवेशनमा तिनैको पक्षमा नेत्रित्व चयन गराउने र त्यसपछि एमालेलाई नेपाली कांग्रेसतिर निकट गराएर सरकार परिवर्तन गराउने योजनामा रहेको स्रोतहरुले बताएका छन । यदि यो भारतिय योजना सफल भएमा न त सेना समायोजन नै हुन्छ न त संबिधाननै बेलैमा बन्छ । नेपालको शान्ति प्रक्रिया धरापमा पर्नसक्छ । अनि देश उहि तेस्रो जनआन्दोलन अघिको ग्रिहयुद्द जस्तै हत्या हिंसामा धकेलिने संभावना बढि छ । यो सबै रोक्न एमालेका ईमान्दार कार्यकर्ता र युवा नेताहरुमा कति ताकत र बुद्दिमता छ त्यसैमा भर पर्छ ।




