रेमिट्यान्स सँगै भित्रियो सामाजिक विखण्डन पनि
● शशी पौडेल / बेलायत
मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउँबाट अर्का ठाउँमा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा भगवानहरुपनि एक ठाउँबाट अर्को ठाउँ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी श्लेषमान्तक वनमा गई मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई विवाह गरेर अर्कै ठाउँमा बसाई बसाएको । रामचन्द्रहरुको १४ वर्षसम्मको बनबास आदि आदि ।
उता क्रिश्चियन धर्मबारे बाइबलका कुरा गर्यौं भने पनि बाइबलको प्रमुख कथाका पात्र नै जेसु क्रिष्ट, म्यारी र जोसेफ रहेका छन् । कथालाई गहिरिएर पढ्ने हो भने जोसेफको म्यारीसँग प्रेम सम्बन्ध बसेपछि म्यारी गर्भवती भएको र अविवाहित नारी गर्भवती भएपछि इजरायलमा बस्न त्यतिबेलाको सामाजिक मान्यता अनुरुप अप्ठ्यारो पर्ने भएकाले भाग्न बाध्य भएको बुझिन्छ । रातारात भाग्दा अहिलेको इजरायलको राजधानी जेरुसलम र हेवरोनको वीचमा पर्ने वेथलेहेम पुग्दा अचानक बच्चा जन्मेको भन्ने बुझ्न गाह्रो पर्दैन ।
त्यस्तै नेपालको सन्दर्भमा पनि नेपालबाट नेपालीहरु रोजगारको खोजीमा कहिलेबाट भारततिर लाग्न थालेका हुन निश्चित तिथी मिति पाउन कठिन पर्ने छ । तथापी सत्य के हो भने मानव सभ्यताको विकाससँग सँगै मानव जाती एक ठाउँबाट अर्को ठाउँमा चर्न जाने परम्परा रहँदै आयो । यस क्रममा कतिपय त्यतै बसेर पुस्तौ गुजारे कतिपय २/४ वर्ष पछि मुलुक अर्थात् जन्मस्थल फर्किने गर्दछन् । तरपनि उनीहरुको नजिकत्व जन्मस्थल हुने गरेको पाइन्छ । मध्ययुगमा यो परम्पराले अझ तिव्र गति लिएको पाइन्छ ।
एघारौं शताब्दीमा रोमको सभ्यताको विकासले गति लिइसकेको थियो । त्यहाँका युद्ध नायक एवं इसाई धर्मावलम्बीहरु संसार चाहार्न थाले । इतिहासमा पाइए अनुसार उनीहरुको एउटा जत्था अहिलेको प्यालेस्टाइन पुगे । समुद्रको किनार आवत जावत गर्न सजिलो र युद्ध गर्दा लुक्ने भाग्ने र आक्रमण गर्न समेत अनुकूल देखेर त्यसलाई कब्जा गरे र आजसम्म पनि त्यहाँ युद्ध सकिएको छैन । यस अर्थमा मानव सभ्यताको हलचलले सधै भरी सकारात्मक कार्य मात्र गरेको छ भन्न मिल्दैन ।
सभ्यताको हलचलको अर्को पाटो यसरी शुरु हुन्छ । इजरायलका यहुदीहरु विश्वभर छरिन थाले । उनीहरुको ठूलो संख्या जर्मनीमा गएर बस्यो । आज हामीले बैंक मार्फत पैसाको कारोबार गर्छौ । इजरायबाट जर्मन गएर बसेका एक रोटशिल्ड नामक यहुदीले बैंङकिङ सिष्टम चलाउन शुरु गरेका थिए । नेपालकै पनि परापूर्व कालको इतिहासले हामी आर्यजातीहरु भारत तिरबाट पसेका र गुरुङ एवं केही मंगोल जातीहरु मंगोलिया एवं चीन तिरबाट पसेको भन्ने पाइन्छ ।
युद्ध र अस्थिरता
समाज र सभ्यताको आधुनिकीकरणसँगसँगै विभिन्न युद्ध र अस्थिरताहरु भए । युद्ध लडाई र काटमार हुनुमा पनि सभ्यताको हलचल प्रमुख जिम्मेबार रहेको पाइन्छ । मध्ययुगको अस्थिरता र लडाई बारे माथि उल्लेख गरिसकें । त्यतिले मात्र पुगेन विभिन्न साना तिना युद्ध, हजार चारहजार मानव विनाश हुँदै रहे ति भन्दा पनि ठूला धार्मिक हलचलका कारण भएको युद्ध ३० वर्षे क्रान्तिलाई लिन सकिन्छ । जुन क्रान्ति १६१८ मा रोमबाट शुरु भै १६४८ मा बेलायती तत्कालिन राजा चार्ल्सको समाप्ती पछि सकिएको थियो । १६४८/४९ को उक्त युद्धलाई बेलायतको दोस्रो गृहयुद्ध मानिन्छ । त्यतिबेला वेलायतबाट हजारौंको संख्यामा वेलायतीहरु संसारको यत्रतत्र लागेका थिए । उनीहरुको गन्तव्यस्थल खास गरी उत्तर अमेरिका रहेको थियो ।
चर्चित पहिलो र दोस्रो विश्व युद्धले झन् मानव जातीलाई एक ठाउँबाट अर्को ठाउँमा मात्र पुर्याएनन् कि करोड भन्दा बढी नर संहार गर्यो । हामी नेपालीहरुका पूर्खाहरु पनि युद्ध भूमिमा परे । दुई सय वर्ष देखिको लिखित इतिहासले नै के भन्छ भने हामी नेपालीहरु तत्कालिन अवस्थाको भारत वेलायती कब्जामा हुँदा देखि नै सैनिक पेशा स्विकार गरेर त्यहाँ पुग्यौं ।
समाज र सभ्यताको विकाससँगसँगै आधुनिक टेक्नोलोजीको पनि विकास हुँदै गयो । जसले मानवलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न कठिन रहेन । सजिलै भारत, वेलायत, जर्मन, मलेसिया, कोरिया, जापान हाम्रो मुख्य गन्तव्यस्थल रहे । यी गन्तव्यमा खासगरी युवा पिढी त्यसमा पनि युवकहरु अर्थात लोग्ने मान्छेहरुले मुख्यगरी जुत्ताको तुना कसे । यसरी विदेश पुगेका नेपालीहरुले देशको आर्थिक बोझ उठाउन सफल छन् । तर वैदेशिक रोजगारीले रेमिटान्समात्र भित्रिएको छैन यसले सामाजिक विखण्डनपनि भित्र्याएको पाइन्छ । मलाई केही पुराना घटनाहरु अझै ताजा सम्झना छ ।
सामाजिक विखण्डनका उदाहरण
घटना बिसं २०२५ / २६ तिरको हो, जुन यस प्रकार थियो । हाम्रो घर नजिर्कै एक लम्तरी थरका परिवार बस्दथे । उनी भारतीय सेनामा काम गर्दथे । उनका एक पत्नी, एक छोरा र एक छोरी थिइन् । यी दुवै बच्चा भारतको इलाहावादमा जन्मेका हुन् । भारतीय सेनामा केही अवधिसम्म परिवार लगेपछि पुन घर फर्काउनु पर्ने व्यवस्था छ भनेर उनले आफ्नी पत्नी र छोराछोरी घर फर्काए । आफ्नो बाबु आमाको घरको तलपट्टि बारीमा नयाँ घर बनाएर छाडे । लम्तरनी भाउजुले लम्तरी दाइले पठाएको पैसाले घर चलाउदै गर्न थालिन । एक दिन ती लम्तरी दाइको बाबुले केही कामका निम्ति आफ्नो बुहारीसँग एक रुपियाँ मागेछन् । उनले एक रुपियाँ दिनुको बदला बेसरी गाली गरिछन् । एक आपसमा झगडा नराम्रोसँग भएछ । ती बुढा विचरा २५/२६ वर्षकी जवान बुहारीको हप्काइबाट डराएर फनक्क के घर फर्किन लागेका थिए । पछाडिबाट एउटा बाँसको डण्डाले बुढाको टाउकोमा बजारिछन् । के झोंकमा बुढा ससुरालाइ हानीहालीन अनि डरले घरबाट बेपत्ता भइन् ।
लाहुरे दाई घर आए । श्रीमतीको खोजतलास गरे । पत्ता लगाउन सकेनन् । छोरा छोरी हजुर आमाले हेर्दै थिइन । हजुर आमा पनि वृद्ध हुँदै गइन् । पछि छोरा चाँही बाबुसँगै भारततिर लाग्यो । वहिनी १३/१४ वर्षको उमेर देखिनै तानसेनको बस स्टेशनमा बसेर ग्रांहकहरु खुसी गराउन थालिछन् । मैले २०४३ सालमा तानसेन र गाउमै गई उनको खोजी गर्ने प्रयास गरें । भेट्न सकिन । त्यसको केही समय पछि उनको मृत्यु भयो भन्ने सुनें । के कारणले कसरी र कहाँ मृत्यु भयो थाहा भएन । यदि अहिले उनी जिउँदै भएको भए लगभग ५० वर्षकी एक जिम्मेबार नागरिक बन्थीन कि ?
लाहुरे दाई पछि गाउँ फर्के रे । एक्लो र विरक्त भएर बसिरहँदा उनको पनि देहान्त भयो भन्ने खवर दुइ बर्ष अघि प्राप्त गरें । उनका छोरा (दाजु चाहि) अहिले कहाँ छन् मलाई थाहा भएन। यदि उनी जिउँदै छन् भने म भन्दा एक वर्ष जेठा हुन् ।
यस्तो पनि हुँदो रहेछ ?
सन १९९४÷९५ को घटना हो म जर्मनीमा थिए । दुई जना हट्टाकट्टा युवाहरु मेरो घरभित्र प्रवेश गरे । उनीहरुले मकहाँ आउनुको कारण बताए । कारण यस्तो रहेछ । उनीहरमध्य एकजना र उनकी पत्नी लगभग चार वर्ष अघि अर्थात् १९९१ म जर्मन छिरेका रहेछन् । दुवैको खुव मेहनतले लगभग ५० हजार मार्क पनि जम्मा गरेका रहेछन् । अचानक उनकी पत्नीले सँगै काम गर्ने एक युवकसँग सम्पर्क गर्न थालिछन् । दिन वित्दै गयो । उनले राखेको कन्तुरबाट मार्क एकपछि अर्को सँदै हराउन थालेछ । कुरा बुझ्दै जाँदा पत्नीले निज युवालाई दिने गरेकी रहिछन् । युवाले उनलाई विहे गरी काठमाडौंमा सँगै वस्ने कुरामा सहमत गराएको रहेछ । त्यसैले आफुहरु काठमाडौं पुग्दा घर तयार गराई सक्ने वचन दिई पैसा लिएको रहेछ ।
“यो त विशुद्ध पारिवारिक कुरा हो । आखिर मैले के सहयोग गर्न सक्छु त ? ” मैले सोधे । उनले भने “निज युवाले काम गर्ने कम्पनीको मालिकलाई तपाईले चिन्नुहुन्छ । एकपटक कंपनीको मालिक र तपाइ बसेर उससंग कुरा गरीदिनु भयो भने हुन्थ्यो कि ?” “त्यसो भए म एकपटक कुरा गरौंला तर काम बनिहाल्छ भनेर भर चाहि नपर्नुस” मैले भनें ।
कुरा बुझ्दै जाँदा आखिर कुरा के भएको रहेछ भने ती युवतीले युवकलाई पैसा खुरु खुरु दिनेरहिछिन् । आफ्नो श्रीमान्लाई भन्दा ती युवकलाई बढि माया गर्दिरहिछन् । तर उता उसले पैसा नेपालमा आफ्नी बिवाहित पत्नीलाई पठाउने गर्दो रहेछ । जर्मनीमा हल्ली खल्ली मच्चियो । पैसा चोरीमा मुद्धा पर्ने स्थिती देखियो । यसैबीच निज युवक जर्मनबाट आफ्नी प्रेमिकालाई जर्मनीमै छाडेर भागेर नेपाल पुग्यो । अव अनुमान गर्नुस् उ नेपाल पुग्दा के भएको रहेछ ? उसकी पत्नीले काठमाडौंमा घर बनाएर अर्कोसँग पोइल गएर गर्भवती समेत भएकी रहिछन् । युवक प्रहरी समक्ष पुग्यो । यथेष्ट प्रमाणको अभावमा प्रहरीले केही गर्न सकेनन् । यता ती महिला नेपाल पुगेर प्रेमीलाई खोज्न थालिछन् । प्रेमीलाई भन्दा बढी सायद पैसालाई खोजेकी होलिन् । यो थाहा पाए पछि उ काठमाडौंबाट पनि वेपत्ता भयो रे ? अहिले कहाँ छ थाहा भएन । श्रीमान् र श्रीमती छुट्टिएको छुट्टियै भए । अहिले उनीहरु दुवै कहाँ छन् ? त्यो पनि मलाइ थाहा भएन । संगै छन् कि अलग अलग ?
बाबु आमाको चित्त यसरी दुख्छ
यो घटनाको थालनी लगभग साढै दुई दशक भन्दा अघिबाट सुरु हुन्छ र यसको अन्त्य सायद अझै भएको छैन । १९९२ तिरको कुरा हो म जर्मनीको उइस्वादन भन्ने शहरमा बस्थे । एक विहान डाक्टरकोमा जादै थिए । अचानक ‘भाइसाहेव’ भन्दै मलाई बोलाएको सुने । हेर्दा नेपाली जस्तो यो मान्छे किन हिन्दी बोल्यो अचम्म मानेर हेरें । मैले जर्मन भाषामा हँ ? भनेर सोधें । उनले मलाई शुद्ध हिन्दी भाषामा तपाई भारतीय हो ? भनेर सोधे । मैले हिन्दीमै किन त्यस्तो लाग्दैन र ? प्रति प्रश्न गरे । कुरा हुँदै गयो । आखिर उनि पनि नेपाली रहेछन् । दुवै जना खुव हास्यौं । मैले पनि झण्डै एक वर्षदेखि नेपाली भेटेकै थिइन । असाध्यै खुशी लाग्यो । यो भेट समयक्रम वित्दै जाँदा मित्रतामा गासियो । मेरा छोराहरु र उनका छोरा छोरीसँग अहिलेसम्म पनि सम्पर्क छ ।
उनले आफ्नो कथा बताउन थाले – दाई म सानै देखि असाध्यै मेहनत गर्दै आएको मान्छे । १४ वर्षको उमेरदेखि भारत तिर लागें । चार वर्षपछि घर आएर विवाह गरें । २/४ हजार ल्याएको पैसा मध्य केही बाबालाई दिएँ र केही नव विवाहित पत्नीलाई । ३ महिनापछि त मलाई फेरी भारत फर्किनु थियो । म एक्लै भारत फर्कें । श्रीमती गर्भवती भएकी रहिछन् । लगभग १० महिनापछि छोरा जन्म्यो भन्ने खवर आयो । छोरा र श्रीमती प्रति झन् माया बढ्दै गयो । मैले पठाउने पैसा घर बाबालाई पठाउन छोडेर श्रीमतीलाई पठाउन थालें । यद्यपी बाबाको काँधमा अरु मेरा दुईवटा भाइलाई हुर्काउने र पढाउने जिम्मेवारी थियो । मैले पैसा पठाउँदै गरें । श्रीमती बाबा आमासँग झगडा गरेर छुट्टिई रे भन्ने खवर आयो । तै पनि मैले उसलाई नै पैसा पठाउन छोडिन । छोरा जन्मेको दिन गन्दै गए । चार वर्ष पुगेछ । मैले पठाएको पैसा गन्ती गर्दा पनि अव सानो तिनो व्यवसाय गरेर बाँच्न पुग्ने जस्तो लाग्यो । उता बाबा आमासँग मेरो सम्पर्क छुटिसकेको थियो । यस्तै दोधारमा घर फर्किने निर्णय गरेर काम छोडें । भारतको पक्का लाहुरे बनेर आफूसँग भएको सुटकेश गुण्टा कसें र घर फर्के ।
८/१० हजार भारतीय रुपैया पनि साथमा थियो । श्रीमती बस्ने डेरा मलाई थाहा थिएन । त्यसैले घरमै गए । बाबा आमालाई ढोग दिए । उहाँहरुले मसँग चित्त दुखाउनु भएको रहेछ । भाइहरु दुवै पनि मसँग बोलेनन् । अनौठो लाग्यो तै पनि मातृस्नेह खोज्न म आमा नजिक पुगेर सोधें – तपाईहरु मसँग रिसाएको हो ? आमा डाको छोडेर रुन थाल्नु भयो । बाबाले आँसु पुछ्दै घरबाट बाहिर निस्कनु भयो । आमाको काखमा एउटा सानो बच्चा टाँस्सिइरहेको थियो । यत्तिकैमा आमाले त्यो बच्चालाई ल जा तेरो बा त्यही हो भनेर मतिर धकेल्नु भयो । म विलख बन्धनमा परें । मैले आमा खै बाबु भनेर बच्चालाई सोधें – आमा पोइल गै उसले जवाफ दियो । मलाई रिंगाटा लाग्यो । सारा पृथ्वी भासिए जस्तो लाग्यो खुट्टाले ठाउँ छोड्यो । चार चार वर्षसम्म लगातार पठाएको पैसा पनि डुब्यो भन्ने लाग्यो । मैले आफूले आफैलाई सम्हाल्ने बाहेक अर्को उपाय देखिन । आमा बाबुको चित्त पनि बेसरी दुखाएछु भन्ने लाग्यो । अब म विदेश नजाने र घर सम्हाल्ने निधो गरें । आमा बाबालाई सम्झाएँ । मैले भनें बाबा तपाईहरुलाई छोराले पठाएको पैसा सबै लगी भनेर चित्त दुखाउनु भएको होला । चित्त नदुखाउनुस् मैले पैसा त आफ्नै साथमा ल्याएको छु । बाबु आमासँग स्नेह पाउने उपाय यही थियो । घर व्यवहारमा रेख देख गर्न थाले । समयचक्र वित्दै गयो अर्की विहे गरें । र अहिले म यहाँ (जर्मनीमा) आएको छु । उ नेपालमा छे । त्यसैले उसलाई कसरी यहाँ झिकाउने हो ? उपाय बताइ दिनुस् न ।
समयले साथ दियो उनले आफ्नी पत्नी जर्मनी झिकाउन सफल भए । पहिलेको घटनाक्रमबाट अनुभव सिकेकाले र जर्मनमा स्थाई बस्न पाउने वा नपाउने निधो नभएकाले उनले आर्जन गरेको सबै रकम नेपाल पठाउन थाले । आमा बाबुले त्यसको व्यवस्थापन गर्ने सल्लाह गरे । तर बाबुले चाहिँ उता यिनले यहाँबाट पठाएको सबै रकमले कान्छो छोराको नाममा घर जग्गा खरिद गरेका रहेछन् ।
विदेशमा बसेर आय आर्जन गर्ने र स्वदेश पठाउने क्रममा पती र पत्नी बीचको ओइल पोइल जाने मात्र नभै बाबु आमाले पनि एकोहोरो सोचाइ राखिदिदा थुप्रै परिवारको विखण्डन भएको छ । यसले समाजमा नकारात्मक छाप छाडेर जाने छ । त्यसैले विदेशमा आय आर्जन गर्ने सबैले परिवारमा विखण्डन नल्याउने ढंगबाट पारिवारिक मेलमिलाप सफा र छर्लङ्ग राख्नु पर्ने आवश्यक देखिन्छ । व्यक्तिको समस्या भनेको परिवारको समस्या हो पारिवारिक समस्या भनेको समाजको समस्या हो र समाजको समस्या नै राष्ट्रको समस्या हो ।




