कुनै माइकलाल छ बाबुरामलाई हटाउने ?

ब्राजिलको राजधानी रियो द जेनेरियोमा दिगो विकास संवन्धि राष्ट्र संघिय सम्मेलनमा भाग लिन जानु पहिले हाम्रा बिद्वान प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रमुख राजनितिक दलसित भन्दै थिए ‘राजनितिक दलहरुले सहमतिय उम्मेदवार आगडि सारे म तत्कालै राजिनामा दिन तयार छु’। तर रियो द जेनेरियोबाट फर्के लगत्तै उनको स्वर गर्जियो ‘म अर्को चुनाव भएर निर्वाचित सरकार नआएसम्म पद छोड्दिन ।’

ब्राजिलमा भएको दिगो विकास संवन्धि राष्ट्र संघिय सम्मेलनमा जानु अघि हाम्रा बिद्वान प्रधानमन्त्री सहमतीको बुझक्कि कुरो गर्दै थिए । तर रियो द जेनेरियोबाट फर्किनासाथ ‘निर्वाचित सरकार नआएसम्म ज्यानजाला पद छोड्दिन’ भनेर गुर्रिए । किन ?

हप्तादिन अघि सहमतीको कुरो गरिरहेका उनलाई त्यहाँ कुन रामबाँण प्राप्त भो ? भारतीय प्रधानमन्त्री डा मनमोहन सिंको आशिर्वाद पाए भन्नलाई अब हिच्किचाउनु पर्दैन । र नेपालको लागि खासै उपलब्धिमुलक नरहेको त्यो सम्मेलनमा जम्बो टोली लिएर जानुको उनको ध्येय पनि नेपालको दिगो विकासकालागि नभएर दक्षिणी आशिर्वाद थाप्नैकालागि रहेछ भन्ने प्रस्ट भएको छ ।

तर दक्षिणी आशिर्वाद थापेर उनी कति दिन टिक्लान् ? भारतले कहिले सम्म जुठोपुरो चटाउला र उनी सत्ताकालागि स्वदेशका दल, जनता र नेताका सहमतिय प्रयासलाई धोति लगाउन सक्षम होलान् ? तर उनलाई यो आशिर्वाद निकै अघिदेखि प्राप्त थियो । यद्दपी त्यसका आधारहरु बल्ल जनताले बुझ्ने गरि खुल्दै र प्रस्टिँदै गएका हुन् ।

नेपाली कांग्रेसले एक जना गुप्तचर पालेको छ । अमरेशकुमार सिं । हुनलाई उनी गुप्तचर हुन् । तर नेपाली कांग्रेसको आवरणमा उनको सक्कली अनुहार पोत्ने प्रयास गरिएको न हो । त्यसैले उनको चिन्ता नेपाली कांग्रेस होइन, भारतीय नंग्रा नेपालका हर क्षेत्रमा गाड्ने हो । उनको बाबुराम भक्ति र आडलेपनि हाम्रा डा सापलाई दक्षिणको आशिर्वाद प्राप्त भएको सहजै बुझिन्छ । उता अमरेश कुमारको नियतपनि अझ प्रस्टिन्छ ।

जेठ १४ गते जुन दिन संविधान सभा भंग हुँदै थियो । त्यस दिन यीनै अमरेशले ‘बाबुराम भट्टराईलाई कसले हटाउन सक्छ हेरौं त’ भन्दै बम्किएका रहेछन् । उनले अन्तर्राष्ट्रिय समर्थन र सहयोगपनि बाबुरामकै पक्षमा रहेकाले कुनै माईकलालको दाल नचल्ने भन्दै कांग्रेसकै केहि नेतालाई चखाउँदै रहेछन् । उनले यदि राष्ट्रपती डा रामबरण यादवले आफु संविधानको संरक्षक भन्दै हटाउने दुस्साहस गरेपनि त्यसलाई टिक्न नदिने दाबी गर्दै हिँडेछन् । यत्रो साहस र धम्की कांग्रेसको नेता, ‘र’को प्रतिनिधीबाट किन र कसरि आयो ?

अहिलेपनि बाबुराम भट्टराईलाई कसैले हटाउने सपना नदेखे हुन्छ भनेर फलाक्दै हिँड्ने रहेछन् उनी । नेपाली कांग्रेस र एमालेको कुनै सिप नचल्ने र बाबुराम कुनै हालतमा कुनैपनि पार्टीको धम्किले नहल्लिने भन्दै फुक्दै हिँडेका छन् । बाबुरामको मनपरी, एक्लो हठ देख्दा उनी त्यहि भारतीय बम्काइमा अडेस लगाएर बसेका छन् भनेर सहजै बुझिन्छ । भारतीय स्वार्थमा प्रयोग हुनैकालागि उनले मधेशी दललाई सत्ताको चास्नी चखाए । २५ लाख भारतीयलाई बिना जाँचबुझ नागरिकता दिने निर्णयमा सहमती जनाए । ज्यान फालेर लडेका, दश वर्ष सम्म बलिदान गरेका आफ्नै पार्टीका जनसेनालाई समायोजन गर्न नसक्दै १० हजार मधेशीलाई सेनामा हुल्ने नाममा भारतीय अपराधी र हुल्लजडबाजलाई नेपाली सेनामा हुल्न सहमती गरे । यद्दपी यसका रचनाकार पचासौं करोडको महलमा बस्ने सुकुम्बासी नेता प्रचण्डपनि हुन् नै । नागरिकता बाँड्ने, मधेशी युवालाई बिना रोकावट नेपाली सेनामा हुल्ने लगायतका तराईमा बितन्ड मच्चाएर अलग पार्ने यो योजना उनले कसको स्वार्थकालागि गरेका थिए ?

अन्तर्राष्ट्रिय महत्वका सन्धि र सम्झौता देशमा संविधान नभएका बेला गरिन्न । देश राजनितिक रुपमा संकटकालिन अवस्थामा रहँदा अन्तर्राष्ट्रिय महत्वका राख्ने संझौताहरु गरिँदैनन् । त्यस्तो बेला राष्ट्रिय सहमती कायम गरिन्छ । तर बिद्वान प्रधानमन्त्रीले बिपा संझौता आफ्नै पार्टीलाईपनि पत्तो नदिइकनै सुटुक्क गरेका थिए भारतीय शासकका पाउमा कलम धस्काएर । प्रश्न उठ्छ, यदि देशको हितमा थियो, राष्ट्रियताको पक्षमा थियो भने कम्तिमा उनले आफ्नै पार्टीलाई किन सहमत गराउन सकेनन् ? किन सुटुक्क गरे ?

राजनितिक रुपमा संकटकालिन अवस्थाका बेला देशमा राजनितिक उथल पुथल भैरहन्छन् र त्यस्तो बेलाको घाटा राष्ट्रले ब्यापारीलाई पूर्ती गर्न सक्दैन । त्यसैले उनले नेपाली ब्यापारीलाई कुनै सहुलियत दिन आँट गरेनन् तर भारतीय ब्यापारीलाई दिने संझौता गरे । किन गर्नु पर्‍यो यस्तो निर्णय ? के नेपाल र भारतबिच कस्तो संवन्ध राख्नु पर्छ, कस्तो ब्यापारिक नीति अवलबन गर्नु पर्छ भन्ने ज्ञान र आवश्यकताको बोध अनि खाँचो उनको समग्र पार्टीलाई नभएर हो ? त्यो हो, भारतीय शासक वर्गको ठाडो चाकरी ।

बिवादास्पद नेता, पश्चिमाहरुको पिछलग्गु नेता दलाई लामाले गौतम बुद्दका बारेमा भ्रम छरे । अँहँ, विश्वकै सबैभन्दा क्रान्तिकारी पार्टी प्रधानमन्त्रीले चुँ सम्म बोल्न सकेनन् । त्यो भन्दापनि अझ ठूलो बिडम्बना, बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेला, भारतीय प्रधानमन्त्रीलाई भेट्न ब्राजिलमा ढुकेर बसेकै मौका पारेर भारतीय राजदूतले सगरमाथा भारतमा पर्छ भनिदियो । के यो संयोग मात्रै हो ?  यदि त्यसो हो भने आफ्ना समकक्षीसित किन बोल्न सकेनन् भट्टराईले ?

भारतले दिन दिनै हाम्रो दश गजा क्षेत्रमा अतिक्रमण तिब्र पारेको छ । त्यो भट्टराई सरकारको बेला मौका छोपेझैं गरेर तिब्र पारेको छ । तर भारत बिरुद्द राष्ट्रियताको लडाई लड्न सुरुङयुद्द घोषणा गरेको पार्टीका प्रधानमन्त्री भट्टराई चुइँक्क सम्म बोल्दैनन् । जबकी सत्तामा पुग्नु अघिसम्म सिमा ब्यवस्थापन, सुगौली सन्धीको खारेजी, टनकपुर सन्धीलगायत भारतसितका सबै असमान सन्धि संझौता खारेज गर्ने भनेर सबैभन्दा बढि कुर्लन्थे । उनको पार्टीबाट ज्यान दिने करिब १३ हजार मध्ये धेरैले राष्ट्रियता, भौगोलिक अखण्डता र स्वतन्त्रताकालागि माओवादी झुक्दैन, केहि गरेरै छाड्छ भनेर फालेका थिए । भारतलाई गाली गर्नेमा सबैभन्दा बढि माओवादीका उच्च स्तरिय नेता थिए । शान्ति वार्तामा प्रवेशसँगै भारतीय थिचाई र मिचाइ बिरुद्द भट्टराईको बोली लोलिएको हो ।

अहिले देशले निकास खोजिरहेको छ । संविधान छैन । संविधान सभा छैन । यस्तो बेला देशले निकास पाउने भनेको सहमती, छलफल र बहसबाटै हो । जसले उपयुक्त निकास दिन सक्छ उसैले सरकार चलाउने हो । प्रधानमन्त्री फेरिँदैमा निकास ननिस्केला । तर संविधान सभाको माग राख्ने पहिलो पार्टीका दोस्रो दर्जाका नेता उनी । त्यहि संविधान सभाको माग राखेर जनयुद्द शुरु गर्ने डिजाइनकर्ता मध्ये एक । त्यसैलाई आफ्नै प्रधानमन्त्रीत्वकालमा उनले टिकाउन सकेनन् । उनैको पार्टीको नीति असफल भयो ।

उनी आफैं सरकारमा हुँदा संविधान सभा भंग हुनु र आफ्नै पार्टी फुट्नु भयो । अर्थात उनका नीति र कार्ययोजना उनैको पार्टीमापनि मान्य भएनन् । उनैको पार्टीबाट उनीमाथि भारतीय दलालको आरोप लाग्यो । उनी कहिँ कतै सफल भएनन् । यसमा उनले कतै न कहिँ जिम्मेवारी लिनु पर्ने हो । यस्तो बेला नैतिकताका आधारमापनि राजिनामा दिएर बाटो खोल्नुपर्ने हो । कम्तिमा राजनितिक दलहरुले साझा सहमती बनाए छोड्ने मनशाय बनाउनु पर्ने हो । तर उनी त नयाँ तानाशाह, नौलो बादशाह झैं गर्जेका छन् ‘कुनै हालतमा निर्वाचित सरकार नआएसम्म पद छोड्दिन’।

राजनितिक दलहरुबिच सहमती भएमा एक मिनेटपनि सत्तामा बस्दिन भनेर पटक पटक दोहोर्र्याउँदै आएका उनले पछिल्लो पटक भारतीय प्रधानमन्त्री, गुप्तचर संस्था ‘र’ का प्रतिनिधी र भारतीय शासक वर्गसित निकट हुनासाथ पद छोड्दिन भन्नु भारतभक्ति बाहेक केहि होइन । तर सोचे हुन्छ बुद्दिमान डा सापले, भारतीय शासक वर्गको जतिसुकै आशिर्वाद लिएपनि कुनै तानाशाह, प्रधानमन्त्री सत्तामा टिकिरहन संभव भएको थिएन । र अबपनि त्यो संभव हुने छैन, अलिकतिढिलो र चाँडो मात्रै हो ।

तपाइँको प्रतिक्रिया