कसैले नजितेको युद्ध

शशी पौडेल / बेलायत

जो रक्षक उही भक्षक भन्ने उखान यत्र तत्र चरितार्थ हुने गरेको छ । अफ्गानिस्तानमा आतकंवाद, भ्रष्टाचार, अनियमितता, अन्याय र अत्याचारको अन्त्य गरी शान्ति–सुरक्षा दिन भनी खटिएका सेना जो अफ्गानिस्तानका लागि बेलायती राजदुतावासमा कार्यरत थिए । निज सैनिक अधिकारी दुई बर्ष अघि दुई बर्षका लागि अफ्गानिस्तान जेलमा परेका हुन् । विल स नामक निज सैनिक अधिकारी २८ बर्षदेखि बेलायती सेनामा सेवारत थिए । सेवारत भएकै अवस्थामा उनले एम वि इ समेत पाइसकेका छन् । उनी दुई बर्ष अघि अफ्गानी अधिकारीहरुलाई वीस हजार अमेरिकी डलर घुस खुवाएको प्रमाणित भएका कारणले जेल परेका हुन् । उनले घुस पनि आफ्नो नितान्त व्यक्तिगत फाइदा लिनका लागि नभएर बेलायती गाडीहरु बचाउनका निम्ति खुवाएका रहेछन् । उनले काम गरिरहेको कार्यालय बेलायती राजदूतावासका दुईवटा गाडीहरु अफ्गानी कानूनअनुसार गैरकानूनी भएकाले जफत गरिएको रहेछ । जफत गरिनुका कारण पनि बेलायती परराष्ट्र एंवं रक्षा मन्त्रालयको बैधानिक ब्लु वुक नभएको बताइएको थियो ।

यता बेलायती सरकारी श्रोतले भने उक्त गाडीहरु नियम पुर्‍याएर चलाएको दावी गरेको थियो । अर्कोतिर लाजमर्दो कुरा त के भने बेलायती राजदुतावास कावुलले हामीले वील स लाई बेलाबेलामा भेटेर सरसहयोग गरेका छौं भनेको छ । उनकी पत्नीले आक्रोश व्यक्त गर्दै विवीसीसँग त्यतिबेला भनेकी थिइन् ‘उनी काननू पालन गर्ने ब्यक्ति हुन । उनलाई पक्कै पनि उनीभन्दा माथीका कसैले त्यसो गर्न दवाव दिएका हुनु पर्छ ।’

युद्धको पृष्ठभूमि

बेलायती जनता अफगानिस्तान र इराक युद्धको विपक्षमा थिए । तर अन्तर्राष्ट्रिय चाहना भने बाँडिएको थियो । केहिको बेलायतले अमेरिकालाई सघाउनै पर्छ भन्ने धारण थियो भने केहिको धारणा इराक एवं अफ्गानिस्तान दुवै स्वतन्त्र एवम् स्वाभिमानी राष्ट्र भएकाले त्यहाँ कसैलाई पनि दखलअन्दाज गर्ने अधिकार छैन भन्ने थियो । तेश्रो पक्ष चाहिँ स्वाभिमान र स्वतन्त्र राष्ट्र भन्दैमा अन्य मुलुकमा आतंक मच्चाउन पाइँदैन । त्यसैले पश्चिमेली राष्ट्रहरु एक हुनुपर्छ भन्ने थियो ।

यता संयुक्त राष्ट्र संघ किंकर्तब्यविमुढ भएर बस्यो । न त यसले युद्ध गर भन्न सक्यो । न त रोक्न सक्यो । वार्सा सन्धि छिन्नभिन्न भइरहेको बेला थियो । समाजवादी शासन ब्यवस्था भएका पूर्वी यूरोपका मुलुकहरुमा नाटोको चहल पहल र अमेरीकी झण्डा फरफराइरहेको थियो । सत्तरी बर्षको सोभियत संघ विघटन भएको अवस्थामा नाटो र पुँजीबादको एकाधिकार र अहं बढेको थियो । यस्तो अवस्थामा अमेरिकी तत्कालिन राष्ट्रपति जर्ज बुससँग बेलायती जोन मेजरले हिप जोड्न पुगे । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र नाटोबीच नब्बेको दशकमा इराक र अफ्गानिस्तानको विरोधमा जाइलाग्ने त्रिपक्षिय संयन्त्र बन्यो । युद्धमा जर्मनी लगायत केहि मुलुकहरुले भाग नलिने निर्णय गरे ।

२००१ सालको सेप्टेम्वर ११ का दिन न्यूयोर्कस्थित ट्वीन टावरको विच भागवाट जेट विमान उड्न पुग्यो । अलकाइदाले यसको जिम्मेवारी लिएपछि इराकविरुद्ध अपरेसन सुरु भयो । हुन त इराक र इरानवीच १९८० देखि नै युद्ध शुरु भएको हो । खाडी युद्ध हुनमा पनि अमेरीकाको बद्नीयतपूर्ण भूमिका रहेको छ । इराकले इरानी सीमा क्षेत्रको आफ्नो हाताभित्रको जमिनबाट जब तेल उत्पादन गर्न शुरु गर्छ तब अमेरिकाले इरानलाई उस्काउन पुग्छ र भन्छ “यो तेल उत्पादन क्षेत्र इराकको होइन । उनीहरुले तिमीहरुको भुभाग कब्जा गरेका छन् । यसको विरोधमा उत्रनु पर्छ । यदि सहयोग चाहिए हामी छौं ।  तर एउटा शर्तमा– त्यस क्षेत्रबाट उत्पादित तेलको ६० प्रतिशत उत्पादन अमेरिकाले पाउनु पर्छ । र यसको मूल्यपनि हामी आफैंले तोक्ने छौं।”

तत्कालिन इरानी राष्ट्रपति जो अमेरिकी भक्त थिए, अब्दल हसन बानीसादरले अमेरिकी शर्त मन्जुर गरे । युद्धको घोषणा भयो । उता शीतयुद्ध चलिरहेका बेला यसै पनि अमेरिका र सोभियत संघबीच खटपट थियो । नितान्त अमेरिकी तेल ब्यापार गर्ने चाहनाका कारण ८ वर्षसम्म खाडी क्षेत्रमा बारुदको धुवां“ उडया,े लाखौ विधवा बने, लाखौ बालवच्चा टुहुरा बने । ८ बर्ष युद्धपछि इराकका सद्धाम हुसेन र इरानका अलि खुमिनीवीच भाइ फुटेर गवाँर  नलुटाउने भन्ने खालको शर्त मन्जुर गरे । वारुदका गोला उड्न छोडे तर दुई मुलुक विचको मनभित्रको द्वन्द्व कहिल्यै मेटिएन । पछि १९९१ मा इराकले कुवेत माथी आँखा गाड्यो । मुलुक सानो भए पनि कुवेतमा तेलको खानी ठूलो रहेको छ अमेरिकी कुदृष्टि त्यहाँपनि थियो । के निहु पाउँ कनिका बुकाउँ भने झै अमेरिका, बेलायत र नाटो इराक. विरुद्ध जाइलागे । ठूलो संख्यामा धनजनको नोक्सान भयो । सद्धाम हुसेन मारिए । यद्धुको नियम एउटाको जित र अर्काको हार भनिएपनि यथार्थमा जित कसैको हुँदैन नै, त्यसै भयो ।

उता यी मुलुक वीचको मनमुटाव र ८० को दशकमा टुहुरा भएको युवापंक्तिको मन जितेर अलकाइदाका ओसामा विन लादेनले उनीहरुलाई आफ्नो पक्षमा प्रयोग गर्न थाले । अलकाइदा दिन दुगुना रात चौगुना फैलिन थाल्यो । आफ्नो सञ्जाल अफ्रिकी केही मुस्लिम राज्यहरुदेखि लिएर मलेशीयासम्म फैलाउन पुग्यो । विन लादेनले आफु लुक्ने थलो अवस्था अनुसार रोज्न थाले । आफ्ना कार्यकर्तामध्ये कसैलाई बेलायत, कसैलाई जर्मनी र कसैलाई अमेरिका विद्यार्थी बनाएर पठाउन थाले । यसरी तालिम प्राप्त विद्यार्थीहरुले सेप्टेम्वर ११, २००१ मा अमेरिकाको ट्वीन टावर हाने । बल्ल अमेरिकालाई थाहा भएको हुनुपर्छ कि डिभाइड एन्ड रुलले आफ्नै कस्तो हविगत गराउँदो रहेछ भन्ने । त्यसपछि ‘वार अन टेरोर’ भन्ने नारासहित नाटो बन्दुक र बारुद लिएर इराकको विरुद्ध जाइलाग्यो, उसलाई साथ दिनेहरुमा प्रमुख संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायत रहे ।

युद्ध वास्तवमा कसैले पनि जित्दैन । इराकको युद्धमा इराकले त हार्‍यो हार्‍यो नाटोले पनि हार्‍यो । हजारौं सेना गुमायो । खरवौ धुवाँमा फुकियो । त्यसपछि नाटो अफ्गानिस्तान पुग्यो । जर्ज बुससँग हिप जोडिएका टोनी ब्लेयर बुस जहाँ पुग्छन् त्यहाँ पुग्ने नै भए । एउटा खुट्टा पुगेको ठाउँमा अर्को खुट्टा पुग्नु स्वभाविकै हो । ब्लेयरले संसद सदस्यहरुले अफ्गानिस्तानको युद्धमा नजान भनी दिएको सल्लाह समेत सुनेनन् । अहिलेसम्म आफ्गानिस्तानमा चारसय सोह्र बेलायती सेना मारिइसके । प्रतिदिन अरबौं खर्च भइरहेको छ । यता दुइवर्ष अघि गठित कन्जरभेटिभ लिवडेम मिलीजुली सरकारका चान्सलर जर्ज ओसवर्न बेलायती जनतालाई कम्मर पेटी कसेर कम खान सिकाउँदै छन् ।

तपाइँको प्रतिक्रिया