खाइदेउहरु बुरुक बुरुक गरेपनि दुबै पक्षका चुनौती दह्रा

एकिक्रित माओवादी फुट्यो । पहिले सँगै हुँदा संस्थापन पक्ष भनिएका केहि खाइदेउहरु बुरुक्क बुरुक्क गरेका छन् । तिनलाई लागेको छ, सुद्दता, पारदर्शिताको नाममा, भ्रस्टाचारको बिरुद्द, राष्ट्रियताको लागि भन्दै उफ्रिनेहरु गए । ढुक्क भो । मान्छेपनि घटे । अब झन मस्ति गर्न पाइन्छ । अझ ठूलो भाग लिन पाइन्छ । उता बैध्य पक्षका मुल नेता उचाल्नेलाई लाग्दो हो, भ्रस्ट, राष्ट्रघाती र जनतालाई धोकादिनेबाट छुट्कारा पाइयो । अब पार्टी अगाडि बढ्छ । झन सक्रिय र बलियो हुन्छ । तर दुबै पक्षका यी भ्रम हुन् । अब दुबै पक्षलाई झन गाह्रो हुने छ । अहिलेको फुटले झन चुनौती थपेका छन् ।

एकिक्रित माओवादी बहुमतमा त छ । तर त्यसका मुख्य नेता भ्रस्ट भैसकेका छन् । भारतमुखि बनेका छन् । आम कार्यकर्ता र नागरिकका माग तिनबाट टाढिएका छन् । तिनलाई रातारात कमाउनु परेको छ । बिलासी जिवन, घुमघाम, भाषण, कमाउ र राज गर । तिनको मुल ध्येय यहि बनेको छ । जनताकहाँ धक फुकाएर जाने काम तिनले गर्न नसकेकाले ति शहर केन्द्रित छन् । सत्ताको वरिपरि घुम्नुनै तिनको बिकल्प हो । तिनसित स्पष्ठ एजेन्डा छैन परिवर्तनको । किनभने तिनले अगाडि सारेका एजेन्डा असफल भए । नयाँ केहि छैन । त्यसैले तिनको बिकल्प सरकारमै टाँस्सिनु हो चाहे नयाँ निर्वाचनका नाममा होस् वा शाति र संविधानका नाममा होस् ।

तर यो पक्षले सर्वहाराका माग र आम गरिबका एजेन्डा छोडे सँगै शहरिया उच्च वर्ग नजिकिएका छन् । पार्टीसित पैसा छ टन्न । भारतीय समर्थन यसैलाई छ जसले धेरै फरक पार्छ । शहरमुखि राजनीति गर्नुपर्ने, निर्वाचनमा जानु पर्ने भएकाले छट्टु, निर्वाचन लड्न जान्ने, आशे र शहर केन्द्रित राजनीति जानेका कार्यकर्ता छन् । यो हिसाबले यीनलाई सजिलो छ ।

तर यी सित जनताको आशा र भरोसा धेरैनै टुटिसकेको छ । जनयुद्दकालमा पार्टी बिस्तारमा लागेका, ज्यान दिएका, असल र त्यागी कार्यकर्ता पाखा लागेका छन् । आफैंमा डा बाबुराम भट्टराई, प्रचण्ड र नारायणकाजीका मुख्य तिन गुट छन् । सानासाना गुटको त हिसाबै छैन । त्यसैले यहाँ बिगतको झैं तानातान र लुछाचुँडी भईनै रहला । यी तिनै गुट मिलेर जान ढुँगा चपाए जस्तै हुने छ । कहिले नारायणकाजी, कहिले बाबुराम, कहिले बैध्य त कहिले अरु पार्टीका बामदेव र झलनाथ देखि शेरबहादुर र क्रिष्ण सिटौलासम्मलाई हतकण्डा बनाइबनाई आफ्नो स्वार्थ सिद्द गर्न सिपालु प्रचण्डलाई सबैभन्दा कठिन हुने छ । किनभने उनको लागि अहिलेसम्म सबैभन्दाबढि साथ दिएका र पार्टीमा जनमत र कार्यकर्ता समेत भएका उनैका गुरु बैध्यले छोडेर हिँडेका छन् । यो हिसावले अब भट्टराई पक्षको पेलान भविष्यमा रोचक देख्न पाइने छ ।

अझ समस्या त पार्टीको नीति र कार्यदिशाको हुने छ । कि त जनताको बहुदलिय जनबाद भन्ने एमालेको समाजबादी नीतिभन्दा पनि खस्केको नीतिमा जानु पर्‍यो । कि नेपाली कांग्रेसको समाजवाद नीतिमा । किनभने अब साम्यवादी नीति, जनवाद भनेर फलाकिरहनु एकिक्रित माओवादीकालागि सुहाउने छैन । अब जनताले पत्याउने कुरोपनि हुन्न । भारत परस्त नीति, शहरिया आरामदायी जिवन, मस्तिको बिलासी पारा, आलिशान महल र भ्रस्ट नेता । अबपनि सुकुम्बासी, श्रमिक, गरिब र सर्वहाराको मुक्तिको नारा दिनु हाँस्यास्पद बाहेक केहि हुने छैन । हुन त एमालेलेपनि दिईनै रहेको छ । त्यसैले अब कस्तो पार्टी बनाउने ? योनै एकिक्रित माओवादीको चुनौती हुनेछ ।

दुखका दिन बैध्य पक्ष अर्थात अब नेकपा, माओवादीकापनि शुरु भएका छन् । उनीहरुसित कार्यकर्ता कति छन् निश्चित त छैन नै अहिलेनै । तर बाबुराम भट्टराई र प्रचण्ड जस्ता  खुल्ला बाताबरणमा भिजेका, खुल्ला राजनितिमा आएरपनि जनतालाई केन्द्रित गर्न सक्ने, आकर्षण भएका नेताको कमी छ । किनकि संगठन शहर र गाउँ सबैतिर चाहिन्छ । यसले गर्दा खुला परिवेशमा संगठन बनाउन मुस्किल पर्ने छ । मुख्य कुरो त कार्यदिशाको हो । जनबिद्रोह गर्ने नीति भनेका छन् । संसदिय राजनितिको मोह भंग भएकोपनि भनेका छन् । तर अर्कोतिर अहिलेनै जनबिद्रोहमा गैहाल्ने स्थिति छैनपनि भनिरहेकै छन् । त्यसो भए गर्ने के हो तत्काल ? अब यो पार्टीले कस्तो राजनितिक क्रियाकलाप गर्छ ? जनतामा के लिएर जान्छ ? के भन्छ ? के गर्न जान्छ ? यो स्पष्ठ नगरि हुने छैन ।

जनबिद्रोहको लाइन भनेपनि अहिले जनबिद्रोहमा गैहाल्ने अवस्था छैन रे । जनबिद्रोहको कार्यदिशा लिएर छुट्टिएका छन् एकिक्रित नेकपा माओवादीबाट । जनबिद्रोहमै नगए फुटको औचिय के हो ? जनबिद्रोहमै गैहाल्ने कसरि सफल होला ?

संसदिय राजनितिमा ज्यान फालेकाले अहिले नेकपा एमाले, राप्रपा र नेपाली कांग्रेसको ध्येय एकिक्रित माओवादीलाई कमजोर पार्ने, घचेट्ने र अँचेट्नेमा केन्द्रित होला । अझ बलियो गठबन्दन होला । सके त बैध्य बालाई फुर्क्याएर, उचालेरपनि तिनका बिरुद्द प्रयोगको नीति लेलान् । तर मुख्य टकराव र भिडन्त यीसित गर्नुपर्ने नै बैध्यको पार्टीले हो । किनकि अब बाबुराम र प्रचण्डको पार्टी न रह्यो सामान्तवाद बिरोधी । न रह्यो बिस्तारबाद बुरुद्द । त्यसैले सामान्तवाद बिरुद्द, बिस्तारबाद बिरुद्द लड्ने र संसदिय राजनिति त्यागेर शसस्त्र युद्द गर्ने भनेकै बैध्यको पार्टीसित हुने हो यी सबैको सामना । त्यसैले बैध्य पक्षको पार्टीले संसदबादी, सामान्तवादी, र बिस्तारबादी सबै खालेसित भिड्नुपर्ने छ । यो सानोतिनो चुनौती अवश्यै होइन ।

जनताले दशक लामो जनयुद्द ब्यहोरे । पार्टी अध्यक्ष प्रचण्डलाई स्थापित गराउने मुल काँधनै बैध्यले थापे । अहिले आएर उनै प्रचण्डलाई जनता बिरोधी, गद्दार भन्नुपर्ने भयो । यसलाई जनतामाझ कसरि प्रस्ट पार्ने ? सजिलो छैन । आफैंले स्थापित गराएका नेताको भर भएन अब तिमिले ल्याएका अरु नेताको पो के भर होला र ? जनताको प्रश्न हुने छ ।

जनबिद्रोहको कार्यदिशा भनेकाले उध्योगी, ब्यापारी, मध्यम वर्ग मोहित हुने कुरो भएन । फेरी जनबिद्रोहको कुरो गर्छ, फेरी देशलाई द्वन्दमा धकेल्ने कुरो गर्छ भनेर यो वर्ग त्रसिद हुन्छ । बीपा संझौता भंग गर्नुपर्छ, भारतीय बिस्तारबाद लगायतका भारतबिरोधी चर्का नारा लगाएकाले भारतको सहयोग हुने कुरो भएन । तर यहि भारत बिरोधी नारानै मसला बन्नपनि सक्छ । नेपालमा भारतबिरोधी मनोभावना चर्को भएकाले ।

पैसा भन्ने कुरो त हिजो जनयुद्द गर्दा माओवादीसितपनि थिएन । त्यो फेरी जुटाउन सक्लान् । आन्दोलनलेपनि निकै कुरो सिकाउँदै लैजान्छ । तर अहिले तुरुन्तै फुटको औचित्य सिद्द गराउननै यीनलाई सहज हुने छैन । नयाँ पार्टीलाई कसरि स्थापित गर्ने हुन् । संस्थापन पक्षसित सरकार छ । पैसो छ । सिंगै भारतीय समर्थन छ । ब्यापारी र तस्करहरु छन् । यो अवस्थामा झण्डै शुन्य अवस्थाबाट कसरि पार्टीलाई उठाउँछन् । उनीहरुले प्रचण्डलाई लगाउँदै आएको राजबादीको आरोप र भट्टराईलाई बिस्तारबादीको आरोप कसरि सिद्द गरेर आफुलाई जनबिद्रोहकालागि कसरि तयार गर्छन् ? माओवादीको दशक लामो जनयुद्दको बलिदान ब्यर्थमा गएको अनुभव गरिरहेका जनतालाई फेरी कसरि जनबिद्रोहकालागि तयार गराउन सक्लान् ? दुबै पक्षकालागि चुनौती कम छैनन् ।

तपाइँको प्रतिक्रिया