जिम्मी कार्टरको भ्रमण र एक मधेश एक प्रदेशको माग कागताली थियो ?
● शशी पौडेल / बेलायत
२०११ साल लाग्दा नलाग्दै अर्थात अहिलेको झण्ढै दुइ बर्ष अघि दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक सचिव विवेक शाहले एक पुस्तक विमोचन गराएका थिए । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसिमा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा लाग्यो । उनको अन्तर्वार्ता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुमाथि शंका गर्नु पर्ने अवस्था सृजना भयो ।
तीन दशकभन्दा बढी दरबारमा बिताएका विवेक शाहको उक्त पुस्तक प्रकाशन र उनको अन्तर्वार्ताको भोली पल्ट पंचायतीकालमा सबभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सौभाग्य पाएका सूर्य बहादुर थापाको अन्तर्वार्ता पनि बिबिसी मार्फत सुन्ने मौका पाइयो । उनको प्रतिरक्षात्मक शैली र झोकिएको आवाजले के आभास हुन्थ्यो भने उक्त पुस्तकले सबभन्दा बढी चोट सूर्य बहादुर थापालाई पारेको छ ।
विवेक शाह २०६० सालमा दरबारको सैनिक सचिव पदबाट अवकाश प्राप्त गरेपछि उनी तत्कालै कार्टर सेन्टरसंग आवद्ध भएका थिए । २०६२ / ६३ को आन्दोलन सुरु हुनु केही दिन अघि जिमी कार्टरले नेपाल भ्रमण गरेका थिए । त्यस वखत उनलाई यत्रतत्र घुमाउने व्यक्ति विवेक शाह नै थिए । सम्बिधान सभाको निर्बाचन हुने घोषणा भैसकेपछि निर्बाचन हुनु अघि बीचको समयमा पनि जिमी कार्टर पाँच दिनका लागि नेपाल पुगेका थिए । त्यतिखेर जिमी कार्टर बढि शेरबहादुर र आरजु देउवाको सम्पर्कमा रहे । उनि नेपालबाट न्यूयोर्कका लागि उडेको भोलीपल्ट तराइमा पार्टी गठन गर्ने घोषणा गर्दै “एक मधेश एक प्रदेश”को माग सहित बिभिन्न पार्टीका तराइबासी नेताहरुले आ—आफ्नो मूल पार्टीबाट राजीनामा दिए । अर्को तिर पहाडतिरका जनजातीले यदि जनजातीलाई आरक्षण नदिए वा समानुपातिक ढंगबाट सम्बिधान सभाको निर्वाचन नभएमा आन्दोलन गर्ने धम्की सहित जुलुस प्रदर्श भएको थियो । यी घटनाक्रमलाइ कागताली भनौ वा योजनाबद्ध ?
जिमी कार्टर दक्षिण एसियाका लागि सिआइएका जिम्बेवार ब्यक्ति हुन् । स्मरण रहोस् १९७० को दशकमा सिआइएले कार्टर सेन्टरमार्फत हेनरी किसिन्जरलाई प्रयोग गरी चीन तथा हिन्दचीनमा प्रभाव जमाउन सफल भएको थियो । पातलो संझना भए अनुसार नेपालका केही अखबारहरुले जिमी कार्टर कतै राजतन्त्रलाई निरन्तरता दिलाउने उद्धे्रश्यले नेपाल भ्रमण गरेका त हैनन् भन्ने प्रश्न चिन्ह समेत खडा गरेका थिए । यस प्रकारको प्रश्न चिन्ह खडा हुनु एक प्रकारले स्वाभाविक पनि थियो । किनभने दरबारमा सैनिक सचिवको पदमा वहाली रहँदा अमेरिकाको नजिक भएकै कारणले विवेक शाह पदमुक्त हुनासाथ कार्टर सेन्टरसंग नजिक हुन पुगे । दरबार हत्याकाण्डका बेला यदि उनि ज्ञानेन्द्रको नजिक नभएको भए सायद उनले यो पुस्तक लेख्ने समय पाँउथेनन् होला । यसैले अचानक विवेक शाहको कार्टर सेन्टरसंगको सामिप्यताले उनी दरबारमै कार्यरत रहँदाका अवस्थामा पनि अमेरीकी रणनीतिकारहरुसंग नजीक रहेको अनुमान गर्न सकिन्छ ।
यता पंचायतीकालमा भारतको नजिक रहेका सूर्यबहादुर थापाले उक्त पुस्तकबारे प्रतिरक्षात्मक अन्तर्वार्ता दिएको प्रसंगलाई हेर्ने हो भने अहिले नेपालको राजनीतिमा अमेरिका एवं सिआइए र भारत एवं रअको बीच प्रतिस्पर्धा रहेको बुझिन्छ । अर्को प्रसंग के रहेको छ भने विवेक शाहले आफ्नो पुस्तकमा पूर्ब प्रमं माधव नेपाललाई पनि भारतसंग नजिक रहेको ब्यक्तिका रुपमा सावित गर्न खोजेका छन् ।
विवेक शाहले आफ्नो पुस्तकमा यसरी प्रस्तुत गरेका छन्– ‘‘सैनिक हस्पिटलको पुस्तकालयको हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रमं कोइराला, प्रधान न्यायधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा.मोहसिन, राजपरिषद् स्थाई समितिका सभापति डा.रायमाझी र प्रमुख विपक्षी दलका नेता माधब कुमार नेपाल सम्मिलित बैठक बस्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो । मलाई के सम्झना छ भने यत्रो घटना भयो । अब यसको निश्पक्ष छानबिन हुनुपर्छ भनेर एमाले महासचिव माधव कुमार नेपालले निकै जोड दिनु भएको थियो । …..बैठक सकेर फर्कने क्रममा समेत उहाँले ‘‘आयोगमा म छुटौंलानी’’ भनीरहनु भएको थियो । तर गठन भैसकेपछि एमाले नेपालले के कारणले हो आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।’’
उक्त वाक्यांशले पूर्ब प्रमं माधव नेपाल द्धध चरित्र भएको भनी प्रमाणित गर्न खोजेको छ । विवेक शाहको यो आशय साँचो हो वा नेपालको लोकतान्त्रिक व्यवस्था र दलका नेताहरुको नैतिक छवि गिराउने अमेरिकी चाल हो ? राष्ट्रभक्त नेपालीहरुले यसबारे केही समय निधार खुम्च्याउनु पर्ने भएको छ ।
यो कार्य खास गरी नेकपा एमालेको काँधमापनि आएको हो । किनभने विवेक शाहले आफ्नो पुस्तक मार्फत माधव नेपालका राजनीतिक रुची र उनको आचरणलाई तल्लो दर्जाबाट प्रस्तुत गरेका छन् । त्यसैले त्यतीखेर नेकपा एमाले एवं माधब नेपाल स्वयंका काँधमा आएको जिम्मेवारी के थियो भने यदि विवेक शाह सिआईएबाट संचालित भएर यी कुरा लेखेका हुन् र उनका यी कुटिल वाक्यांशका पछाडि नेपालको राजनीतिक समिकरण अझै धमिल्याउने चाल थियो भने जनता समक्ष तथ्य सार्वजानिक गर्न सक्नुपर्थ्यो । पुस्तक प्रकाशन भएको दुइवर्ष पुरा भैसक्दा पनि पुस्तकमा आरोपित ब्यक्तिहरु चुप रहेको देखेपछि एक पत्रकार एवं राजनैतिक बिष्लेषक चुप लागेर बस्ने अवस्था रहेन ।




