शान्तिका नाममा हतियार बितरण र ओबामामाथी उठेका प्रश्न
• शशी पौडेल / बेलायत
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी नोभेम्बरमा हुन गैरहेको निर्बाचनका लागि फेरीपनि उम्मेबारी घोषणा गरेका छन् । बिगतको निर्वाचन प्रचारप्रसार क्रममा उनले आफ्नै पार्टी भित्रकी प्रतिद्वन्दी हिलारी ल्किल्टनलाई पराजित गर्न ‘परिवर्तन’, अनि ‘परिवर्तनको’ मूल मन्त्र जपेका थिए । त्यसैगरी राष्ट्रपति पदको निर्वाचनमा आफ्ना प्रतिद्वन्दी जोन म्याक्यानलाई ‘परिवर्तन’ कै मूलमन्त्रको आधारमा पराजित गरे । उनको विजय पश्चात संसारभर छरिएर बसेका अश्वेत जाती र अफ्रिकामा समेत ठूलो पर्व मनाइयो । केनियालीहरुले त आगामी दिनमा आफूहरुले काम नै गर्नु नपर्ने जस्तो सोचेका थिए । बाराक ओबामालाई त्यतीखेर ठूलो चुनौति आएजस्तो र उनले तीन अलग अलग समूहहरुको इच्छा र आकांक्षा अनुसार चित्त बझुाइदिनुपर्ने देखिन्थ्यो ।
प्रथम : संसारका गरीब मुलुकहरुमध्ये गनिने मुलुक केनिया र त्यहाँका जनताहरुको । वेलायतमा केनियाली जनताको ठूलै समुदाय छ । उनीहरु बेलायती सेनामा पनि छन् ।
केनियाको एउटा संगठनका नेताहरुमध्ये एक जनाले यो पंक्तिकारसित काम गर्छ । २००८ को निर्बाचनमा बाराक ओबामा निर्बाचित भएपछि उसले ओबामाको ठूलै फोटो आफ्नो छातीमा टाँसेर डयुटीमा आइपुग्यो । मैले उसंग प्रश्न गरें “यो के हो ?” उसको जवाफ थियो “तपाई लेखक, पत्रकारले बाराक ओबामालाई चिन्नुहुन्न ?” उसले ओबामाको तस्वीर भएको ब्याच आफ्नो छातीबाट झिकेर मेरो हातमा दिँदै अगाडि भन्यो “अब संसारको सबभन्दा ठूलो मान्छे । हामी केनियालीहरुको भाग्य विधाता । भबिष्यमा हाम्रो केनिया यति धनी हुनेछ कि संसारका अन्य कुनै मुलुकले छुन सक्ने छैनन् । अब हामी केनियाली जनता वेलायतमा काम गरिरहनुपर्ने छैन । बेलायती सेनामा भर्ती भैरहनुपर्ने छैन । बेलायतीहरुबाट शोषित पिडित भैरहनुपर्ने छैन । हामी सम्पन्न केनियाका जनता हुने छौं । आलिशान महलमा बस्ने छौं ।
दोस्रो : इन्डोनेसियाका जनता । उनीहरुले भनिरहेका थिए “बाराक ओबामा इन्डोनिसियामा हुर्के बढे र पढे लेखेका हुन् । उनको सबभन्दा पहिलो प्राथमिकता इन्डोनेसियाको गरिवी हटाउन, यहाँको विकास गर्न र इन्डोनेसियालाई सम्पन्न गराउनेतर्फ दिने छन् ।”
तेस्रो : अमेरिकी जनता । अमेरिकी जनताले ओबामाको मूल मन्त्र ‘परिवर्तन’ लाई भोट दिएका हुन् । उनीहरुले अमेरिकाको आमूल परिवर्तनको अपेक्षा राखेका थिए । ओबामाको पहिलो कर्तव्य आफ्नो मुलुक र त्यहाँका जनताप्रति थियो । चाहे ओबामा काला हुन् वा मिश्रित वंशका ।
अमेरिकी प्रगतिशील जनसमुदायहरुले पनि बाराक ओबामाको विजयलाई ‘एक प्रकारको प्रगतिशील कदम हो र रिपब्लिकनहरुको अँध्यारो राज्य व्यवस्था र विगत आठ वर्ष देखिको युद्धको भूमरीबाट मुक्त पाइने छ’ भन्ने जस्ता टिप्पणी गरेका थिए । तर नत केन्याली जनता धनी बने, न इन्डोनेशियाली जनता सम्पन्न । नत अमेरिकी जनता उनिहरुले सोचेजस्तो अध्यारो राज्य व्यवस्थाको युद्धको भूमरीबाट मुक्त भए ।
अव यदि अमेरिकी प्रगतिशील जनसमुदायहरुको राजनैतिक बिष्लेषणको कुरा गर्ने हो भने अमेरीकी इतिहासलाइ दोहोर्याएर हेर्नु पर्छ ।
अहिलेसम्मको इतिहासले सरकारमा चाहे प्रजातन्त्रवादी हुन् वा रिपब्लिकन, दुवैले सत्ताको दुरुपयोग गर्दै विश्वका न्यायप्रेमी जनताविरुद्ध जाइलाग्दै आइरहेका छन ।
प्रिय पाठक बृन्द !
म तपाइहरुलाई केही उदाहरणतर्फ ध्यान आक्रर्षण गराउन चाहन्छु ।
१९४८/४९ ताका अमेरिकामा डेमोक्रेटिक पार्टीका राष्ट्रपति हयारी एस् ट्रयुम्यान थिए । उनले जापानका निरिह जनतामाथि आक्रमण गरे । सो आक्रमणबाट हिरोसिमा र नागासाकीमा ठुलो नरसंहार भयो । उनले कोरियाको अन्त्य गर्ने धम्की दिए र १९५० देखि १९५३ सम्ममा तीस लाखभन्दा बढी ज्यान नष्ट गरे ।
जोन एफ केनेडी पनि डेमोक्रेटिक पार्टीकै थिए । उनले १९६३ मा भियतनाममा पहिलो सैनिक आक्रमण गरे । उनले क्युवालाइ नष्ट गर्न जाइ लागे । अहिलेसम्म पनि अमेरिकामा जोसुकै राष्ट्रपति बनेपनि क्युवा विरुद्ध राजनीतिक र आर्थिक नाकाबन्दी लगाउदै र सैनिक आक्रमणको योजना बनाउँदै आइरहेका छन् ।
अहिले सम्म पनि संसारभरी आफ्नो ‘मित्रताको पाहुर’ लिँदै हिँड्न चाहने पूर्व राष्ट्रपति जिमी काटर्रले पोलपोटको अन्त्य गर्ने धम्की दिएका थिए । ती उनै व्यक्ति हनु जसले करोडौंको संख्यामा न्युटन बमको निर्माण गराएका थिए । उनले नै पूर्वी टिमोर र इन्डोनेसियाको एकतालाई भंग गराएका थिए । त्यतिबेला अमेरिकी आक्रमणबाट इष्ट टिमोरमा दशौं लाखको नरसहांर गराइएको थियो । उनी पनि डेमोक्रेटिक पार्टीका हुन् भन्ने कुरा छिपेको छैन ।
आफूलाई ‘हयाण्डसम, स्टार अफ द वर्लर्ड ’ठान्ने अमेरिकी राष्ट्रपतिको कुरा गरौं । ती को होलान् जसले आफ्नो न्यानो हृदय र खुशीका आँखाले आफ्ना जनतालाई भेटने र हेर्ने गर्थे । तर उनले नै ल्याएको “वेलफेयर टु वर्क” नामक योजनाको कारणबाट गरीब हुँदै गैरेहका मध्यम वर्गीय जनतालाई झन गरीबीतिर धकेले भने एकल आमाहरु आफ्ना बालबच्चाहरुलाई घरमा एक्लै छोडेर काममा जान बाध्य बनाइए । यी थिए राष्ट्रपति विल क्लिन्टन । विल क्लिन्टनको यो योजना यदि रोनाल्ड रेगनले पनि उपभोग गर्न पाएको भए खुशीले गदगद हुँदै विल क्लिन्टनलाई आफ्नो गुरुको संज्ञा दिई विल क्लिन्टनको निम्ति रिपब्लिकन पार्टीको ढोका खोलिदिने थिए होलान् ।
१९९६ मा ‘हेल्मस बुट्रोने एक्ट’ नामक काननू बनाएर क्युवालाई अमेरिकासंग कुनै पनि कारोवार गर्न प्रतिबन्ध लगाउने पनि पूर्व स्टार राष्ट्रपति विल क्लिन्टन नै हुन् । उनले नै इराकमाथि धम्की दिन संयुक्त राष्ट्र संघलाई दबाब दिएका थिए । ओबामाको परराष्ट्रमन्त्री यिनै विल क्लिन्टनकी धर्मपत्नी हिलारी क्लिन्टन बनिन् ।
अमेरिकाभित्र अहिलेसम्म जति आन्दोलनहरु भए अमेरिकी राजनीतिक स्वतन्त्रताका निम्ति भए । अमेरिकी परराष्ट्र नितिका विरुद्ध भए । साम्राज्यवादी नितिका विरुद्ध भए । अमेरिकामा आन्दोलनहरु कम भएका छैनन् । तर दुर्भाग्य सबै आन्दोलनहरु पूँजिवादको स्वार्थको पोल्टाभित्र पसे । साम्राज्यवादी शक्तिले आन्दोलनहरुलाई हातमा लियो । ब्रिटिस र युरोपेली उपनिवेशको अन्त संगसंगै अमेरिकी साम्राज्यवादको एकाधिकार विश्वभर फैलियो । विश्वको कुनै न कुनै ठाउँमा अमेरिकी आक्रमणका कारण रगत नबगेको कुनै बर्ष छैन ।
दोस्रो विश्वयुद्धको अन्त भएर बारुदको गन्ध नमेटिँदै जापानको हिरोसिमा र नागासाकीमा नरसंहार गर्यो । हिरोसिमा र नागासाकीका जनताको मृत शरीर सेलाउन नपाउँदै कोरियामा तीसौं लाख मान्छे मारिए । कोरियाली जनताको रगतको खोलो सुक्न पाएको थिएन । १९६३ मा भियतनाममा अमेरिकी सैनिक आक्रमणबाट रगतको होली खेलियो । ७० को दशकमा पूर्वी टिमोरमा दशौं लाख मारिए । रगतको होलीको इतिहासलाई हेर्दा दोस्रो विश्वयुद्धदेखि १९९० को दशकसम्ममा शितयुद्ध नाइके अमेरिकाले आधा करोडभन्दा बढीको हत्या गर्यो । त्यसपछि अहिलेसम्म बाइस वर्षको अवधिमा इराक, अफगानिस्तान आदिमा भएका हत्या र आतकंको साक्षी हामी आफैं छौं । विश्वबाट समाजवादको अन्त्य गर्ने ठेकेदारको रुपमा समाजवादी मलुकुहरु विरुद्ध सगठनात्मक ढंगले नेटो जाइलाग्यो । शान्ति स्थापनाको नाममा हरेक वर्ष इजरायललाई दुइ सय मिलियन बराबरको हातहतियार उपलब्ध गराउँदै आइरहेको छ त्यसले ।
राष्टपति भवनमा प्रबेश गर्नुअघि उनको भाषणले विश्वका न्यायप्रेमी जनतालाई निरुत्साहित पारिसकेका थिए । उनले एउटा भाषणमा भनेका थिए, ‘मेरो जीवनभरीको राजनीतिक अनुभवमा क्युवामा कानूनी राज्य छैन । त्यहाँका जनताले तीन पुस्तादेखि प्रजातन्त्रको परिभाषा सुनेका छैनन् । त्यसैले अब क्युवालाई अमेरिकी प्रजातन्त्र र अर्थतन्त्र दिलाएर फिडेल कास्त्रोको राजनीतिक बन्धनबाट मुक्त गराउनु पर्छ ।’
सर्पको छोरा सर्पनै हुन्छ भने झैं ओबामा साम्राज्यबादी शक्तिराष्ट्र संयुक्तराज्य अमेरिकाका राष्टपति हुन् । उनले आफ्नो साम्राज्यवादी वर्ग चरित्र नदेखाएर के गरुन् बिचरा । आखिर केनियाली, इन्डोनेशियाली र अमेरिकी प्रगतिशील जनताको आशा हात्ती आयो हात्ती आयो फुस्सा भएपनि बाराक ओबामा पुन राष्ट्रपति चुनिने छन् ।




