बुटवल महाधिवेशन र बडा कणहरुलाई केही सुझाव

‘‘अव लामा र चिल्ला भाषणै गरेर मात्रैपनि हुँदैन रहेछ, नत लामो भूमिगत वा जेल परेको भनेरै जनताको मन जितिँदोरहेछ । चुनाव जित्नका लागि त जनताकै मन जित्नु पर्दोरहेछ।’’  

सरोजदिलु विश्वकर्मा   

 saroj-dilu-bishwakarma-1.jpgभनिन्छकम्युनिष्ट पार्टीमा धेरै विद्धान र विश्लेषकहरु ज्यादा हुन्छन्, जहाँ सामान्य कार्यकर्ता वा कणहरुको यस्ता सुझाव सल्लाहको कुनै अर्थ रहदैन । वरु उनीहरु यी मसिना कणले क्रान्ति गरेको अथवा तोडेको, फोडेको र भाँचेको रुचाउँछन् । त्यसै हुनाले यस्ता विद्धान र दिग्गजहरु रहने पार्टी अनवरतरुपमा फुटीरहन्छ, टुटीरहन्छ । त्यसैले सायद, मैले यहाँअव जुट्न पर्छ है कण हो !’ भन्दा ती प्रखर गन्यमान्यहरुको अपमान होला । तथापि, सुनेपनि, नसुने पनि, सुनेर, जानेर बुझ पचाएपनि शुभचिन्तक कणको हैसियतले मैले आफनो मन परेको पार्टीलाई सजग त गराउनै पर्छ । यही नै एउटा कार्यकर्ताको धर्म हो ।  

अव एकक्षण थोरै अगाडिको बिगतलाई फर्केर हेरौं । शब्द सापट लिएर भन्नुपर्दा हाम्रो यस गौरवशाली ऐतिहासिक पार्टी गत निर्वाचनमा ठूलो झट्का बेहार्नुको प्रमुख कारण भनेको हामै नेता काईकर्ताकाहरुको आचरणमा विचलन आउनु नै थियो । अर्को कारण भनेको २०५४ को स्थानीय निर्वाचनमा यस पार्टीले प्रचण्ड वहुमत ल्याएपछि नेताकार्यकर्ताहरु साँढे पातिए झै पातिएकाले हो, जसले पार्टी नै फुटाए । लगतै भएको आम निर्वाचनमा काँग्रेसलाई ताज परियाए र आफू थाङ्ना ओछ्याएर सुते । यतिमात्र होईन, लोकेन्द्रवहादुर चन्दलाई काँध थाप्दै सत्तामा आरोहण भयो भने विरेन्द्र हत्याकाण्डमा माओवादी जसरी बोल्यो, एमाले भने दाम राखेर ढोग्न पुग्यो । त्यसपछि प्रतिगमन आधा सच्चियो भन्दै हाम्रो एमाले देउवालाई दुलहा बनाएर सत्ताको जन्ती हिड्यो, जसले १४ हजार आफ्नै मलामीहरुको रगत र टाउको पुर्ने खाडल खन्न शुरु गरेको कुरालाई नकार्न सकिंदैन । त्यसले कार्यकर्ता पंत्तिमा ठूलो नैराश्यता जगायो र माओवादी जनयुद्धलाई चरमचुलीमा पुर्‍याउन सहयोग गर्‍यो । 

यतिमात्र होईन, जोजो सत्ता र त्यसका वरपर भन्किदैं र च्वास्सच्वास्स चाख्दै हिँडे, तिनले जनताको भावनामाथि ज्ञानेन्द्र शाही सरकारकै शैलीमा मानसिकरुपले बिझिरहने गरी सुईरो हाने । कतिलाई त तिनैले जर्वजस्ती माओवादी बन्न वाध्य पारे । पाएसम्म प्रयोग गर्ने र गरीसकेपछि भरसक दोधारे कुरा गरेर अल्मल्याउने, नअल्मलिए लात्तले हानेर जंगलतिर धकेलिदिने कुकार्यले अन्तत्वगोत्वा सिंगो पार्टीको छवि नै धमिलियो । र अन्तमा, यसले यदि शान्ति सम्झौताको अगुवाई नगरेको भए, आज एमाले रत्नपार्कमा वदाम खाने जत्थासंगै हराउन पुग्थ्यो । यतिका वावजुद यो पनि सिकिएको छ, अव लामा र चिल्ला भाषणै गरेर मात्रै पनि हुदैन रहेछ, नत लामो भूमिगत वा जेल परेको भनेरै जनताको मन जितिँदोरहेछ । चुनाव जित्नका लागि त जनताकै मन जित्नु पर्दोरहेछ ।  हो, जुनसकै कार्यकर्ताहरु पार्टीमा लागेपछि उसको केही न केही आशा, भरोसा र इरादा हुन्छ । त्यसलाई खाईपाई आएका नेता कार्यकर्ताहरुले कहिलेपनि बुझ्ने चेष्टा गरेनन् ।

यथार्थमा भन्ने हो भने स्थानीय र जिल्ला स्तरका धेरै कार्यकर्ताहरुमा आजपनि नक्कली कम्युनिष्ट आचरण छ, जो दिनभरी बाख्रा बन्छन्, रातभरी स्याल बनेर जंगलतिर वाख्रा तान्छन् । उनीहरु आजपनि पद र पैसाका लागि बढो क्रान्तिकारी देखिने गरेको, तर आचरणमा काग्रेसीभन्दा फरक नदेखिएकै हो । अर्कोतिर गैह्र सरकारी संस्थामा लाग्ने हरित कणहरुले चानचुने कणहरुमा पार्टीप्रतिकै वितृष्णा पैदा गरिदिएका छन् । जवकी ऊ एकजनाले एन्जीओमा जागीर पायो भने चुपचाप अरु १० जनालाई वेरोजगार बनाएको छ । यतिमात्र होईन, सिंङ्गो पार्टीपंक्तिमा घुमाउने, खेलाउने र अनि आफूचैं अड्डा जमाईरहने चरम वाहुनवाद देखिएको छ, जुन हिजोका सामन्तहरुभन्दा फरक छैन । परिणामतः पार्टी महासचिव नै दुई दुई क्षेत्रमै पराजित हनुपरेको हो । यस्तो संस्कारले मधेसी धारलाई पार्टीबाट मधेशतिरै अलग्गिन वाध्य पारेको छ । जनजातिलाई जातीयतातिर जान बाटो खोलिदिएको छ । दलितलाई विकल्पको दल रोज्न विवश तुल्याएको छ । यी कुराहरुलाईसमेत यो महाधिवेशनले गम्भिर विश्लेषण गर्नै पर्दछ । हो, पछिल्लो दिनमा आएर माओवादी उदण्डताले भनौ या पार्टीमा नयाँ नेतृत्वको कारणले कार्यकर्ताहरुमा फेरि केही आशा पलाएको सत्य हो । जसलाई नेताज्यूहरुले आत्मआलोचना गरेको हुनुपर्दछ ।  

हुन त, केही खाईपाई आएका नेता कणहरुले कांग्रेसलाई नै नजिकको मित्रशक्ति ठानीरहेका छन् जसले १४, १५ वर्षसम्म एमालेलाई मुसोझैं खेलायो र अहिले पनि ऊ कम्युनिष्टहरु लडेर गुल्टेको हेर्न लालायित छ । जसलेगर्दा कार्यकर्ताहरु थप अन्यौलता श्रृजना गरिदिएको छ । जवकी, जतिसुकै जन्मजात शत्रु नै भएपनि आफ्नो गोत्र वा वंश भनेको आफ्नै हुदोरहेछ । उसैले नै आपतविपतमा पराय आक्रमणदेखि बचाउँदछ । यहाँ भन्न खोजिएको वामवीच एकता र सहकार्य भएमा मात्र यो देश बलियो हुन्छ । जनता एकताको सुत्रमा संगठित हुन पाउने छन् । मुलुकमा स्थिरता छाएर आमूल परिवर्तन हुन सक्दछ । जवकी, आज ६२ प्रतिशत जनता कम्युनिष्ट छन् र वामहरुवीच एकता हुने हो भने यो ८० देखि ८५ प्रतिशतसम्म पुग्नेछ । र, त्यसैले नै सरकारलाई चीनको जस्तो स्थायित्व दिई मुलुकलाई फड्को मार्ने बाटो खोलिदिन सक्दछ । होईन, पुरानै वेदो ब्याख्यान् अथवा मार्क्सवाद, लेनीनवाद अनि अरु वादको मन्त्रमात्रै जप्ने हो भने यो पण्डितबाकोहरि ओम् तसतम्तसतम्…’ भन्दा फरक हुनेछैन । अथवा मतदातालाई आआफ्नो जजमान् बनाउने हो भने यो पण्डित्याईं अव पुरानो भईसक्यो, जुन काँग्रेसलेसमेत छोडिसकेको छ । अथवा ठूला कणहरुले गौदानमा पाएको बाच्छीको पुच्छरमात्रै तानातान गरेर वैतर्नी तर्न खोज्ने हो भने अवको केही वर्षमा यो गौरवशाली एमाले असोज १८ पछिको रत्नपार्कको वथान झैं बन्न बेर लाग्दैन । 

अहिले माओवादीले साना वामदलहरुसंग एकीकरण आरम्भ गरीसकेको छ । उसले आफ्नो अभियानलाई तिब्र बनाइरहेको घढीमा एमालेले चैं मेरै टुपी लामो भनिरहनु जायज हुन्न । अतः हाम्रो पार्टीपनि यो महाधिवेशनले भरसक साना दलहरुलाई पार्टीमा स्थान दिई एकीकरण गर्दै लाने दिर्घकालिन रणनीति बनाउने र नेकपा माओवादीसंग वर्गशत्रुत्वको ब्यवहार गर्ने होईन, आलोचनासहितको दिर्घकालिन सहकार्य गर्दै मुलुक बनाउने पहिलो शर्तलाई अघि सार्नु पर्दछ । सवै वामदलवीच केन्द्रदेखि गाउंस्तरसम्म त्यही किसिमको अन्तर्क्रिया र अन्तरघुलन हुनु आवश्यक छ । किनकी, जसोजसो टुपी उसोउसो पुच्छर नचाउन त सजिलो छ, अथवा फुटको राजनीतिले जनता खेलाउन र नातागोता, इष्टमित्र, दाजुभाई, समाज र समुदायलाई एकआपसमा लडाउन सकिन्छ, तर मुलुक बन्दैन रहेछ । मुलुक निर्माणका लागि त वामदलहरुवीच सकभर एकता, सो नभए दिर्घकालीन सहकार्य अत्यावश्यक छ । अतः इतिहासलाई बिर्सेर सीपी मैनाली, चित्रवहादुर केसीदेखि अन्य वाम मित्रहरुलाई समेट्न हाम्रो पार्टीले अ कदापी कन्जुस्याई गर्न हुन्न । पार्टीका नेता तथा कार्यकर्ताहरुलेसमेत आआफ्नो आचरणमा परिवर्तन गर्दै नागेन्द्र पासवानहरुसम्मलाई अटाउन सक्ने वातावरण बनाउनु पर्दछ । वुटवल महाधिवेशनको अग्रीम शुभकामनासहित छोटा कणहरुको यही सुझाव ।

तपाइँको प्रतिक्रिया