अध्यक्ष त्याग्ने प्रचण्ड चारो

योगेन्द्र चापागाइँ

संविधान सभा भंग गरिएपछि एमाले र कांग्रेसले जति पेलान दिन लागे त्यो भन्दा बढि पेलान आफ्नै पार्टीको क्रान्तिकारी बिचार समूह भनिने बैध्य पक्षको झेल्दै छन् प्रचण्ड । प्रचण्ड र बाबुरामको शान्ति र संविधानको एजेण्डा असफल भएकाले राजिनामा मागे । चतुर प्रचण्डले भनिहाले “पार्टी एकताकालागि म अध्यक्ष पद त्याग्न तयार छु”। त्यसले तरंग ल्यायो ‘ल प्रचण्ड कस्तो त्यागी । स्वार्थबिहिन, पार्टीका लागि ज्यान दिने । पार्टी एकताका पक्षधर ।’ तर सोचबिचारै नगरि, किन पार्टीमा सल्लाहनै नगरि पद त्याग्छु भने ? साँच्चै यो प्रचण्डको त्याग हो कि अर्को चतुर्‍याइ ? कि बैध्य पक्षलाई फालेको चारो ? साँच्चै पदबाट बाहिरै बस्नु पर्ने अवस्था भए त्याग्छन् प्रचण्डले अध्यक्ष पद ?

पार्टीमा स्पष्ठ बहुमत छ प्रचण्डको । अहिले राजिनामा माग्नेमा करिब चालिस प्रतिशत छन् भनिन्छ केन्द्रिय समितिमा । आफ्नो पक्षमा बहुमत हुँदा हुँदै किन अध्यक्ष पद त्याग्छु भने त ? यस्सो हेर्दा यसले प्रचण्डलाई त्यागि देखाउला । तर यसभित्रको खेल, दाउ र अन्तर्वस्तु भिन्न छ । आफ्नो पक्षमा बहुमत हुँदा हुँदै अध्यक्ष त्याग्न तयार भन्नासाथ पार्टी एकताका पक्षमा प्रचण्ड गम्भिर भन्ने सन्देश तल्ला कार्यकर्ता र आम जनतामा जाने भयो । “मेरो पक्षमा केन्द्रिय समितिमा बहुमत हुँदापनि मैले पद त्याग्न खोजें । तर बैध्य पक्षले मानेनन् । ति पार्टी एकताका बिरोधी हुन्” भन्न पाइयो । यसलाई शिष्ठ पेलानको नीति भन्न मिल्छ ।

बैध्य पक्ष भन्दै छन् ‘अध्यक्षको राजीनामा मुख्य विषय होइन।’ मुख्य कुरो विचार, राजनीति र कार्यनीति हो । उनीहरुले अध्यक्षलाई विगतको कार्यदिशा सच्याउनुपर्ने अडान राखेका छन् । बिगतको कार्यदिशा भन्नाले शान्ति र संविधानको कार्यदिशा । त्यहि कार्य दिशा सचयाउनका लागि अध्यक्षले राजिनामा दिने भनेपनि पार्टीमा अध्यक्ष पदमात्रै फेरेर फेरी यहि कार्यदिशामा जाने, फेरी संविधान सभाको निर्वाचनमा जाने भन्न खोजेका होइनन् ।

तर बास्तबिकता के हो भने प्रचण्ड न त अध्यक्ष पद त्याग्ने मनशायमा छन् । न उनलाई त्याग्ननै दिईन्छ । उनले त्याग्ने निर्णय गरेपनि आखिर पार्टीमा उनैको बहुमत छ । बहुमत केन्द्रिय सदस्यले उनको निर्णय स्विकार नगर्ने खेल खेल्छन् । कि त नयाँ अध्यक्षलाई बहुमतको निर्णय भन्दै हटाएर पुन प्रचण्डलाईनै स्थापित गराउँछन् ।

प्रचण्डले पद छोडेर बैध्यलाई अध्यक्ष बनाएपनि पार्टीमा कार्यनीति पास हुन त दिँदैनन् संस्थापन पक्षले । अनि लौ तिम्रो कार्यनीतिनै पास हुन सकेन भनेर पाखा लगाउन अझ सहज हुने भयो । पार्टी सुधारको नीति भए पो हुन्छ, मिलेर जान सक्छन् । बिचारको बहस र अगाडि सारिएको कार्यनीति स्थापित गराउने कुरो हुन्छ । चलाखी गरेर आफ्नो हात माथि पार्न र बैध्य पक्षकालाई अझ कमजोर बनाउने उद्देश्यले अध्यक्ष त्यागको चारो मिल्काएकाले माओवादीभित्र पार्टी एकता होला भनेर सहजै विश्वास गर्ने आधार देखिन्न ।

संस्थापन पक्षको अर्को तुरुप त बाँकिनै छ राष्ट्रिय भेला वा महाधिबेशनको । बहुमतको निर्णय अनुसार उनीहरुले त्यो बोलाउन सक्छन् । त्यहि भेला वा महाधिवेशनबाट प्रचण्डलाई पूनर्स्थापित गराउँछन् । पार्टी फुट्ने लगभग निश्चित भएका बेला यो चारो किनपनि फालेका हुन् प्रचण्डले भने “अध्यक्ष पद त्यागेर बैध्यलाई बन्नुस्, आफ्नो कार्यदिशा ल्याउँनुस्, मिलेर जाउँ भनेर सबै बिकल्प खुल्ला राख्दापनि नमान्नेलाई के गर्ने ? उनीहरु जसरिपनि फुटेरै जान खोजेका फुटपरस्त हुन् भनेर सिद्द गर्ने र फुटबादी भन्दै कारवाहीको डण्डा मच्चाउन सजिलो होस् भन्ने आशयपनि हुन सक्छ ।

यो अध्यक्ष पद त्यागको चारो झन भिन्न बिचारलाई अलगथलग पार्ने खेलपनि हो । त्याग गरेको देखाउने । फेरी आफैंलाई स्थापित गराउन लगाउने । बैध्यलाई केहि छोटो समयकालागि अध्यक्ष बनाउने । अनि पार्टीमा उनी प्रति विश्वास नभएको, उनको कार्यदिशा र नीति पाच्य नभएको, पार्टीमा बहुमतको विश्वास जित्न नसकेको भन्दै आफैंलाई पूनर्स्थापित गराएर अर्को पक्षलाई झन कमजोर बनाउने खेल हो यो ।

त्यसो त बैध्य पक्षलाईपनि सजिलो छैन । संविधान सभाको बिरोध त गरे । तर आगामी नीति के त ? सशत्र विद्रोहपनि अहिलेनै गर्ने होइन भन्छन् । संविधान सभाको निर्वाचनमापनि नजाने भन्छन् । त्यसो भए पार्टीको अबको नीति के ? कार्यनीति के हुने ? कस्तो हुने ? शान्ति र संविधान को कार्यनीति असफल भयोपनि भन्दै छन् । अर्कोतिर संविधान सभा भंग गरेर षडयन्त्र भयोपनि भन्दै छन् । संविधान सभाको निर्वाचन नाटक हो भन्दै छन् ।

सशस्त्र बिद्रोह नगर्ने, संविधान सभाको निर्वाचन पनि नौटंकी हो भने तेस्रो बिकल्प के हो त ? खै बैध्य पक्षले स्पष्ठ पार्न सकेको ? अहिले त खाली संस्थापन पक्षको बिरोध कैलागि मात्रै झैं देखिएको छ । त्यसैले क्रान्तिकारी धारको नेत्रित्व गरेको भनिएपनि उनीहरुकै कार्यदिशा स्पष्ठ छैन । संस्थापन पक्षकाले भनिपनि सकेका छन् “आफूलाई क्रान्तिकारी धारको नेत्रित्व गर्ने भनेपनि उनीहरुको कार्य नीति के हो केहि स्पष्ठ छैन ।” संस्थापन पक्षलाई गतिलोसित टक्कर दिन र संविधान सभाको निर्वाचन औचित्यहिन हो भनेर जनता र पार्टी कार्यकर्तालाई बुझाउनपनि बैध्य पक्षले आफ्नो कार्य नीति के हो स्पष्ठ पार्नै पर्छ ।

तपाइँको प्रतिक्रिया