को को रैछन त माओवादीभित्रैका गुप्तचर ? (दोस्रो भाग)
‘‘नेत्रित्वको एक थरीले शुरुदेखिनै प्रचण्डलाई र अर्को थरीले बाबुरामलाई प्रभावित गरिरहन्थे’’
(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस)
● जुन समयमा हामी गिरफ्तारीमा पर्यौं, त्यसको केहि दिन अगाडि केन्द्रिय सचिवालय (पोलिटब्युरो) को बैठक सम्पन्न भएको थियो । बैठक असाध्यै पेचिलो भएको खबर थियो । त्यहि बैठकले रणनैतिक प्रत्याक्रमणको पहिलो योजना तय गरेको थियो । त्यसैले त्यो रणनैतिक प्रत्याक्रमणको निर्णय विश्वसाम्राज्यवादकै बिरुद्द सीधा टक्कर थियो । यस्तो स्थितिमा अमेरिका र भारतको सहमतीका आधारमा अमेरिकी दलाल मानिने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र भारतले जनयुद्दकाबिरुद्द निर्णायक प्रहार गर्ने योजना बनाएको देखिन्छ । पटनामा हाम्रो गिरफ्तारी र काठमाडौंमा देउवाको प्रम मा नियुक्ति एकै दिन हुनु संयोग मात्र थिएन । त्यसैले हामीमाथिको आक्रमण जनयुद्दका बिरुद्दमात्र नभएर नेपालको आन्तरिक मामलामा बिदेशी हमला थियो । देउवा सरकारको दलालीकरण थियो । नेपालको राष्ट्रियताप्रति भारतीय बिस्तारबादको आक्रमण थियो । नेपाली जनताको सामन्तबाद-साम्राज्यवाद बिरुद्दको विद्रोहमाथिको हस्तक्षेप थियो ।
● भारतिय विस्तारवादले माओवादी पार्टीको शुरुमै किन घाँटी निमोठ्ने प्रयास गरेन त ? पहिलो, शुरुमा नेपालका अन्धा शासकहरुलेझैं उनीहरुले जनयुद्दको विकासको संभावमा यति तिब्र होला भनेर अनुमान गरेनन । दोस्रो, जनयुद्दको विकास निर्णाय भएर जाने छैन, शक्ति बढ्दै गएपछि एमालेकरण गर्न सकिन्छ र सधैं नेपालमा अस्थिरता पैदा गराएर लुट्न सकिन्छ भन्ने आँकलन गरेका थिए । तेस्रो, यदि जनयुद्दको प्रभाव बढ्दै गयो भने अमेरिकासहित विश्वजनमतले जनयुद्द दबाउन भारतलाई समर्थन गर्ने छ र त्यहि बहानामा नेपालमा भारतिय सेना प्रवेश गराएर नेपालमाथि लामो समयसम्म लुट्न सकिन्छ भन्ने थियो । तर भारतिय बिस्तारवादको त्यो मनोगत धारणा मात्र थियो । तसर्थ, हाम्रो गिरफ्तारी विश्व साम्राज्यवादको नियोजित आक्रमणको कडी नै मुख्य कुरा थियो ।
● हाम्रो नेत्रित्व तहबाट ‘आवश्यकता र स्वतन्त्रताको द्वन्दवाद‘ का सन्दर्भमा मतभेदहरु भएको कुरा तलसम्म नेत्रित्वबाटै ल्याइएको थियो । अरु कुरामा वैचारिक मतभेद औपचारिकतामा छैनन । तर मुख्य नेत्रित्वका बीचमा जनयुद्दपूर्वदेखिनै मतभेदहरु महसुस गरिन्थ्यो । प्रचण्डपछिको उत्तराधिकारी को ? भन्ने जुँगाको लडाईका रुपमा देखिन्थ्यो त्यो । अमूक व्यक्तिहरुलाई दोस्रो नेता ठान्ने घोषणा गरिदिनुपर्यो, स्थापित गरिदिनुपर्यो भन्ने तर पार्टी संगठनमा त्यो स्थिति नहुनुनै मुख्य समस्या हो भन्ने मलाई लाग्छ । बिचारमा बिमती राख्न नसक्ने अवस्थामा संगठनमा पकड बनाउन होड चलेको देख्थें म ।
● नेत्रित्वको एउटा तह जनयुद्दको प्रारम्भदेखिनै वर्ग संघर्षका घनिभूत क्षेत्रबाट प्रिथक थियो । त्यो सहर र मुख्य रुपमा प्रवासमा रहन्थ्यो । उनीहरुमा मनोगतबाद र आत्मकेन्द्रित व्यक्तिबादले सिमा नाघ्दै थियो । उनीहरु मध्ये एकथरीले प्रचण्डलाई र अर्को थरीले बाबुरामलाई प्रभावित गरिरहन्थे । यो समस्या धेरथोर तलमाथि सबैतिर हुने नै भयो ।
● दुश्मनले क्रान्तिकारी मुख्यलय प्रति असन्तुष्ट पक्षलाई काखी च्याप्ने, त्यसप्रति नरम नीति लिने, क्रान्तिकारी पक्षलाई प्रहार गरेर खुम्चिन बाध्य पार्ने र अल्पमत वा कमजोर पक्षलाई फैलिने भौतिक वातावरण बनाउने गर्छ । तसर्थ, हाम्रो सामूहिक गिरफ्तारी संयोग नभएर नियोजित षडयन्त्रको परिणाम थियो भन्ने निचोडमा अरु साथीहरुझैं मपनि पुगेको थिएँ । भारतिय बिस्तारबादले नेपालको सर्वहारा मुख्यालयनै कब्जा गर्ने योजनाका साथ हामीमाथि हमला गरेको थियो ।
● हाम्रो गिरफ्तारीको कारणलाई राजनीतिकरुपमा हेर्दा घटना संयोग भन्न सकिन्नथ्यो । यहि प्रकारको सामूहिक पत्र केन्द्रमा हामीले सामूहिक र अलग अलग गरेर पठाएका थियौं । नेपालका अखबारमा ‘नाम तोकेर अन्तरघात‘ भनेका समाचार गएको खबर जेलमै आएको थियो । ति समाचार कसरी गएका हुन ? मलाई थाह थिएन । अमूक ब्यक्तिहरु पटनामा गिरफ्तार भएपछि गलेर आफु बच्न भेद खोले कि भन्ने नै बढि लागेको थियो । त्यसबेला अनुसन्धानका क्रममा क सुनिल (देबेन्द्र पौडेल) ले केन्द्रिय समितिबाट राजिनामा र क जमिन, क विवेक, क रोशन, क कल्पनाहरुलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको खबर हामीलाई दिइयो । सुनिलहरुलेनै चाहेको भए त हामीलाई मात्र होइन, मुख्यालयलाई नै आक्रमण गर्न सक्थे नी भन्ने पनि लाग्थ्यो । तर यो त्यति बलियो तर्क थिएन । बजारमा मात्रै होइन, आफ्नै मनभित्रसमेत अनेक तर्क र अड्कलबाजीहरु भएपनि घटना नियोजित नै थियो ।
क्रमश :




