माओवादीले एउटै गरेन राम्रो काम ?
–रञ्जन
मैले केहि दिन अघि एउटा ब्लग पढेको थिएँ कांग्रेस, एमाले, माओवादी सबै खत्तम, राम्रो चैं कुन त ? शिर्षकमा । त्यसमा केहि छलफल देखें । धेरैले माओवादीले गरेका राम्रा कामहरु कि त थाह नपाएको, कि त जानी जानी अवमूल्यन गरेको, कि त यो ब्लग पढ्ने धेरै पाठक माओवादी बिरोधी भएको जस्तो लाग्यो । त्यसैको प्रत्युत्तरमा मैले यो लेख लेख्ने कोसिस गरेको छु । यो साईटमा भएका अन्य लेख र समाचारपनि धेरै आलोचना माओवादीको गरेजस्तो लाग्यो । कि त यो वेब साईटलेनै माओवादीलाई स्थान नदिने गरेको हुनुपर्छ । यो लेखले माओवादीले गरेका थुप्रै सकारात्मक कामहरुबारे सबैलाई जानकारि दिन्छ भन्ने मैले बिश्वास लिएको छु ।
एकिक्रित माओवादीले (सरकारमा गएको त नेकपा माओवादी मात्रै हुँदा हो) सरकार चलाएको करिब छ महिना भयो । त्यो त्यति लामो समय होइन । तिन महिनालाई त हनिमूनकाल नै मानिने चलन छ । त्यसपछिका तिन महिना हुन । यि तिन महिनापनि मूलत बिभिन्न पार्टीका नारा जुलुस, बन्द र हडतालले सरकारलाई हैरान पारेको छ । राम्ररी काम गर्न पाएको छैन । त्यहि माथिपनि झण्डै एक महिना त संसद अधिवेशनमै बित्यो । सरकारमापनि बिभिन्न प्रक्रिति, नारा, लक्ष्य, दाउ र पूर्णरुपमा फरक परिस्थितिबाट आएका खिचडी दल छन । वास्तबमा यति धेरै दलको सरकार संभवत यस अघि बनेकै थिएन । त्यसले पनि झन अप्ठ्यारो पार्ने निश्चितै हो । किनभने नेपाली कांग्रेसले आफ्नै सरकार त खिचलोले टिकाउन नसकेर मध्यावधी निर्वाचनमा गएको हामीले देखेकै हो ।
त्यसैले मुलत यो सरकार बनेकै धेरै लामो समय भएको छैन । अर्को पक्ष के छ भने निश्चितै रुपमा माओवादी र फोरमसँग सरकार सञ्चालनको अनुभव छैन भलै दुबैतिर पहिले सरकारमा पुगेका वा संसदमा उपस्थिति जनाएका केहि ब्यक्ति होउन । सरकार सञ्चालनको अनुभव लिनपनि अवश्यै केहि समय चाहिन्छ नै । चार पाँच वटा पार्टी मिलेर चलाएको सरकार के पहिले यति समयपनि टिकेको थियो ? अनि हरेक पटक सरकार बदलिँदा कति समस्या हुन्छ प्रशासनमा । प्रशासनिक हेरफेरमा ? तिनको काम गराईमा ।
● यहि सरकारलेपनि के गर्यो त भनेर राम्ररी केलाउने हो भने केहि राम्रा काम त भएकै छन । हेर्नुस त, वर्षौ वर्षदेखि करोडौं करोड कमाएर लुकाएर बसेकाहरुलाई अहिले सरकार ठेगान लगाउँदै छ । स्वयं कर घोषणा गरे लगत्तै अहिले एकै दिनमा करोडौं रकम राजस्वमा जम्मा भैरहेको छ । के पहिलेको सरकारले यति काम गर्न सकेको थियो ? बरु पहिलेका सरकारका पालामा त त्यस्तो कर नतिर्नेहरुको संख्या बढेको बढ्यै थियो । यो थिति बस्यो भने के आगामी सरकारलाई पनि सजिलो हुन्न र ? यो देशको हितम छैन र ?
● यो सरकारको सबै भन्दा ठुलो काम आफुले भ्रष्टाचार गरेर देशलाई थप कंगाल नबनाउनु हो । एमाले र नेपाली कांग्रेसका पालामा पहिले कति हुन्थ्यो भ्रष्टाचार ? नेताहरुले कति खाए ? रातारात कसरि बिमानस्थलबाटै सुन ओसारिए ? कति नेताले भवन ठ्ड्याए ? बिदेशमा पेट्रोल पम्प किन्ने नेतासमेत भएनन कांग्रेसका ? तर के अहिलेको सरकारले त्यसैगरि भ्रष्टाचार गरेर खाएको छ ? भ्रष्टाचार गरेको भए के बाहिर आउने थिएन ? माओवादीको भनेपछि कतिखेर तिललाई सुमेरु पर्वत झै ठड्याएर लेखौंला भन्दै बसेका र हरेक दिन मुख्य समाचार नै सकिनसकि माओवादीबिरुद्द बनाएका अहिलेका पत्रिकाले छोड्नेथिए ? ल भन्नुस त, टेलिफोनमा भ्रष्टाचार, संस्था दर्ता गर्न पनि भ्रष्टाचार, मट्टितेल, तेल, मसला जेमापनि भ्रष्टाचार भएको छ ? रातो पासपोर्टको दुरुपयोग गरेर आफ्नै बहिनी र छोरीसमेतलाई स्वास्नी बनाएर बिदेश पुर्याउने काम गरेका छन अहिलेका मन्त्रीले ?
● सबै भन्दा सकारात्मक पक्ष त यो सरकारको के हो भने माओवादी शान्ति वार्तामा आएपछि कति मानिसका ज्यान बचे ? उ शान्ति वार्तामा बसेदेखिनै गन्नुस त । युद्दकालमा सरदर दिनमा १० ब्यक्तिको ज्यान जाने गरेको थियो चाहे जुन पक्षको होस । अहिले एक वर्षको मात्रै हिसाब गर्ने हो भनेपनि ३६५० ब्यक्तिको ज्यान बचेन ? के यो सकारात्मक पक्ष होइन ?यसलाई सरकारले गरेको राम्रो काम नै नभनेपनि कमसेकम देशमा थप हिंसा त भएको छैन र उ प्रजातान्त्रिक मूल, आचरण र सरकार सञ्चालनको प्रक्रिया त सिक्दै छ । उसका कार्यकर्ताहरु त्यहि दिशामा प्रशिक्षित हुँदै छन । उसलाइ न त सरकार छोडेर भाग्न सजिलो छ नत मारमुंग्री मच्चाउन जान । यसैगरि टिक्यो भने त्यत्रो जनयुद्द गरेको पार्टी के परिवर्तन नभइ सुख छ ?
● अहिले कर्मचारीहरुलाई छड्के जाँच्न थालिएको छ । १५ मिनेट ढिलो कार्यालय पुगे कारबाहीमा पर्न थालेका छन। कम्तिमा यसले बेलैमा कार्यालयको काम गर्ने थिति त बसाल्न खोज्दै छ । अनि वर्षौं वर्षदेखि सधैं राजधानी र सुगममा पहुँच र शक्तिका भरमा बसेका कर्मचारीहरुलाई दूर्गममा पठाउने, सधैं दूर्गममा खटिएकालाई सूगममा ल्याउने । राजधानी खुट्टोसम्म नटेकेका कर्मचारीलाई दुई वर्ष भएपनि राजधानीको अनुभव लिन दिने निर्णय गरेको छ सरकारले । भन्सार, अध्यागमन, बिमानस्थल, यातायात बिभाग जस्ता भ्रष्टाचार गरेर महिनामै करोडौं कुम्ल्याउने गरेका कार्यालयको निगरानी शुरु गरिएको छ । के यो राम्रो पक्ष होइन ?
● पहिले कूटनितिक हस्तक्षेप कति हुन्थ्यो ? अमेरिकी र बेलायती राजदूत नेपाली सैनीकको हेलिकोप्टर चढेर हाम्रा सैनीक क्याम्प चहार्थे । यो त हामीले देखेकै हो । अनि अनि अर्ती र उपदेश दिन्थे यसो गर र उसो गर भन्दै । के त्यसरी मनपरी गर्न दिएको छ अहिले सरकारले ? अवश्यै बोलेका छन तर पहिले जस्तो छैन मनपरी । नेपाली सेनाका उच्च अधिकारीलाई हाकाहाकी बोलाएर अर्थ्याउँथे । त्यस्तो कुरा रक्षा मन्त्रालयमा जनकारीसम्म हुँदैनथ्यो । अहिले केहि घटना भएका छन तर हाकाहाकी नभएर लुकिचोरी । कमसेकम उच्च सैनिक अधिकारी र दुतावाससमेतलाई डर त भएको छ अहिले ।
● कम्युनिष्टको सरकार आयो भने ६० वर्ष पुगेकालाई गोली हानेर मार्छ रे भन्दै कांग्रेसका मान्छे गाउँ गाउँ भोट माग्दै हिँड्थे । टाढा किन जाने मेरै बुवा आमालाई समेत त्यसो भनेका थिए । त्यहि कांग्रेसले ब्रिद्द ब्रिद्दालाई केहि गरेन । माओवादी नेत्रित्वको सरकारले मासिक ५०० रुपियाँ दिने निर्णय गर्यो । भलै त्यसले पालिन त नपुग्ला । तरपनि बिकट गाउँमा नुन तेल किन्न त पुग्छ । हनहनी ज्वरोले पोलेका बेला दुई वटा सिटामोल किनौं भन्दा थैलीमा दुई चार रुपियाँ त भेटिन्छ । अनि बुढाबुढीले आफु सम्मानित भएको महसुस त गर्न पाउँछन । यसलाई के सकारात्मक रुपमा नलिने ?
● माओवादीले गरेको अर्को सकारात्मक काम हो-साना किसानहरुले क्रिषी बिकास बैंकबाट लिएको ३० हजार रुपियाँसम्मको ऋण मिनाहा । यसमा कोहि किसानले बाख्रा पालन, मल बिउ खरिद यस्तै यस्तै साना काममा दुई तिन हजार रुपियाँ ऋण लिएका थिए । तिर्न नसक्दा त्यो ब्याजको स्याज र स्याजकोपनि ब्याज जोडिँदै गएर तिर्नै नसक्ने अवस्था भएको थियो । भएको त्यहि सानो करेसो बारीपनि सरकारले कतिखेर लिलाम गरिदिने हो भन्ने त्राहिमाम थियो कतिपयलाई । कम्तिमा त्यति रकम भएपनि सरकारले मिनाहा गरिदियो । देशभरि त्यसरि मिनाहा गर्नु सानोतिनो कुरो होइन । त्यसले सरकारलाई निकै रकम घाटा लाग्छ ।
(यो लेख झण्डै आठ प्रिष्ठ लामो थियो । “तपाईले माओवादी बिचारलाई निषेधनै गर्ने ?” भन्दै पटक पटक इमेल मार्फत यो लेख छापिदिन आग्रह गरिएपछि निकै सम्पादन गरेर मुख्य मुख्य भागलाई यहाँ बहस चलाउनकालागि प्रकाशन गरिएको हो। यो लेखमा नेपालप्लसको पूर्ण समर्थन र बिरोध दुबै छैन। प्राप्त लेखको आधा भाग सम्पादनकालागि सहयोग गरिदिने साथी दिपक बस्यालजीलाई धेरै धन्यावाद। यसको बाँकि भाग अर्को ब्लगमा प्रकाशन हुनेछ-नेपालप्लस) ।




