कांग्रेस र एमालेलाई थाङ्नामा सुताउने प्रचण्डका रोचक खेल
आखिर कांग्रेस र एमाले जति ब्रुक ब्रुक ब्रुक गरेपनि आखिर केहि सिप नलाग्ने रहेछ । “हामी अब संविधान सभाको म्याद कुनै हालतमा थप्दैनौं” भन्दै उफ्रिएका नेपाली कांग्रेस र एमालेको केहि सिप लागेन । नाकमा नत्थी लगाएर भैंसीलाई ताने झैं प्रचण्डले लतारेरै छोडे आफ्नो योजनामा । र अन्तत: संविधान सभाको म्याद तिन महिना थप्न आज मन्त्री परिषदमा प्रस्ताबनै दर्ता भयो । प्रचण्डले थाङ्नामापनि कति मज्जाले सुताए भने नेपाली कांग्रेस सभापती सुशिल कोइरालाकै विश्वासपात्र क्रिष्ण प्रसाद सिटौलालाईनै प्रयोग आफ्नो प्रस्ताब दर्ता गराए ।
एकातिर पार्टी सभापती संविधान सभाको म्याद थप्ने बारे आपत्ती प्रकट गर्दै छन् । अर्कोतिर उनैका विश्वासपात्र सिटौला ल्याप्चे धस्काएर आए । नेपाली कांग्रेसकै अर्का मधेशी नेता बिमलेन्द्र नीधीले समेत प्रचण्डकै स्वरमा हो कि हो मिलाए । त्यति मात्रै हो र प्रचण्डले यस बिचमा कति मज्जाले सुताए थाङ्नामा नेपाली कांग्रेस र एमालेलाई भने अहिले “यदि तिमीहरु जनजातिका मागमा सहमत हुन्नौ भने पार्टीनै फुट्ला नी” भन्दै धम्काएको पनि बाहिर आएको छ ।
एनेकपा माओवादीले राज्य पूनर्संरचना गर्दा चौध प्रदेशको प्रस्ताब पारित गर्यो । तर त्यसमा नेपाली कांग्रेस र एमालेले मानेनन् । त्यो बेलापनि कांग्रेस र एमालेको ६, ७, १० गर्दै अनेक प्रदेशमा लतारेर ११ प्रदेशमा सहमती गराए प्रचण्डले । तिन पार्टीले सहि धस्काए । प्रचण्डले “पार्टीमा त्यहि ११ प्रदेश स्विकार्नु पर्ने, पार्टीले त्यसैमा सहमती गरेकाले सोहि अनुसार पालना गर्नु” भन्दै सर्कुलरनै जारि गरियो । तर जनजाति र मधेशी दलले स्विकार गरेनन् । उता पार्टीको निर्णयलाई उल्लंघन गरेको, पार्टी नीति लत्याएको भन्दै बैध्य पक्ष बुमबुम भए । कांग्रेस र एमालेले “अब गरिसकेको सहमती कुनै हालतमा तोडिन्न” भन्दै उफ्रिए । अन्तत: लिखित सहमतीलाई प्रचण्डले धोती लगाइदिँदापनि टुलुटुलु हेर्ने बाहेक केहि गर्न सकेनन् । भने “अब नयाँ शिराबाट अगाडि बढ्नु पर्छ, नयाँ सहमती गर्नुपर्छ । त्यो ११ प्रदेशको सहमतीको औचित्य सकियो ।” बिचरा नेपाली कांग्रेस र एमाले हेरेको हेर्यै । बाहिर “मान्दैनौं” भन्दै उफ्रिएर के गर्नु ? लुरुलुरु प्रचण्डको डोरीमा लतारिनै पर्यो ।
प्रचण्डको अर्को दाउ थियो, जनजातिका माग । पहिले जातिय पहिचान सहितको राज्य भनेर पासा मिल्काउने प्रचण्डनै थिए । यो माओवादीकै नारा थियो । हुँदा हुँदा जनजातिले पक्रे । तर नेपाली कांग्रेस र एमालेले त्यसलाई स्विकार नगर्ने निर्णय गरे । तर के गर्नु ? तिनका आफ्नै सभासदहरु जातिय पहिचान नभए हामी टेर्दैनौं भनेर अड्डि कसेका छन् । प्रचन्डको चारो थियो “हाम्रो पार्टीले त जातिय पहिचान स्विकार गरेको हो, तर कांग्रेस र एमालेले हुन दिएनन्”। त्यसपछि कांग्रेस र एमालेकै जनजातिका सभासद आफ्नै पार्टीसित जंगिए । उनीहरुले पार्टीको व्हिप स्विप मान्दैनौं भनेर हाकै भनिदिएका छन् । प्रचण्डले एमाले र नेपाली कांग्रेसका नेताहरुलाई भनेका रहेछन् “तपाइहरुकै सभासदहरुले अब टेर्दैनन् । संविधान सभामा मतदान नै गरेपनि दुई तिहाइ पुग्ने भो । हामीले सहमती गरेर के गर्नु ? जनजातिका मागलाई सम्बोधन गर्नु भएन भने पार्टीनै फुट्छ तपाइहरुको । तपाइहरुको पार्टी फुट्ला भन्ने पो मलाई चिन्ता लाग्या छ । हामीलाई त के भो र ? ।”
अब एमाले त नेपाली कांग्रेसलाई यति भित्तामा पुर्याए कि कतै जाने ठाउँ छैन । जातिय पहिचान स्विकारौं त पार्टीमा अरुले टेर्दैनन् । नटेरौं एकातिर आफ्नै सभासदको बगाललेनै व्हिप स्विप मानिन्न भनिसके । ति भाग्छन् । आखिरमा पुग्ने उही प्रचण्डकै प्रभावमा हुन् । त्यसको अर्थ पार्टी टुक्रिन्छ । अब ट्क्रिँदा पचास प्रतिशतपनि जोगिन मुश्किल छ । त्यो अवस्था भयो भने बाँकि मध्येपनि केहि मधेशी दल र धेरै माओवादीकै पार्टीमा भित्रिने हुन् । एमाले र नेपाली कांग्रेसलाई साँच्चै धर्म संकटमा पारिदिएका छन् प्रचण्डले यतिखेर ।
चतुरपनि कतिसम्म रहेछन् प्रचण्ड भने नेपाली कांग्रेसमा असन्तुस्टि हुँदा हुँदै विश्वासपात्र क्रिष्ण सिटौलालाई च्यापेर उपप्रधानमन्त्री बनाए । मन्त्री भएको सातापनि बित्न नपाउँदै प्रचण्डले तिनै विश्वासपात्र र पार्टी सभापती सुशिलका बिचमा खेल खेलिदिए । “कांग्रेसलेपनि समर्थन गर्या छ नी हाम्ले जबर्जस्ति संविधान सभाको म्याद थप्या हो र ? हाम्रो पार्टीले एक्लै निर्णय गर्या हो र ? सबैको सहमतीमै गरेको नी । अब कांग्रेसमा कसले के भन्छ ? पार्टीमा निर्णय थियो थिएन त हाम्ले जान्ने कुरो हो र ?” भन्दिन्छन् प्रचण्डले पक्कै । अनि पुरै सहमतीमा भएको हो भनेर बलियोपनि हुन पाइयो । उता ज्यान जाला थपिन्न भनेर बसेका कोइराललाई “देख्यौ तिम्रै विश्वासपात्रका हातबाट ल्याप्चे ठोकाइयो” भन्न पनि पाइयो ।
एमालेलाई त झिंगा बराबरपनि नमानेको होला सायद । आखिर आफ्नो पार्टीसित पाखुरा सुर्काउने नेपाली कांग्रेस न हो । एमाले त होइन नै । नेपाली कांग्रेसलेनै सहि धस्काएपछि एमालेले त जसरिनी लुरुलुरु गर्छ । नगरेपनि अर्को च्याँखे छ, एमालेले गर्दा संविधान सभा भाँडिने भो, एमाले गणतन्त्र बिरोधी हो, संविधान बनाउने सहमती भैसक्या बेला एमालेले षडयन्त्र गर्यो” भनेर तर्साउने । पिपलको पात झैं यता उता गर्ने एमालेको त्यति भएपछि सातो जान्छ । अनि हतारिँदै ल्याप्चे ठोक्न कर लागिहाल्छ । त्यहि भएर प्रचण्ड ढुक्क थिए एमालेसित र त कांग्रेसलाई फसाइहाल्न सिटौलालाई प्रयोग गरिहाले ।
जनजातिसित त यसै निकट हुने भैहाले । किनभने जातिय पहिचाननै माओवादी नारा । त्यहिँ माथि एमाले र कांग्रेसका सामु प्रस्तुत गरेको । अनि कांग्रेस र एमालेले नमानेका । जनजातिलाई परिहाल्यो “ए जनजातिको मुक्ति नचाहने कांग्रेस र एमाले पो रैछन्” भन्ने । यता नेपाली कांग्रेस, मधेशी दल र एमालेसित सहमतीका लागि भन्दै दगुरे । उता वर्षमान पुनलै जनजातितिर र हिसिला यमीलाइ नेवारतिर लगाएर आफ्नो पकड जमाउने, बिश्वास दिलाउने र आन्दोलनमा सहमती जनाउने गरिरहेका रहेछन् प्रचण्डले । सुरेश आले मगर त यसैपनि जनजातिकालागि भनेर माओवादीका तर्फबाट खुलेरै लागेका थिए ।
यो पटकदेखि जनजातिहरु नेपाली कांग्रेस र एमालेसित मज्जैले बिच्किएका छन् । अब तिनको मागमा सहमत नभए त यसै पाखा लाग्न सक्छन् । सहमत भएपनि दबाबले हो, ति भित्रिरुपमा हाम्रो मागमा सहमत छैनन्, बाध्यताले घसारिएका मात्रै हुन् भनेरपनि तिनको निकटता हुन अब मुश्किल छ । त्यो फाइदापनि उहि प्रचण्डलाई वा उनैको पार्टीलाई त हुने होला ।
कति खेल खेल्न जानेको प्रचण्डले । यी सबै खेल खेले अनुसार देशलाई अग्रगामी संविधान दिन सके त हुन्थ्यो । देशका समस्या हल गर्न सके हुन्थ्यो । यो देशका पिछडिएका, हेपिएका, जनजाति, दलित, महिला, किसान, मजदूर र राष्ट्रबाट पन्छाइएकाहरुलाई समान अवशरको अनुभूती हुने संविधान दिन सके त हुन्थ्यो । दुनियाँले पुज्थे होला । तर देशलाई निकास दिन नसक्ने, बर्बादीतिर लैजाने, जनाताको वास्तबिक मुक्ति दिन नसकेर पदकै लागि मर्ने र देशलाई खाडलतिर भास्ने स्थिति भयो भने ? त्यो जस्तो दूर्भाग्य केहि हुने छैन प्रचण्डको यो खेलको ।
(तपाईहरुलाई लेख संवन्धि मतभेद, गुनासो, तर्क, तथ्य र असहमती राख्न छुट छ । तर लेखभन्दा बाहिरका, बेप्रसंगका प्रतिक्रिया नदिनुहोला । ब्लगको सौन्दर्य भनेकै बहस गर्ने हो । त्यसकालागि जतिपनि स्थान दिइएको छ । बहस गर्दा गाइगलौज गर्ने र तुच्छ शब्दमा एकले अर्कोलाई प्रहार गर्ने नगर्नुहोला । त्यस्ता प्रतिक्रियालाई स्थान नदिन सकिन्छ-नेपालप्लस)




