कामरेडी घुसपैठ !

बाहिरबाट हेर्दा नेवा राज्य पक्षधर, आदिबासी र जनजातिको आन्दोलन हो अहिलेको । तर आन्दोलनमा के के हुन्छ बुझ्नै नसकिने । बाहिर बाहिर पत्रकारमाथि हमलाको भर्त्सना गर्छन् प्रधानमन्त्री डा बाबुराम भट्टराई । नेपाल बन्दमा तोडफोड गरिएको सवारी साधनको क्षतीपूर्तीपनि दिने भन्छन् । एकातिर वार्तामा बोलाउँछन् आन्दोलनकारीलाई । उता प्रचण्ड फेरी एमाले, कांग्रेस र मधेशी दलालाई ‘लौ मैले त सकिन, जनजातिले मानेनन्, फेरी अर्को सहमती गर्नु पर्‍यो’ पनि भन्छन् । तर कति नाटक गर्न जानेका रहेछन् यीनले । जनजातिको आन्दोलनमा त प्रचण्ड र प्रधानमन्त्री डा बाबुरामलेनै मान्छे खटाइ खटाई घुसपैठ गराउने र आन्दोलन गर्न उक्साउने काम पो गरेका रहेछन् । सत्य के हो, तर नेपाली कांग्रेस र एमाले यहि आरोप लागएर कामरेड र उनको पार्टीसित आगो छन् ।

पहिले तिनै पार्टीसित बसेर ११ प्रदेशमा सहमती भन्दै कामरेडले उता ल्याप्चे धस्काए । यता जनजातिका नेता र संगठनले मान्दैनौं भनेपछि त्यसलाई धोती लगाइदिएछन् । ‘मलाई गाह्रो भो, जनजातिले नमान्ने भए’ भन्दै कांग्रेस, एमाले र मधेशी पार्टीलाई गाह्रो साह्रो बुझिदिन भन्ने रहेछन् । यता जनजातिकहाँ आएर फेरी ‘के गर्ने हामीले त जातिय पहिचान सहितको प्रदेशनै चाहेका हौं, नेपाली कांग्रेस र एमालेले टेरेनन्’ भनेर आफु बन्ने रहेछन् पानी माथिको ओभानो । कांग्रेस एमाले राँको बनिहाले । “ए हामीसित एकथोक भन्ने, सहमती गर्ने अनि उता जनजातिकहाँ गएर चाहिँ हाम्लाई दोष लाउने?” भनेर राँक्किएछन् ।  

केहि दिन अघि एक्कासि जनजातिको मागमा हस्ताक्षर धस्काउन आएका थिए प्रचण्डका विश्वासपात्र वर्षमान पुन । पार्टीको निर्णय छोडेर जनजातिको पहिचान स्थापित गर्न आए भनियो । तर अहिले एमाले र नेपाली कांग्रेसले उनलाई प्रचण्डलेनै घुसाएको पो दाबी गरेका छन् त । पुनलाई जनजातिको पक्षमा उभिएको देखाउने । अनि भित्र भित्र पसेर जनजातिहरुलाई उक्साउने र आन्दोलन गर्न लगाउने । जनजातिको आन्दोलन पछि सशक्त नेवारहरुको हो । काठमाडौंका मूलवासी नेवारको सहभागिता ठूलो हुनेनै भो । उनीहरु शक्तिशाली हुनेनै भए । त्यहाँ फेरी प्रधानमन्त्री बाबुराम पत्नी हिशिला यमी सक्रिय रहिछिन् । उनलाई पती भट्टराईले घुसाएका रे । नेवार संगठनमा पसेर ‘तपाईहरुले आन्दोलन चर्काउनुस्, हाम्रो पार्टी त नेवा राज्यकै पक्षमा हो’ भन्दै उचाल्ने । यो अक्किल निकालेका रहेछन् भट्टराई र प्रचण्ड भएर ।

यो बास्तबिकता हो वा हैन भन्न मुस्किल छ । घुसपैठ होस् कि नहोस् माओवादीलाई जनजातिको मागलाई लत्याएर जान सजिलो छैन । किनभने जातिय राज्यको माग माओवादी एजेन्डापनि हो । अहिले एमाले र नेपाली कांग्रेसका नेताले भने आन्दोलनमा माओवादीले ति दुई नेतालाई घुसपैठ गराएको दाबी गरे । बाहिर बाहिर आन्दोलन रोकौं भन्ने । वार्ताका लागि आउनुस भन्ने । तर भित्र भित्र आफ्नै नेतालाई जनजाति र नेवार संगठनमा सक्रिय गराएर उचाल्ने, झन आन्दोलन चर्काउने । भएका सहमती तोड्ने । त्यहि झोंकमा अब उनीहरु माओवादीसित वार्तानै नगर्ने भन्दै उचालिएका छन् । माओवादीले धोका दिएको भन्दै उनीहरुले वार्ता गर्न ईन्कार गरे ।

जनजातिको आन्दोलनमा घुस पैठ भो भन्दा अनादार गरेको देखिएला । तर घुसपैठ नै हो भने यो गतिलो संकेत होइन । किनभने आज यी कामरेडले नेपाली कांग्रेस र एमालेलाई धोका दिए भने भोली जनजाति र नेवार समूदायलाई धोका नदेलान् भन्न सकिन्न । यतापनि ठिक्क र उतापनि साखुल्य बनेर चल्दैन राजनितिक मागमा । कामरेडहरुले साँठगाँठ गराउने, घुसपैठ गर्ने र टाउको कन्याउँदै दुबैतिर गतिलो बन्न खोजेर हुन्न । आफ्नो नीति, आफ्नो अडान र वास्तबिकता के हो स्पष्ठ पार्नुपर्छ जनताका अगाडि । जे हो हाकै घोषणा गरेर लाग्नु पर्छ । प्रचण्ड र भट्टराई कामरेडको यता नी ठिक्क उता नी ठिक्क पार्ने पाराले त आफ्नो दुनो सोझ्झिएका बेला जनजातिलाईपनि धोका दिन के बेर ?

तपाइँको प्रतिक्रिया