सत्ताका लम्पटहरुलाई फेरी झण्डा र गाडी

हाम्रा पार्टी कति लोभी छन् सत्ताका र कपटी छन् भने यहिँबाट बुझिन्छ । संविधान बनाउने बेला अब डेढ महिनापनि छैन । यो बेला सबै मिलेर संविधानका बाँकि असहमत विषयमा सहमती कायम गर्नु र संविधान जारी गर्नु हो । तर तिनको ध्यान कुर्सीमै छ । संविधान जारी गर्ने बेला तिनले एक्कासि सरकार परिवर्तनको खेल पो चालेका छन् । भैरहेको सरकार बदल्ने रे । मन्त्रीहरुले राजिनामा दिने रे । प्रधानमन्त्रीको कुर्सीमा चाहिँ डा बाबुराम भट्टराईनै रहने । अनि फेरि नयाँ अनुहार थपेर सरकार बनाउने । नेपालको बजेट नयाँ अनुहारलाई चखाउने । झण्डा हल्लाउँदै गाडीमा नयाँ अनुहार सरर दौडिने ।

सबैलाई संविधान बनाएको हाम्रो पार्टीले हो । संविधान हाम्रो पार्टीको सरकारले जारी गरेको हो । हामी सरकारमा नभएको भए यो संविधाननै नबन्ने । यस्तै दाबी गर्न मन् छ । संविधान जारी गर्दा सरकारमा भइएन भने जनताले पत्याउन्नन् । बिरोधीले “तिमेरुले बना हो र संविधान ?” भन्न थाल्छन् । जनताले त्यहि पत्याउँछन् । अनि हाम्रो पार्टी, हामी नेता रछ्यानमा पुगिन्छ भन्ने त्रास छ । त्यहि भएर भएका जति सबै पार्टीलाई सरकारमा नपुगि भएको छैन ।

अर्कोतिर झण्डा नहल्लाएको धेरै भयो नेपाली कांग्रेसका केहि सत्ता लम्पटहरुले । एमालेका केहि नेता नामका ठग र सभासद नामका लुटेराको हालत त्यहि छ । तिनले सत्ता, कुर्सी, शक्ति, झण्डा र दाम बाहे केहि देखेका छैनन् । बाबुराम भट्टराईको सरकारलाई बाहिरबाट हेर्दा खपिसक्नु भएको थिएन । जनतामा जाउँ भने अहिले पार्टीहरु नालायक साबित भएका छन् । जनतालाई दिएको केहि छ भने महँगी, अशान्ति, असुरक्षा, त्रास, मनपरी, बेथिति, भ्रस्टाचार । यत्ति हो । अनि कुन अनुहार देखाउन जाने ? त्यहि भएर सबैको लुछाचुँडी सरकारमै छ । सरकार बदलौंला र मोज गरौंला भन्ने मानसिकता छ । अहिले एकासि सरकार बदल्नु परेको यहि भएर हो ।

तर त्यो लुटका लागि तयार गरिएको मन्त्री भनिने कुर्सीमा जो सुकै बसोस् जनतालाई बाल मतलव । यसमा जो सुकै गएर बसोस् जनताले पाउने फेरिपनि उहि महँगी हो । मनपरीतन्त्र हो । सके त अझ कुनै भ्रस्ट जाला । नयाँ मन्त्रीलाई नयाँ गाडी । नयाँ सचिव । फेरि नयाँ निवास । त्यसमा रंगरोगन । कार्यालयमा नाम र लेटप्याड बदलि । अनेक गर्दा फेरी जनताको पसिनाले तिरेको कर यी नयाँ मन्त्री नामका ठगहरुले सत्यानास पार्ने हुन् । देशको सम्पत्ती ध्वस्त पार्ने हो ।

 नाटक र सत्ता लम्पट त बाबुराम भट्टराईको प्रधानमन्त्री पदलेपनि देखाउँछ । नयाँ सरकार भन्नासाथ सबै नयाँ हुनुपर्थ्यो कि त । प्रधानमन्त्री उहि अनि सरकार नयाँ कसरि भो ? टाउकै उहि छ, शरिर मात्रै बदलिएको छ अनि त्यो नयाँ हुन्छ ? नयाँ सरकार बनाउनै छ भने चौतर्फि असफल डा सापलाई चाहिँ किन राख्नु परेको ? नयाँ प्रधानमन्त्री ल्याएको भए भैहाल्ने । कि त अझै एक दशक देशको सेवा गर्ने रहर छ भनेका प्रचण्डलाई बनाए हुने । देशलाई यसै घाटा उसै घाटा । कम्तिमा उनलाई बनाए त एकै चोटिमा अर्को दुई तिन अर्व कुम्ल्याउँन पाउँथे । अर्को दुई चार जनाले हिमाल चढ्दा हुन् । केहि गगनचुम्बी बंगाला खडा हुँदा हुन् लाजिम्पाट जस्ता । कम्तिमा प्रचण्डको भए देख्न त पाइने थियो । बाबुराम कामरेडलाई बनायो न देख्न पाइने न त जनतालाई केहि हुने । न उनैको पार्टीमा सन्तुस्टि । सत्ताका लम्पटहरुले सरकार बदलेपनि कम्तिमा लुटेकोपनि देख्न पाउनेलाई लगिदिउन् !

तपाइँको प्रतिक्रिया