बाहुनी र थाक्सेनीको मित जस्तो नेपाल-फ्रान्सको ६० वर्षे गाँठो

nepali-meeting-in-paris-2-jpg.jpg

नेपाल र फ्रान्सबिच गाँठो कसिएको तिन बिस भएछ । ६० वर्ष पहिले गाँसिएको रहेछ त्यो गाँठो अब आउने अप्रिल २० का दिन । कूटनितिक संबन्ध गाँसेको भनिने त्यो गाँठो जति पुरानो भयो त्यति कस्सिँदै झन कस्सिँदै जानुपर्ने होइन ? तर त्यसो हुन सकेन । कुनै जमानामा तिब्बती थाक्सेनीसँग तराईका बाहुन क्षेत्रीले लगाएको मित जस्तो भयो यि दुई देशको संबन्ध । थाक्सेलीनीलाई मित लगाएर बस्ने खाने ठाउँको लोभ । बाहुनीलाई थाक्सेनीले ल्याएका सियो, बिरे नुन, शिलाजित र हिङ सित्तिमा पाइने दाउ । तर दुबैको खाँचो मेटियो अनि तिनको साईनोपनि दूर भयो । हो त्यहि हालत भयो गएको ६० वर्षमा नेपाल -फ्रान्सबिचको संबन्ध ।

कम्ति प्राथमिकता दिएको हो र फ्रान्सले नेपाललाई त्यो बेला ? नेपाल तेस्रो मूलुक रहेछ त्यसरि संबन्ध गाँस्ने । तर अहिले त्यो ख्यालख्याल जस्तो लाग्छ । संसार दाम, बल, प्रविधी र शक्तिका भरमा अगाडि बढेको छ । खाना नपाएको ख्याउटे जिउ, ढिकी र जाँतोमा ढ्क्याक्र्याक ढ्क्याक्र्याक चल्ने प्रविधी, ढाड बांगो पार्दै नाम्लाले डाम्दै भारी बोक्ने त्यो दुखिया थाप्लो, सधैं मारमुंग्री गर्ने किचकिचे झगडिया बजियाहरु, देशलाई तत्कालै कोल्टे फेर्न सकिने त्यत्रा प्राक्रितिक स्रोतहरु करेसामै छन तर त्यो चिन्न, हेर्न, बुझ्न र देख्न नसकेर “लौन न हजुर” भन्दै बटुको लिएर सियो देखि फाली र मियो देखि मुत्र थन्क्याउने साधनसम्म माग्दै देश देश चहार्ने यस्तो थाङ्ने सरकारलाई कसले पत्याउँछ । ढलेको लासलाई कसले काँधमा बोक्छ ? रुँदै भएपनि थान्को पान्को लगाउँछ होइन र ? नेपालको हालत त्यहि भयो अनि कसले पत्याउने ? 

नेपालले गत चार वर्षदेखि राजदूतसम्म पठाउन सकेन । अरु संबन्ध बिस्तार र फ्रान्स जस्तो आर्थिक, सांस्क्रितिक, सामाजिक, प्राविधिक देशसँग ति क्षेत्रका फाईदा लिने तर्फ त मंगल ग्रहभन्दापनि टाढाको कुरा । जस्तो सरकार त्यस्तै कर्मचारी । जस्ता कर्मचारी त्यस्तै उपल्ब्धी । दुतावासले पनि खाँचैसिती भन्यो बस्यो । भिसा दियो, पासपोर्टमा ल्यास्स सही ठोक्यो, चस्मा माथि उचालेर फाईल तयार गर्‍यो “लौ यहि हो यहाँको गतिबिधी” भन्दै परराष्ट्रमा फाईल हुत्याईदियो टन्टै साफ ।

nepali-meeting-in-paris-3-jpg.jpg

तर मैले बुझ्न सकेको छैन अहिलेका कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठ (पहिले गल्तिले जिवनप्रेम लेखिँदै आएको रहेछ) के गर्न खोज्दै छन । उनको पारा देख्दा कहिलेकाहि रेला गर्न खोजेजस्तो । कहिलेकाहिँ जिस्किए जस्तो । कहिलेकाहिं कति दिनलाई हो र हेरम्ला भने जस्तो लाग्छ । यिनि आएदेखि कस्सिएको कस्सियै छन । हरेक महिना केहि न केहि लेठो गरिरहेछन । कहिले नेपालीको सुझाब चाहियो कसरि फ्रान्सेली पर्यटक लाने भन्छन । कहिले फ्रान्सेली ब्यापारीलाई भेला गराएर नेपालमा लगानीको संभाब्यता अध्ययन गर्नुपर्‍यो भन्छन । कहिले नेपाल पर्यटक वर्ष २०११ लाई हामी यहाँका नेपालीले कस्तो सहयोग गर्न सकिन्छ र कसरि फ्रान्सेली पर्यटकलाई नेपाल लघार्ने भन्छन । राजदूत पत्नी निषा निता श्रेष्ठपनि त्यो सुख सुबिधाको भोग गरेर थपक्क घरमा नबसेर “होइन कार्यक्रम त गर्नै पर्छ, नेपालका लागि के न केहि त गर्न सकिन्छ” भन्दै हरेक कार्यक्रममा हिँडेको हिँड्यै छन बा !  केहि गर्नै पर्छ भन्दै दौडी रहेछन तेस्रा सचिव सागर फुँयालपनि । ए रात्तै ! यिनको हुटहुटी देख्दा अचम्म लाग्छ बा ! तिनै सागर हुन कि अर्कै ? यो त्यहि नेपाली दुतावास हो कि अर्कै मंगल ग्रहबाट दुधले पखालिएर आएको हो ? नेपालका लागि भनेर महिनै पिच्छे यस्तो गर्न पनि संभव छ र भन्या ?

nepali-meeting-in-paris-5-jpg.jpg

हिजो फेरि बोलाएछ दुतावासले संघ संस्थाका नेपाली प्रतिनिधिलाई । अब नेपाल-फ्रान्सबिच कूटनितिक संबन्ध गाँसिएको ६० औं वर्ष गाँठलाई कसरि मनाउने भन्दै । गज्जब भयो । सल्लाह गरेपछि अनेक सुझाव निस्कन्छन । बाढी आएको देख्नासाथ सल्लाहतिर लाग्नाभन्दा डुंगा लिएर हिँड्यो भने माझीले एक न एक जना त बचाईहाल्छ । निकैबेर गमागर्मी बहस चले । कसैको तर्क रह्यो-हैन, यति छोटो, समयमा आयोजना गरेरपनि कहि गतिलो काम गर्न सकिन्छ ? कम्तिमा पाँच छ महिनाको तयारी गरेर राम्रो भब्य कार्यक्रम गरौं । फासेफुसे कार्यक्रम गरेर किन दुखिया देशको बजेट सक्ने ? दुतावासले यत्रो अवसर पारेर गरेको कार्यक्रम पनि झासझुस गरेर इज्जत फाल्ने ? कसैको तर्क-अहिले बजेट पनि त्यहि शिर्षकमा आएको छ । कार्यक्रम नगरे त्योपनि ल्याप्स हुन्छ । झन केहिपनि गर्नै सकिन्न । सानोतिनो भएपनि गरौं कम्तिमा त्यो गौरवशाली ईतिहाँस सम्झेर दंग त हुन पाइन्छ । अहिले गरेको सानो कार्यक्रमले ठुलो कार्यक्रमलाई सहयोग हुन्छ, प्रचार प्रसार हुन्छ । चासो बढ्छ । दुतावास लगायतका केहिको तर्कले टसको मस खाएन

छलफल हुँदा हुँदा लौ अहिलेलाई सानोतिनो कार्यक्रम भएपनि गरौं अप्रिल २० लाई । अनि सन २००९ भित्रै एक हप्ता भरिनै ब्रिहद कार्यक्रम गरौंला । फोटो प्रदर्शनी, बहस र छलफल, सम्मेलन । नेपाल संबन्धी चाख, चासो, चिन्ता र चिन्तनशिल फ्रान्सेलीलाई बोलाएर केहि गर्ने । यहाँका स्कूल र क्याम्पसमा गएर त्यहाँका यूवाहरुलाई नेपालबारे आकर्षण गर्ने । ओहो हो हो ए गाँठे त्यत्रो बजेट कहाँबाट आउँछ ? कुरो ठिकै हो, नेपाल सरकारले कहाँ तिर्छ त्यत्रो पैसा ? नेपाल सरकारलाई त कार्यक्रम भयो भनेर देखाउनु परेको छ । त्यहि भएर यसो एक साँझ दुई चार बोत्तलले हल्का लाठी चार्ज गरायो, चाप्राचुप्रुक केहि खुआएर हाम्रो संबन्ध यस्तो थियो नी, हत्तेरी यस्तो त अलि भएन, अब फेरि तगडा बनाउनु पर्यो भन्यो सकियो ।

nepali-meeting-in-paris-1.jpg

तर यो पटक सबैले जाँघर देखाए । ए होइन, राम्रो काम गर्ने हो भने पैसालेनै रोकिन्छ र ? लौ हामी छौ त्यो नाथे दुई चार हजार यूरो निकाल्न भनिदिए यहाँका नेपाली ब्यापारीले । कार्यक्रम गर्ने हो भने गतिलो हुनुपर्‍यो पैसानै नभएपनि सकिन्छ भनेर मुठ्ठि उचाल्ने थिए बिनोद खकुरेल । अनि पैसाले नै रोकिन्छ र हामी छौं, त्यो नेपाल सरकारको पैसा ल्याप्स भए हुन्छ भनेर कस्सिने थिए ब्यापारी बिनोद ओझा । सहि थप्नेपनि निस्किए । कतिपय तर्क चिन र ब्राजिल, अमेरिकी र बेलायत जस्ता चुट्किका भरमा कार्यक्रम गर्न सक्ने शक्तिशाली मुलुकसँग दाँजेर हामीपनि गर्न सक्छौ भन्ने खालको थियो । छेपारोमा चढेर प्रशान्त महासागर तर्छु भने जस्तै । तर समग्रमा गतिलो भयो । कार्यबाहक राजदूत जिवनप्रकाश श्रेष्ठ, तेस्रा सचिव सागर फुँयाल र राजदूत पत्नी निषा निता श्रेष्ठ जुरुक जुरुक भए । लौ त्यत्रो सहयोग पाइने हो भने त किन नगर्ने भन्दै । एन आरएन फ्रान्सका अध्यक्ष अशोक न्यौपाने, पेरिसका नेपाली ब्यापारी बिनोद ओझा, घनश्याम पौडेल र मुकुन्द अमात्य, एभरेस्ट एशोसिएसनका निर्मल केसी, नेपाली ग्रिहका हेमन्त उपाध्याय, हरिहर अर्याल, अनुराधा पौडेल र उता नेपाली कलाकार सुरेश डुल्छेन लामा अनि एक जना नौली बहिनी अप्सरासम्मले गज्जबका तर्क राख्दै केहि गर्ने आँट देखाए। । वास्तबमा गतिलो सरकार हुने हो, कर्मचारीलाई सहि ढंगले परिचालनगर्ने हो, काम गर्नेलाई काँध थापिदिने हो र बिदेशमा बसेका नेपालीपनि कस्सिने हो भने केहि गर्न सकिने रहेछ नेपालकालागि जस्तो लाग्यो मलाई । अहिलेनै ओहो निकै भयो भनिहाल्ने अवस्था भइनसकेपनि

तपाइँको प्रतिक्रिया