सडकबाटपनि लखेट्ने बाबुराम र प्रचण्ड नियत
• योगेन्द्र चापागाइँ / काठमाडौं
माओवादी पार्टीको अध्यक्ष पद नै प्रचण्डको छ । उनको तजबिजि चल्छ । त्यहि भएर होला उनले पार्टीको करिब ३ अर्व रुपियाँ हिनामिना गरेको ठाडो हिसाव माग्दापनि ढुक्कै बसेका छन् लाजै पचाएर । पार्टीको पालुङटार भेलामै कार्यकर्ताले मागेका थिए हिसाव किताब । त्योबेला देखि अहिले सम्म मागेको माग्यै छन् । तर प्रचण्डले दिएका छैनन्। यो किन भएको भने उनी पार्टीमा हर्ताकर्ता भएकाले हो । उनका अन्धभक्त र चाकरी गर्नेहरुले प्रचण्डले जे गरेपनि सहन्छन् । प्रचण्डले त देशै खल्डोमा हालेपनि तिनलाई पच्छ ।
उता प्रधानमन्त्री डा बाबुराम भट्टराई छन् । उनको प्रधानमन्त्रीत्व भनेको प्रचण्डकै सरह हो । किनभने प्रचण्डले खुट्टो नदिए उनी तत्कालै खँगारिन्छन् । भारतको मात्रै आशिर्वादले उनको पद जोगिन्न । तर पार्टी र सरकार हुँदापनि, दुबैमा मनपरी गर्दापनि यीनलाई नपुगेर अहिले सडक समेत कब्जा जमाउन खोजेका छन् । अरुलाई पेल्ने नीति लिएका छन् । अर्थात पार्टीको भिन्न मत भनिनेलाई सडकबाट पनि लखेट्ने दुस्शाहस गरिरहेका छन् । देशका बिभिन्न ठाउँमा प्रचण्ड र बाबुरामका मान्छेले अहिले भिन्न मतका कार्यकर्तामाथि आक्रमण तिब्र बनाउँदै लगेका छन् ।
तर दरिद्र भएपछि के लाग्छ ? उनीहरुलाइ पार्टीमा रजाइ गरेर पुगेको छैन । अर्बौं रकम मनपरी हिनामिना गरेरपनि पुगेको छैन । सरकारमा कब्जा जमाएर पनि पुगेको छैन । उनीहरु यो सिंगो मुलुक बिर्ता ठान्छन् । त्यसैले अब सडकपनि कब्जा जमाउनु परेको छ ।
उनीहरुसित पार्टीको करोडौं अरबौं छ । तर त्यत्तिलेपनि नपुगेर बाटा बाटामा गल्ली गल्लीमा मा तुल टाँगेर बसेका छन् सगरमाथा चढ्ने पैसो उठाउन । ढाट लगाएर सवारी साधनको शुल्क उठाएर पनि पैसा उनीहरुनै कब्जा गर्न चाहन्छन् । उनीहरुसित सिंगै सरकार छ । प्रहरी छ । सेना छ । तिनको सुरक्षामा कुनै कमी छैन । तर उनीहरु आफूलाई चौतर्फी असुरक्षित महसुस गरिरहेका छन् । उनीहरुलाइ त्यसैले सदन, सरकार, पार्टी र सडक समेत कब्जा गर्नु परेको छ । त्यहि भएर अहिले उनीहरु फरक मतका कार्यकर्तामाथि आक्रमण गरिरहेका छन् । यो अभियान उनीहरुले गत साता धनगढीबट शुरु गरे । अहिले पश्चिमबाट शुरु गरेको त्यो अभियान काठमाडौं भित्र्याएका छन् । जनताका सुदिन ल्याउन, जनवाद सम्म पुग्ने कसम खाएका भट्टराई र प्रचण्ड यतिखेर जन संविधान देखि नै डराएका छन् । प्रतिक्रियावादी संविधान जारी गर्ने षडयन्त्रमा लागेकाले होला, अहिले जन संविधानका लागि हस्ताक्षर चलाउँदापनि उनीहरुलाई त्रसित पारेको छ । त्यसैले जन संविधान जारी गर्नुपर्छ भनेर हस्ताक्षर संकलन गर्दापनि आफ्ना भरौटी कार्यकर्तालाई खटाएर जन संविधानका पक्षपतीहरुलाई धम्क्याउन शुरु गरेका छन् । जन संविधानको लागि दबाब दिन गरिएको हस्ताक्षरपनि खोस्ने, र लुट्ने काममा खटिएका छन् । उनीहरुले हिजो नै जनसंविधानकालागि गरेको त्यस्तै हस्ताक्षर काठमाडौंको क्षेत्र नं ७ को बालाजु क्षेत्रबाट लुटे ।
हस्ताक्षर संकलन लुट्दा उनीहरुले शक्तिको धमाश दिए । प्रधानमन्त्री बाबुराम भट्टराईको धाकधक्कु लगाए । फरक मत भनिएकाहरुलाई तर्साउन खोजे । सत्ता र शक्तिको दुरुपयोग गर्दै उनीहरुले लुटे । तर सत्ताका अन्धा, बिदेशीका आड भरोसामा नाच्ने हरु बुझ्दैनन्, सत्ता र शक्ति सधैं आफ्नो हातमा रहन्न । एक दिन सत्ताको उचाईबाट खस्नु पर्छ । त्यो बेला लुट र मनपरीका चौकीदारहरुपनि पुग्ने भनेको सडकनै हो । ढाँट, छल, धोका र कपटबाट प्राप्त सत्ता एक दिन गुम्ने छ । त्यो बेला राज्यको शक्ति र सुरक्षा गुम्ने छ । त्यति बेला सडकमा पुग्दा तिनलाई पनि जनताले गुर्ख्याउने छन् । सत्ताको आडमा सडक सम्म कब्जा गर्न खोज्दा भोली तिनको एक एक सूची बनाएर राखेका हुन्छन् र तिनको पनि भोली त्यहि सडकमा खुइलिने दिन आउँछ ।
सरकार, पार्टी र सत्ता हुँदापनि सडक सम्म कब्जा गर्न खोज्दा संझिनु पर्छ, कहिँ जाने ठाउँ नभएपछि हुन्छ के ? बिरालोलाई चारैढोका र दुल्का टालेर चुट्न थालेपछि त्यसले के गर्छ ? ज्यान जाने भो भन्ने भएपछि, उपाय कहिँ नभएपछि उसले घाँटी ताकेर आक्रमण गर्छ । सताको लोभ, सरकारको लोभ हुनेले सुरक्षा भए न त्यसको रस चाख्ने हो । जब ज्यानकै सुरक्षा छैन भने के को मस्ती लुट्ने ? फरक मतका कार्यकर्ताको अहिले जाने ठाउँ भनेकै सडक हो । जब सडकमा पनि अवरोध गरिन्छ । सडकमा ओर्लिँदापनि आक्रमण र घेराबन्दिमा परिन्छ भने तिनले गर्ने के ? तिनले चौतर्फी दुल्का टालेर चुटिँदा भाग्ने ठाउँ नपाएको बिरालोले झै बाबुराम र प्रचण्डका घाँटी अँठ्याउन आउने बाहेक अर्को बिकल्प देख्ने छैनन् । पार्टी, सरकार र सदन सम्म कब्जा गर्दापनि सडकमा पुगेर समेत आक्रमण गरिन्छ भने भिन्न मतका कार्यकर्ताहरुले प्रचण्ड र बाबुरामका चौकीदारहरुलाई निमोठ्ने उपाय खोज्ने बाध्यता पर्छ । तिनले मुकाबिला गर्ने छन् । बाबुरामले चढ्ने गाडीको झण्डा खोसेर झार्ने छन् । प्रचण्डको महल माथि आक्रमण गर्ने छन् । तिनका भरौटीलाइ छोड्ने छैनन् ।
प्रभु शाह जस्ता हरुवाहरुलाई सरकारमा जान दिएकै हो । सरकारमा आउ आउ भनेर लोभ देखाउँदापनि नगएर पद दिएकै हो । सरकारमा जान, मन्त्री पद पड्काउन मरिहत्ते गर्ने बाबुराम र प्रचण्डका आसेपासेलाई फरक मतकाले दिएकै छन् । पद छोडिदिँदा, शक्ति चाहिन्न भन्दापनि आफ्ना आवाज जनताको घर दैलोमा शान्तिपूर्ण तरिकाले लजान नपाउनु प्रचण्ड र बाबुरामको कहाँको लोकतन्त्र हो ? सडकबाट लखेटेर कसकालागि र कस्तो संविधान बनाउन खोजेका हुन् ?
दश वर्षे जनयुद्द बाबुराम जस्ता भारतीय भरौटीले पूरा गरेका होइनन् । प्रचण्ड जस्ता नव सामान्तको पौरखले मात्रै संभव भएको होइन । पूराना सामान्तिसित लड्न सक्षम कार्यकर्ता प्रचण्ड जस्ता महलप्रेमी, भ्रस्ट र भारतीय दलाली गर्ने बाबुरामसितपनि लड्न सक्षम छन् । हिसावकिताब गरेर राखुन् । सडकबाटपनि लखेट्ने दुस्साहस गर्नु आफ्नै चिहान खन्नु हो ।




