कुरै नबुझि को लाग्छ जनसंविधानका पछाडी ?

सेना समायोजनको कुरो मिल्दै जाँदा एक थरी कामरेड बुरुक्क बुरुक्क उफ्रेका छन्, लौ अब संविधान बन्ने भो भनेर । तिनले संविधान बन्यो कि छुमन्तर गरेर सबै हल भैहाल्छ झैं गरेका छन् । त्यो संविधान कस्तो बन्ने हो कसैले स्पष्ठ सित भनेको छैन । त्यो संविधानले जनताका समस्या समाधान गर्न सक्ने हो कि हैन ? जनजातिका जायज माग संवोधान गर्न सक्ने हो कि हैन ? प्रान्तिय राज्यको चाहना पुरा हुने हो कि हैन ? बन्न लागेको संविधानले समग्रमा जनताको परिवर्तनको, अग्रगमनको अपेक्षालाई समेट्ने हो कि हैन ? केहि खुलस्त छैन ।

जनतालाई संविधानसित सरोकार भन्दा आफ्ना समस्या हल हुने खालको बन्ने हो कि हैन भन्ने महत्व राख्छ । त्यसलाई स्पष्ठ नपारी संविधान बन्ने भो भन्दै एकथरी कामरेड उफ्रेका छन् । तर अर्को थरीले २०४६ सालकै संविधान बनाउन लागे डा बाबुराम भट्टराई र प्रचण्ड मिलेर भन्दै बिरोध गरेका छन् । उनीहरु जन संविधान भन्छन् । तर त्यो जनसंविधान भनेको कस्तो हो त ? कामरेडहरुले स्पष्ठ पार्न सकेका छैनन् ।

नेपाली समाज बिभेदकारी छ । जात जाति, धर्म, भाषा, भेष भुषा, महिला पुरुष अनेक नाममा बिभेदपूर्ण छ । यसलाई सम्वोधन गर्ने खालको संविधान नबने त्यो मान्य हुन्न । अबका जनताले त्यसलाई साता दिनमै खरानी पार्छन् । तर एमाले होस् कि नेपाली कांग्रेस । माओवादीको प्रचण्ड र बाबुराम पक्ष । वा जनसंविधान पक्षधर बैध्य पक्ष। कसैलेपनि आफुले चाहेको संविधान कस्तो हो भन्न सकेका छैनन् । सबैभन्दा बुझ्न नसकेको पाटो त जनसंविधान भन्नेको हो ।

जन संविधान जन संविधान त भन्छन् कामरेडहरु । तर यो कस्तो हो त जन संविधान ? के हुन्छ ? कस्तो हुन्छ र के लेखिएको हुन्छ ? प्रचण्ड र बाबुराम भट्टराईले बनाउन खोजेको संविधान (उनीहरुले २०४७ सालकै ब्युँताउन खोजेको आरोप लगाएका छन्) भन्दा के कुरामा, कुन अर्थमा यो भिन्न हुन्छ ? यसले देश र जनताका कुन समस्यालाई कसरि संवोधन गर्छ ? किन चाहियो त जन संविधान ? कुनै स्पष्ठ छैन ।

पाँच पाँच वर्ष सम्म संविधान बनाउने चर्चा चल्यो । जन संविधान पक्षधर कामरेडलेपनि संविधान बनाउने नाममा तलब लिए । भत्ता पोल्टामा पारे । देश बिदेश घुम्ने बेला लुरु लुरु गए । यतिका वर्ष किन जन संविधान लेखेर देखाउन सकेनन् ? हामीले चाहेको संविधान यस्तो हो भनेर किन पार्टीलाई, जनतालाइ, कार्यकर्तालाई देखाउन सकेनन् ?

 यो जनसंविधान किन चाहिन्छ ? कस्तो हुन्छ ? यस्तो संविधान देश र जनताको हितमा किन बढि हुन्छ ? यो नभए देशको समस्या हल हुन्न भन्ने सिद्द गर्न सक्नुपर्छ । मार्क्सवाद, लेलिनवाद, संस्क्रितिक क्रान्तिका कोरा गफ अब जनतालाई अति भैसकेको छ । जनता कोरा आदर्श र क्रान्तिका हिमाल उल्ट्याउने कुरामा भर गरिहाल्ने मनशायमा छैनन् । कामरेडहरुले आफुले चाहेको जस्तो संविधान त यस्तो हो भनेर देखाउन, बुझाउन र प्रस्ट्याउन सक्दैनन् भने क्रान्तिका गफमा को भुल्ने ? संविधान बनाएर देखाउनै नसक्नेका पछाडि को लाग्ने देश बनाउला भनेर ?

अहिले जनसंविधानका पक्षधर कामरेडहरुले जनताको पक्षमा बिद्रोह र खोस्टे संविधान बिरुद्द सचेत पार्न खोजेका हुन् भने आफुले चाहेको संविधान कस्तो हो स्पष्ठ पारुन् । देश र बिदेशका जाने बुझेका भनिने, पढे लेखेका, कामरेडी भाषण सुन्न अभ्यस्तहरुले त यो जन संविधान कस्तो हो र के हो बुझेका छैनन् भने ग्रामिण भेगका जनताले कसरि बुझ्ने ? शहरमै सुबिधा सम्पन्न ठाउँमा बसेर रातदिन कुर्लिने कामरेडहरुले आफु बसेकै ठाउँका जनतालाई त खुलस्त पार्न सकेको देखिन्न । तिनले कसरि बिकट ठाउँका जनतालाई बुझाउलान् ? अर्काको बिरोध गरेकै भरमा जनता हाम्रा पक्षमा लाग्छन् भन्ने लागेको छ भने त्यो तुवाँलो बाहेक केहि होइन । कामरेडहरुले बेलैमा बुझुन् ।

तपाइँको प्रतिक्रिया