कांग्रेसी बुद्दी: नेपालीलाई नागरिकता दिनुभन्दा बिदेशीकै कमारो जाति

मनमोहन भट्टराई । नेपाली कांग्रेसका केन्द्रिय सदस्य । कांग्रेसका युवा बिचारवान नेता भनेर चिनिन्छन् क्यार । बिचारवान नेता त यस्ता छन् । बाँकि झन् बिचार नभएका कस्ता होलान् ? उनले गएको १९ मार्चमा एउटा लेख लेखे नागरिक दैनिकमा । लेखमा केहि कुरा जायज छन् । समग्रमा उनले बिदेशमा गएका नेपालीहरु स्वार्थी हुन् भन्ने पाराले लेखेका छन् । त्यो एक हद सम्म जायज हो भन्न हिच्किचाउनु पर्दैन । तर बिदेशमा बसेका नेपालीलाई बिदेशमै कोचिराख्ने, फर्काउन कोसिस नगर्ने, बिदेश जान बाध्य पार्ने वा त्यस्तो परिस्थिति स्रिजना गर्ने सरकार र उनीजस्ता नितिहिन नेताको कमजोरी कतै उल्लेख छैन । देशमा उपयुक्त राजनितिक, आर्थिक, सामाजिक वातावरण निर्माण गर्न नसक्नु, अवसर दिन नसक्नु, देश विकासमा युवाहरुलाई परिचालन गर्न नसक्नु, रोजगार र विकासमुखि शिक्षा दिन नसक्नु उनी जस्तै नितिहिन नेताका कमजोरीलाई भने उनले पुरै लुकाएका छन् ।

उनको लेखको चुरो कुरो के हो भने, पैसा आओस् जो सुकैको होस्। लगानी आओस् देशमा । अर्थात पैसा पाए नेपाली वा बिदेशी भनेर सरोकार मान्नु पर्दैन । हुन त यो उनको निजि बिचार होला नै । नेपाली कांग्रेस पार्टीकै नहोला । तैपनि यसबाट नेपाली कांग्रेसले यस्ता मुद्दामा कसरि हेर्छ भन्ने सानो आँखी झ्यालको काम भने पक्कै गर्छ यो लेखले ।

अझ खतरा: देशको लागि पैसा चाहिएको छ । देशमा लगानीका लागि बिदेशका नेपालीलाई आव्हान गरे नागरिकता लगायत अनेक शर्त पालना गर्नुपर्छ । उनको मत के छ भने, अहिले देशमा ठूलो कुरो राजनितिक स्थिरता हो । त्यो भयो भने लगानीकोलागि कुनै कठिनाई छैन रे । लगानी गर्नेहरु जतिपनि आउँछन् रे । उनले हाकै भनेका छन् ‘पुँजी, प्रविधि, सूचना र बजार नेपालका संभावना हुन्। यी मूलभूत चार तत्व उपलब्ध गराउन नेपाली र नेपालका मित्रहरूको अभाव छैन। राजनीतिक स्थिरता, शान्ति र त्यस्तो अर्थराजनीतिक वातावरण दिनसकेको अवस्थामा हामीलाई कुनै किसिमको अभाव हुने देखिँदैन। समस्या राजनीतिक वातावरण उपलब्ध गराउन नसक्नुमात्रै हो। त्यो उपलब्ध गराउन सकेको अवस्थामा पुँजी जसले लगाए पनि हुन्छ ।’ 

कति राष्ट्रघाती छ उनको चिन्तन । किनभने नेपालीलाई जति आफ्नो देशको माया हुन्छ त्यति अरु बिदेशीलाई होला ? नेपालीले आफ्नो लगानी सुनिश्चित गराउन खोजेका हुन् । आफ्नो लगानीको भोग चलनमा कुनै कठिनाई नहोस् भन्ने चाहना राख्नु के अन्यथा होला ? भलै नेपालीले केहि बढि सुनिश्चित हुन खोजे होलान् । बढिनै पिरलो गरे होलान् । आफ्नो देश, आफ्नो समाज र आफू हुर्के बढेको मात्रिभूमी प्रति घुर्क्याउनै खोज्नुपनि त माया हो । किनभने तिनलाई पैसाको मात्रै सरोकार हुन्न । तिनलाइ लगानीको सफलता, मात्रीभूमीले पाउने फाइदासितपनि सरोकार हुन्छ । 

उनको बिचारमा त विश्व बैंक, एशियाली बैंक जस्ता गरिव देश लुट्न, अझ गरिव बनाउन, आर्थिक रुपमा टाट उल्टाउन आउने ठूला ठूला लगानीकर्ताको चाख रहेछ । के नेपालीका शर्त मानेर नेपालीको लगानी भित्र्याउनु भन्दा विश्व बैंक, एशियाली बैंक जस्ता बिदेशी बैंकका पैसा ल्याएर नेपाललाई बढि फाइदा हुन्छ ? के ति बैंकहरुले मनमोहन भट्टराई जस्ता नीतिहिनले भन्नासाथ कुनै शर्त पालना नगरि लगानी गर्छन् ? तिनले नेपालमा लगानी गर्ने नाफा कुम्ल्याउन हो कि नेपालीको मायाले हो लगानी गर्ने ? नेपाललाइ अर्थिक लगानीको खाँचो छ भनेर बिदेशी लगानीकर्ताहरुले त्यत्तिकै गुन्द्रीमा डलरका बिटा खन्याएर फर्किने हुन् र ? 

उनको मथिंगलमा घुस्नु पर्ने हो, बिदेशी कंपनी, लगानीकर्ताहरु भनेको चुस्न आउने हुन् । तिनको स्वार्थ मुनाफासित मात्रै सरोकार हुन्छ । तर आफ्नो मुनाफाको लागि भनेर मत्रिभूमीलाई कंगाल बनाउने, डुबाउने, कुनैपनि शर्तमा मुनाफा लिएर जाने, अनेक शर्त तेसारेर अप्ठेरोमा लगानी लिएर हिँड्ने पापी मनका नेपाली पक्कैपनि कम हुन्छन् । नेपालीहरुले आफ्नो लगानीको सुनिश्चितता खोजेपनि आफ्नो देश डुबे डुबोस् भनेर मुनाफा मात्रै पक्कै हेर्दैनन् । ति बिदेशमा बसुन् तिनले आफूलाई नेपालीनै भनेर चिनाउँछन् । नेपालको आर्थिक, सामाजिक र विकाससित तिनको सरोकार हुन्छ । नेपालको इज्जतसित तिनको इज्जतपनि गाँसिएको हुनाले तिनले आफ्नो लगानी मात्रै होइन कि देशको इज्जत र लगानी नडुबोस् भन्ने सरोकार राख्छन्, चिन्ता गर्छन् । तर बिदेशीको चासो आफ्नो लगानीसित मात्रै हुन्छ । पराइ मुलुक जे सुकै होस् तिनलाई कुनै सरोकार हुन्न । 

उनलाई नेपालीले नागरिकता मागे भन्ने ठूलो चिन्ता रहेछ । नेपालीलाई नागरिकता बेमेसे त्यत्तिकै नदिउन् । आफ्नो देशको लागि केहि देन दिएको, नेपाली, भाषा संस्क्रिति र पहिचान नगुमेकालाई मात्रै दिउन् । वा बिदेशमा बसेर नेपाली सुविधा लिन चाहनेले देशका लागि कुनै त्याग गरेको, नगरिकता दिन लायकको होस् । यो जायज हो । तर नेपालीलाई नागरिकता दिनुपर्ने शर्तकै डरले उनले बिदेशीको लगानी ल्याए ढुक्क हुन्छ भन्ने तर्क पो गरेका छन् त । 

भलै बिदेशीलाई नागरिकता दिनु त नपर्ला । तर बिदेशीका अन्य शर्त कति हुन्छन् ? मजदूर, बन्द हडताल, बिमा, सरकारी सुबिधा र सुनिश्चितता कति राख्छन् तिनले शर्त ? भट्टराइले भारतीय लगानी ल्याउन गरेको बीपा सम्झौता हेरेपनि पुग्छ । नेपालमा अलिकति छिस्रिक्क भएर उध्योगलाई क्षती भयो भने कसरि त्यसको क्षती भन्दै हड्डी गनेर लिन्छन् ? बिदेशी लगानी ल्याउँदा त्यहाँ काम गर्ने कर्मचारी, काम गर्ने प्रबिधी र उपकरण तथा सामाग्रि कहाँको प्रयोग हुन्छ ? बरु नेपाली लगाने भित्र्याउँदा बिदेशीले झैं शुरुमै कमिशन दिन तयार नहुन सक्छन् नेपाली । मनमोहन भट्टराई जस्ताको चिन्ता त्योपनि हुन सक्छ । 

नगरिकता कै चिन्ता हो भने बिदेशमा बस्ने कति नेपालीले लिए त नेपाली नागरिकता ? के बिदेशमा बस्ने नेपालीले नागरिकता नलिँदैमा नेपाली नागरिकता बाँडिएको छैन ? बरु नेपालीलाई नागरिकता दिन तर्सने नितिहिन नेताहरुले भकाभक भारतीयहरुलाइ नेपाली नागरिकता लाखौं बाँडिरहेका छन् । आफ्नै देशमा नागरिकलाई नागरिकता दिन यत्रो डर । तर बिदेशी लगानी र नागरिकता बितरणमा चाहिँ त्यतिबिघ्न खुकुलो हुनुको कारण के हो ? हामी नेपालीको वास्ता गर्दैनौ । नेपाललाई स्वावलम्भी मुलुक, नेपालीकै लगानी र सिप भित्र्याएर आर्थिक विकास गर्छौं भन्ने चिन्तन छैन । नेपालीलाइ बिदेशमै जे सुकै गर हामी बिदेशीको नोकर बन्छौं र देशलाईपनि बिदेशीकै छत्रछायाँमा अपर्छौं, परजिवी बन्छौं भन्न खोजिएको होइन ?

उनको लेख हेर्न मन लागे तलको लिंकमा क्लिक गर्नुस्–

विदेशका नेपालीको व्यर्थको चिन्ता

(मनमोहन भट्टराईको तस्विर कान्तिपुर अनलाईनबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया