सभासद हो देश लुटुन्जेल तिम्रा दिमाख भेडीगोठतिर चर्न गएका थिए ?
संविधान बनाउने समय सिमा नजिकिँदै छ । अब जेठ १४ सम्म जति नाटक गरेपनि संविधान बन्दैन । बनाउँ भने नसकिने होइन । राजनितिक सहमती भए नाथे संविधान लेख्नैका लागि हप्ता दिनपनि लाग्ने होइन । तर संविधान कस्तो बनाउने ? कसका स्वार्थमा बनाउने ? कुन वर्गको स्वार्थ पूरा हुने खालको बनाउने ? त्यसैले संविधान बनाउन राजनितिक सहमति हुने छाँट नै देखिएन । संविधान नबनेपछि त्यो दोष कसले लिने ? ‘संविधान नबनेको फलानो दल, फलाना फलाना नेताले गर्दा हो’ भनेर त्यो अपजस अर्काको ढाडमा बोकाउनै छ । त्यसैले अब नेता, दल, पार्टीहरु त्यो अपजस बोकाइदिने ढाडको खोजि गरिरहेका छन् । कोहि धर्नाको नाटक । कोहि आन्दोलनको । कोहि अर्को जन अन्दोलनको नौटंकी। नाटक खेल्न दलहरु मध्ये सबैभन्दा चतुरो एमाले हो । उ नौटंकीमा अझ अब्बल छ ।
गएको १४ वर्ष देखि एमालेको काम भनेको यस्तै नौटंकी गरेरै बित्यो । पूँजीवादीका अगाडि हँसिया हथौडा लुकाएर । गरिव जनताका अगाडि हलो, फाली र कोदालोनै काँधमा हालेर गएर नाटक गर्छ । प्यान्ट फुकालेर लगौंटी देखाउँदै नौटंकी गर्छ । सुकुम्बासीका अगाडि सुकुम्बासी बनिदिन्छ । श्रमिक देख्यो कि उ हत्त न पत्त ठेला गाढा समातेर देखाउँछ । उ नाचिदिन्छ । उ गाइदिन्छ । उ रोइदिन्छ । उ पाउ परिदिन्छ । देशको माटो बेचेरपनि राष्ट्रवादि बनिदिन्छ । त्यसैले उ नाटक देखाउन सिपालु छ । नौटंकी गर्न अब्बल छ । त्यसैले अहिलेपनि उ नौटंकी गर्न मैदानमा उत्रेको छ संविधान बनाउनु पर्यो भन्दै । झ्वाट्ट हेर्दा संविधान बनाउन दबाब दिने । वाह कति राम्रो जस्तो लाग्ने । तर के अहिले शान्ति र संविधानकालागि भनेर सडक सडक नाटक देखाएर, कुर्लेर बन्छ संविधान ? र त्यो यतिका वर्ष सम्म चुप्प लागेर बसेका सभासदले गर्ने हो ?
शान्ति र संविधानका नाममा यीनले कति लूटे देशको रकम ? नेपालीलाई गतिलो संविधान दिने भनेर स्वदेशी रकममा कति खाए भत्ता बैठक गर्दै ? नेपालीलाइ अब्बल कोटीको संविधान दिने भनेर कति देश चहारे ? संविधान सभाको म्याद थपेर भत्ता र तलब कुम्ल्याउँदा कहाँ चर्न गएको थियो यीनको मथिंगल ? भेडी गोठतिर ? गरिव देशको पैसो आँखा चिम्ली चिम्ली संविधान बनाउने नाममा कुम्ल्याउन पाउनुजेल त यीनका गोबर भरिएका आँखाले देखे संविधान बनाउनु पर्छ भनेर ? संविधान बनाउनैकालागि भनेर तलबको तर मार्दा खै आफ्ना नेतालाई दबाब दिन सकेको ? खै संविधान बनाउन भनेर बोलेको ? अब संविधान बन्दैन भन्ने पक्का जस्तो भएपछि, राष्ट्रको सम्पत्ती लुटेर किर्नो झै ढाडिएपछि, देशपरदेश घुमेर मस्ति लुटेपछि बल्ल यीनलाई संविधानका नाममा दबाब दिनु पर्ने ?
संविधान बनाउने नाममा यीनको पार्टी गएन सरकारमा ? माधव नेपालले संविधान बनाउँछु भन्दै कुर्लेका होइनन् ? तर के गरे ? आफ्नै पार्टीका नेपाललाई पछारेर संविधान बनाउँछु, राष्ट्रिय सहमती जुटाउँछु भन्दै पार्टी अध्यक्ष झलनाथ खनालले अँठ्याएनन् प्रधानमन्त्रीको कुर्सी ? गरे के ? तलब खाए । बाँडे । भत्ता, भ्रमण र जनतालाई आश्वासन । संविधान बनाउनको लागि भाँचे कुनै सिन्को ? किन आफ्ना नेता, आफ्नो पार्टी सरकारमा हुँदा संविधान बनाउन दबाब दिन सकेनन् ? किनभने त्यो बेलासम्म यीनलाइ लुट्नु थियो । लुट्ने अवशर रहेसम्म छोड्ने मनशायमा थिएनन् र यी चुपचाप पैसाको गाँठो पार्दै बसे । अब जेठ १४ पछि त्यो तलब र भत्ता गुम्छ सायद । अनि ‘संविधान नबनेको हाम्ले गर्दा हैन ‘ भन्दै खाएको रकम जनताको आँखामा छारो हालेर पचाउनु छ । चुनावपनि आउंला । ठगको अनुहार, लुटेको नियती सबै लुकाएर फेरि हरिया दाँत देखाउँदै ‘ मलाई भोट’ भन्दै देश लुट्ने प्रमाणपत्रको सहि ठोकिदिन गाउँ गाउँ चहार्नु छ । त्यसैले अहिले यीनले नाटक गरेका छन् संविधान बनाउन दबाब दिने भन्दै ।
नाम सुन्दै कन्सिलीक रौं रुख झैं ठडिन्छन् । अब यीनले दबाब दिएर बन्ने रे संविधान । नाम छ युवा सभासद । तर यीनको ह्याउ केहि छैन । युवा भएर के गर्नु ? केपी ओली भनेपछि छुलछुली कट्टुमा मुत्छन् । झलनाथ खनाल भनेपछि यी टाउको कन्याउँदै बस्छन् । ईश्वर पोख्रेल देख्यो कि भोली थर्काउला भनेर यी कुथुर हुन्छन् । माधव नेपालको नाम सुन्दा त झन चार कोस परैबाट रुन्चे स्वरमा ‘संविधान बनाउनु पर्ने हो कामरेड’ सम्म सक्दैनन् । प्रचण्ड, बाबुअरम, सुशिल कोइराला भन्ने नाम त सुन्यो कि यी सर्पका अगाडि भानेमुरो भने झैं हो, त्यसै डल्लो पर्छन् त्रासले । के दबाब दिने ? यीनको ह्याउ आफ्नै नेतालाइ दबाब दिन सक्ने छैन । किनभने कुनै बडे बडे नेतालाई चित्त दुखाउन यीनले सक्दैनन् । पदक लोभी । कुर्सीका लम्पट । पैसामा र्याल चुहाउने नियत छ । देश र जनताका लागि जे परे पर्ला भनेर हिमात गर्ने हैसियत नै चैन यीनको । नेताले टेर पुच्छर लाउने कुरै हुन्न । जनताले यीपनि ठगनै हुन् चुसाहा नै हुन् भनेर चिनेकै छन् । एकाध होलान् रबीन्द्र अधिकारी जस्ता । ति चामलका घुन हुन् । तिनको कुनै मूल्य र गिन्तिनै हुन्न । सके त तीपनि कुर्सीप्रेमीसितै घोलिइसकेका होलान् ।
त्यसैले यीनको अहिलेको शान्ति र संविधानकालागि युवा सभासदको दबाब फेरी जनताको नाममा छारो हो । आफू जोगिएर नेपाली कांग्रेस, माओवादी र अरु दललाई संविधान नबनेको अपजसको भारी हुत्याइदिने सुर हो । जनताका अगाडि ‘एमाले ले त संविधान बनाउन ज्यान फालेको हो नी’ भनेर नाटक देखाउन खोजिएको हो । संविधान बनाउन भनेर एमालेका त सभासद नै सडकमा उत्रे, अरु पार्टीका मात्रै हो र ? आफ्नै पार्टीका नेतालाई छोडेनन्, धर्ना दिए भनेर नौटंकी देखाउन खोजिएको हो । किनभने यो हाम्रो नेत्रित्वमा हो भनेर जस लिने कोसिस त चतुरो एमलेले गरिनै हाल्छ । संविधानका नाममा तलब, भत्ता र भ्रमणका नाममा लुटेको धन पचाउन जनताका अगाडि साखुल्य बन्नमात्रै खोजिएको हो । ठग्न पाएका बेला, लुट्न पाउन्जेल त यीनलेपनि कहाँ छोडेका हुन् र ! तर नाटक देखाउन, नाच्न, गाउन, छल्न, लुट्न, नौटंकी गर्न र जनताका आँखामा छरो हाल्न तगडा, अब्बल भएकाले एमालेहरु अगडिनै देखापर्ने गरेका हुन् । त्यसैले हत्त न पत्त अरु दलकापनि केहि केहि युवा सभासदको दिमाख भुट्न सफल भए । यसैमा यीनले अरु दललाई उछिन्ने गर्छन् ।




