दलीय झण्डा फ्याँकेर राष्ट्रिय झण्डा समाउने कि ?
● उदास अनन्त
गर्न नसक्ने के छ यहाँ ? जब जोशसित सिर्जनशीलता मिसिन्छ, ज्ञानसित लगनशीलता मिसिन्छ अनि कर्मसित विश्वास र आशा मिसिन्छ । यहाँ सबैथोक सम्भव छ । नेपाल सम्भावना नबोकेको मुलुक होइन । सम्भावनाको उपयोग गर्न नसकेको मूलुक हो । हामी नेपाली खजानामाथि पुर्पुरोमा हात राखेर झोक्रिएका गरिब भएका छौँ । यसमा सम्पूर्ण गल्ती नेपाली जनताको मात्रै होइन । तर दोषको एक पक्षका भागीदार भने हामी पक्कै हौँ । हरेक कुरा राजनीतिमा गएर ठोकिन्छ । राजनीतिले नै वास्तवमा कुनै पनि मूलुक संचालन गर्दछ । नीतिनियम निर्माण साथै कार्यन्वयन गराउँदछ ।
अत: मूलुक असफल हुनुको मुख्य कारण राजनैतिक स्थिति नै बन्न जान्छ । राजनैतिक अस्थिरताले कुनै पनि क्षेत्रमा देशले अग्रगमनको गोरेटो खन्न सकेन । उच्चस्तरमा चुनिएका जनप्रतिनिधिको गैरजीम्मेवार, अनैतिक व्यवहार तथा असक्षमताले मूलुक डगमगाउन पुग्यो । फलस्वरूप अन्तराष्ट्रिय पहिचान कायम गर्न चुक्यो नेपाल । अझै भएको पहिचान पनि गुमाउँदै लग्यो हाम्रो देशले । वर्तमान स्थितिमा पनि रा।जनैतिक अस्थिरता र गुमनाम हुँदै गएको अस्तित्व हामी सबैले अनुभव गरेकै कुरा हो ।
तर के यी सबैको दोष राजनैतिक दल र परिवेशलाई दिएर हामी उम्कन सक्छौं ? हाम्रो दायित्व शुन्य हो त ? मूलुक आजको स्थिति सम्ममा आइपुग्नुमा दलविशेष र नेताहरुमात्र जिम्मेवार छैनन् । हामी स्वयं पनि छौँ । हामी पढ्न, लेख्न जान्ने साक्षर त भयौं । सचेत बन्न सकेनौं । हामी दल र नेताका खेलौना बन्न सदा अग्रसर रह्यौं । खेलौना बन्यौं । खेलियौं । विभिन्न राजनैतिक दलमा विभाजित भयौं । अन्धभक्ति गर्यौं । हामीलाई उनीहरुले भेडा ठाने । भेडा बनाए, बनाईरहेका छन् । हामीले उनीहरुलाई भोट दियौं । चुनाव जितायौं । अनि आफ्नो भूमिका बिर्सन थाल्यौं । उनीहरुका गलत कामको विरोध गरेनौं । मौन बस्यौं । हरेक कुरालाई पचायौं । सामान्य रुपमा लिंदै ‘राजनीति भनेकै फोहोरी खेल हो’ भन्दै पन्छिँदै गयौं । जुन सामान्य चीज आज हाम्रो शिरमाथि कालो बादलझैँ मडारिरहेको छ ।
मूलुक राजनैतिक परिस्थितिको कारण भद्रगोल छ । राजनीति र राजनीतिज्ञहरूप्रति वितृष्णा बढ्दो छ । जनताहरु अन्योलमा छन् । सही र गलतको भेद छैन । भावनामा बगेर विकल्प खोज्नेको भीड एकातिर बढ्दो छ भने अर्कोतिर प्रतिगमनकारी अग्रगमनको छाला ओढेर जनतालाई फेरि पनि झुक्याउने खेलमा लागिरहेका छन् । जनताको वितृष्णाले विष्फोटनको रुप लिने डर पनि कायमै छ । डर यसकारण कि उक्त विष्फोटनबाट उत्पन्न हुने परिस्थितिले देशलाई अराजकतामा धकेल्ने निश्चित छ । अनि फेरि फाँसीवादको उदय हुनेछ । मूलुकको यस परिस्थितिमा जिम्मेवारी जति दलहरुको छ, त्यतिनै जिम्मेवारी हाम्रो काँधमा पनि छ । किनकि माटोको ऋणको भार हामीमा पनि समान छ । हामीले आफ्नो मूल्य बिर्सिएर, भूमिका भुलेर निष्कृय बस्यौं भने त्यो साँच्चिनै ठुलो भूल हुनेछ । इतिहासको पानामा त्यो कालो मसीले इंकित हुनेछ । दलहरुको विकल्पको एउटै मात्रै आधार भनेर प्रतिगमनकारीको सल्बलावट, साँच्चिनै घातक चुट्किला बनिरहेको छ । प्रतिगमनको पछ्यौरा ओढ्नु भनेको आजसम्मका उपलब्धिका मुखमा थुक्नु हो । त्यसैले अब हामी कदापि पछि फर्कन सक्दैन । न त यही यथास्थितिको तीतो स्वाद नै चाखेर धेरै दिन टिक्नै सक्छौं ।
हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । विकल्प छ, तपाईं हामीमै छ । प्रथमकुरा हामीले परिवर्तनमा विश्वास गर्न सक्नुपर्दछ । परिवर्तन कुनै एउटा मोडमा गएर झ्वाट्टै भइहाल्ने होइन । यो त एउटा क्रमिक प्रक्रिया हो । हामी परिवर्तन भन्नेबित्तिकै ठुल्ठुला कुरामा केन्द्रीत हुन्छौँ । तर यो बिर्सिरहेका हुन्छौँ कि जती ठुला परिवर्तन गर्न पनि सुरुवात सानैबाट गर्नुपर्छ । हामी आफ्नै परिवेशका सानातिना समस्याहरुबाट सुरु गर्न सक्छौं । पद्दती एक्कासी बस्दैन । सुरु आफैबाट गर्नुपर्छ । राजनीतिज्ञको विरोध गर्नु भनेको आफ्नै विरोध गर्न हो । किनकि उनीहरु हाम्रै प्रतिनिधि हुन् । हामीले नै काम गर्ने म्याण्डेट दिएर पठाएका हौँ । त्यसैले उनीहरुलाई दबाब दिन हामी किन डराउने ? वास्तवमा उनीहरु हाम्रा सेवक हुन् र हामी उनीहरुका मालिक हौँ भन्ने यथार्थ किन नबुझ्ने ? महत्वपूर्ण कुरा, हामीले संगठित भएर हल गर्न सक्ने कुरा हामी स्वयं किन नगर्ने ? किन जे कुरामा पनि दल र नेताकै मुख ताक्ने ?
नेताहरु र राजनैतिक दलहरुले हामीबीच विभाजन ल्याए । हामी विभाजित भएको फाइदा उठाए । अब सबै नेपाली एकत्रित होऔं । समयले के मागेको छ, सोचौं एकचोटि । दलीय झण्डा फ्याँकेर अब राष्ट्रिय झण्डा समाउने बेला आइसक्यो ।




