माओवादी नेता त फेरिएकै हुन् तर कसरि फेरिए ?

सुलोचना मास्के / पोखरा

माओवादी नेताले जनयुद्दमा जनतालाई तान्न खुब आश्वासन दिए । जसलाइ जे खाँचो छ् त्यहि हुन्छ भने । मजदूरलाई काम र माम दिन्छौं भने। सुकुम्बासीलाई जग्गा । व्यापारी र उध्योगपतीलाई राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिने स्वाधिन अर्थतन्त्र । किसानलाई आफ्नो उत्पादनको उचित मूल्य । शिक्षा, स्वास्थ्य र रोजगारलाई जनताको न्युनतम अधिकार मान्ने । गाउँमुखि उत्पादन । बुढाबुढीलाई भत्ता ।  के पो गर्दैनौं भनेनन् ?

देशलाई दश वर्षमै आर्थिक विकास गराएर मुहार फेर्ने । राष्ट्रियता बिरोधी सबै सन्धि संझौतालाई तत्कालै उल्ट्याउने । खारेज गर्ने । स्वदेशी आत्मनिर्भर अर्थतन्त्र बनाउने । त्यसकालागि पूरानो राज्यसत्ता ध्वस्त पारेर पूनर्निर्माण भन्दै सकेजति भौतिक संरचना ध्वस्त पारे । हाम्रो सरकार आएपछि जनताका वास्तविक समस्या सबै हल गरिन्छन् । के बाँकि थिए आश्वासन बाँड्न ? तर उनीहरु सरकारमा गए । नेता त फेरिएकै हुन् । तर कसरि फेरिए ?

अर्काले वर्षौं लगाएर बनाएका संरचनामा आगो झोस्न त सजिलो भो । आश्वासन दिनपनि केहि गाह्रो भएन किनकि आफूले तत्कालै गर्नुपर्ने थिएन । आश्वासन दिएकै भरले लाटासोझा, सयौं वर्षदेखि राज्यले उपेक्षित गरेकालाई जगाउन त सजिलो भो । तर जब आफैंले ति आश्वासन पूरा गर्नुपर्ने भएपछि कहाँबाट कसरि ल्याएर दिने ? जनताको जिवनस्तर बदल्न त नियत ठिक हुनुपर्थ्यो । राष्ट्र बनाउने, आफूले आव्हान गरेको युद्दलाई आश्वासन दिएझैं पूरा गर्न स्पष्ठ नीति, सुझबुझ, सहि मूल्यांकन र इच्क्षाशक्ति चाहिन्थ्यो । त्यो थिएन । त्यसैले कामरेडहरु पटक पटक सरकारमा त गए । तर तिनकोपनि नेपाली समाज र संस्क्रितिमा हुर्के बढेको शामान्ति सोचकै थियो । नेपाली समाज र नेपाली शामान्ति वर्गबाटै तिनलेपनि सिकेका थिए। तिनलाई सत्तामा जानु थियो, वास्तबिक परिवर्तन गर्नु थिएन । नेपाली सामान्ति संस्कारमा हुर्के बढेका उहि ड्याङका मूला न हुन् बाबुराम र प्रचण्ड । अनि किन तिनले आफ्नै छोरो, छोरी र नातापाताको लागि नसोच्ने ?

जनताको वास्तविक मुक्ति, देशको परिवर्तन, गरेका बाचा पूरा गर्न सक्ने क्षमता थिएन । सायद चाहनापनि त्यो थिएन । त्यसैले सरकारमा जानासाथ कामरेडहरुले आफ्नै लागि चिल्ला गाडी ताके । लाखौं पर्ने खाट र उतिनै दाम पर्ने घडीको सोख लिए । जनतालाई आफूतिर तान्न पो त्यो बेला बहुराष्ट्रिय कम्पनीको बिरोध गरे । भारतीय ट्रक नेपाल छिर्दापनि ढुंगा मुढा गरे त । तर जब आफू सरकारमा गए तिनै विदेशी कंपनीका गाडी नभै भएन । तिनै भारतीय शासकसितको गोप्य संसर्ग कायम नराखि भएन । तिनले त्यसै गरे । जनता ठूला हुन् भन्ने तिनलाई थिएन । त्यसैले तिनले पूराना नेपाली शासकले झै आफैंलाई सर्वोपरी ठाने । जसको बलमा सरकारमा गए तिनैलाई पछाडी छोडेर आफू सत्ताको मोज मस्तिमा हुइँकिए । जनताको युद्द नभनि तिनलाई सत्ताको भर्‍यान्ङ बनाइदिन जनताले पत्याउने थिएनन् । त्यहि भएर तिनले जनताको युद्द जनयुद्द भनेर ढाँटे, छले ।

तिनले भने जस्तै ति सरकारमा गए । पटक पटक गए । तर भयो के परिवर्तन ? किसानका समस्या उनै छन् । उल्टो कामरेडकै सरकारले भारतसँग वाणिज्य सम्झौता गरी दोहोरो कर अन्त्यको नाममा कृषि सेवा शुल्क हटाएर अनुदान विनाका नेपाली किसानलाई उच्च अनुदान पाएका भारतीय किसानसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्य बनाइदियो । नेपाली किसानलाई पनि अनुदान दिएर प्रतिस्पर्धी बनाउनुपर्ने थियो। तर सरकारले उल्टै ढाड पो भाँचिदियो । 

अहिले बैध्य पक्षहरु हामीलाई धोका दियो भन्दै छन् । धोका किन नदिने ? जब दश वर्ष जनयुद्द लडेका कार्यकर्ताको भरणपोषण हेर्दैनन् । आफूलाई सत्तामा पुर्‍याउन लड्नेका दुख हेर्दैनन् । आफैंले गरेका बाचा, आफैंले लेखेका कबोलहरु भुलेर, आफैं राष्ट्रघाती भनेकासित गर्धन जोडेर सरकारमा जान्छन् भने तिनले आफ्ना कामरेडलाई किन धोका नदिने ?

राष्ट्रघाती बिस्तारबादी भनेकै भारतसित गएर चाकरी गर्छन्, तिनको हित हुने सम्झौता गर्छन् भने जाबो पार्टीका नेतालाई किन धोका नदिने ? माओवादी सरकार बनेपछि कसको हित भएको छ ? देशको हित भयो ? जनताको हित भयो ? माओवादी पार्टीको हित भयो कि झन गनायो ? सरकार बनेदेखि नै घोका नै धोका त भएको छ नी देशलाई र जनतालाई । जब समग्र देश, जनता, पार्टी र समाजलाई नै धोका भएको छ भने माओवादी नेतालाई धोका किन नहुने ? जो सरकारमा छ उसलाई मस्ति भयो । जो सरकार बाहिर छ सबैलाई धोका नै धोका त छ । बरु राष्ट्रघाती मधेशी दल, भ्रस्टाचारी र चोर डाँका र हत्यारालाई चोख्याएर पो यो सरकारबाट ठूलो धोका भयो त ।

हुन त बैध्य पक्ष भनिने नेतापनि यस अघिको माओवादी सरकारमा गएका थिए । त्यो बेला तिनले पनि जनताका पक्षमा आकर्षक काम गर्न सकेनन् । बैद्ध पक्षकाले जनताको हितको, सुबिधाको लागि यस्तो योजना ल्याएका थिए, प्रस्ताव गरेका थिए तर अरुले मानेनन् भन्ने केहि सुनिएन । तरपनि अहिलेसम्मको अवस्था हेर्दा माओवादीमा उनीहरुलाई आरोप लाइहाल्ने अवस्था अलि छैन । किनकि तिनले जनताको पक्षमा काम गरेन । जनघाती काम गर्‍यो यो सरकारले । भारतलाई चाकरी गर्‍यो, अनावश्यक सम्झौता गर्‍यो भनेका छन् । हुन त तिनलेपनि सरकारमा गए भने राम्रो नै गर्छन् भन्ने के भर  ? तैपनि माओवादी पतनको मुख्य जिम्म्वा प्रचण्ड हुन्, माओवादीलाई पतन गराउने, मधेशी राष्ट्रघाती लाई चोख्याउने तिनै प्रचण्ड र बाबुराम हुन् । प्रचण्ड र बाबुरामको कारणले समग्र माओवादी गन्हाइरहेको छ, जनताले दुख पाइरहेका छन् ।

 (मास्के बिज्ञानमा स्नातकोत्तर गर्दै छिन्)

तपाइँको प्रतिक्रिया