सगरमाथाको टुप्पोबाट संविधान आउने भए किन गर्यौ दशक लामो जनयुद्द ?
म राजा अरु प्रजा । म उँचो अरु निच । म ठूलो अरु साना । म बुझक्कि अरु गोबर गणेश । यो देश मेरो बाउको बिर्ता हो । सरकार मेरो खेलको गोटी हो । देश हाम्रो मनपरीमा, हाम्रो सनकमा चल्नुपर्छ । जनयुद्दमा बगेको रगत हाम्रो मस्तिका लागि हो । जनता खान नपाएर मरुन् हामीले सौखिन काम गर्नै पर्छ । हाम्रो मोज र जनताको सास्ति एकै हैन । देशको सम्पत्ती आखिर अघिकालेपनि लूटेका थिए भने हामीले किन छोड्ने ? दिमाखमा यत्ति भएपछि मान्छेलाइ लाज लाग्दैन । जिम्मेवारीबोध हुन्न । उसले लुट्न सम्म लुट्छ । ठ्ग्न सम्म ठग्छ । देशको नाममा ठग्छ । जनताको नाममा लुट्छ । कार्यकर्ताको नाममा लुट्छ । संगठनको नाममा सोहोर्छ । खोला, नदी, पहाड, पर्वत, खोल्सा खोल्सी, डाँडा पाखा, झारपात र बुट्यान जे जे को नाममा सक्छ लुट्छ, मोज गर्छ । कहिले शान्तिको नाममा लुट्छ त कहिले बलिदानका नाममा कुम्ल्याउँछ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र अहिले त्यहि गरिरहेका छन् । शान्ति र संविधानको नितान्त झुठो नारामा देशको दुई करोड सम्पत्ती लुटेर सगरमाथा जाँदै छन् । शान्ति र संविधानको लागि भन्दै दलबल सहित सगरमाथा आरोहण गर्न लागे माओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाल । उनको टोलीलाई २ करोड दिन सरकारलाई बाध्य पारे ‘महान नेता’ प्रचण्डले ।
तर दश वर्षभन्दा लामो जनयुद्द गरेका कामरेडलाई थाह हुनु पर्ने हो, शान्ति र संविधान सगरमाथाको चुचुरोमा छैन । किनभने शान्ति र माओवादीले चाहेको जस्तो संविधान सगरमाथाको चुचुरोमा छैन । शान्तिको कामना न त गौतम बुद्दको मूर्तीमा निधार ठोकेर हुन्छ । न त सगरमाथाको टुप्पोमा खादा फहरएर आउँछ । माओवादी देशको प्रमुख पार्टी हो । उसको सुझबुझ, उसको राजनितिक पहल कदमी, प्रतिपक्षी पार्टेहरुसितको बहस र छलफल । जनताका वास्तबिक समस्या कसरि हल गर्ने भन्ने कसरत बाट आउने हो संविधान । त्यसले मात्रै हुन सक्छ शान्तिको पहल ।
संविधान देशका राजनितिक पार्टी, यो देशका आम जनता, बुद्दिजिवी वर्ग र राजनितिक पहल कदमीले मात्रै लेखिन्छ । संविधान लेखिने कुरो हो शान्तिको कामना गर्दै सगरमाथाको चुचुरोमा पुगेर लेखिन्न । गुम्बा चहारेर संभव छैन । त्यसकालागि जनताका घर दैला चहार्नुपर्छ । दुखि जनताका मन र मस्तिस्कलाइ बुझेर तिनका वास्तबिक कथाहरु संविधानमा उतारिनुपर्छ । पूजा पाठ, कोटीहोम, हिमाल आरोहणले शान्ति र संविधान आउने भए दश वर्षे जनयुद्द किन गर्नु पर्थ्यो ? किन दशौं हजारको ज्यान ढुकुर जसरि सोत्तर पार्नुपर्थ्यो ? किन रगतका खोला बगाउनुपर्थ्यो ? आफूले चाहे जस्तो संविधान सगरमाथाको चुचुरो पुग्दैमा आउने भए जनयुद्द नगरि २०५२ सालमै किन सगरमाथाको आरोहणमा नगएको ? आफूले खोजे जस्तो शान्ति र संविधान हिमाल आरोहणबाट प्राप्त हुने भए त यो देशले दश हजार भन्दा बढिको रगत बग्न दिनु भन्दा बरु सयौं टोलीलाई सगरमाथाको आरोहण गराउने बिकल्प दिंदो हो ।
कामरेडको मस्तिस्कमा मोतिबिन्दू भएर बिबेक जति सबै ढाकिएको हो भने हेक्का रहोस्, दश वर्षे जनयुद्दका बेला शान्तिको कामना गर्दै दर्जनौं टोली सगरमाथाको शिखर पुगे । आमाडब्लम, नुप्से, लोत्से र धौलागिरिसम्म छिचोले । नेपालका कुनै गुम्बा बांकि रहेछन् शान्तिको पाठ जपेर । तर अहं आएन त शान्ति । बनेन त संविधान । आखिर प्रमुख दलहरुबिच राजनितिक सहमति नबनेसम्म जनयुद्दले बिश्राम लिएन त । यो वास्तबिकता भोग्दा भोग्दै शान्ति र संविधानकालागि भनेर सरकारका मन्त्रीहरुलाई धम्काउँदै गरिब जनताको दुई करोड सत्यानास पार्नु के ज्ञानेन्द्र पथ होइन कामरेड ?
हिमाल आरोहण र शान्तिको कामना गरेरै शान्ति र संविधान आउँथ्यो भने कामरेडहरुको माओवाद किन चाहियो ? मार्क्स्वादका ठेली किन घोट्न पर्यो ? परिवर्तनका लागि किन संघर्ष गर्नु पर्यो ? किन गर्नुपर्यो बलिदान ? किन बन्नुपर्यो सहिद ? कामरेडहरुको लावालस्करले हिमाल चढेर टुप्पाबाट खोजेको जस्तो संविधान मागे भैहाल्थ्यो ? परिवर्तनका लागि किन हुँदा हुन् विश्वमा ठूला ठूला क्रान्ति ? देश र जनतालाई ठग्नु, जनताका आँखामा छारो हाल्नु र लुट्नुकोपनि त हद हुन्छनी कामरेड !
हिमाल आरोहण आफैंमा नराम्रो होइन । यो आफैंमा शारिरिक स्वच्छताकालागि राम्रो खेल पनि हो । साहसिक काम हो । देशले आर्थिक रुपमा गति लिएको भए, जनताका न्युनतम समस्या हल भएको भए जनतालाई साहसिक काममा प्ररित गर्न यसलाई सकारात्मक रुपले लिन सकिँदो हो । सौखिन खेलका रुपमा मानिने यो आरोहणका लागि के राज्यकोषको लुटतन्त्र मच्चाउन पाइन्छ ? देश राजनितिक रुपमा यस्तो संकटपूर्ण अवस्थामा हुँदा अहिले के सौखिन खेलकालागि दलबल लिएर हिँड्ने बेला हो ? जनता एक पाकेट पखाला रोक्ने धुलो नपाएर, एक गोली सिटामोल नपाएर थलिएका बेला सौखिन खेलकालागि देशको दुई करोड झ्वाम पार्नु कुन नैतिकताले दिन्छ ? आफु संगैका राजनितिक कार्यकर्ताले भाडा तिर्न, साग र चामल किन्न नसकेर छट्पटाइरहेका बेला पार्टी अध्यक्ष भएर ति कार्यकर्ताको सुख दुख हेर्ने कि आफ्नो छोराको लागि मन्त्री परिषदमा धम्कि दिँदै करोडौं लुट मच्चाउने ? हिजो ज्ञानेन्द्रले शान्ति, देश, जनता, विकास अनेक अनेक नाममा यसै गरि लुट्थे देशको सम्पत्ती । आज प्रचण्ड देखा परेका छन् । रकम, लुटको परिभाषा फरक फरक होला । तर नियत एकै छ ।
(फोटो जन्मदेव जैसीको फेसबुकबाट)




