कांग्रेस, एमाले, माओवादी सबै खत्तम, राम्रो चैं कुन त ?
पाठकहरुलाई प्रश्न
देशनै राजनितिमय छ । राजनितिका कुरा नगरिपनि भएकै छैन । हामीले जतिसुकै अन्य विषयका कुरा गरौं त्यो क्षणिक हो । मुख्य कुरा त देशको राजनिति ठिक हुनु पर्यो । देशको राजनिति गतिलो भए न अन्य क्षेत्र राम्रो हुन्छ । त्यसकोलागि हाम्रा नेता गतिला हुनुपर्यो । नेपाली कांग्रेसको सरकार हेरियो एक दशक भन्दा बढि । देश त खत्तमै भयो । जहाँपनि नाताबाद । जतापनि आफ्नै मान्छे । देशको निति निर्माण गर्नेहरु भेडा बाख्रा झैं बेचिए । रातारात होटेलमा थुनेर राखिए । भ्रष्टाचार हैसियत अनुसार सरकारी कार्यालयको पिउनले पाँच सय देखि मन्त्रीले अरबौं खाए । बिकाश निर्माण ठप्पै । नेताजति सब शहर बस्ने । लाठी, पैसा, बन्दुक र बुटले भ्रष्टाचार गरेको पैसाले चुनाब जित्ने । दक्षिणबाट भारतले दिनदिनै किल्ला वरका वर सार्दा नेपाली कांगेस चुँसम्म बोलेन । देश चौपट भयो । नेपाली कांग्रेसनै ठिक त पक्कै होइन होला । अहिलेनै नेपाली कांग्रेसको सरकारले देश भसाएको बिर्सिने कुरा भएन ।
बाँकि रह्यो नेकपा एमाले । देखिहालियो । बिहानसम्म चप्पल पट्काउँदै हिँडेका नेता अर्कोदिन बिहान आलिसान महलका मालिक बने । च्यातिएका लुगा बिदेशी सुटले प्रतिस्थापन गर्यो । कम्युनिष्ट पार्टीको नेता रे, लुट्नु पर्दा बोराका बोरा सुन हाकाहाकी बिमानस्थलबाट ओसारियो । खानेमा नुन,तेल पिठो र चिनीदेखि खोलाको बालुवासम्म भ्रष्टाचार भयो । देशको खोला नालादेखि केहि बाँकि नराखेर भारतलाई सुम्पे । भ्रष्टाचार भएकैले त होला प्रदीप नेपालले खुला मञ्चबाट वामदेव गौतमलाई नेपालकै सबैभन्दा ठुलो भष्टाचारी भनेर घोषणा गरेको एमाले फुटेर माले बनेपछि । एमालेकालमा भएको भ्रष्टाचारको उदाहरण यो भन्दा बढि के दिने ?
एमालेले नत गतिलोसित सरकार चलाउन सक्यो नत निति निर्माण। न गतिलो प्रतिपक्षको भूमिका । हँसिया हथौडा बोकेको यो पार्टी गरिबकालागि त के राष्ट्रिय पूजिपति वर्गको हित गर्नसमेत असमर्थ भयो । नत राष्ट्रियताको संरक्षण गर्न सक्यो । नेता जति महँगा कार र आलिसान महलमा बस्ने । देश बिदेश घुम्ने । जनताका छोराछोरीलाई महँगीको भारी बोकाएर आफ्ना छोराछोरी बिदेशका महँगा स्कूलमा पढाउने । जनतालाई सिटामोल नदिने आफु खोकी लाग्दापनि बिदेशका महँगा अस्पताल धाउने राष्ट्रिय सम्पत्तीमा । टाठबाठा कार्यकर्ताजति देशभरि एनजिओ चलाएर बस्ने ।
१४ वर्ष अघि नेपाल विश्वको ११ औं गरिब मूलुक थियो । अहिले दोस्रो गरिब मुलुक बनाउने के एमाले र नेपाली कांग्रेस होइनन त ? गएको १४ वर्ष बहुदलिय प्रजातन्त्रको कालमा साँच्चिनै बिदेशीले दिएको, खाँदा खाँदा लाजले बाँकि रहेको रकम लगाउँदा यसो अलि अलि बिकाश भएको र बिदेशबाट नेपालीले कमाएर गाउँठाउँ चलाउँदा केहि भएजस्तो देखिएको बाहेक के चाहिँ प्रगती भयो त ? माओवादीले भएका केहि संरचना त भत्काए नै । तर नयाँ सरकारले के चाहिँ बनायो त ?
त्यसैले साथीहरु ल एक पटक ठण्डा दिमाखले सोचौं त । के देशमा कुनै न कुनै राजनितिक दल चाहिँदैन ? अवश्यै । नागरिक समाज, पत्रकारले त गलत बाटो हिँडेनेलाई जनताका अगाडि देखाइदिएर तह लगाउने मात्रै हो । सुझाउने, सुधार्न यत्न गर्ने मात्रै हो । आखिर गर्ने त राजनितिक दललेनै हो । नेपाली कांग्रेस हुँदै नहुने, एमाले पुरै असफल, माओवादीपनि खत्तम नै भए अब देश कसलाई जिम्मा लगाउने त ?
राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टीको कुनै दम्भ छैन । माले पार्टी हुनु र नहुनुमा बरु नहुँदा भलो होला । प्रजातन्त्र पार्टी, जनशक्ति पार्टी पाए फेरि निरंकुशता फर्काउने हुन । तराईका ९९ प्रतिशत पार्टीको ध्येय देश टुक्र्याउने हो । अनि खोइ त केहि गर्ने खालको पार्टी ? पत्याउने कसलाई त ?आलोचना मात्रै होइन, समाधानको उपायपनि त कतै हुनु पर्यो नि होइन र ? आखिर देश त चलाउनै पर्यो कुनै न कुनै दलले । आज म तपाईहरुलाई नै छोड्छु आफ्ना धारणा राख्न । मेरो धारणा केहि तर्क सहित म अर्को ब्लगमा राखौंला ।




