निहूँ मात्र थियो पर्खाल त
● शशी पौडेल /लण्डन
वर्लिनको पर्खाल ९ नोवेम्वरको राति भत्काइएको हो । पर्खालको विरोधमा वा पूर्व जर्मनीलाई पश्चिम सँग मिलाउने उद्देश्यले अक्टोवर १९८९ वाट नै आन्दोलन शुरु भएको थियो । र यस निम्ति पूर्व वर्लिन र पश्चिम वर्लिनका त्यतिवेलाका मेयरहरु बीच कुराकानी भए पछि र जनदवावका कारणले पूर्व जर्मनीका तत्कालिन चान्सलर एरिक होकरले राजीनामा दिए । यस पछि आन्दोलन झन चर्कियो । र लगभग हप्तौं लगातार आन्दोलित दशौं लाख जनसमूदाय पर्खाल भत्काउने माग राख्दै सडकमा उत्रे । उनिहरुले गैती र वेल्चाले पर्खाल भत्काउँदै गरेको दृश्य मिश्रित भाव दिन्थ्यो । पिडाजनक र हर्ष विभोर । पिडकजनक यस मानेमा कि एउटै परिवारका सदस्य वीसौ वर्ष भेटघाट हुन नपाएकोमा र त्यस निम्ति यत्रौ ठूलो समूदाय सडकमा ओर्लन परेकोमा । हर्षविमोर यस मानेमा कि अव कमसेकम त्यसरी बिछोडिएका सजिलै सम्पर्कमा आउन सक्ने भए भने । अर्थात फुटेको घर मिल्ने भयो भनेर ।
हुनत पश्चिमेली मुलुकहरु र अमेरिकाको दवावमा ११ सेप्टेम्वर १९८९ मा नै पूर्व र पश्चिम जर्मनीवीचको सिमा नियन्त्रित खुलिसकेको थियो । मैले मिती भने बिर्से तर अक्टुवरमै हुनुपर्छ तात्कालिन अमेरीकी राष्ट्रपति रोनाल्डो रेगन वर्लिन आएर “गोर्भचोभ वर्लिनको ढोका खोल । गोर्भचोभ पर्खाल भत्का” भनेर गरेको भाषण प्रत्यक्ष सुनेको हुँ र आज पनि मेरो कानमा ठोकिन्छ र बजिरहन्छ ।
दशौ लाख जनसमूदाय सडकमा उत्रँदा र सरकारलाई खवरदारी गर्दा सरकार त ढल्छ । तर त्यतिवेला मैले के कुराको उत्तर पाउन सकेको थिएन भने यी आन्दोलित जनता पर्खाल मात्र भत्काउन चहान्छन् कि कम्यूनिष्ट सरकार पनि फाल्न चाहन्छन् ? त्यहाँ प्रत्यक्ष के अनुभव गर्न सकिन्थ्यो भने अमेरिका र पश्चिमेली मसिनरीहरुका निम्ति पर्खाल त एउटा निहुँ मात्र थियो । उनीहरु पूर्वी युरोपको समाजवादी व्यवस्थाको विरुद्ध थिए । किनकि जर्मनी एक गराएमा मात्र सोभियत संघलाई कमजोर गराउन सकिन्थ्यो । र पूर्वी युरोपमा गठित वार्सा सन्धी विघटन गराएर नेटोको एक छत्र गराउन सकिन्थ्यो । तर जर्मनी नागरिकहरुको उद्धेश्य त्यहाँ सम्म नपुगेर कमसेकम पर्खाल भत्काउने र जर्मन एक गराउने भन्ने । जर्मनी भाई, काका, भतिजा, बावु छोरा जो दोस्रो विश्व युद्धमा मुलुक विभाजन हुँदा छुट्टिन वाध्य गराइएका थिए, उनीहरुको मिलन र नाता गोताको अधिकारको माग गरेका थिए । पर्खाल भत्काउन आन्दोलित जनसमूदायसंग कुरा गर्दा उनीहरु उक्त कुरा नै अभिव्यक्त गर्दथे । तर अर्का थरिले जर्मनको झण्डा हातमा लिएर सडकमा उत्रेका थिए । उनीहरुलाई मैले टोलाएर हेरिरहेको क्षण अहिलेसम्म पनि विर्सन सकेको छैन । न त बुझ्न नै सकेको छु ।
यस्तै रातीको दश वजेको हुदोहो पर्खाल भत्काएर त्यहाँबाट वार पार गर्न मिल्ने भयो रे भन्ने खवर पायौं । म त्यतिवेला पूर्व वर्लिनमा थिएँ । पर्खाल भत्काइएको क्षेत्र व्राण्डेनवर्गर गेट तर्फ लागें । त्यस्तो ऐतिहासिक रातमा सुत्ने त कुरै भएन । धमिराको मुस्लो गोडवाट निस्के जस्तै पूर्व जर्मनीहरु के वुढा वुढी के वालबच्चा पर्खाल पारी जान थाले हेरि रह्यौं । नोवेम्वरको जाडो तुवालो र शितले भरिएको थियो । पर्खाल भत्काउन तल्लीन दशौलाख जनता शितले लुछुप्प भिजेका थिए । उनिहरुलाई जाडो, तुवालो वा शितको प्रवाह थिएन उनिहरुको एउटै उद्धेश्य थियो । पश्चिम जाने । भोली पल्ट रेडियोले बाह्र वजे राती सम्ममा लगभग २० हजार मान्छेहरु पश्चिम तिर लागेको समाचार ल्यायो । भोली पल्टको दृश्य पनि कम रमाइलो थिएन । एकातिर वाट ठेलमठेला पश्चिम लाग्दै थिए भने अर्को तिर राती नै सीमाना काट्नेहरु फर्केर आउदै थिए । फर्किनेहरुको प्रतिकृया थियो विना मिसा हामी पश्चिम गएर आयौं । अव हाम्रो मुलुक एउटै भयो ।
मातृभूमिको माया कसलाई लाग्दैन । युद्धका कारण पूर्व वाट पश्चिम र पश्चिमवाट पूर्व पुगेर आफन्तवाट विछोड भएकाहरुले मिलन खोज्नु स्वभाविक थियो । उनीहरुले पर्खालमा वेल्चा गैजी चलाउनु प्राकृतिक थियो । तर पर्खाल र वार्सा सन्धीलाई जोडेर हेरिनु र पर्खाल सँगै वार्सा सन्धीको विघटन चाहानु बुझिनसक्नु थियो । मार्क्सवादले राजनैतिक द्धन्दलाई स्वीकार गर्छ । समाजवादी व्यवस्थामा पनि अर्थतन्त्र, संस्कृति र समाज भित्र द्धन्द हुन्छ । यो द्धन्दवादको सार्वभौम नियम हो । त्यहाँको द्धन्द सामाजिक द्धन्द थियो । यदि यस प्रकारका द्धन्दलाई दमन गरेर प्रकट हुन दिइएन भने त्यसले दुस्मनीको रुप लिन्छ र बिष्फोट हुन्छ । त्यसैले कुनै पनि देशमा वा कुनै पनि राज्य व्यवस्थामा तत्कालिन अवस्थामा रहेका राजनैतिक, सामाजिक आर्थिक द्धन्दलाई द्धन्दवादी दृष्टिकोणले व्याख्या गरिनु पर्दछ । र त्यसमा प्रतिस्पर्धा हुन दिनु पर्छ ।
द्धन्दको नियम अन्यत्र लागु हुने जर्मनमा लागु नहुने भन्ने थिएन । द्धन्दात्मक भौतिकवादको प्रकृति, जीवन, समाज र चिन्तनका हर क्षेत्रमा प्रतिपक्षहरुको एकता र संघर्ष हुँदै चलिरहन्छ । द्धन्दात्मक भौतिकवादले पदार्थका हरेक रुपमा द्धन्दात्मक गति र त्यही द्धन्दात्मक गति नै कुनै पनि वस्तु वा घटनाको उत्पत्ती, विकाश र परिवर्तनको मूल कारण हो भन्ने मान्दछ । द्धन्दवादी गतिका रुपहरु मध्येको एउटा सामाजिक गति राजनीतिक पदार्थका गतिको सामाजिक रुप हो । यसरी हेर्दा जर्मनको पर्खाल भत्किनुलाई द्धन्दात्मक गतिको नियम भन्दा वाहिर राखेर हेर्न मिल्दैन ।
अर्को पक्षलाई अघि सार्दा पूर्वी जर्मनमा त्यतिखेर समाजवादी सिद्धान्तले त्यहाँका जनतालाई कति परिपक्क वनाएको थियो त ? माओत्से तुङ्का अनुसार कोही पनि राजनितिक सिद्धान्तमा पूर्व हुँदैन । समाजवादमा विश्वास गर्नेहरु मध्ये कोही १० प्रतिशत त कोही २० प्रतिशत हुन्छन् । तर साम्यवादमा नपुग्दा सम्म सत प्रतिशत कम्यूनिष्ट हुन वा वन्न सक्तैन । समाजवादी कालमा त झन सत प्रतिशत हुने कुरै भएन । मूल प्रश्न त्यहाँका जनता कति कम्यूनिष्ट थिए वा कति रुपान्तरण भएका थिए र तिनलाई रुपान्तरण गर्न त्यहाँको व्यवस्था कत्तिको शसक्त थियो भन्ने हो ।
हर व्यक्तिलाई वाहिरको वातावरणले शसक्त प्रभाव पारेको हुन्छ । विश्व क्रान्तिको इतिहासलाई हेर्दा वाह्य र अन्तर दुवै पक्षले प्रतिक्रान्तिलाई टेवा दिएको अर्थात उक्साएको देखिन्छ । त्यसकारणले त्यतिवेलाको सोभियत सघं अथवा पूर्व जर्मनको पार्टी नेतृत्व र शासकीय सोचहरुलाई हेर्दा नेतृत्वले त्यहाँको इतिहास के हो ? यो द्धन्द कहाँवाट उत्पत्ती भएको हो ? द्धन्दवादको नियमको फन्दा वाट आएको वा वाध्य शक्ति वाट भित्र्याइएको हो ? भन्ने कुरा अध्ययन गरेको पाइदैन । त्यस अर्थमा मुलुकमा देखिएको परिवर्तनको आवश्यकता अध्ययन गरेर त्यहाँको असन्तुष्टीको मूख्य जडलाई पहिचान गर्न सकेन । पार्टी पंक्तिले अस्वस्थ्य र अनुशासनहिन गति लिन थाल्यो । पार्टीले आफन्तहरुवीचको भेटघाट, सम्पर्क मानवअधिकार मात्र हैन नैसर्गिक अधिकार एवं जीवविज्ञानको आवश्यकता भित्र पर्दछ भन्ने बुझ्न सकेन ।
उता पूजींवादीहरुले समाजवादीहरुको उक्त हठ, नैसार्गिक अधिकारको गलत ब्याख्या र खान लाउन पाए पछि मानिसलाई अरु केही चाहिँदैन भन्ने गलत चिन्तनको फाइदा उठाउन थाले र अमेरिकी पूर्व राष्टूपतिले वर्लिनमा आएर जर्मन सरकारसँग होइन कि सोभियत सघंका तत्कालिन राष्टूपति गोर्भाचोभसँग वर्लिनको पर्खाल भत्काउने माग गरे । यसले के प्रष्ट पार्छ भने पूँजिवादीहरुका लागि त्यो पर्खाल त निहूँ मात्र थियो । उनिहरुलाई जर्मनी आफन्तहरु वीच पुर्नमिलन होस् भन्ने नभै समग्र पूर्वी युरोपको समाजवादी व्यवस्थाको नष्ट होस् भन्ने चाहाना थियो । वर्लिनको पर्खालको ढोका खुले पछि उनीहरुको उक्त चाहनाको ढोका पनि खुल्यो ।
(यस लेखको केही अशं वी.वी.सी. नेपाली सेवावाट ९ नोभेम्वरका दिन प्रशारण भएको हो । )




