प्रजातन्त्र भए पो प्रजातन्त्र दिवस मनाउनु त
फागुन ७ गते मनाइँदै आएको हो प्रजातन्त्र दिवस । यो पटक सरकारले आधा मनायो, आधा मनाएन । बिगतका प्रचलनलाई कायम गर्दै कैदीहरुलाइ आम माफी दियो । प्रजातन्त्र दिवसका रुपमा सार्वजनिक बिदा दियो । तर सर्वजनिक कार्यक्रम गरेन, तामझाम देखाएन । तर लाग्छ, यो प्रजातन्त्र दिवस किन मनाउने ? एकथरी प्रजातन्त्र दिवस के के न हो । नेपाली जनतामा पूर्ण प्रजातन्त्र भए झैं कुर्लेका छन् । जनतालाई प्रजातन्त्रले के के न दिए झैं गरेका छन् । अर्काथरी आफैं अस्पष्ठ देखिए, मनाउने हो कि होइन ? मनाउनु पर्ने हो कि होइन ? माओवादी नेत्रित्वको सरकार दोधारमा देखियो। तर म भन्छु, हैन यो प्रजातन्त्रले के दिएको छ र जनतालाई धुरीमा उफ्रि उफ्रि मनाउनु पर्ने ? के वास्तविक प्रजातन्त्र पाएका छन् जनताले ? जनताले प्रजातन्त्रका वास्तबिक मूल्य र मान्यता चाख्न पाएका छन् ?
जनताको घरमा ग्याँस छैन । धारामा पानी आउँदैन । पानी नआएपनि महसूल तिर्नुपर्छ । अस्पत्तालमा गयो सिकिस्त बिरामीले ओछ्यान पाउँदैन । सडक सधै नारा र जुलुस अनि बन्द र हडतालमा परेर गरिखानेहरुका पेट बाँधिन्छन् । सरकारले केहि दिन सक्दैन । नागरिक कोहि सुरक्षित छैन । सरकारकै उच्च पदस्थ कर्मचारीहरु झन झन हत्या, लूट र मारपिटमा मुछिएका खबर ब्याप्त हुंदैछन् । साना नानीहरुले पढ्न पाएका छैनन् । सार्वजनिक सुबिधाको नाममा केहि छैन । काला बजारिया, घुसखोर र लुटेराले देश हाँकेका छन् । प्रजातन्त्रकालागि लडेका वास्तविक योद्दाहरुको अपमान छ । प्रजातान्त्रिक मूल्य र मान्यता के हो सरकारमै बस्नेले पालना गरेका छैनन् । नागरिकलाइ सेवा र सुबिधा दिनुपर्ने मन्त्रीहरु नै गाउँ र शहर, पूर्व र पश्चिम बिच्छेद गरिदिएर अझ सास्ति दिने धमास दिन्छन् । प्रजातन्त्रका मूल्य र मान्यता सबै अपहरणमा परेका छन् । अनि के को प्रजातन्त्र ?
२००७ सातदेखि जनता प्रजातन्त्रकालागि लडेको लड्यै छन् । २००७ सालमै वास्तबिक प्रजातन्त्र आएको भए ०३६, ०४६ र फेरी तेसो जन आन्दोलन किन गर्नुपर्थ्यो जनताले ? उहिल्यै वास्तबिक प्रजातन्त्र आएको भए जनआन्दोलन केका लागि थियो ? त्यसैले २००७ सालमा प्रजातन्त्र आएकै रहेनछ र त जनता पटक पटक प्रजातन्त्रका लागि लडिरहेका छन् । अझै लड्ने छन् । किनभने जनताको प्रजातन्त्र आएकै छैन । यदि आएकै हो भनेपनि प्रजातान्त्रिक मूल्य र मान्यताहरु छैनन् अहिले देशमा ।
यो मुलुकमा प्रजातन्त्र छ केहिका लागि । सर्वहारा जनताका सुदिन ल्याउन भनेर हजारौंको बलिदानी गराएर आएका प्रचण्डलाई प्रजातत्र होला । उनी सर्वहाराका करोडौंपती नेतामा उक्लिएका छन् । उनलाई प्रजातन्त्र फलिफाप भएको छ । प्रधानमन्त्री पत्नी हिशिला यमीलाई प्रजातन्त्र आएको छ । उनको हालीमुहाली चल्छ । बुंगा नेताका करोडौपती पत्नी हुन सफल छिन् उनी र उनलाई प्रजातन्त्र फापेको छ । कांग्रेसका डा म्रिगेन्द्र रिजाल, सुजाता कोइराला, डा रामशरण महत, पूर्णबहादुर खड्का, गोबिन्दराज जोशीलगायतका अधिकांश नेतालाई प्रजातन्त्र आएको छ । तिनलाई यहि प्रजातन्त्रले महलवाला बनाइदिएको छ । शेर बहादुर देउवालाई त प्रजातन्त्रको स्वर्गनै छ । सांसदलाई बाख्रा झैं थुनेर करोडौं करोड लूट्दापनि सहने यस्तो खुदो प्रजातन्त्र अरु कुन देशमा छ विश्वको अन्यत्र ? लागत मूल्य भन्दा भ्रस्टाचार बढि गर्दापनि अझ अरु दलतिर औंला उठाउँदै प्रजातन्त्रको पाठ घोकाउन खोज्ने क्रिष्ण प्रसाद सिटौला जस्ता अरु मुलुकमा भए यति उच्चतम प्रजातन्त्रको रसमा नुहाउन पाउने थिए ? करोडौं भ्रस्टाचार गर्दापनि प्रजातन्त्रले कारवाहीको साटो अझ सम्मान गरेको छ ।
एमालेका प्रदीप नेपाल, केपी ओली देखि इश्वर पोखेल र बिध्या भण्डारी लगायत अधिकांश नेतालाई चप्पल पड्काउने हैसियतबाट रातारात करोडौंपती बनाइदिएको छ । प्रजातन्त्रमा एमाले पार्टीका एकाधलाइ छोडेर अधिकांशको स्तर शामान्तमा फेरिदियो । तिनलाइ प्रजातन्त्र फापेको छ । मधेशी पार्टीका अधिकांश नेताले पटक पटक सरकारमा गएर दुई दशक देखि लुट्दै आएका छन् । तर प्रजातन्त्रले तिनमाथि कारवाहीका औंला उठाउन सकेको छैन । बरु तिनलेनै प्रजातन्त्रको ठेक्का लिएका छन् । तिनैले प्रजातन्त्रको पाठ सिकाइरहेका छन् ।
त्यसैले हाम्रो मुलुकमा यति खेर जनताकालागि वास्तबिक प्रजातन्त्र छैन । ठेला गाडा चलाउनेको पेटमा आएको छैन प्रजातन्त्र । निराक्षरहरुकालागि छैन प्रजातन्त्र । घाँटी भिजाउन आएको छैन प्रजातन्त्र । अँधारोमा बत्ति लिएर आएको छैन प्रजातन्त्र । गाँस, वास, कपास र जनताका न्युनतम बाँच्न पाउने आधारसम्म दिने गरि आएको छैन प्रजातन्त्र । चोर डाँका, फटाहा, राजनितिक पेशेवार, भ्रस्ट नेता, काला बजारिया, हत्यारा, जनतामारालाई आएको यो प्रजातन्त्र जनताको प्रजातन्त्र होइन । यस्तो प्रजातन्त्र मनाउन्, केपी ओली र इश्वर पोख्रेलले । डा रामशरण महत र सुजाताले । वामदेव गौतम र भिम रावलले। प्रचण्ड र हिशिला यमीले। तर जनताले के पाए र मनाउने यो प्रजातन्त्र ?




