शोषित जनजाति र शोषक खस जातिकाबिच राष्ट्रिय एकताको कल्पना
● सोमना थारु / बेल्जियम
हामी सबैलाइ जानकारी छ, नेपाल एउटा बहुजातिय, बहुभाषिक तथा बहुधार्मिक देश । यहाँ तामाङ, मगर, गुरुङ, थारु, नेवार, खस, राई, लिम्बु, शेर्पा, थकाली, सुनुवार, धामी, जिरेल, ह्योमो, मेचे, कोचे, धिमाल, राजवंशी, हायु, चेपाङ आदि जातिहरु बसोबास गर्छन । यी विभिन्न जाति मध्ये आर्य मुलको खस जातिमा बाहुन, क्षेत्री, राणा, ठकुरी, कामी, दमै, सार्की, गाइने, सुनार आदि पर्दछन । यिनीहरु जात हुन । यसरी खस जातिमा तल्लो तह (शुद्र) देखि माथिल्लो तह (बाहुन) सम्म वर्गीकरण गरिएको छ । मंगोल (अनार्य) मुलको नेवार जातिमा पनि खस जातिमा जस्तै वर्गीकरण छ । जस्तै — बज्राचार्य, जोशी, अमात्य, श्रेष्ठ, मल्ल, शाक्य, तुलाधर, मानन्धर, खडगी, नापित इत्यादि । यी जात मध्ये बज्राचार्यलाइ बाहुन झै सबभन्दा माथिल्लो मानिन्छ । जोशी, श्रेष्ठ, अमात्य, मल्ल, आदि क्षेत्री जस्तै र खडगी, नापित आदि शुद्र जस्तै मानिन्छन । नेवार बाहेक मंगोल मुलका अन्य कुनै पनि जातिमा यस्तो वर्गीकरण भएको पाइँदैन । सबै समान हन्छन ।
खस जातिका सार्की, कामी, दमै सुनार आदि जातलाइ शुद्र मानिन्छ । तिनिहरुलाइ सामाजिक दृष्टिकोणबाट तामाङ, मगर, गुरुङ, थारु, नेवार, खस, राई, लिुम्ब, शेर्पा, थकाली, सुनुवार, धामी, जिरेल, ह्योमो, मेचे, कोचे, धिमाल, राजवंशी, हायु, चेपाङ आदि भन्दा तल्लो ठानिन्छन । ति अछुत समेत मानिन्छन । तिनलाइ पशु भन्दा पनि तल राखेर अत्यन्त अमानविय र निःकृष्ट व्यवहार गरिन्छ । यी तथ्यले नेपालको सामाजिक संरचनालाइ सम्भवतः विश्वमै सबभन्दा जटिल बनाइदिएको छ । यस्तो जटिल र कहालिलाग्दो संरचना बन्नुको पछाडी हिन्दु, अहंमकारवाद र सामन्तवादी राज्य सत्ताले प्रमुख भुमिका खेलेका छन ।
नेपाली समाजको संरचनालाइ गहिरिएर अध्ययन र विष्लेषण गर्ने हो भने खस जाति शोषक (उत्पीडक) जातिको रुपमा रहेको छ भने अन्य जातिहरु सबै शोषित (उत्पीडित) जातिको रुपमा छन । हुनत शोषक जाति खसमा पनि गरिब, शोषित र सर्वहाराहरु छन । तर यसमा विचारणीय कुरा के छ भने खस जातिका शोषितहरु आर्थिक दृष्टिकोणबाट मात्र शोषित हुन तर भाषिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि दृष्टिकोणबाट शोषित हैनन र छैनन । यस जाति अन्तर्गतका दलितहरु चाहिँ सामाजिक दृष्टिकोणबाट पनि शोषित हुन । अतः खस जातिलाइ शोषक मान्दा बाहुन र क्षेत्री जातलाइ नै जनाउँछ । यी जातिभित्र शोषितहरुको संख्या वस्तुत एकदमै कम छ भन्दा फरक नपर्ला ।
अर्कोतर्फ गैर खस वा जनजाति भित्रपनि सामन्त, पूँजीपती र शोषकहरु नभएका होइनन । तर ति आर्थिक दृष्टिकोणमा मात्र शोषक हुन । भाषिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि दृष्टिकोणबाट तिनिहरु शोषितै हुन । यस्ता किसिमका जनजाति शोषकहरु अत्यन्तै कम छन । यसरी नेपालमा जनसंख्याको हिसाबमा पनि खस जाति भन्दा जनजातिहरु धेरै भएको तर शदियौं देखि खस जातिबाट जनजातिहरु हेपिँदै, चेपिँदै र शोषण दमनमा पर्दै आएका छन । अतः जनजातिहरुलाइ शोषित र खस जातिलाइ शोसक मान्न सकिन्छ ।
खस जातिहरु शोषक जातिको रुपमा स्थापित हुनुमा प्रमुख कारण सामन्तवादी राज्यसत्ता नै हो । राज्य एकिकरणको नाउँमा जब पृथ्वी नारायण शाहले जाति जनजातिका राज्यहरु खोसेर तिनिलाइ शक्ति र अधिकार विहिन बनाए, त्यति बेला देखिनै सामन्तवादले नेपालमा जरो गाडेको देखिन्छ । त्यस पश्चात नेपालमा एकात्मवादी हिन्दु राज्यसत्ताले जनजातिहरु माथि दमन तथा शोषण गर्न शुरु गरेको देखिन्छ । जनजातिहरुका राज्य खोसे पश्चात तिनिहरुका भाषा, संस्कृतिमाथि आक्रमण गरियो । उनीहरुका भाषालाइ सरकारी मान्यता दिइएन । सार्वजनिक स्थानमा बोल्दा हेय र कुदृष्टिले हेरियो । उनीहरुलाइ जबरजस्ती नेपाली भाषा बोल्न लगाइयो । विद्यालयहरुमा संस्कृत भाषा अनिवार्य गरियो । जनजातिहरुको चाडपर्व, भाषा, इमान्दारिता र खानेकुरालाइ उपेक्षा र हेय गरियो ।
यसरी हरेक पक्षबाट जनजातिलाइ पछाडि पारिए पछि राज्यसत्ताको प्रमुख अंग र निकायमा ति शोषक जातिहरु नै हालि मुहाली गर्नपुगे, जुन आज सम्म पनि कायमै छ । यसको अन्त्यको लागी जातिय र क्षेत्रिय पहिचानको आधारमा राज्यको पुनः संरचना गर्दा नेपाली जनताहरुको वर्गिय दुरी कम गर्न मद्दत पुग्ने भएको हुदाँ यसरी नै देशमा एकताको कल्पना गर्न सकिएला ।
(साथीहरु बेप्रसंगका, आरोप, प्रत्यारोप र अश्लिल तथा असभ्य भाषामा लेखिएका प्रतिक्रिया मेटिने छ । त्यसैले विषय वस्तुमा रहेर प्रतिक्रिया जनाउनुहोला । लेखलाई बहस, छलफल र तार्किकतातिर लैजानुहोला -नेपालप्लस)




