जनतामारा भट्टराई सरकार

“आयल निगमको भ्रस्टाचार र अनियमितता रोकेपनि ईन्धनको मूल्य बढाउनु पर्दैन, जनतालाई सहुलियत दरमा दिन सकिन्छ” । आफू सरकार नजाँदा माओवादीले यसो भन्दै धेरै पटक आन्दोलन गरे । त्यतिखेर कि त एमालेको सरकार थियो । कि नेपाली कांग्रेसको । कि मधेशी दल वा राप्रपा मिश्रित अन्य कुनै सरकार । आफू सरकारमा नहुँदा सजिलो भो बाहिरबाट सोच्दा, आ…… हाम्ले पाए टुकुचा खोलामा बग्ने पानीको मूल्यमा ईन्धन दिन्थेम । नाथे खाना पकाउने ग्याँस त परालको भाउमा भने झैं गरे ।

यता पार्टीले भाउ बढाएर जनताको ढाक सेकियो । उता उपत्यका बन्द र नेपाल बन्द गरेर राष्ट्रको आर्थिक अवस्थामाथि लात्ती बजारियो । नाम्लो बोकेर खाने दुखियाका नाम्ला खोसियो । ठेला गाडा गुडाएर खाने निमुखाका पाङ्ग्रामा चक्का जाम ठोकेर गाँस खोसियो । अनि भनियो, एमाले र कांग्रेस राष्ट्रघाती हुन् । यी देशमारा हुन् । जनतामारा हुन् । भ्रस्टाचारी हुन् । तेलमा भ्रस्टाचार गरेर आफू पौडी खेलेर तपाइ जनतालाई मारेका छन् ।

नेपाल आयल निगम सञ्चालक समितिले बुधबार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टतिेलमा ९/९ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १ सय ५० रुपैयाँका दरले मूल्य वृद्धि गरिदिए । त्योपनि एक्कासि । हाम्रो सरकार नआइ तेलको भाउ घट्दैन । हाम्ले सरकारको कुर्सी नअँठ्याइ तपाइहरुले सुख पाउनुहुन्न । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेकाले ह्याँपनि बढाउनु पर्छ भन्नु यो कांग्रेस र एमाले सरकारको ढाटछल हो । उता बढेका बेला बढाउने हो भने घटेका बेलामा घटाएका छन् त ? त्यसैले यो बेमानी हो । झुट हो । कति सजिलो !

त्यसो भनिनुको करण त जनतालाई ठग्नु न रहेछ । सोझा साझालाई मार्नु न रहेछ । गरिवीको मारले पिल्सिएकालाई अझ राँकोमा हालेर पोल्नु न रहेछ । जनतालाई बिजुली देलान भन्नुको साटो झन गाउँघरका टुकीमाथि पनि जाइलाग्नु न रहेछ । फुस्का घरका धिपधिपे उज्यालोपनि निभाएर अन्धकार बनाउनु न रहेछ । पतेराले चुसे जस्ता अभाव, रोग र अनेक समस्याले डाम्रिएका अनुहारलाई अझ चुसेर रगत पिउन न रहेछ यो भट्टराई सरकारको । त्यसैले तिनले सस्तो नारा दिए, दशौं दुरी पारीको तेल कोशीको पानी झैं घ्वाप्लाक्क घ्वाप्प्लाक्क गाग्रीमा भरेर सित्तैमा दिउँला झैं गरेर जनतालाई बाँडौंला भन्दै ।

तर के देखियो सरकारमा बसेपछि ? आखिर त्यो आयल निगमको कमिशन खोसे आफूले खाने के ? भट्टराईका आउरे बाउरेले कसरि महल ठड्याउने ? हिशिला यामी भाउजुका नातापाताले कसरि बैंकमा खाता खोल्ने ? भट्टराईले केराका पात जस्ता सस्ता नालायक सल्लाहकारको तलब कसरि दिने ? भट्टराईका चाकरीबाजहरुको खान्की केले पुर्‍याउने ? आखिर फेरी मत पाएर जितिएला नजितिएला, एक पल्ट कुर्सीमा चढेका बेला युगलाई पुग्ने गरि देशको सम्पत्ती लुकि लुकि अपहरण गरेर नलुकाए कसरि बुढेसकालसम्म धान्ने ? कसरि पाँच तारे होटेलमा गएर बँदेलका सपेटा लुछ्ने ? बिदेशी दारुका सुर्का कसरि स्वाट्टस्वाट्ट पार्ने आँखा चिम्म गरिगरि ?

कति लाचार देखियो यो सरकार ? आफैंले १२ हात माथि उफ्रि उफ्रि गरेका बाचा कति छिटो भुलेको ? तेलको भाउ बढाउन हुन्न । के का आधारमा बढाउँछौ ? पहिले भ्रस्टाचार, अनियमितता र चुहावट रोकेर हेर । जनतालाई अरु तिरको बजेट तानतुन पारेर पनि केहि राहद दिउँ, भो नबढाउँ भन्नुको साटो बिद्वान, यो विश्वमा कसैले गर्न गर्न नसकेका डाक्टरी प्रधानमन्त्री त टाङमुनी पुच्छर लुकाउँदै डांडाको सितल खाने निहुँमा भागेछन् । र यता म नभा बेला बढाओ भन्दै छेरुवा स्याल झैं सुइँकुच्चा पो ठोकेछन् । यति नालायक, यस्तो छेरुवा, यति बिधी गन्हाउन पो नेपाललाई डाक्टरी प्रधानमन्त्री चाहिएको रहेछ हगि ?

उनको बिध्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ यो ईन्धन ब्रिद्दीको बिरोध गर्दै । यदि यो ओंठे भक्ति, देखावटी, जनतालाई गुमराहमा पार्ने अर्को प्रपञ्च होइन, आन्दोलनको ज्वारभाटा निकालेर आफ्नो शक्ति नेतालाई देखाउँदै आफू शक्तिशालि बन्न र नेताको अँगालोमा बाँधिन होइन भने कि त यो क्रान्तिकारी बिध्यार्थी संगठनले यो मूल्य ब्रिद्दी फिर्ता लिन लगाउने हिम्मत गर्नुपर्छ । त्यसकालागि जनताले विश्वास गर्ने मूल्य चुकाएर देखाउन सक्नुपर्छ । कि त्यो डाक्टर नामको जनता मारा सरकारलाई कुर्सीबाट तल बजार्नुपर्छ । तब बल्ल यस्ता जनता माराले चेत्छन् र क्रान्तिकारीको आन्दोलनको सार्थकता र आन्दोलनको उद्देश्य जनताको पक्षमा रहेछ भन्ने विश्वास हुने छ ।

तपाइँको प्रतिक्रिया